Menu Close

नयाँ/नौलो/नवीन , एकलब्य यात्रा

नयाँ÷नौलो÷नवीन
ुवा समीक्षक÷पत्रकार राजकुमार बानिया“को चर्चित स्तम्भ ‘नया“÷नौलो÷नवीन’मा साहित्यमा आफ्नो उचाइ बनाउ“दै गरेका युवा कवि÷लेखकहरूका वैयक्तिक भोगाइ, उनीहरूका सपना, विचलन, नखोलिएका पाटाहरू र आत्मस्वीकृतिजस्ता कच्चा पदार्थलाई एउटै लेखोटमार्पmत् प्रस्तुत गरिन्छ । यसपटकको स्तम्भमा हामीले बालसाहित्य लेखक विजयराज आचार्यलाई प्रस्तुत गरेका छौँ । –सम्पादक

एकलब्य यात्रा
राजकुमार बानियाँ

अन्यथा अर्थ नलागोस्, एउटा दर्जा अलिकति हास्यास्पद लाग्छ । वयोवृद्ध व्यक्तिले टाइटल पाउँछन्, बाल–साहित्यकार ! साँच्चै भाषाको सामथ्र्य नपुगेको हो या टाइटल नसुहाएको ? मौलिक र अनुवाद गरी ६५ बाल पुस्तकका लेखक विजयराज आचार्यलाई के भन्ने ? बरु विजयलाई बालसाहित्य लेखक भन्न सुहाउला । उनकै छोरा (‘हराएको चप्पल’ कथासङ्ग्रहका लेखक) विवेक आचार्यचाहिँ बाल–साहित्यकार ।
खासमा विजयलाई भन्नुपर्ने के हो ? मलाई यकिन छैन । लेखक, प्रकाशक र अनुवादकको ‘अल इन वान’ पर्सनालिटी छ उनको । यहाँनेर उनलाई छनोट गरिएको पक्कै लेखकका रूपमा हो । बालबालिकाका लागि चकलेट, खेलौना या पहिरनभन्दा सुन्दर उपहार पुस्तक दिने कोसिसको सम्मानमा ।
अनौपचारिक तथ्याङ्कमा नेपाली बालसाहित्य लेखक चार, पाँच सय पुगिसकेका छन् । दुई हजारभन्दा बढी बालसाहित्यका पुस्तक आइसकेका छन् । तर, स्तरीय र सुन्दर साहित्य लेखक दुई दर्जन पनि पुग्दैनन् । मलाई पनि फेरि एकपटक बालक हुन मन लाग्छ । बालसंसारमा गएर खेल्न मन लाग्छ । तर, वयस्क बालक हुन सक्दो रहेनछ । असली बालसाहित्यका लेखक त अझ बच्चै हुने हो । यसरी उमेर बिर्संदा विजयहरूलाई केटाकेटीका कुरा लेख्ने भनेर लेखकहरूले नै उडाउँछन् ।
कतै लेखिएको छ– उम्दा बालसाहित्यमा बालबालिका उड्न, पौडन, दौडन सक्छन् अनि थाकेपछि त्यसमै सुस्ताउन सक्छन् । त्यहाँ सबथोक सम्भव छ । बाल्यकालमा त्यस्तो साहित्य त पढ्न पाइएन । बालक, बालपोष, किशोर, मुना आदि बालपत्रिकाको अनुहार भने देखिएको हो । बालपोषका सम्पादक शान्तदास मेरा मात्र नभएर विजयका पनि आइकन हुन् ।
“हामी आपूmलाई मनपर्ने कुरा सिकाउन चाहिरहेका हुन्छौँ । सिकाउनु भनेको हामीले आप्mनो अनुभवबाट सिकेको कुरा वा देखेर वा सुनेर जानेको कुरा बोलेर सम्झाउनु हो वा लेखेर सम्झाउनु नै हो,” गुगलमा खोज्दा तिनै शान्तदासले भनेका रहेछन्, “साहित्यमा लेखकले लेख्ने भनेकै आप्mनै अनुभवबाट प्राप्त ज्ञान वा सुन्दर समाजको परिकल्पना हो ।” भाषा र प्रस्तुतिबाहेक बाल र वयस्क साहित्यमा खासै अन्तर छैन । बाल होस् या वयस्क बिरामी, ओखतीको मात्रा मात्र फरक हुन्छ । बालबालिकालाई ‘ओभर डोज’ दिने साहित्य भद्दा लाग्छन् ।

साँच्चै भनुँ भने विजयका बारेमा मैले थुप्रैपटक लेखिसकेको छु । अहिले लेख्न बस्दा पनि थुप्रै सन्दर्भ सामग्री छन् । चंकी श्रेष्ठको सम्पादनमा ‘शब्द, स्पर्श र अनुभूति’ (२०६२), मणि लोहनीको संयोजनमा डिब्बा बन्द भएको पाण्डुलिपि, पूर्णकला भट्टराईको शोधग्रन्थ, थुप्रै समीक्षा, समालोचना, अन्तर्वार्ता, लगभग ६५ वटै पुस्तक । कहाँबाट कसरी थाल्ने भन्ने अलमलका बीच हात प¥यो, ‘संस्कार’ (जन्मदेखि मृत्युसम्मका संस्कारहरूबारे वैज्ञानिक धारणा) । वास्तवमा यो पुस्तकमै विजयको सारा व्यक्तिगत जीवन अटाएको छ ।
लेखक खगेन्द्र संग्रौलाको संयोजनमा निस्केको यो पुस्तकको प्रकाशक पीताम्बर–मनकला सम्मान समितिको संस्थापक विजय नै रहेछन् । उनले नेपाली राजनीतिक एवम् सांस्कृतिक–साहित्यिक क्षेत्रका स्वनामधन्य व्यक्तिका बीचमा एउटा रचनात्मक संस्कार मन्थन गराएका छन् । मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, नरहरि आचार्य, घनश्याम शर्मा पौड्याल, डा. विष्णु दहाल, खगेन्द्र संग्रौलाको लेख अनि आहुति, प्रदीप ज्ञवाली र डा. रामचन्द्र गौतमका टिप्पणी गहकिला छन् । यसमा पाठकलाई सुविधा छ– संस्कारसम्बन्धी समयसापेक्ष लोकवादी दृष्टिकोण पछ्याउने या शास्त्रीय दृष्टिकोणमा हुबहु निरन्तरता खोज्ने ?
संस्कारका मामलामा नेपाली समाज रुढीवादी र अतिवादी कित्तामा छ । झन्डै दुई हजार वर्ष पुरानो संस्कारमाथि बहस सुरु गराएका छन् विजयले । परलोक, भाग्यवाद र पुनर्जन्मका कर्मकाण्डको औचित्यमाथि औँला ठड्याएका छन् । जनवादी शिक्षाको सुगारटान दिने अनि त्यसलाई ललिपप बनाएर भोट माग्ने दलहरूमाथि नै व्यङ्ग्य हो विजयको पछिल्लो कदम । आखिर तिनले भनेको जनवादी शिक्षा नारा हो कि चराको नाम हो ? राजा, महाराजाको साटो लाल–कमरेडहरूको जीवनी पढाउनु हो या बकुल्लाको ठाउँमा बन्दुक राख्नु ?

शास्त्रोक्त मान्यताअनुसार विजयको न्वारानमात्रै भयो । त्यसपछि उनले कर्मकाण्डलाई हापिदिए । अझ भनौँ, शास्त्रलाई ‘क्रान्तिकारी’ शिक्षाले पन्छाए । उनले व्रतबन्ध गरेनन्, जनै पनि लगाएनन् । विवाह पनि रीतिथितिअनुसार भएन । छोरा र छोरीको न्वारान पनि गरेनन् । घरमा रजस्वला भएकी महिलालाई छोइछिटो छैन । अझ उनले त बाबुको किरियासमेत गरेनन् । त्यसले उनलाई मानसिक शान्ति भने दिएनछ । त्यही छटपटीमा उनले पुस्तकको डिजाइन गरेका हुन्, ‘संस्कार’ ।
उनको कुनै कामरेडी विवाह भएको होइन । २०५६ सालको वैशाखताका अर्घाखाँची, धरमपानीका जनार्दन भुषालकी माइली छोरी पुष्पासँग आफन्त निमानन्द बेल्बासेले मौखिक प्रस्ताव राखे । पारिवारिक सहमति लिएर सिन्दुर, पोते, जन्ती र बाजाबिनै दाम्पत्यमा प्रवेश गरे । वास्तवमा भन्ने हो भने पुष्पाकी हजुरआमाको बरखी भएकाले टीकाटालो गर्न मिल्ने अवस्था पनि थिएन ।
बेलुकी केटी माग्न गएको, बिहान दुलही लिएर हिँड्दा, घर र छरछिमेकमा प्रेमको भ्रम प¥यो । तर, उनको विवाह संयोगमात्र हो । विजयले त राम्रोसँग दुलहीको अनुहार पनि हेरेका थिएनन् । एकैचोटि काठमाडौँ आएर हेरेछन् । तैपनि उनको कथित क्रान्तिकारी र विद्रोही छवि विना सङ्घर्ष सकुशल रह्यो । जवानीमा विजय कसैको प्रेममा परेनन् । आर. आर. क्याम्पसको नाइट क्लासमा कुनै केटी थिएनन् । बीए पढ्दा बिहे भइहाल्यो । उनलाई खेद केमा लाग्छ भने, वामपन्थी स्कुलिङमा प्रेमपत्र लेख्नेलाई पनि घाँस खुवाउने अभ्यास भए ।
विजयको पहिलो र अन्तिम प्रेम पुष्पासँगै भयो । सुशिक्षित पुष्पा एक कुशल गृहिणीका रूपमा छिन् । प्रकाशककी पत्नी भए पनि कुनै बेला झोलाझोलामा किताब बोकेर या विभिन्न कार्यक्रममा फिँजाएर बेचिन् उनले । तर, उनले वर्गीय मुक्तिको राजनीति गरिनन् । अभैm पनि वामपन्थी राजनीतिमा महिलालाई पुतलीका रूपमा मात्र प्रयोग गरिएको देख्छन् विजय । बुझाएर भन्दा अनुहार हेर्न महिलालाई मञ्च र नाचगानमा हिँडाइएको उनको अनुभव छ ।
यो एकलव्य यात्रामा विजयले सानातिना झमेला नपाएका होइनन् । छोराको न्वारान नगर्दा घरबेटीको अछूत व्यवहारका कारण डेरा सर्नुप¥यो । देश छाड्नुपरेको भए एउटा कुरा हुन्थ्यो, डेरा छोड्नु कुन ठूलो कुरा भयो र भनेर ललकार्ने नेता पनि भेटिए । नामै नराखी छ महिना बित्यो । प्रकाशन संस्थाको नामकरणका बेला उनले परिस्थितिजन्य नाम पाए, विवेक । उनकी छोरीको न्वारानको साक्षी म पनि थिएँ । विद्वान् मित्रहरूको साथमा निनु चापागाईंले प्रवचन दिए र नाम राखियो, विवेचना ।
खास अप्ठ्यारो भने २०६३ असोजताका बुबाको मृत्युमा भयो । उनले किरिया बार्नुमा कुनै वैज्ञानिक कारण देखेनन् । ब्राह्मण राख्ने, गरुडपुराण सुन्ने–सुनाउने काम पनि गरेनन् । भेट्न आउने आफन्तजनलाई नमस्कार र हात मिलाए बस् । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, पुष्पलाललगायतका नेताको सम्झना गर्ने तर बाबुआमा र आफन्त गुमाउँदा शोक पनि नमनाउने त ? यो प्रश्नले उनलाई गम्भीर बनायो ।
यसका निम्ति विजयले सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार (२०६०), पुष्कर गौतम बालसाहित्य पुरस्कार (२०६७) र पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार (२०६९) बाट प्राप्त २८ हजार र बुबाआमाबाट अंशस्वरूप प्राप्त एक लाख ४२ हजार गरी जम्मा एक लाख ७० हजारको अक्षयकोष राखेर पुस्तक निकालेका हुन् । कोषमार्फत संस्कारसम्बन्धी अध्ययनका लागि विद्वत्वृत्ति दिने विचार छ उनको । आप्mनो मृत्युसँगै गुठी पनि सकियोस् भन्ने उनी चाहन्छन् ।
“मैले यो काम मनग्य पैसा कमाएर गरेको होइन । समाजप्रतिको उत्तरदायित्वको भावनाले गर्दा नै गरेको हँु,” विजयले पुस्तकमा लेखेका छन्, “यो पुस्तक पढेर थोरै मानिसले भए पनि जन्मदेखि मृत्युसम्मका रूढीवादी संस्कार त्यागी वैज्ञानिक विचार अवलम्बन गरेमा मैले आपूmले गरेको कामले सार्थकता पाएको ठान्नेछु र मेरा बुबाआमाप्रति साँच्चिकै सम्मान गरेको सम्झने छु ।”
उनलाई थाहा छ, बीपी कोइरालाले पितृलाई श्राद्धतर्पण र पिण्डपानी दिएनन् या पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुलाई टाईसुट लगाएर दागबत्ती दिए भन्दैमा त्यसको ठाडो अनुसरण गरिँदैन । त्यसमा तार्किक निष्कर्षको खोजी हुन्छ । के वैज्ञानिक हो, के अन्धविश्वास हो ? के धार्मिक हो ? के आध्यात्मिक हो भन्ने विवेचना छ पुस्तकमा । आत्मा, परलोक, कर्म र भाग्यको फलमा जकडिएका संस्कारमा सुधार चाहिन्छ भन्ने व्यावहारिक र मध्यमार्गी मत छ अधिकांशको । “जसरी बच्चा जन्मँदा खुसी हुने र उसको नाम राख्ने अधिकार आमाबाबुको हुन्छ, त्यस्तै आफन्त गुमाउँदा पनि स्वयम्ले रोजेको विधिले शोक मनाउन पाउनुपर्छ,” विजय भनिरहेका छन्, “संस्कारसँग सम्बद्ध जडतालाई सुधार गर्दै विज्ञानमा विश्वास गर्नु सामयिक हो ।”
..
प्रकाशनको छैठौँ अङ्कमा आइपुग्दा ‘पाण्डुलिपि’ साहित्यप्रेमीमाझ प्रिय छ । लेखकहरूको पत्रिका पाठकले खोज्न थालेका छन् । त्यसको एउटा नियमित स्तम्भ भएकाले होला, लेखकहरू नयाँ, नौलो, नवीनमा आउने रहर गर्छन् । सम्पादक, प्रकाशक र पाठकको फर्माइस एकसाथ पूरा गर्नु मलाई मनासिब नै लाग्छ । विजयका मामिलामा अलिकति अलमल भयो । लिने कि नलिने ? कुन अङ्कमा छाप्ने ? एक खालको निधो भएपछि विजयलाई भेट्न म बिहानै हिँडे, घरबाट कालिकास्थान ।
‘अन्तर्वार्ता लिन जानु छ ।’ घरबाट निस्कने कुनै बहाना चाहियो भने म भनिदिन्छु । परिवारलाई के भ्रम परेको छ भने राजकुमार बानियाँको कामै अन्तर्वार्ता हो । अन्तर्वार्ता लिनु ज्यादै सजिलो छ । त्यसैले उसले यस्तो काम रोजेको हो । कति गाह्रो छ ? अहिले कम्युप्टरअगाडि बस्दा स्वाद पाएको छु । विवेक सिर्जनशील प्रकाशनको प्रबन्ध सञ्चालकको कुर्सीमा बसेका विजयका अन्य जिम्मेवारी पनि छन्, प्रगतिशील लेखक सङ्घका सचिवालय सदस्य, शुभकामना एकेडेमी टौदहका अध्यक्ष आदि इत्यादि । कतिपय जिम्मेवारीसँग पाठकलाई लिनुदिनु छैन ।
सबै कुरा समेट्ने हो भने विजयका बारेमा ठेली नै तयार हुन्छ । तर, सबै चिज सानो लेखमा समेट्न खोज्दा पाठकमाथि पक्कै भारी हुन्छ । त्यसैले यसलाई धेरै लम्ब्याउनु ठीक छैन । यहाँनेर आपूmमाथि आउने झटारोको मानसिक तयारी पनि गरेको छु । भान्जाको प्रकाशनमा मामाको निवार्ता ! विष्णुकुमार पौडेलको मामा भएकाले यो आलेख बनेको होइन । विजयराज आचार्य आपैm सुपात्र हुन् । यसमा कसैले भ्रम नलिए हुन्छ । सम्पादकले पनि सङ्कोच नलिए हुन्छ । अब रह्यो, प्रेम, सेक्स और धोका टाइपका बाह्रमसला भने विजयको जीवनमा सायद छैन । एक त उनी वामपन्थी हुन् । त्यसमाथि उनलाई आदर्श–आवरण प्यारो छ । गफगाफमा पनि उनलाई आप्mनै माक्र्सवादी आदर्शले अनायासै रोकिदिन्छ ।

मझौला कद, ठूला गाला, गोलो टाउको र डम्म परेको पेट, आवाज न मसिनो न खस्रो ठिक्क किसिमको । विजयराज आचार्यको बाह्य व्यक्तित्व शोधलेखिका पूर्णकला भट्टराईले यसरी खिचेकी छन् । प्युठानको दाङवाङमा २०३३ सालतिर नौमध्ये साताँै नम्बरमा जन्मेका रहेछन् विजय । पहाडका गाउँघरमा चितुवासँग जम्काभेट नौलो होइन । मलाई त बिरालोले बाटो काटेजस्तो अनुभव हुन्छ । पहिलो पटक डर लाग्छ । दोस्रो, तेस्रोपटक सामान्य लाग्दै जान्छ । विजयलाई पनि त्यस्तै लाग्छ– बाल्यकालमा दुःख नपाउने नेपाली को छ ? दुई, चार घन्टा हिँडेर स्कुल नपढ्ने पनि कोही छैनन् । ४० को हाराहारीमा पुगेका पहाडका मान्छे जसरी गुज्रिए, त्यसैगरी विजय जवान भए भनेर टुङ्ग्याउन मन लाग्छ । उनी अलि हँसिमजाक पनि गर्छन्, “विगतलाई यसरी कोट्याइरहनु पनि एक खालको प्रतिगमन नै हो । यसले विकासको गतिलाई रोक्छ ।”
आचार्य परिवार आफै जम्बो खालकै हो । भूमिगतकालमा मोहनविक्रम सिंह (एमबी) नेतृत्वको नेकपा मसालका नेता कार्यकर्ताको आउजाउ बाक्लै थियो घरमा । त्यसैले होटल खोलेजस्तो घर भन्थे गाउँले । चित्रबहादुर केसी, डिलाराम आचार्यजस्ता मसालका पूर्व नेताहरूले उनकै घरमा तीन महिना प्रशिक्षणसमेत चलाएका छन् । जनवादी क्रान्ति सम्पन्न भयो भने यो घर राष्ट्रपति भवन बन्छ भन्ने हावादारी गफ पनि भयो त्यतिबेला । मसाल फुट्दै फुट्दै गएर नेकपा एकीकृत (रामसिंह श्रीस समूह) को काठमाडौँ उपसचिवसम्म भएका छन् विजय ।
आप्mना राजनीतिक गुरु एमबीलाई उनले बाल्यकालमा आप्mनै गाउँमा भेटे । साँझपख खोलो तारेर सेल्टरसम्म पु¥याए । विरोधीले भनेजस्तो अव्यावहारिक र सङ्कीर्ण पनि लागेनन् । देशभरि माक्र्सवादी साहित्यको प्रवद्र्धनका लागि गोरखपुरबाट रिक्सामा पुस्तक ल्याएको उनलाई हेक्का छ । सबै कम्युनिस्ट पार्टीका गुरु एमबी उदार पनि लाग्छन् । माओवादी द्वन्द्वका बेला बाबुरामको जीवनरक्षा गरौं भनेर विज्ञप्ति निकाल्ने पनि उनै हुन् । विजयप्रति एमबीको हार्दिकता अभिभावकको जस्तै छ । पत्रकारिता पढ्ने सल्लाह पनि उनैले दिएका हुन् ।
उसो त अर्का नेता मोहन वैद्य (चैतन्य) पनि विजयको अफिसमा आइरहन्छन् । वैद्यको सादा जीवनशैली मन पराउँछन् विजय पनि । गृहजिल्ला एउटै हो उनीहरूको । वैद्यका ‘नेपाली समाज र संस्कृति’ अनि ‘क्रान्ति र संस्कृति’ दुई पुस्तक छापिदिएका छन् उनले । भेटघाटमा राम्रो साहित्य नलेखिएकोमा मोहन वैद्य थकथकिन्छन्, ‘आमा, युवाहरूको गीतजस्ता पुस्तक युद्धपछाडि जन्मिएका हुन् । युद्धका बेला त ज्यान बचाउने बाहेक के सोच हुन्छ र ?’

स्कुले उमेरमै अखिल छैटौँको जिल्ला उपाध्यक्ष हुँदा परिस्थितिबाट विरक्तिएर भारततिर लागेका रहेछन् विजय । नेपाल कहिल्यै आउँदिन भनेर नोयडाको हरियाणा स्टिल फर्निचरको क्यान्टिनमा काम गरे । कामदारमध्ये सबभन्दा सानो उनै थिए तर बढी पढेको भनेर ठूला भाडा मझाइयो । तर, बढी पढेको चाहिँ कसैले पत्याएन । क्यान्टिन म्यानेजरले आइक्यु टेस्ट ग¥यो । दसवटा हिन्दी शब्द अङ्ग्रेजीमा उल्था गरेपछि उनको थर सोधियो, आचार्य । आचार्य भएर भाडा माभ्mने ? यो नमिलेजस्तो लागेर उनको कुपन दिने काममा बढुवा भयो । एक दिन सानो गल्ती गर्दा भारतीय म्यानेजरले गालामा झापड हानेपछि उनी रन्थनिए । कसम खाए, ‘यसरी विदेशमा नेपाली कान्छा भएर बस्नु भन्दा त घरमुन्तिर बगिरहेको झिमरुख नदीमा गएर हामफाल्छु ।’
नोयडाबाट फर्केपछि विजय घर गएनन्, छ महिना पार्टी काम गरे । २०५० सालतिर पार्टीको काम गर्ने र पत्रिका बेच्ने भनेर काठमाडौँ पसे । कहिले पत्रिका बेचे, कहिले प्रेसमा काम गरे त कहिले होटलमा । तीन वर्ष एक छाक मात्र खाएको उनको अनुभव छ । रातमा भोकले सताउँदा चुरोटको अम्मली भए । निकोटिनले भोक बिर्साउँदो रहेछ । भोकभोकै बस्दा र सडकमै सुत्दा छ महिनासम्म बिरामी परेर अस्पताल बस्नुप¥यो । अस्पतालको विछ्यौनामा गोर्कीको जीवनी, जनतालाई सेवा गर र पर्वत पन्छाउने बुढो मान्छे पढेपछि फेरि जीवनमा केही गरेर देखाउने अठोट गरे ।
हकरदेखि सडक बालकसम्मको अनुभव गरेका विजयले त्यही बेला साथीहरूसँग मिलेर ‘नवप्रतिभा’ बालपत्रिका निकाले । त्यो खुबै चल्यो । वास्तवमा मागीखाने राजनीतिसँगको विमतिकै कारण उनलाई आप्mनो विगतप्रति गर्व छ । पसिनामा बाँच्ने गरिब, दुःखी जनताका नाममा चन्दा उठाएर खानु उनलाई अपराध जस्तो लाग्छ । बाल पत्रिकाले गर्दा उनको झुकाव बालसाहित्यमा हुनु स्वाभाविक भइहाल्यो । स्कुल पढ्दा नै लेनिनको पुस्तक ‘गाउँका गरिबहरूलाई’ पढेका उनलाई अहिले पनि लाग्छ– पार्टीको झोला बोकेरभन्दा एउटा किताब पढ्दा धेरै चेतना आउँछ ।
माउ पार्टी नेकपा मसाललाई सहयोग हुन्छ भनेर ‘पर्वत पन्छाउने बूढो मान्छे’ र ‘जनताको सेवा गर’ नामक बुकलेट चार हजार खर्च गरेर चार हजार छापे, चार रूपैयाँ मूल्य राखेर २०५४ सालमा । रत्नपार्कमा लगेर बेचे । त्यसपछि माओका रचनालगायत माक्र्सवादी पुस्तक छापेर सिर्जनशील प्रकाशनको औपचारिक थालनी गरे । पछि विवेक सिर्जनशील प्रकाशन बनाएर उनले साहित्यको क्षेत्रमा एक खालको लहर नै ल्याए ।
त्यतिबेला उनले झन्डै दुई सय नवलेखकको पहिलो पुस्तक निकालिदिएका छन् । यो बेग्लै हो कि त्यसमा ३० प्रतिशत लेखकको र ७० प्रतिशत प्रकाशकको खर्च हुन्थ्यो । त्यसो गर्दागर्दै नेपाली साहित्य र वाङ्मयका छ सय पुस्तक उनले छापिसकेका छन् । यतिमात्र नभएर २०६० सालमा १६ वटा पुस्तक एकैपटक संयुक्त विमोचन गराएको रेकर्ड पनि छ । लेखकलाई वक्ता, नेतालाई दर्शक बनाउँदा त्यो कार्यक्रमका दौरान कमलादीमा लामो जाम भएको पनि उनले सम्झिरहेका छन् । उनले निकालेका पुस्तक उम्दा पक्कै थिएनन् । औसतै सही, त्यसको महत्व भने छ ।
आज कवि, कथाकार मातृका पोखरेल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ छन् । तिनको पहिलो पुस्तक ‘यात्राको पहिलो दृश्य’ पनि विजयले छापेका हुन् । अभय श्रेष्ठ, फूलमान बल, नारायण श्रेष्ठ, स्वागत नेपाल, पदम गौतम आदि इत्यादि जे जति अहिलेका युवा हस्ताक्षर छन्, तिनको पहिलो पुस्तक छाप्ने श्रेय पनि उनैले पाएका हुन् । सङ्खुवासभाका हुन् या सल्यानका मोफसलका थुप्रै नाम चलेका, नचलेका लेखकहरूले पनि उनलाई प्रकाशकका रूपमा पाएका छन् । १७ वर्षअघि उनले सुरु गरेको साहित्यिक प्रकाशन अहिलेजस्तो कर्पोरेट भइसकेको थिएन । एक खालको घाटा व्यापार गरेर उनले नेपाली साहित्यको भलो नै गरेका छन् ।
त्यसपछि उनले गरेको महत्वपूर्ण काम भनेको बालसाहित्यमै हो । बालसाहित्यमै किनभने यसको बजार लोभलाग्दो छ । बालसाहित्य छाप्दाछाप्दै उनी आपैm लेखक भए । एउटा रमाइलो प्रसङ्ग के भने, २०५८ मा शुभतारा स्कुल र नेपाल बालसाहित्य समाजकोे लेखन कार्यशालामा प्रकाशकका रूपमा निम्ताइए विजय । त्यहीँ एक मित्रले उनको नामै तोकेर भनेछन्, ‘विजयलाई लेखनमा ल्यायो भने हाम्रो पुस्तक कसले छाप्छ ?’ आपूmलाई प्रकाशकमै खुम्चाउन खोज्ने साथीको अभिव्यक्तिका कारण उनी लेखनमा आए । उनको पहिलो पुस्तक ‘शान्तिको आत्मकथा’ नै सर्वाधिक विक्री भइदियो । नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा निस्केको यो पुस्तक ४० हजारभन्दा बढी विक्री भएको छ । हिन्दी, मैथिली भाषामा अनुवाद भएको छ । यसबाहेक ‘चितुवासँग जम्काभेट’, ‘चौध चम्किला कोपिला’, ‘म त स्कुल जान्नँ,’ ‘रमाइलो स्कुल’ र ‘बुवाको माया’ आदि पाठकले रुचाएका छन् ।
विजयले आपूm लेखेका मात्र छैनन्, थुप्रै विदेशी साहित्यको अनुवाद गरेका छन् । चिनियाँ बालसाहित्यतर्पm वान युनको सचित्र बालकथा ‘एउटा नयाँ पुलको निर्माण,’ श्वी क्वाङको ‘खरायोको पुच्छर किन छोटो भयो ?’ फू हुङको ‘बालबगैँचा’, लू पिङको ‘सामूहिक भावना,’ पाओ–च्वानको ‘चेतना’ आदि यसका केही नमुना हुन् । मदन पुरस्कार विजेता झमक घिमिरेको पहिलो अन्तर्वार्ता लिनेदेखि लिएर उनको जीवनीमा आधारित सचित्र बालकथा ‘झमककुमारी’ एक दशकअगाडि उनले नै लेखेका हुन् । झमकले लेखेकी छन्, ‘मलाई साहित्य क्षेत्रमा स्थापित गराउने धेरै हातमध्ये एउटा हात विजयराज आचार्यको हो । मेरो साहित्यिक यात्रामा कहीँ अभिभावक भएर, कहीँ प्रकाशक भएर त कहीँ मित्र भएर ।’
त्यसो त मुनाफाको हिसाबले मालामाल हुने भनेरमात्रै विजय बालसाहित्यमा लागेका होइनन् । उनको मिसन राजनीतिक छ । “माथिल्लो र आप्mनो पुस्तालाई बदल्न सकिँदैन । पहिलो पुस्ता आपूm बदलिने भन्दा पनि अरूलाई आपूmजस्तै बनाउन खोज्छ भने आप्mनो पुस्तासँग टक्कर वा प्रतिस्पर्धा मात्रै हुन्छ,” उनी साहित्यिक कूटनीति खोल्छन्, “भविष्यका अभिभावक भनेका बालबालिका हुन् । तिनीहरूलाई गहिरो प्रभाव छाड्ने साहित्य र फिल्म नै हुन् ।” हिजोआज उनी अग्रज बालसाहित्य लेखक विनयकुमार कसजूलगायतसँगको सहकार्यमा बालसाहित्य प्रशिक्षणमा समेत लागेका छन् । सो सहकार्यअन्तर्गत अहिलेसम्म दुई सय बालबालिकालाई तालिम दिइसकिएको छ ।
गतिविधि हेर्दा साहित्यिक कम राजनीतिक लाग्छन्, विजय । उनको राजनीतिक संलग्नता पनि लामै छ । राजनीतिमा उनको चल्तीको नाम ढुण्डी हो । विजय नाम पनि राजनीतिक कारण नै राखेका हुन् । चुनाव बहिष्कारका बेला मतबाकस फालेको आरोपमा प्रशासनले उनीलगायत साथीहरूमाथि धरपकड ग¥यो । मुद्दामामिला पनि झेल्ने अवस्था आयो । त्यसबाट बच्नलाई उनले आप्mनै नाम फेरिदिए । लोकप्रियता कति छ भने, पाका कम्युनिस्ट नेता मोहनविक्रम सिंह उनलाई ढुण्डी भनेर बोलाउँछन् । कतिसम्म भने, २०५२ सालमा आर.आर. क्याम्पस काठमाडौँमा स्ववियुको कोषाध्यक्ष लड्दा उनको नामपछि कोष्टकमा ढुण्डी राख्नुपरेको थियो । अहिले नयाँ साथीहरू ढुण्डी भनेर चिन्दैनन्, पुराना साथीहरू विजय भनेर बोलाउँदैनन् ।

जिल्ला अदालत काठमाडौँले २०६५ साल जेठ २२ मा सङ्कटकालको अवस्थामा सरकारले गैरकानूनी थुनामा राखी यातना दिएको ठहर गरी विजयलाई ३० हजार क्षतिपूर्ति भराइदिने गरी पैmसला दियो । आखिर के थियो त्यो ? मलाई अलिकति जिज्ञासा भयो । २०५८ पुस २५ गते अनामनगरको डेराबाट उनलाई सेना र प्रहरीको संयुक्त कमान्डोले पक्राउ ग¥यो । तीन, चार बोरा पुस्तक उठायो र सिंहदरबारभित्रको सैनिक ब्यारेकमा लगेर चार, पाँच घन्टा बयान लियो । तँ माओवादी होस्, बुद्धिजीवी ब्युरोमा काम गर्छस् भनेर थर्कायो । त्यसपछि सेनाले बाँधेर एक नम्बर बाहिनी बालाजुमा लग्यो । लात्ती हानेर ट्रकबाट खसाल्यो । सिस्नुपानी र करेन्ट लगायो । सिमेन्टमा हातखुट्टा बाँधेर नाङ्गै राख्यो । उनले भनेछन्, ‘म कम्युनिस्ट हुँ, माओवादी होइन ।’ ७२ घन्टासम्म मुखमा पानी नहालेका विजयले १९ वर्षकी श्रीमती र छ महिने छोरालाई सम्झिए त्यतिबेला । विना कसूर तीन महिना हनुमानढोका खोरमा बसेर चैत ६ मा उनी मुक्त भए । तर, त्यतिबेलाको यातनाका कारण उनलाई अहिले पनि झरी, बादल पर्दा झम्मझम्म लाग्छ । सरकार–विद्रोही द्वन्द्वको घानमा सर्वसाधारण कसरी पिसिए भन्ने एउटा उदाहरण यही हो ।
माओवादी पत्रपत्रिका र किताब प्रकाशित गर्ने मान्छे भनेर आरोपित विजय आफै भने माओवादीको वैचारिक प्रतिकार समितिमा थिए । विडम्बना के भने उनका पक्षमा आप्mनो पार्टीभन्दा अरू दल, नेताहरू, मिडिया, अधिकारवादी सङ्घसंस्थाहरूले चासो दिए । उनी थुनिएपछि २०५८ फागुन ११ गते शनिबार कान्तिपुरको ‘बेलाको बोली’ स्तम्भमा कुन्साङ काका अर्थात् खगेन्द्र संग्रौलाले लेखे, ‘प्रजातन्त्र रक्षक प्रभो ! विजयराजहरू किन खोरमा ?’ जेलबाट निस्केपछि पनि उनले राजनीति समाएनन् । साहित्यिक–राजनीतिमै रमाइरहेका छन् । व्यक्ति विजय अब संस्था विजय बनिसकेका छन् ।
पाण्डुलिपि, वर्ष १, अंक ७, २०७१ कात्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *