Menu Close

केटाकेटीका कुरा लेख्ने भनेर जिस्क्याउँथे

बालसाहित्यमा स्थापित नाम हो, विजयराज आचार्य । मौलिक र अनुवाद गरी उनका ६५ वटा कृति प्रकाशित छन् । उनले ‘सर्वोकृष्ट बालसाहित्य पुरस्कार’, ‘पुष्कर गौतम बालसाहित्य पुरस्कार’ र ‘पारिजात बालसाहित्य पाण्डुुलिपी पुरस्कार’ पाएका छन् । उनीसँग संगीता श्रेष्ठको संवाद ः
नेपालमा बालसाहित्यको इतिहासबारे केही बताइदिनुस् न ।
नेपालमा बालसाहित्य लेखनको सुरुवात भएको सय वर्ष नाघिसक्यो । सुरुका ७० वर्षसम्म यसले खासै प्रगति गर्न सकेन । २०४० सालअघि त बालसाहित्य नेपालमा शून्यप्रायः थियो । अलि अलि मात्र लेखिन्थ्यो । त्यतिबेला धेरै साहित्यकारल पञ्चतन्त्र, हितोपदेशका कथाहरू पुनर्लेखन गरेर आफ्नो नाम लेख्ने गर्थे । सुरुवातमा बालसाहित्य लेख्ने र निकाल्नेलाई पनि ‘केटाकेटीको प्रकाशन’ भनेर जिस्क्याउने गरिन्थ्यो । ‘केटाकेटीका कुरा’ लेख्ने भनेर उडाउँथे ।
अहिलेको अवस्था के छ त ?
पहिलाको भन्दा बालसाहित्य र बालसाहित्यकारहरूको अवस्था धेरै हदसम्म सुध्रिएको छ । तर, यसको विकास जुन गतिमा हुनुपर्ने थियो, त्यो गतिमा भने भएको छैन । भारत, चीनजस्ता हाम्रा छिमेकी मुलुकसँग हामी सय वर्ष पछाडि छौँ । ती देशमा सय वर्षअघि जुन बालसाहित्य थियो, त्यो हाम्रोमा अहिले लेखिँदै छ । तर, पनि जे जति विकास भएको छ, त्यो सहानीय छ । बालबालिकाको उमेर समूहअनुसार बालसाहित्य लेख्ने प्रयास बालसाहित्यकारहरूले गरिरहेका छन् ।
बालसाहित्य कस्तो हुनुपर्छ ?
बालसाहित्यलाई सामान्य मान्ने परिपाटी हाम्रो समाजमा रहे पनि यो एकदमै महत्वपूर्ण विषय हो । बच्चाको स्तरअनुसारको साहित्य लेख्नुपर्छ । साहित्यकारले जिम्मेवारीबोध गरेर लेख्नुपर्ने हुन्छ । नैतिक शिक्षाको नाममा उपदेशका भारी बच्चाहरूमाथि थुपार्ने काम गर्नुहुन्न । बालबालिकालाई माया र सम्मान गरेर लेख्नुपर्छ ।
तपाई बालसाहित्यकारका साथसाथै बालसाहित्यको प्रकाशन पनि हुनुहुन्छ । बालसाहित्यको बजार कस्तो देख्नुभएको छ ?
बालसाहित्यको बजारर तुलनात्मक रूपमा राम्रो छ । अरू साहित्यभन्दाद बालसाहित्य बढी बिक्रि हुन्छ । तीनचार वटा पब्लिकेसनले बालसाहित्यमात्र छापेर आफूलाई स्थापित गर्न खोजिरहेका छन् । कोर्सका किताबभन्दा फरक किताब पढ्दा बच्चा बिग्रन्छ भन्ने अभिभावकको सोचमा पनि परिवर्तन आएको छ । आमाबुबा आफै साहित्यक किताबहरूमा बच्चाका लागि लगानी गरिरहेका छन् भने स्कुलहरू पनि बालसाहित्यप्रति सकारात्मक बन्दै गएका छन् ।
आजका बालबालिकाले कस्तो साहित्य रुचाउँछन् ?
साहसिक कथा र रोचक विषयवस्तु आजका बालबालिकाका रुचिमा पर्छन् ।
बालसाहित्यमा तपाईका अनुभव कस्तो छ ?
यस क्षेत्रमा लगभग डेढ दशक जति हुन लाग्यो । यस अवधिमा मौलिक र अनुदित गरेर मेरा ६५ वटा कृति निस्केका छन् । सुरुमा ‘केटाकेटीका लागि लेख्ने र छाप्ने’ जस्ता कुरा मैले पनि सुन्नु परेकै हो । तर, अहिले भने अवस्था धेरै बदलिएको छ ।
तपाईको सबैभन्दा बढी रुचाएका किताब कुन कुन हुन् ?
‘शान्तिको आत्मकथा’ सबैभन्दा बढी बिक्रि भएको छ । नेपाली, नेवारी र अङ्ग्रेजी गरी तीन भाषामा निस्केको यो कृति ४० हजारभन्दा बढी बिक्रि भएको छ । हिन्दी, मैथिली भाषामा पनि यो अनुवादित भएको छ । यसबाहेक ‘चितुवासँग जम्काभेट’, ‘चौध चम्किला कोपिला’, ‘म त स्कुल जान्न’, ‘रमाइलो स्कुल’ र ‘बुवाको माया’ आदि धेरैले मान पराएका छन् ।
बालसाहित्य जगत्मा केको खाँचो छ जस्तो लाग्छ ?
यहाँ लेखकले जे लेख्यो त्यहीँ प्रकाशित हुने चलन छ । लेखकले आफ्नो कृति सम्पादन गर्न चाहन्नन् । चित्रकथाका लागि पर्याप्त चित्रकार छ्रैनन् । भएकाले सजग रूपमा काम गर्न सकेका छैनन् । बालबालिकाले खोजेका कुरा लेखकले समात्न सकेका छैनन् । बालबालिकाले खाजेको कुरा लेखकले समात्न सकेका छैनन् । बालसाहित्य अहिले पनि पुरानै शैलीमा लेखिन्छ । यसमा बदलाव आउन जरुरी छ । समयको गतिअनुसार लेखाइ र सोचाइ परिवर्तित गर्ने प्रयास केही बालसाहित्यकारले गरे पनि सबैले गर्न सकेका छैनन् ।
बालसाहित्यको विकासमा राज्यको भूमिका कस्तो देख्नुभएको छ ?
‘बालसाहित्य बच्चाको बौद्धिक विकासका लागि हो’ भन्ने सोच राज्यमा आइसकेको अवस्था छैन । बालसाहित्यलाई राज्यले सम्बोधन गर्न सकेको छैन । यसप्रति राज्य उदासी देखिएको छ ।
शुक्रबार, ४ साउन २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *