Menu Close

शोध परिचय

विषय परिचय

विद्यालयको पाठ्यक्रमभन्दा फरक, स्वतन्त्रपूर्वक लेखिएका, बालबालिकालाई रुचिकर हुने, सरल, सुलभ भाषा र बालबालिकालाई माया र सम्मान गरी लेखिएको साहित्य नै बालसाहित्य हो । बालसाहित्य बालबालिकाको उमेर, अवस्था, परिवेशलाई बुझेर बालमनोविज्ञानका आधारमा लेखिन्छ । सुन्ने सुनाउने परम्पराको विकाससँगै बालसाहित्य लिखित रूपमा प्रकाशित हुन थालेपछि यसले आजको स्वरूप प्राप्त गरेको हो ।
वि.सं. २०५८ सालदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कलम चलाउने विजयराज आचार्य स्रष्टा, सम्पादक र अनुवादक र प्रकाशक पनि हुन् । आचार्यको जन्म दाङवाङ–४, प्यूठानमा वि.सं. २०३३ माघ ९ गतेका दिन पिता पीताम्बर आचार्य र माता मनकला आचार्यका कोखबाट भएको हो । नेपाली बालसाहित्य लेखन र प्रकाशनका क्षेत्रका एक सशक्त हस्ताक्षर र सक्रिय व्यक्तित्वका रूपमा शोधनायक आचार्य अग्रस्थानमा छन् । बालसाहित्यमा लेखन सुरू गर्नु पूर्व उनले पत्रकारिताको क्षेत्रमा काम गरेका थिए । बालसाहित्यसम्बन्धी विविध मनोरञ्जनात्मक, सन्देशमूलक र ज्ञानमूलक कृतिहरू सिर्जना गरेता पनि आख्यान विधाअन्तर्गत कथा, उपन्यास र नाटक विधा लिएर नेपाली साहित्यमा आचार्यले प्रवेश गरेका हुन् । उनको बालसाहित्य लेखनको पहिलो मौलिक कृति शान्तिको आत्मकथा–२०५९ (सचित्र बालकथा) हो जुन अङ्ग्रेजी, हिन्दी, नेवारी, मैथिली र थारू भाषामा समेत अनुवाद भई प्रकाशित भएका छन् । पछिल्लो मौलिक कृति हाम्रा आस्थाहरू–२०६८ हो । शान्तिको आत्मकथा लिएर २०५९ सालमा नेपाली साहित्यमा प्रवेश गरेका आचार्यका २०६७ सालसम्म मौलिक र अनूदित गरी चार दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् र हालसम्म पनि लेखन क्रम जारी छ ।
बालसाहित्यका आशलाग्दा व्यक्तित्व विजयराज आचार्यले बालसाहित्यको विभिन्न विधामा रचना, अनुवाद गरी नेपाली बालसाहित्यलाई महŒवपूर्ण योगदान दिँदै नेपाली बालसाहित्यको इतिहासमा नौलो आयाम थपेका छन् ।

शोधसमस्या

प्रस्तुत शोधकार्य विजयराज आचार्यको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानका बारेमा विभिन्न पत्रपत्रिकामा सामान्य चर्चा गरिनुबाहेक उनको जीवनी, व्यक्तित्व, कृतित्वको समग्र र विस्तृत अध्ययन भएको देखिँदैन । त्यसैले उनको जीवनी, व्यक्तित्व, कृतित्व र बालसाहित्यमा गरेको योगदानको बारेमा निम्नलिखित प्रश्नहरूको उत्तर खोज्नु सान्दर्भिक देखिन्छ ।
क) विजयराज आचार्यको जीवनी कस्तो छ ?
ख) विजयराज आचार्यको व्यक्तित्व कस्तो देखिन्छ ?
ग) विजयराज आचार्यको बालकृतिहरू के कस्ता छन् ?
घ) विजयराज आचार्यको बालसाहित्यमा के कस्तो योगदान छ ?

शोधउद्देश्य

उपर्युक्त समस्याहरूमा केन्द्रित रही बालसाहित्यकार विजयराज आचार्यको समग्र जीवन र व्यक्तित्वको आयाम, उनको जीवनमा घटेका विभिन्न अविष्मरणीय घटनाहरू तथा त्यसबाट उनको जीवनमा परेको प्रभाव, उनको जीवनदृष्टि, साहित्य सिर्जनातर्फ उन्मुख हुनुमा उनलाई प्राप्त भएको प्रेरणा, उनले नेपाली बालसाहित्यमा गरेको योगदान आदि विविध पक्षहरूको निरूपण गर्नु यस शोधकार्यको उद्देश्य रहेको छ –
क) विजयराज आचार्यको जीवनी के कस्तो छ त्यसमाथि प्रकाश पार्नु,
ख) विजयराज आचार्यको व्यक्तित्वका आयामको पहिचान गर्नु,
ग) विजयराज आचार्यको कृतिहरूका पहिचान गर्नु,
घ) विजयराज आचार्यको योगदानको निरूपण गर्नु ।

पूर्वकार्य समीक्षा

प्रतिभाहरूका बारेमा अध्ययन विश्लेषण गर्ने, योगदानको कदर गर्ने, साहित्यिक मूल्यको निर्धारण गर्ने परम्परा अझै पनि बसिसकेको छैन । त्यसैले बालसाहित्यकार विजयराज आचार्यको बारेमा केही पत्रपत्रिकामा सामान्य चर्चा र समालोचना गरिएको भए पनि विस्तृत र गहन अध्ययन, अनुसन्धान भने भएको पाइएको छैन । उनका बारेमा प्रकाशित भएका केही चर्चा परिचर्चाको सङ्क्षिप्त रूप यहां कालक्रमका आधारमा उल्लेख गरिएको छ –
१. बिष्णु कोइराला (२०५९) ले शान्तिको आत्मकथा ः तात्विक विवेचना शीर्षकको समालोचनामा भनेका छन् –कथा तŒवका आधारमा शान्तिको आत्मकथा कथा सफल रहेको छ । कथा तŒवका आधारमा उक्त कथाको विवेचना गरेर आचार्यको कथा लेखन परिपक्व रहेको प्रमाणित गरिदिएका छन् ।
२. सोमराज पोखरेल (२०६०) ले अक्षर जलाउनु भनेको शिक्षामा प्रतिबन्ध लगाउनु हो शीर्षकको विजयराज आचार्यसँग लिएको अन्तर्वार्तामा पुस्तक विमोचनदेखि तत्कालीन सरकारले नारायणमान विजुक्छेको घरमा पुस्तक जलाएकोसम्मको विषयमा उनका भनाइहरू समेटेका छन् ।
३. कपिल लामिछाने (२०६१) ले बाल अन्तर्वार्ता सँगालो लेखमा चम्किला चौध कोपिला शीर्षकअन्तर्गत देशका विभिन्न ठाउँका अपाङ्ग, पिछडिएका, दुर्गम क्षेत्रका तर उच्चविचारका धनी बालबालिकको परिचय, स्थिति र उद्देश्यको चर्चा गर्दै उनीहरूको भावनालाई सार्वजनिक गरी उत्साहित गर्नु विजयराज आचार्यको उल्लेखनीय कदम भएको बताएका छन् ।
४. ‘सुन्दर संसारको परिकल्पना’ शीर्षकमा चंकी श्रेष्ठ, पदम गौतम, स्वागत नेपाल, राजकुमार बानियाँ, प्रकाश सिलवाल (२०६१) ले स्थानीय परिवेशलाई सिर्जनाको आधार बनाउने, बालबालिकाको असली अभिभावक र बेग्लै मान्यता बोकेको स्रष्टा बनी विजयराज आचार्यको र मध्यम वर्गीय बालकको सङ्घर्षको कथा भएको, शोषण दमनको विरोध भएको र रुढीगस्त समाजको अन्धविश्वास तोड्न सक्ने सम्भावना भएको कृति भनी बालउपन्यास नयाँवस्तीको टिप्पणी गरेका छन् ।
५. नेपाल समाचारपत्र (२०६१) ले ‘विद्यार्थीका साथी विजय र विवेक’ शीर्षक लेखमा बालबालिकालाई पाठ्यक्रमभन्दा बाहिरका ज्ञानबद्र्धक पुस्तकहरू पनि पढ्ने मौका दिनुपर्ने र त्यस्ता पठनीय बालपुस्तकहरू विजयराज आचार्यले बजारमा ल्याउनु भएको कुरा उल्लेख गर्दै उनका केही पुस्तकको बारेमा सङ्क्षिप्त चर्चासमेत गरेको छ ।
६. ‘बालमनोविज्ञानको विद्रोही सिर्जना’ शीर्षकमा जे.बी. विश्वकर्मा (२०६१) ले लेखेका छन् – नेपाली समाजको प्रमुख समस्याको रूपमा रहेको भेदभाव, छुवाछुत र कथित दलितमाथि गरिने शोषण दमनको दुरुस्त चित्रण आचार्यले बालउपन्यास नयाँवस्तीमा गरेका छन् र यस्ता कुप्रवृत्तिका संस्कृति तोड्न युवा विद्रोहको आवश्यकता भएकोले उनका यस्ता विद्रोहात्मक कृतिले नयाँ पुस्तालाई उत्साहित गरेको छ ।
७. राजकुमार बानियाँ (२०६२) ले अनुवाद संसारमा सुकर्म शीर्षकमा विजयराज आचार्यको अनुवादकारीताको र सम्पादक व्यक्तित्वको प्रशंसा गर्दै उनीद्वारा सम्पादित विभिन्न विश्वप्रसिद्ध बालकथाहरूको टिप्पणी गरेका छन् ।
८. झमकको जीवनी र विजयराज आचार्य शीर्षकमा अनमोलमणि (२०६२) ले झमककुमारीको बालजीवनमा आधारित सचित्र बालकथा झमककुमारीमा समावेश गरिएका विषयवस्तुहरू– उनको परिवार, त्यहाँको वातावरण, उनको शारीरिक र मानसिक स्थिति, नारीप्रतिको दृष्टिकोण, समाजको लिङ्ीगय भेदभाव, बालमनोविज्ञानको अवज्ञा आदिका आधारमा उक्त कथाको विवेचना गर्दै जीवनीले व्यक्तिको विवरण मात्र नदिएर प्रेरणा पनि दिन्छ भन्ने विचार व्यक्त गरेका छन् ।
९. प्रतिस्पर्धा साप्ताहिक (२०६२) ले प्रकाशनमा बौद्धिक तस्करी छ शीर्षकको अन्तर्वार्तामा विजयराज आचार्यसँग बालसाहित्यसम्बन्धी विभिन्न विषयमा भएका कुराकानी र आफ्नो प्रकाशनमा साहित्यिक तस्करी नभएको विजयराज आचार्यको स्वीकारोक्तिको उल्लेख छ ।
१०. अम्बिका पौडेल (२०६२) ले अलग धारमा विजय शीर्षकको लेखमा विजयराज आचार्य बालसाहित्यमा अलग पहिचान बनाउन सफल व्यक्तित्व हुन् र आफ्नै जीवनमा गरेका विभिन्न सङ्घर्षबाट अगाडि बढने प्रेरणा पाएको र सही निर्णय गर्न सकेका हुन भनी उनको विगत जीवनबारे पनि चर्चा गरेकी छिन् ।
११. शर्मिला खड्का (दाहाल) (२०६६) ले ‘नेपाली बालसाहित्य र विजयराज आचार्य’ शीर्षकको समालोचनामा बालसाहित्य परिचय, आचार्यको बालऔपन्यासिक प्रवृत्ति, केही सचित्र बालकथाको चर्चा, बालनाटकको सङ्क्षिप्त विवेचना आदि विषयवस्तुको चर्चा गरेकी
छिन् ।
१२. डिजन भट्टराई (२०६७) ले ‘विजयराज आचार्यको बालसाहित्यमा समाजवादी अन्तर्वस्तु’ शीर्षक लेखमा भनेका छन् – आचार्यले समाजमा अन्तर्निहित सामाजिक तŒवलाई आधार बनाई यथार्थपरक बालकृतिहरू रचना गर्छन् भन्दै जुन बालमनोविज्ञानका पक्षलाई समेत समेटेका छन् त्यसैले उनका कृतिमा समाजभित्रैका विषयवस्तु समेटिएका छन् भन्न सकिन्छ, तर कुनै पनि कृतिको तŒवगत विश्लेषण भने गरेका छैनन् ।
यसरी बालसाहित्यकार विजयराज आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको सम्बन्धमा फुटकर रूपमा भूमिका लेखन, सङ्क्षिप्त परिचय र सामान्य टिप्पणीमात्र विभिन्न पत्रपत्रिकामा तथा पुस्तकमा सीमित रहेको देखिन्छ । यहाँ उनको जीवनी, व्यक्तित्व र कृतित्वको समग्र अध्ययन तथा विश्लेषण गरी उपलब्धि र योगदानसमेत केलाउने प्रयास गरिएको छ ।

शोध औचित्य

वि.सं.२०५८ देखि हालसम्म एक दशक लामो बालसाहित्यिक यात्रा पार गरेका विजयराज आचार्यले लेखन र प्रकाशनलाई नै मुख्य पेशाका रूपमा अँगाल्दै आएका छन् । बालसाहित्यका विविध विधामा कलम चलाएका आचार्यका जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा सङ्क्षिप्त टिप्पणी र पत्रपत्रिकाहरूमा सामान्य चर्चाबाहेक व्यवस्थित र समग्र रूपमा गरिने अध्ययन अनुसन्धान औचित्यपूर्ण देखिन्छ ।

शोधकार्यको महत्व र उपलब्धि

प्रस्तुत शोधकार्यबाट शोधनायक आचार्यका बारेमा जान्न चाहने जिज्ञासु व्यक्ति, समकालीन र भविष्यका पाठकका लागि महŒवपूर्ण आधार प्राप्त हुनेछ । तथा नेपाली बालसाहित्यको अनुसन्धान परम्परामा पनि सहयोग पुग्नेछ । यिनै विविध दृष्टिकोणबाट प्रस्तुत शोधकार्य महŒवपूर्ण र उपलब्धिपूर्ण रहेको छ ।

शोधसीमा

प्रस्तुत शोधकार्य विजयराज आचार्यको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानका सेरोफेरोमा केन्द्रीत रहने छ । विजयराज आचार्य बालकथाकार, बालउपन्यासकार, अनुवादक, प्रकाशक, जीवनीकार हुन् । उनका समग्र जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन प्रस्तुत शोधकार्यमा गरिएको छ ।

शोधविधि

सामग्री सङ्कलन–

प्रस्तुत शोधकार्यको सामग्री सङ्कलनका सन्दर्भमा विशेषतः पुस्तकालयीय विधि प्रयोग गरिएको छ । क्षेत्रीय विधिअनुरूप अन्तर्वार्ताका आधारमा शोधनायक विजयराज आचार्यसँग प्रत्यक्ष भेट, कुराकानी गरी लिखित तथा मौखिक प्रश्नावलीद्वारा आवश्यक जानकारी लिइएको छ । यसैगरी सम्बन्धित विषयका बारेमा पत्रपत्रिकामा गरिएका टिप्पणी, समीक्षाका आधारमा पनि सामग्री सङ्कलन गरिएको छ र परिवारका अन्य सदस्यहरूलाई सहायक सामग्रीका रूपमा प्रयोग गरिएको छ ।

अध्ययनविधि-

प्रस्तुत शोधकार्यमा जीवनीको प्रस्तुतिमा जीवनीपरक समालेचना प्रणाली र कृतित्व पक्षको विश्लेषणका निम्ति विधा सिद्धान्तको अवलम्बन गरिएको छ ।

शोधपत्रको रूपरेखा

प्रस्तुत शोधकार्य पाँच अध्यायमा विभाजित भएर शोधपत्रको रूपमा प्रस्तुत गरिएको छ । प्रत्येक अध्यायको शीर्षक, उपशीर्षक चयन गरिएको छ । अध्याय एकमा शोधपरिचय रहेको छ जसअन्तर्गत शोधशीर्षक, शोधसमस्या, शोधउद्देश्य, पूर्वकार्य समीक्षा, शोधऔचित्य, शोधकार्यको महŒव र उपलब्धि, शोधसीमा, समयविभाजन, शोधपत्रको रूपरेखा रहेकोे छ ।
अध्याय एक ः शोधपरिचय
अध्याय दुई ः विजयराज आचार्यको जीवनीको अध्ययन
अध्याय तीन ः विजयराज आचार्यको व्यक्तित्वको अध्ययन
अध्याय चार ः विजयराज आचार्यको कृतित्वको अध्ययन
अध्याय पाँच ः उपसंहार तथा निष्कर्ष

शोधपत्रको संरचनालाई व्यवस्थित र सङ्गठित ढङ्गले प्रस्तुत गर्ने सन्दर्भमा उपर्युक्त पाँच अध्याय विभाजन गरिएको हो । शोधपत्रका अन्त्यमा सन्दर्भग्रन्थ सूची र परिशिष्ट पनि प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *