भरत साउद
१. आरम्भिकी ः
बालसाहित्य भनेको बालकहरुले लेखेको नभई उनीहरुको सर्वाङ्गीण विकासमा मद्दत पु¥याउने उद्देश्यले वयस्क वा प्रौढहरुले लेखेको साहित्य हो । बालबालिकाहरुलाई आनन्द र मनोरञ्जन प्रदान गर्ने, ज्ञान दिने र उनीहरुमा विवेकको विकास गर्ने प्रयोजनले बालसाहित्यको रचना र प्रयोग भइरहेको देखिन्छ । शताब्दीऔँ पहिलेदेखि नै बालबालिकाहरुलाई मनोरञ्जन दिने, उनीहरुलाई विश्व, प्रकृति, मानवजीवन र नैतिकताका बारेमा शिक्षा र उपदेश दिने कथाहरु भन्ने सुनाउने परम्परा रहेको देखिन्छ । श्रुतिपरम्परामा रहेको यस्तो लोक दन्त्य कथाहरु, बाल लोकगीत आदि नै आधुनिक बालसाहित्यका पृष्ठभूमिमा रहेका छन् ।
बालबालिकाहरुलाई फकाउने फुल्याउने, मनोरञ्जन दिएर निदाउन लगाउने विभिन्न लोरीहरु, दन्त्यकथाहरु र लोकप्रसिद्ध वाङ्मयका विभिन्न बालककेन्द्री पाठहरुसम्म बालसाहित्यको ऐतिहासिक पृष्ठभूमिलाई तन्काउन सकिए पनि आधुनिक बालसाहित्य भने उन्नाइसौँ शताब्दीमा युरोपले भित्र्याएको आधुनिकताकै पछिल्लो उपलब्धि हो । बीसौँ शताब्दीमा बेलायतमा बालसाहित्य सम्बन्धी आधुनिक अवधारणा विकास भएको देखिन्छ । नेपालमा सचेततापूर्वक बालसाहित्य तथा अन्य बालवाङ्मयमा कलम चलाउने प्रथम सर्जक जयपृथ्वी बहादुर सिंह हुन् । उनले लेखेको बालधोन नं. १ नेपाली बाल वाङ्मयको प्रथम कृतिका रुपमा रहेको बालसाहित्यका समालोचक नरहरि आचार्यले उल्लेख गरेका छन् । जयपृथ्वीबहादुर सिंहको त्यस पुस्तकभन्दा पहिले पनि नेपाली बालवाङ्मयमा पुस्तकहरु लेखिएका सन्दर्भहरु पनि नभेटिएका भने होइनन् । शरदचन्द्र शर्मा भट्टराईले माध्यामिक नेपाली गद्याख्यान नामक पुस्तकमा बालपाठ्यपुस्त्कका रुपमा प्रकाशित पहिलो पुस्तकका रुपमा गोर्खा पहिला किताब (प्रथम भा) को उल्लेख गरेका छन् । त्यस यता गोपाल पाण्डे, नन्दिकेश्वर, डमरु बल्लभ पोखरेल, शिखरनाथ सुवेदी आदिे पनि पाठ्य बालसामग्री लेखनमा सामान्य प्रयास गरेका थिए । (भट्टराई, २०४६ ः २७) । जयपृथ्वीबहादुर सिंहले बाल पाठ्यसामग्री लेखनमा सचेततापूर्वक पहिलो पटक प्रयास गरेका हुन् । वि.स. १९७० मा गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना भएपछि बालपाठ्य सामग्रीको लेखन र प्रकाशनमा संस्थागत प्रयासको थालनी भएको देखिन्छ । हालसम्म आइपुग्दा नेपाली बालसाहित्य लेखन, प्रकाशन गर्ने व्यक्ति, तथा संघसंस्थाहरुको मात्रात्ममक तथा गुणात्मक उपस्थिति नै उत्साहजनक छ । यसले नेपाली बालसाहित्यमा भएको विकास प्रष्ट देखिन्छ । प्रस्तुत लेखमा भने बाल साहित्यको सामान्य परिचय र विशेषताहरुको उल्लेख गरी तिनका आधारमा विजयराज आचार्यका बाल साहित्यिक मौलिक रचनाहरुको मूल्यनिर्णय निक्यौल गर्न प्रयत्न गरिएको छ । पछिल्लो समय नेपाली बालसाहित्यका क्षेत्रमा सक्रिय रुपले सिर्जनारत क्रियाशील युवा बालसाहित्यकार विजयराज आचार्य समीक्षकहरु बीच पनि चर्चामा रहेका छन् । बालसाहित्यका प्रायः आख्यान विधामा बढी कलम चलाउने आचार्य समसामयिक नेपाली बालसाहित्यका प्रतिनिधी लेखक पनि हुन् । वर्तमान नेपाली बालसाहित्यको समग्र लेखाजोखा यो संक्षिप्त लेखमा सम्भव नभएका कारण लेखन, प्रकाशन, अनुवाद, वितरण तथा प्रचार–प्रसारका माध्यमबाट बालसाहित्यमा आफ्नो हस्तक्षेपकारी उपस्थिति निरन्तर राख्न सफल बालसाहित्यका सर्जक विजयराज आचार्यका कृतिहरुलाई प्रतिनिधि सामग्रीका रुपमा विश्लेषण गरी बालसाहित्यको वर्तमान स्वरुप ठम्याउने प्रयास पनि यस आलेखमा भएको छ ।
२. बालसाहित्य शब्दको अर्थ ः
बालसाहित्य शब्द ‘बाल’ र ‘साहित्य’ दुई शब्दहरु मिलेर बनेको समस्त शब्द हो । बाल वा बालकसँग सम्बन्धित साहित्यलाई जनाउने यस बालसाहित्य शब्दको विग्रह गर्दा ‘बालकको साहित्य’ वा ‘बालकका लागि साहित्य’ गरी क्रमशः सम्बन्ध तत्पुरुष र सम्प्रदान तत्पुरुष समासबाट अर्थ निर्माण भएको देखिन्छ ।
बालकको साहित्य वा बालसाहितय भन्नाले बालकले लेखेको साहित्य होइन कि बयस्क वा प्रौढ व्यक्तिहरुद्वारा लिखित बालकमैत्री साहित्यलाई बुझिन्छ । बालमनोविज्ञान, बालकको रुची, बालबोली, बाल उमेरगत क्षमता, बाल स्वभाव, आदिको ख्याल गरेर बालकको मानसिक विकास र स्वस्थ ज्ञानको आयतन अभिवृद्धिका लागि रचना गरिने जीवन जगत सम्बन्धी साहित्यको संस्करण नै बाल साहित्य हो । समग्रमा बालक वा प्रौढ जसले लेखेको भए पनि निश्चित उद्देश्यका लागि बालमैत्री विषयवस्तु र शैली शिल्प प्रयोग गरिएको साहित्य नै बालमैत्री साहित्य हो ।
यही नै बालकका लागि साहित्य भन्ने अर्थ हो । बाल साहित्यको अर्थ प्रौढ साहित्यको अभ्यासकालीन स्वरुप होइन । बालसाििहत्य लेख्ने व्यक्ति अभ्यस्त भएर प्रौढ साहित्य लेख्न पनि होइन । सानो उमेरका व्यक्तिले लेखेको साहित्य बालस साहित्य हुने पनि होइन । बालासहित्यको अर्थ निष्कर्षतः बालकका लागि लेखिएको बालोपयोगी विशिष्ट साहित्य भन्ने हो ।
३. बालसाहित्यको परिभाषा
बालसाहित्यको परिभाषा गर्ने क्रम विश्व भरिनै बालसाहित्यका चिन्तक, सिद्धान्तकार, लेखक–सर्जक तथा समालोचकहरुका बीचमा निरन्तर छ । यससँग सम्बन्धित विभिन्न प्रतिभाहरुले आ–आफ्ना मौलिकता सहित परिभाषित गर्ने चेष्टा गरेका छन् । तीमध्ये अधिक चर्चामा रहेका केही परिभाषाहरु यहाँ प्रस्तुत गरिएका छन् ः
“बालबालिकाको उमेरअनुकूल बोध क्षमता, उपयुक्त स्तर तथा विशिष्ट रुचीका आधारमा प्रकाशित रङ्गीन र आकर्षक बालोपयोगी रचना नै बालसाहित्य हुन् ।” (इन्साइक्लोपेडिया अमेरिकामा, १९६६ः५७५) ।
यस परिभाषाले अन्तर्राष्ट्रिय वा सार्वभौम रुपमा नै बालसाहित्यलाई चिनाएको छ । बालबालिकाको उमेर, क्षमता र रुची अनुसार लेखिने साहित्य भनेर बाल उपयोगितालाई यस परिभाषाले जोड दिएको छ ।
“बालकले सजिलैसँग बुझ्न सक्न्े, टिप्न सक्न्े र उनीहरुलाई हौस्याउँदै उनीहरुको चरित्र निर्माणमा सघाउ पु¥याउन सक्ने सिर्जनात्मक साहित्य नै बालसाहित्य हो ।” (पराजुली, २०४४ ः )
यस परिभाषामा पनि बालबालिकाको क्षमता, रुची र चरित्रको विकासलाई जोड दिइएको छ । त्यसका साथै बालसाहित्यमा सिर्जनात्मकता हुने कुरा बताइएको छ ।
“बालबालिकाहरुलाई स्वस्थ मनोरञ्जन, उपयोगी शिषा, व्यावहारिक ज्ञान र नयाँनयाँ सूचना दिने साहित्य नै बालसाहित्य हो ।” (बन्धु, २०४५ः२)
यो परिभाषा बालसाहित्यको प्रयोजनमा केन्द्रित छ । ज्ञान र मनोरञ्जन प्रदान गर्नु बालसाहित्यको मूलभूत प्रयोजन हो ।
“बालकहरुले आत्मसात् गर्न सक्ने विषय, भाव, कला, शिल्प र प्रस्तुतिकरणका आधारमा रचित साहित्य बालसाहित्य हो ।” (सुवेदी, २०५३ ः ७४)
यस परिभाषामा बालबालिकाको क्षमता सुहाउँदो विषयवस्तु तथा शिल्ष्को प्रस्तुतिलाई बढी महत्व दिइएको छ । बालसाहित्य बालक्षमताअनुसार प्रस्तुत गरिएको भाषिक अभिव्यक्ति नै हो ।
“बालबालिकाहरुलाई मनोरञ्जन दिने, रचनात्मक एवम् सिर्जनात्मक हुन प्रेरणा दिने र ज्ञान विज्ञानका विविध विषय सम्बन्धमा जानकारी दिने विषयवस्तुलाई उनीहरुको उमेर अनुसारको सरल सरस भाषमा रोचक तवरले लेखी रङ्गीन चित्रहरु समेत सकेसम्म समाविष्ट गरी कलात्मक तरिकाले प्रकाशन गरिएको कृति नै बालसाहित्य हो ।” (प्रधान, २०६१ः२५)
यो परिभाषाले उल्लेखित प्रायः सबै परिभाषाहरुको आशयलाई एकीकृत गरेको छ । बालबालिकालाई ज्ञान, प्रेरणा र मनोरञ्जन दिने कलात्मक भाषामा आकर्षक साजसज्जामा बालसाहित्य प्रकाशित हुनुपर्ने कुरामा जोड दिइएको छ ।
“वक्ता वा बालसाहित्य लेखकले श्रोता वा बालपाठकलाई ध्यानमा राखी बालकहरुकै प्रयोजनका निम्ति रचना गरिएको सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति भएका कारण बालसाहित्यलाई साहित्यको प्रयोजन परक भेद मान्नुपर्छ ।” (अवस्थी, २०६५ः८)
यस परिभाषामा प्रयोजनलाई केन्द्रमा राखिएको छ । बालसाहित्य प्रयोजनपरक विषय नै हो ।
उपर्युल्लेखित परिभाषाहरुले भिन्न भिन्न मौलिकता सहित प्रस्तुत गरेका कुराहरुको साझा सार हेर्दा ती सबैमा प्रकारान्तरले निम्न उल्लेखित विचारहरु पाइन्छन् ।
१ बालसाहित्य बालबालिकाको उमेर, क्षमता, रुची र बालमनोविज्ञानलाई ध्यानमा राखेर लेखिन्छ ।
२ बालसाहित्य बालबालिकालाई प्ररणा, ज्ञान र मनोरञ्जन दिएर उनीहरुको मानसिक र चारित्रिक विकासमा सहयोग पु¥याउने प्रयोजनका लागि लेखिन्छ ।
३ बालसाहित्य साहित्यकै प्रयोजनपरक भेद हो ।
४ बालसाहित्य कलात्मक तथा सौन्दर्यपूर्ण भाषिक अभिव्यक्ति हो । यसमा प्रयुक्त भाषा बालबोली वा बालकको उमेर सुहाउँदो हुनुपर्छ ।
५ बालसाहित्यको विषय, भाषा, शिल्प पक्ष र समग्र प्रस्तुती बालोपयोगी हुनुपर्छ ।
यी सबै तथ्यहरुलाई समेटेर बालसाहित्यलाई संक्षेपमा परिभाषित गर्नुपर्दा यसरी गर्न सकिन्छ ।
बालबालिकाको उमेरअनुसार उनीहरुको क्षमता, रुची र समग्र बालमनोविज्ञानका आधारमा उनीहरुलाई मनोरञ्जन, ज्ञान र प्रेरणा प्रदान गर्ने प्रयोजनका लागि बालोपयोगी विषयवस्तु र शैल्पिक ढाँचा भएको सिर्जनात्मक भाषिक अभिव्यक्ति नै बालसाहित्य हो ।
४. बालसाहित्यका विधा ः
बालसाहित्य सिकारुहरुको अभ्यकासकालीन रचना नभएर सिद्धहस्त साहित्य साधकहरुद्वारा विशिष्ट प्रयोजनका लागि अत्यन्त संवेदनशील भएर लेखिएको जिम्मेवार रचना हो । यो सहज र परिष्कृत साहित्यकै प्रयोजनपरक रुप हो । साहित्यकै प्रयोजनपरक रुप भएका कारण प्रौढ साहित्यमा जस्तै बालसाहित्यमा पनि विभिन्न विधा उपविधा हुनु स्वाभाविक छ । तिनको सामान्य चर्चा यहाँ गरिएको छ ।
बालसाहित्यमा बढी प्रचलित र पुराना विधा कविता र कथा नै हुन् । लोकसाहित्यमा रहेका बालकलाई मनोरञ्जन, प्रेरणा र उपदेश प्रदान गर्ने खालका रचनाहरु बालसाहित्यका आदि बीज हुन् । आधुनिक बालसाहित्य (लेख्य बालसाहित्यमा) पनि कविता र कथा बढी लेखिन्छन् र पढिन्छन् । बाल निबन्ध, बालजीवनी, बालनाटक, बालगजल, बालसंवाद, चित्रकथा, चित्रवर्णन जस्ता विधाहरु वर्तमान लेख्य बालसाहित्यमा देखापरेका छन् ।
बालसाहित्यका विधा, उपविधाको चर्चा गर्ने सन्दर्भमा महादेव अवस्थीले बालनिबन्ध, बालआख्यान, बाल नाटक र बालकविता तथा यिनै विधाहरुका अन्य उपविधाहरुको चर्चा गरेका छन् । उनका अनुसार यी विधाहरुका उपविधाहरु निम्नानुसार छन् ।
१ बाल निबन्ध ः– बालजीवनी, बालसंस्मरण, बालआत्मकथा, वस्तुपरक बालनिबन्ध र आत्मपरक बालनिबन्ध ।
२ बाल आख्यान ः– बालकथा, बालउपन्यास
३ बालनाटक ः– बाल एकाङ्की, बाल पूर्णाङ्की
४ बालकविता ः– बालगीत÷बालकविता, बालकाव्य
(अवस्थी, २०६१ः१०)
यस विभाजनमा प्रौढ साहित्यका विधाहरुभन्दा बालसाहित्यका विधाभन्दा खास तात्विक भिन्नता केही देखिदैन । त्यसैले बालसाहित्यका सन्दर्भमा विधागत वितरण तथा विधातत्वको छुट्टै विस्तृत चर्चा गर्नु आवश्यक र सान्दर्भिक दुवै देखिदैन । बालसाहित्यको विवेचनाका लागि प्रौढसाहित्यभन्दा भिन्न बालसाहित्यमा रहने विशेषता र प्रकृतिको खोजी गर्नु जरुरी छ । बालसाहित्यका विधाहरुमा रहेका विधातत्व र प्रौढ साहित्य विधाहरुमा रहेका विधातत्व समान भएपनि बालसाहित्यलाई प्रौढ साहित्यबाट भिन्न र स्वतन्त्र तुल्याउने मूलभूत कुरा भनेका बालसाहित्यको प्रयोजन, विषय र भाषाशैलीगत विशिष्टता नै हो ।
५. बालसाहित्यको प्रयोजन ः
बालसाहित्यको मूल प्रयोजन बालबालिकाहरुको मानसिक स्वास्थ्य विकसित र सुदृढ गर्ने नै हो । त्यसका लागि बालबालिकाहरुलाई आवश्यक मनोरञ्जन, प्रेरणा, प्रोत्साहन ज्ञान, सूचना, आत्मबल आदि कुराहरु प्रदान गर्नु बालसाहित्यको प्रयोजन हो ।
बालसाहित्यको प्रयोजन उल्लेख गर्ने क्रममा समालोचकहरुले विभिन्न कुराहरु उल्लेख गरेका छन् । मनोरञ्जन, जिज्ञासाहरुको समाधान, ज्ञानको प्रवद्र्धन, चेतना र सोचको विकास एवम् परिष्कार, सिर्जनशीलताको विकास, भाषिक क्षमताको विकास, चारित्रिक सुधार, संस्कृतिको हस्तान्तरण, पढ्ने बानीको विकास, राष्ट्रिय संस्कार, चरित्र र भावनाको प्रवद्र्धन, मानवीय मूल्य र मान्यताप्रतिको जागरुकता आदि प्रदान गरी बालबालिकाको सर्वाङ्गीर्ण विकासमा सहयोगी भूमिका खेल्नु बालसाहित्यको प्रयोजन हो (प्रधान, २०६१ः१८) ।
बालसाहित्यको प्रयोजन बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्नु हो । मनोरञ्जनमा मिसाएर ग्रहण गरेका सामाजिक, सांस्कृतिक, राष्ट्रिय वैज्ञानिक तथा अन्य जीवनोपयोगी सूचना, ज्ञान र विषयवस्तुबाट बालबालिका चाडै प्रभावित हुन्छन् र उनीहरुमा सिर्जनशीलता, चिन्तनशीलता, तार्किक क्षमता पनि बढ्दछ । बिना मनोरञ्जन सिकाइएको कुरा र दिइएको उपदेश बालबालिकालाई निरस हुन्छ र उनीहरु ग्रहण गर्न पनि सक्दैनन् । मनोरञ्जनले उनीहरुलाई उत्प्रेरणा (mयतष्खबतष्यल) दिन्छ र सिकाइप्रक्रिया पनि सकारात्मक रुपले प्रभावित हुन्छ ।
समग्र रुपले हेर्दा बालसाहित्य बालबालिकाको बौद्धिक, मानसिक, सामाजिक, सांस्कृतिक, नैतिक तथा वैज्ञानिक व्यक्तित्वको विकासका लागि सहयोगी भूमिका खेल्दछ । यही नै यसको प्रयोजन पनि हो ।
६. बालसाहित्यको भाषा ः
बालबालिकाहरुसँग शब्दभण्डार विकास भइरहेको हुन्छ । उनीहरुको उमेर र अन्य वातावरण अनुसार शब्दभण्डार तथा भाषिक क्षमतामा विभिन्नता रहेको हुन्छ । ६ वर्ष मुनिका बालबालिकाहरु ७÷८ वर्षदेखि १०÷१२ वर्षसम्मका बालबालिकाहरु तथा त्यसभन्दा ठूला उमेरका किशोर किशोरीहरुको शब्दभण्डार र भाषिक क्षमता तथा रुचीमा भिन्नता रहन्छ नै । त्यसैले बालसाहित्यको भाषामा पनि लक्षित पाठक समुदायको उमेरसमूहलाई विशेष ख्याल गरिएको हुन्छ ।
बालबालिकाहरुले लामा र घुमाउरा किसिमका जटिल वाक्यात्मक संरचना भएका अभिव्यक्तिहरु बुझ्न र ठीकसँग ग्रहण गर्न सक्दैनन् । यस्ता अभिव्यक्तिले बालबालिकालाई आकर्षित गर्न पनि सक्दैनन् र सम्प्रेषण पनि हुँदैनन् । त्यसैले बालसाहित्यमा उमेर अनुसार तीन वा चारदेखि आठ शब्दसम्मका सरल वाक्यहरुको मात्र प्रयोग गरिन्छ । किशोरकिशोरीहरुका लागि लेखिने साहित्यमा यो शब्दसीमा केही उल्लङ्घन हुनसक्छ तर मूलतः सरलता बालसाहित्यको भाषाको अनिवार्य अभिलक्षण हो ।
सानाबालबालिकाहरु लयात्मक तथा अनुप्रासयुक्त भाषामा बढी रमाउने हुनाले बालकविता उनीहरुका लागि उपयुक्त हुन्छन् । अनुप्रासयुक्त गीत÷कविता (च्जथmभक) को भाषामा उनीहरु मुग्ध हुन्छन् । त्यस्ता रचना उनीहरु याद गर्छन्, गाउँछन् र त्यसबाट शबदभण्डार तथा सूचना पनि ग्रहण गर्छन् । बालसाहित्यको भाषालाई थप प्रभावकारी र कलात्मक बनाउन तथा दुर्बोध्य बिम्बात्मक बनाएर भाषालाई भारका रुपमा थोपर्न हुँदैन ।
समग्रमा बालसाहित्यको भाषा÷लक्षित पाठक बालबालिकाको उमेर समूहलाई ख्याल गरी उनीहरुले बुझ्न सक्ने गरी लेखिएको हुुनुपर्छ । सरल, सरस, सुबोध्य, सहज सम्प्रेष्य, आकर्षक र बालपन अनुकूल हुनु बालसाहित्यमा भाषाका लागि अनिवार्य सर्त हो । लयात्मकता, अनुप्रास र गीतिमयताले थप सबलता ल्याउँदछ ।
७. विजयराज आचार्यका कृतिहरु ः
पश्चिम नेपालको दुर्गम पहाडी जिल्ला प्युठानको बिकट गाउँ दाङवाङमा २०३३ सालमा जन्मेका विजयराज आचार्य नेपाली बालसाहित्यको वर्तमान पुस्ता (तेस्रो सक्रिय पुस्ता)को लेखन क्रियाकलपाको अग्रपङ्क्तिमा रहेका छन् । ग्रामीण परिवेशमा बितेको सामान्य बालजीवनदेखि वर्तमान स्थापित लेखकीय भूमिकासम्मको यात्रामा उनले बिताएको समय कठीन र सङ्घर्षमय रहेको सहजै अनुमान गर्न सकिन्छ । बालसाहित्य रचना, अनुवाद र प्रकाशनमा सक्रिय आचार्यको प्रमुख व्यक्तित्व सर्जक व्यक्तित्व नै हो । हालसम्म उनका डेढ दर्जन जति बालसाहित्यका मौलिक कृतिहरु र त्यसभन्दा ठूलो संख्यामा अनुदित कृतिहरु प्रकाशित छन् । उनका मौलिक कृतिहरुमा झमककुमारी (बालकथा, २०६१), हाम्रो आवाज (बालउपन्यास, २०६१), नयाँबस्ती (बालउपन्यास, २०६१), उज्यालोको खोजीमा (बालनाटक, २०६१), चम्किला चौध कोपिला (बालबालिकाका अन्तर्वार्ता, २०६०), केवलपुरे सिकान (बालकथा, २०६१), कान्छाकुमार (बालकथा, २०६३), परिवर्तन (बालउपन्यास, ?), शान्तिको आत्मकथा (बालउपन्यास, २०५९), बाटुली (बालकथासङ्ग्रह, २०६६), श्यामप्रसाद (बालकथा, २०६६), अग्रज स्रष्टाहरु (जीवनीसङ्ग्रह, २०६७), हाम्रा आस्थाहरु (जीवनी सङ्ग्रह, २०६८), चितुवासँग जम्काभेट (चित्रकथा, ?), आदि प्रमुख रहेका छन् । त्यसैगरी विजयराज आचार्यले अन्य भाषाबाट अनुवाद गरी प्रकाशन गरेका कृतिहरुमा बालबगैँचा (२०५७), एउटा नयाँ पुलको निर्माण (२०५८), खरायोको पुच्छर किन छोटो भयो ? (?), विश्वप्रसिद्ध बालकथाहरु (विभिन्न खण्डहरुमा) प्रसिद्ध चिनियाँ बालकथाहरु (सह–अनुवाद, ?), प्रसिद्ध चिनियाँ बालकथा (विभिन्न खण्डमा), डल्फिनको रमाइलो कथा (२०६२), कृतज्ञ बाघ (२०६२), रमाइला चिनियाँ बालकथाहरु (२०६३), पञ्चतन्त्रका रमाइला कथाहरु (२०६५), परी (२०६५), लियो टाल्सटायका उत्कृष्ट बालनाटकहरु (२०६५) आदि प्रमुख रहेका छन् ।
विजयराज आचार्यले मौलिक र अनुदित गरी नेपाली बालवाङ्मयमा सङ्ख्यात्मक तथा गुणात्मक योगदान दिएका छन् । उनको यस उपस्थितिलाई नेपाली बालसाहित्यका क्षेत्रमा नजरअन्दाज गर्न सकिदैन ।
८. विजयराज आचार्यका कृतिहरुको विधागत उपलब्धि
विजयराज आचार्यको साधनाको मूल क्षेत्र बालआख्यान हो । बाल उपन्यास, बालकथा र चित्रकथा उनले सर्वाधिक कलम चलाउको क्षेत्र हो । त्यसो त बालबालिकाका लागि प्रेरणादायी हुने केही उत्प्रेरक व्यक्तित्वहरुका बारेमा आख्यान (जीवनकथा) र जीवनी पनि आचार्यले लेखका छन् । आचार्य स्वयम् कवितामा आफ्नो कलम नचलेको स्वीकार्छन् तर ‘कोकले क्याँक’, ‘काँडे दुम्सी’ जस्ता चित्रकथामा अनुप्रास र लययोजनाले काव्यात्मकता प्रकट भएको छ । उनको कविता मोह र शिल्प दुवै यिनमा प्रकट भएको छ ।
विजयराज आचार्यका प्रमुख बाल उपन्यासहरु परिवर्तन, शान्तिको आत्मकथा, नयाँ बस्ती र हाम्रो आवाज हुन् । यी उपन्यासहरुका आधारमा विजयराज आचार्यको बाल औपन्यासिक प्रवृत्तिको खोजी गर्दा उनी उत्पीडित बालबालिकाका समस्याहरुको प्रकटीकरण गर्ने, निम्न आर्थिक स्तर भएको वर्गका पक्षपाती, बालबालिकाहरुलाई अन्याय, अत्याचार र असमानतामूलक सामाजिक विसङ्गतिका विरुद्ध लड्न प्रेरित गर्ने परिवर्तनका पक्षधर उपन्यासकारका रुपमा देखिन्छन् । परिवर्तन शीर्षकको उपन्यासमा उनले सडक बालबालिकाहरुको नेपथ्यीय पृष्ठभूमि र समस्याको उजागर गर्नुका साथै मानिसले सकारात्मक सोचका साथ प्रयास गरेमा जुनसुकै समस्या समाधान गर्न, आफ्नो लक्ष्यमा पुग्न तथा समाजलाई स्थितिलाई परिवर्तन गर्न सक्छौँ भन्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । बालबालिकाको पक्षमा काम गरेको देखाउने तर उनीहरुकै बालश्रमको शोषण गर्न पल्केका भलादमीहरु, संघसंस्थाहरु र गैर–जिम्मेवार सरकार वर्तमान समाजका यथार्थ हुन् । यही आलोचनीय यथार्थ आचार्यका उपन्यासको कथ्य हो । नयाँ बस्ती र हाम्रो आवाज उपन्यासहरुमा पनि यो केन्द्रीय कथ्य कुनै न कुनै रुपमा रहेको छ नै । नयाँ बस्ती उपन्यासमा गरीब बालबालिकाको उद्धार गर्न भनेर खोलिएका गैर–सरकारी संस्थाका विसङ्गतिहरुबाट पीडित भए एक जोडी बालबालिकाले आफै सङ्घर्ष गरी समाज र गाउँलाई नयाँ तुल्याएको कथा छ । सामन्ती मूल्यहरुलाई ध्वस्त पारेर नयाँ सभ्यताको स्थापना गर्ने पक्षमा जातिवादी सङ्कीर्णताबाट समाजलाई बाहिर ल्याएर अन्तर्जायि विवाहसम्मको परिवर्तन यस उपन्यासमा चित्रण गरिएको छ । हाम्रो आवाज सडक बालबालिकाहरुकै समस्यामा केन्द्रित छ । शान्तिको आत्मकथा बालउपन्यास लघु आकारको भएका कारण यसलाई बाल कथाका रुपमै पनि चर्चा गर्न सकिन्छ । यद्यपि यो छुट्टै पुस्तकाकार रुपमा छापिएको सानो पुस्तिका हो ।
बाटुली तथा फुस्रे र झक्कले दुई कृति आचार्यका कथासङ्ग्रह हुन् । हालसम्म सङ्गृहीत र फुटकर प्रकाशित गरी आचार्यका एक दर्जनभन्दा बढी नितान्त मौलिक कथाहरु र पुग न पुग आधा दर्जन जति विशिष्ट व्यक्तित्वहरुका जीवनमा केन्द्रित कथाहरु गरी डेढ दर्जनभन्दा बढी कथाहरु प्रकाशित देखिन्छन् ।
कथाकारिताको पहिलो चरण सडक बालबालिका, घरका काम गर्न राखिएका बालश्रमिक तथा विभिन्न कारण शोषित पीडित भएका बालकहरुका कथामा आचार्य केन्द्रित देखिन्छन् । शान्तिको आत्मकथा, बाटुली, घरभेटी आदि त्यसप्रकारका कथा हुन् । पछिल्लो चरणमा विजयराज आचार्यका कथामा चराचुरुङ्गी, जनावर र वातावरण आदि सहभागी तथा विषयका रुपमा आएका देखिन्छन् । सारस र मान्छे, कृष्ण काकाको घर आदि कथाहरु दोस्रो चरणका सशक्त कथा हुन् । उनको कथा लेखनमा स्पष्ट देखिएका यी दुवै चरणमा बालबालिकालाई स्वाभिमानी, स्पष्टवक्ता, अनुशासित र निडर बनाउने प्रयोजन रहेको देखिन्छ । विजयराज आचार्यका कथाको समष्टि उपलब्धि चाहिँ बालबालिकामा आत्मविश्वासको अभिवृद्धि गरी विद्यमान् खराबी र असङ्गति हटाएर सुन्दर समाज निर्माणका लागि आवश्यक परिवर्तनप्रति विश्वास र अठोट उत्पन्न गराउनु हो । प्रेरक व्यक्तित्वहरुका जीवनीहरुलाई कोरा जीवनकै रुपमा प्रस्तुत नगरी आख्यानीकरण गरी तयार पारिएका बालकथाहरुमा श्यामप्रसाद, केवलपुरे किसान, झमककुमारी, र कान्छा कुमार प्रमुख रहेका छन् । यिनमा आचार्यले सम्बन्धित सिर्जनाका नायकहरुका विशिष्टताहरुलाई नछुटाइकन प्रस्तुत गरेका छन् । ती विशिष्ट व्यक्तिहरुका जीवनका सङ्घर्ष, त्यसबाट प्राप्त सफलता आदिको कलात्मक र प्रेरणादायी प्रस्तुति गरेका छन् । यसबाट बालबालिकामा मनोबल बढ्नुका साथै उनीहरुको स्वस्थ मानसिक विकासमा सहयोग पुग्ने देखिन्छ ।
चम्किला चौध कोपिला शीर्षक पुस्तक बालोपयोगी शैली र प्रयोजन भएका अन्तर्वार्ताहरुको सङ्कलन हो । यस पुस्त्कमा विशेष र फरक प्रतिभा भएका सङ्घर्षशील बालबालिकाहरुका प्रेरक तथा रोमाञ्चकारी जीवनघटना वा स्थितिको चित्रण गरिएको छ । हाल जस्तो चर्चा परिचर्चामा आउनुपूर्व नै झमककुमारीको प्रतिभा ठम्याउनु र त्यस्तै लुकेका विस्मयकारी प्रतिभाको चयन गर्नु यस कृतिको अर्को सबल पक्ष हो । अन्तर्वार्ताकार विजयराज आचार्यको मूल्य निर्णयात्मक, समालोचकीय तथा पत्रकार व्यक्तित्वको पुष्टि पनि यस कृतिले गर्दछ ।
हाम्रा आस्थाहरु र अग्रज स्रष्टाहरु दुई ओटा पुस्तकहरुमा केही राष्ट्रिय व्यक्तित्वहरुका जीवनी समेटिएका छन् । हाम्रा आस्थाहरु शीर्षक पुस्तकमा नौ जना नेपाली राजनीतिका समाजवादी प्रजातन्त्रवादी नेताहरुका जीवनी समेटिएका छन् । ती नेताहरुमा बी.पी. कोइलाराला, गणेशमान सिंह, मनमोहन अधिकारी, पुष्पलाल, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, निर्मला लामा, रुपचन्द्र विष्ट र मदन भण्डारी पर्दछन् । यी नेताहरुका जीवनीहरुमा उनीहरुका जीवनका घटनाहरुका विवरण मात्र प्रस्तुत गर्ने काम भएको छैन, बरु बालबालिकालाई उनीहरुको त्याग, समर्पण र राष्ट्रियता तथा जनजीविका प्रतिको योगदानका विषयमा सचेत तुल्याउने र उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ । अग्रज स्रष्टाहरु शीर्षक पुस्तकमा नेपालका दशजना अग्रज जनसाहित्यकारहरुको जीवनी समेटिएका छन् । ती दश जनामा युद्धप्रसाद मिश्र, हृदयचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, कुलमानसिंह भण्डारी, रमेश विकल, गोकुल जोशी, पारिजात, जनकप्रसाद हुँमागाईं, रुद्र खरेल र कृष्णसेन इच्छुक परेका छन् । जनताका समस्या साहित्यमा चित्रण गरी सामाजिक परिवर्तनका पक्षमा विसङ्गतिका विरुद्ध जनसाहित्यकारहरुले खेलेको महत्वपूर्ण भूमिकाको चित्रण गरी बालबालिकालाई प्रेरणादायी सामग्री यस कृतिले प्रस्तुत गरेको छ ।
देश र जनताको स्वतन्त्रता र समृद्धिका लागि सङ्घर्ष गर्ने समाजवादी–प्रजातन्त्रवादी राजनीतिक नेता तथा उनीहरुकै अभियानमा साहित्य लेखेर सहयोग गर्ने साहित्यकारहरुप्रति श्रद्धा जनाउँदै जनआदर्शका पक्षमा बालबालिकालार्य उत्प्रेरित गर्ने सामथ्र्य यी पुस्तकहरुमा रहेको छ ।
उपन्यास, कथा, जीवन, अन्तर्वार्ताबाहेक आचार्यका अन्य चित्रकथा चितुवासँग जम्काभेट,
कोक्ली क्याँक, काँडे दुम्सी, लआदि चित्रकथाहरु भर्खर विद्यालय जान थालेका वा विद्यालय नजाने साना नानीबाबुहरुका लागि लेखिएका सूचनात्मक सजिला साहित्य हुन् । जनावरका नाम, विशेषता, बोली, आहारा आदि बालबालिकालाई रमाइलो गरी सिकाउन यी पुस्तकहरु सक्षम छन् । उल्लेखित उपन्यास, कथा, जीवन, अन्तर्वार्ता, चित्रकथा आदि कृतिहरुको उपलब्धि नै विजयराज आचार्यको बालसाहित्यमा रहेको विधागत उपलब्धि हो ।
९. विजयराज आचार्यका कृतिहरुमा भाषा ः
बालोपयोगी भाषा बालसाहित्यिक कृतिहरुका लागि अनिवार्य सर्त हो । बालोपयोगी भाषा भन्नाले बालकको खास उमेर समूहले बुझ्ने र प्रयोग गर्ने शब्दभण्डार तथा भाषिक संरचना भएको भाषा भन्ने बुझिन्छ । बालसाहित्यका लक्षित पाठकहरु बालबालिका नै हुन् । बालबालिकाहरु सबैको क्षमता बराबर हुँदैन । खासगरी ३–४ वर्षदेखि ५–६ वर्षका बीचमा बालबालिकाहरु पढ्न सिक्छन् वा सुरु गर्दछन् । त्यस उमेरमा पढेर सुनाउने वा अक्षर फुटालेर विस्तारै पढ्ने प्रयोजनका लागि लेखिने चित्र प्रधान साहित्य आवश्यक हुन्छ । छोटाछोटा २÷३ वा चार शब्द सम्मका वाक्य यस्ता रचनामा उपयुक्त हुन्छन् । त्यसपछि ६ देखि १०÷१२ वर्षसम्मका बालबालिकाको रुची षमता एक किसिमको हुनसक्छ । कुरकुरे बैंस (उगदभचतथ) पार गरेका किशोर किशोरीहरुका लागि लेखिने साहित्यको भाषामा केही विकास गर्नुपर्दछ ।
विजयराज आचार्यका प्रथम चरण्का उपन्यास र कथा प्राय १०÷१२ वर्ष र त्यसभन्दा बढी उमेरका बालबालिकालाई लक्ष्य गरिएको छ । १०÷१५ शब्दसम्मका लामा वाक्य पनि तिनमा प्रयोग गरिएको छ । जीवनका समस्याहरुको केही जटिलता पनि तिनमा छन् । उदाहरणका लागि नयाँ बस्ती, उपन्यासबाट उदाहरण हेरौँ ः
‘यी सबै घटनाक्रम हेर्दा मलाई के लाग्यो भने ठूलो सानोको भेदभाव भनेको त मात्र धन सम्पत्तिको रहेछ । आखिर गीता बाहुनकी छोरी, त्यै पनि दलितकोमा नोकनईको काम गर्नु परेको छ । यी सबै दुव्र्यवहार देख्दा म पनि राम्रोसँग पढ्छु र समाजका लागि केही गर्छु भन्ने लाग्यो ।’
(नयाँ बस्ती, पृष्ठ ३९)
परिवर्तन, हाम्रो आवाज, नयाँ बस्ती, आदि उपन्यासहरु अग्रज स्रष्टाहरु, हाम्रा आस्थाहरु जीवनी सङ्ग्रहहरु तथा अन्य केही कथाहरुका लक्षित पाठक पनि दशवर्षभन्दा माथिका बालबालिका नै हुन् ।
‘म’ पात्रले आफ्नो कथा भन्ने शैली प्रभावकारी हुन्छ । यस्तो आत्मपरकताले बालबालिकालाई चाडै आकर्षित गर्छ । विजयराज आचार्यका प्रायः सबैजसो कृतिहरुमा यस्तो प्रयोग गरिएको छ ।
दश वर्षभन्दा साना बालबालिकाका लागि पनि आचार्यले कथाहरु लेखेका छन् । उनले पछिल्लो चरणमा लेखेका प्रायः चित्रकथाहरु र अन्य कथाहरुमा पनि छोटा वाक्य र सीमित शब्दभण्डारको सचेततापूर्वक प्रयोग गरिएको छ । चितुवासँग जम्काभेट, कोकले क्याँक, काँडे दुम्सी, आदि त्यस्तो सरल भाषा भएका उनका प्रतिनिधि कृति हुन् ।
समग्रमा हेर्दा विजयराज आचार्य बालसाहित्यमा सरल, सहज भाषाको सचेततापूर्वक प्रयोग गरी बालबालिकाको खास क्षमतालाई ध्यानमा राखी विषयवस्तु प्रस्तुत गर्दछन् । उनका पछिल्लो चरणका रचनाहरु किशोरअवस्था प्रवेश गर्न लागेका वा गरिसकेका पाठकलक्षित थिए भने पछिल्लो चरणमा शिशुहरुलाई र साना बालबालिकालाई ध्यान दिइएका रचनाहरु प्रकाशित भएका छन् ।
१०. विजयराज आचार्यका कृतिहरुको कथ्य र प्रयोजन
विजयराज आचार्यका बालसाहित्यिक कृतिहरुको मूल कथ्य विषय बालबालिका र उनीहरुकै परिवेश हो । उनी बालबालिकाका समस्याहरुलाई प्रस्तुत गर्दछन् तर यी कृतिहरुमा उनको वर्गीए चिन्तन प्रष्ट छ । उनले उठाउने समस्या निम्न वर्गीय आर्थिक अवस्थाका कारण उत्पन्न समस्या हुन् । लेखक आचार्य वर्तमान समाज व्यवस्था र राज्यसत्तामा आमूल परिवर्तन नभई समस्याको पूर्ण समाधान हुन नसक्ने यथार्थ बालबालिकाहरुलाई सजिलोसँग बुझाउन चाहन्छन् । त्यसैले उनका पात्रहरु निम्न वर्ग र असचेत समाजका भए पनि एकजुट हुन्छन्, सामुहिक प्रयत्न गर्छन्, स्थितिलार्य परिवर्तन गर्छन्, सामन्ती मूल्यहरुका र प्रवृत्तिहरुका विरुद्ध योजनाबद्ध विद्रोह पनि गर्छन्, अन्तर्जातिय विवाह पनि गर्दछन् । यी सबै कुरा उनले आयोजित रुपमा नभई स्वाभाविक रुपले आख्यानात्मक कृतिहरुमा ल्याएका छन् । उनको सबलता पनि यसैमा छ । विजयराज आचार्य वर्गीय समाजका विसङ्गति बालबालिकाहरुलाई सकारात्मक पहलबाट चिनाउँदै तिनका विरुद्ध लडेर समाजको रुपान्तरणका लागि उनीहरुमा आत्मबल र अठोटको विकास गराउने उद्देश्यले कथा लेख्छन् । पुँजीवादी भुमण्डलीकरणका गहन र बहुआयामिक कुरा बच्चाहरुले बुझ्दैनन् भन्ने कुरामा लेखक सचेत छन् । तसर्थ उनी चरा, सिंह, पर्यावरण आदिका कथामार्फत् समाजको वर्गीय संरचना, समस्या र समाधानको उपाय सिकाउन प्रयत्न गर्छन् ।
सामाजिक, राजनीतिक, परिवर्तनका लागि राजनीतिक सङ्घर्ष गर्ने नेताहरुका जीवनी, समाजमा रहेको शोषणको नग्न रुप अनावरण गरी चेतना फैलाउने साहित्यकारका जीवनी, नयाँ जीवनप्रतिको मोह जगाउने प्रयोजनका लागि लेखिएका हुन् । बालबालिकालाई समाजप्रति सचेत, जागरुक र प्रतिबद्ध बनाई परवर्तनकामी चेतना विकास गराएर उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग गर्ने प्रयोजनले आचार्यका कृतिमा कथ्यको चयन गरिएको छ ।
ग्रामीण परिवेशप्रतिको मोह र पर्यावरणीय असन्तुलनप्रतिको मोहभङ्गको स्थिति आचार्यले प्रस्तुत गरेका छन् । बालबालिकालाई देश, वातावरण र समाजप्रति सचेत बनाउने उनका कृतिहरुको प्रयोजन हो । समग्र बालसाहित्यको प्रयोजन पनि त्यही हो ।
निष्कर्ष ः
बाल साहित्य प्रौढ साहित्य वा सुलभ साहित्यकै प्रयोजनपरक भेद हो । यसका अन्य विधा तत्वहरु भिन्न हुनु आवश्यक छैन । सुलभ साहित्यभन्दा बालसाहित्यलाई छुट्याउने भनेको लक्षित पाठक, प्रयोजन, बालोपयोगी भाषा, विषयको सरलता तथा प्रस्तुति आदिले नै हो ।
नेपाली बालसाहित्यमा पछिल्लो समय सक्रियता वा क्रियाशीलता र लेखनका हिसाबले आफ्नो पुस्तका बालसाहित्यकारहरुको नेतृत्व गरिरहेका बाल साहित्यसजृक हुन् – विजयराज आचार्य । खासगरी वर्गीय समाजमा निम्न वर्गीय बालबालिकाले भोग्नुपर्ने शोषण, दमन र अत्याचारको अनावरण गर्दै त्यसको समाधानप्रति बालबालिकालाई बताउनु र उनीहरुमा आत्मबल तथा परिवर्तनप्रतिको प्रतिबद्धता विकास गर्नु उनका कृतिहरुको मूल उद्देश्य हो । उनका कृतिहरुमा जीवनका विविध पक्षहरुको चित्रण गरिएकोृ हुन्छ तर ती सबैको प्रयोजन प्रायः वर्गीय चिन्तनमा आधारित निम्न वर्गीय पक्षधरतामा अडिएका हुन्छन् ।
बालोपयोगी भाषा, कथ्य विषय र प्रयोजन विजयराज आचार्यका कृतिहरुको प्राप्ति हो । उनका बालसाहित्यिक कृतिमा विचारको अत्यन्त हार्दिक रमरम छ, जसले बालबालिकालाई समानता र न्यायका पक्षमा सुस्तरी उन्मुख गराउँछ ।
सन्दर्भ ग्रन्थसूची
अवस्थी, महादेव, (२०६५), बालसाहित्य विधा र तिनको लेखन प्रक्रिया, काठमाडौँ, एकता प्रकाशन ।
गिरी, जीवेन्द्रदेव, नेपाली बालपत्रिकाको बालसाहित्यमा योगदान (२०६१), विवेक सिर्जनशील प्रकाशन ः काठमाडौँ ।
पराजुली, कृष्ण प्रसाद (२०४४), भाषाको माया काठमाडौँ ः रत्न पुस्तक भण्डार
बन्धु, चुडामणि (२०४५), बालसाहित्य ः अस्तित्व र प्रयोजन, बालसाहित्य (वर्ष ४, अङ्क १) पृ.२१ ।
सुवेदी, राजेन्द्र, (२०५३), नेपाली बालसाहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदान, सुनकोशी (वर्ष २, पूर्णङ्क २) पृ. ७४–७५) ।
प्रधान भिक्टर, (सम्पा.), नेपाली बालसाहित्यको सय वर्ष, (सन् २००७), काठमाडौँ, नेपाल बालसाहित्य समाज ।
लम्साल, रामचन्द्र र अन्य (सम्पा.) (?) काठमाडौँ अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन ।
प्रधान, प्रमोद (२०६५), नेपाली बाल वाङ्मय परिचयकोश, काठमाडौँ ः मार्टिन चौतारी ।
हुमागाईं, जनकप्रसाद, नेपाली बाल साहित्य, (२०५६) काठमाडौँ ः सुनकोशी साहित्य प्रतिष्ठान ।
विजयराज आचार्यका सबै कृतिहरु ।