Menu Close

चम्किला चौध कोपिला

यता आएर नेपाली बालसाहित्यको संख्यात्मक र गुणात्मक विकास भइरहेको छ । यसप्रति पूर्ण सन्तुष्टित जाहेर गर्न सकिन्न । तर भएका उपलब्धिप्रति बेखबर पनि हुन सकिन्न । बालकथा, बालकविता, बालगीत, बालउपन्यास, बालनियात्राका साथै अब बाल अन्तर्वार्ता विधाले पनि घुम्टो उघारिसकेको छ । बालअन्तर्वार्ताको सम्भवतः नेपालीमा प्रथम संग्रहको रूपमा विजयराज आचार्य (२०३३) को ‘चम्किला चौध कोपिला’ देखा परेको छ ।
‘चम्किला चौध कोपिला’ बालबालिकासित लिइएको अन्तर्वार्तासंग्रहको पुस्तक हो । आफैमा गम्भीर विषय र विधा अन्तर्गतमा अन्तर्वार्ताकारको कौशलबाट सम्बन्धित व्यक्तिको व्यक्तित्वलाई प्रकाशमा ल्याउन सकिन्छ । अन्तर्वार्ता लिनु एउटा सौख र कला पनि हो । यहाँ जम्मा १४ जना बालबालिकाका विचार र अन्तर्वार्ताहरू संगालिएका छन् । अन्तर्वार्ताकारको दृष्टिकोण र अभिरुचि अपाङ्ग, हेपिएका, पिछडिएका बालबालिका तथा दुर्गम क्षेत्रका प्रतिभाशाली बालबालिकाका भावना, विचार र उद्देश्यलाई प्रकाशमा ल्याएर तिनलाई उत्साहित गर्नु रहेको पाइन्छ ।
अन्तर्वार्ताकार विजयराज आचार्यले हाम्रो समाजमा हेपिएर रहेका अपाङ्ग, पीडित र टुहुरा बालबालिकालाई छानेका छन् । खरानीले छोपेर चालै नपाएको गोला फेला पार्न आचार्य सफल देखिन्छन् । चौधवटा चम्किला कोपिलामध्ये– नेपालगञ्जकी सरस्वती शर्माका दुवै हात छैनन्, तर उनमा अन्यायमा परेकालाई न्याय दिन न्यायधीस बन्ने उत्साह छ । विराटनगरमा सञ्जीवकुमार पाण्डे गरिकीको जाँतोमा पिँधिदा पनि डाक्टर बनेर झुप्राहरूमा पुगी दुःखी गरिबहरूको सेवा गर्न चाहन्छन् । धनकुटाकी झमककुमारी घिमिरे शरीर विकलाङ्ग भएर पनि दिलदिमाग दरो रहेकाले उनी खुट्टाले लेख्छिन् । (यस पुस्तकमा उनीसितका चारवटा अन्तर्वार्तामा सँगालिएका छन्) । वीरेन्द्रनगर (सुर्खेत) की मीनाकृष्ण खड्का एक प्रतिभाशाली छात्रा हुन्, उनी गरिब जनताका पक्षमा राजनीति गर्न चाहन्छिन् । अर्घाखाँची (अर्घा–४) घर भई दिल्लीमा (बाआमा त्यही काम गर्ने हुनाले) पढिरहेकी विमला राउत आफ्नो मुलुकबाट बाध्यतावंश विदेशतिर रोजीरोटी खोज्न पुगेका गरिबलाई पश्चिमी छाडा संस्कृतिबाट सचेत गराई स्वच्छ जनसंस्कृतिको बाटो देखाउन चाहन्छिन् । आफू पाँच वर्षको छँदा (आसाममा) डाँकाको गोलीबाट बाबुको मृत्यु भई टुहुरा बनेका आँपचौर, गुल्मीका कृष्णप्रसाद खरेल निमेक गरेर पढ्छन्, तर भोकै नाङ्गै हुनु परे पनि यो देश छाडेर अन्यत्र नजाने प्रण गर्दछन् । महेन्द्रनगर–१८ निवासी प्रतिभाशाली छात्रा समुन पन्त पढेर सच्चा वकिल बन्न र मुलुकका गुमेका भूभाग फर्काउन चाहन्छिन् । पोखरामा कवाड बटुलेर जीविका गर्ने स्याङ्जाका कृष्ण भुजेल एउटा गैससको सहायताले पढ्न थाले पनि आफ्नो भविष्य उज्यालो देख्दैनन् । प्युठान खलंगाकी सपना पोखरेल हात डुँडो भए पनि हात खुट्टा सद्दे भएकाहरूले भन्दा बढी काम गरेर उदाहरण बन्न चाहन्छिन् । सिन्धुली घर भई भूकम्पमा गरी बाबुआमाको मृत्यु भएकाले टुहुरी बनेकी सीता केसी (काठामाडाँै कलङ्गीमा पढ्ने) भविष्यमा आफूजस्तै असहाय टुहुरा बालबालिकाको उद्दार र सहयोग गर्न चाहन्छिन् । दोलखा स्कुलमा पढिरहेका पासाङ दोर्जे सेर्पा डाक्टर बनेर गाउँबस्तीका बिरामीले उपचार गर्न चाहन्छन् । सोलुखुम्बुमा जन्मे पनि बाबुबाट अपहेलित भई आमा, सानिमा र भाइका साथमा मजदुरी गरेर काठमाडौँमा पढिरहेकी, साहस र संघर्षलाई महत्व दिने मीनु के.सी आइएस्सीमा राम्रो अङ्क ल्याई छात्रवृत्ति पाए डाक्टरी पढ्न चाहन्छिन् । मिर्चैया, सिरहीको दीपिका सानै उमेरदेखि नै कराँते प्रतियोगितामा सफल हुँदै गएकीले भविष्यमा सफल खेलाडी बनेर मुलुकको नाम राख्न चाहन्छिन् । छुन्चे, रसुवाका रविन्द्र कुइँकेल भविष्यमा पाइलट बन्न चाहन्छन् । त्यसो त उनलाई राजनीति पनि मनपर्छ । उनका विचारमा अन्यायको थिचोमिचोमा परेका गरिब श्रमिक किसानहरूलाई यस्तो थिचोमिचोबाट मुक्त गर्ने काम राजनीतिबाटै गर्न सकिन्छ जस्तो लाग्छ ।
यसरी हेर्दा यहाँ समेटिएका बालबालिकाहरू हिमाल, पहाड र तराईसम्मका रहेका छन् । बालबालिकाहरू डाक्टर, इन्जिनियर, पाइलट, वकिल, राजनेता, समाजसेवी, खेलाडी बन्न चाहन्छन् । देश, नेपाली जनता र नेपाली प्रकृति आदिप्रति न्यानो माया यहाँ प्रकट भएको छ । यहाँ बालबालिकाका इच्छा आकांक्षा, मनोभावना, चाहना अत्यन्त सरल र सोझो तरिकाले व्यक्त भएका छन् । कतिका हात छ्रैनन्, उत्साह छ । धन छैन, साहस र श्रम छ । बाबुआमा छैनन् तर केही गर्ने दृढता छ ।
यहाँ चौध बालबालिका र दुईजना अभिभावकका विचार र भावना व्यक्त भएका छन् । विषय वा व्यक्तिको छनौट महत्वपूर्ण कुरो हो । विजय अचार्यको छनौट प्रशंसनीय छ । सरल र सोझा प्रश्न र त्यस्तै उत्तरहरू भएकाले प्रस्तुत पुस्तकमा जसका अन्तर्वार्ता छापिएका छन् तिनीहरू त उत्साहित भएकै छन्, यसका पाठकलाई पनि केही गर्ने केही बन्ने प्रेरणा प्राप्त हुने निश्चित छ । अन्तर्वार्ताकारले जसको अन्तर्वार्ता लिने हो, उसका मुख्यमुख्य कुराहरू प्रकाशमा ल्याएको हुनु वाञ्छनीय हुन्छ नै । त्यसमा आचार्य प्रायः सफल छन् । फेरि मन केही ठाउँमा केही कमजोरी रहन गएका छन् । उदाहरणका लागी सीता केसीबाट लिइएको अन्तर्वार्तामा उनका आमाबाबु भूकम्पमा परेर बित्नुभएको संकेत पाइन्छ तर कहिले र कहाँ गएको भूकम्प हो भन्ने जानकारी पाइन्न । यस्तै यसमा भाषिक त्रुटि र अशुद्धि पनि रहन गएका छन् । यस्ता सानातिना कमीकमजोरी रहे पनि प्रस्तुत पुस्तक नेपाली बालसाहित्यका क्षेत्रको एक महत्वपूर्ण प्राप्ति हो । चित्रले त झन् सुनमा सुगन्ध थपेको छ । जीवेन्द्रदेव गिरीको समीक्षात्मक भूमिकाले त झन् यसको गरिमालाई बढाइदिएको छ । यो पुस्तक भविष्यमा एउटा कोेसेढुङ्गा सिद्ध भएको छ ।


कपिल लामिछाने
जनएकता २०६१ साल भदौ ७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *