Menu Close

जीवनीको अध्ययन

जन्म

विजयराज आचार्यको जन्म वि.सं. २०३३ माघ ९ गते बुवा पिताम्बर आचार्य र माता मनकला आचार्यका ठाईंला सुपुत्रका रूपमा प्यूठान जिल्लाको दाङवाङ. ४, च्यान्धारा भन्ने विकट गाउँमा भएको हो । उनको न्वारानको नाम ढुण्डीराज आचार्य भए पनि हालको प्रचलित नाम भने विजयराज आचार्य नै हो ।

बाल्यावस्था

बालसाहित्यकार विजयराज आचार्यको बाल्यकाल प्यूठान जिल्लाको च्यान्धारामा बितेको देखिन्छ । पारिवारिक आर्थिक स्थिति राम्रो भए तापनि गाउँघरको ठाउँमा बालबालिकाले गाईबाख्रा चराउने काम सामान्य मानिन्छ र सबैले गरिरहेका पनि हुन्छन् । उनको बाल्यकालको पनि केही समय च्यान्धाराका पाखाहरूमा गाईबाख्रा चराउँदै वितेको देखिन्छ । स्कुले शिक्षा समाप्त नभइन्जेल उनले बिहान बेलुका घरको काममा सहयोग गर्दै बुबाआमाको काखमा नै रमाउदै बसेको देखिन्छ ।

दाजुभाइ तथा दिदीबहिनी

विजयराज आचार्यको परिवार वृहत् किसिमको भएको पाइन्छ । उनका सात दाजुभाइ र एक दिदी र एक बहिनीमा बहिनी गोमा आचार्यको २०३६ सालमा मृत्यु भइसकेको छ । उनी आफ्ना बाबुआमाका सातौँ सन्तान हुन् । उनका दाजुभाइ तथा दिदीको नाम यस प्रकार रहेको छ – जेठा चोपनिधि आचार्य, माइला गुणप्रसाद आचार्य, साइला सुवर्ण आचार्य, काइला सुमन्त आचार्य, राइला चिन्तामणि आचार्य, कान्छा मोहन आचार्य तथा एक मात्र दिदी शान्ता आचार्य हुन् ।

ब्रतबन्ध

विजयराज आचार्यले ब्रतवन्ध गरेनन् । उनी जबदेखि सामाजिक तथा धार्मिक कर्मकाण्ड तथा संस्कारहरूको बारेमा बुझ्ने भए तबदेखि यसको विरोधी भएर निस्के । यस्ता देखावटी कर्महरूको आवश्यकता नभएको बताउछन् (स्रोत ः शोधनायक) । समाजमा बसेपछि मानिसले समाजका लागि गर्नुपर्ने कर्म ब्रतबन्ध, विवाहविधि, न्वारान, क्रिया, श्राद्ध, पूजापाठ आदि सबैको त्याग गरेको देखिन्छ । यो सबै हुनुमा उनको नास्तिकता होइन प्रगतिवादी विचारधाराको असर परेको देखिन्छ ।

वंशावली

आचार्यवंशका पूर्खाहरूको बसोवास प्रायः जसो जुम्ला जिल्लाको आचार्य वडा र दैलेखको भुर्तेल गाउँमा भएको थाहा हुन आउँछ । बसाईं सर्ने क्रममा जुम्लाको आचार्य वडा, दैलेखको भुर्तेल गाउँ, अर्घाखाँचीको अर्घा हुँदै प्यूठान जिल्लासम्म आइपुगेको देखिन्छ । हाल गर्ग गोत्री आचार्यहरूको बाक्लो बसोबासका रूपमा प्यूठानको दाङबाङ गाविस र रम्दी गाविसको तिग्रा गाउँ र माझीखोलाको केही भागलाई लिन सकिन्छ । आचार्यको सम्पूर्ण वंशावली प्राप्त नभएता पनि प्राप्त भएजति यस प्रकार रहेको छ-

शिक्षा(दीक्षा)

प्राथमिक र माध्यमिक शिक्षा

बालसाहित्यकार आचार्य आपूm बालक हुँदा कुनै बोर्डिङ वा प्राइभेट स्कुलमा पढेका होइनन् । आचार्यले उनको गाउँ दाङवाङमै रहेको श्री दाङवाङ निम्नमाध्यमिक विद्यालयमा कक्षा(७ सम्मको अध्ययन पूरा गरेको देखिन्छ । निम्न माध्यमिक तह पार गरेर आचार्यले एस.एल.सी. सम्मको अध्ययन श्री जनप्रिय माध्यमिक विद्यालय खिल्जी, असुरकोट अर्घाखाँचीबाट पूरा गरेको देखिन्छ र त्यही स्कुलबाट वि.सं २०५० मा एस.एल.सी. उत्तीर्ण गरी उनी उच्चशिक्षा हासिल गर्नेतर्फ लागेका हुन् ।

उच्चशिक्षा

विजयराज आचार्यले उच्च शिक्षाको अध्ययन काठमाडाँैमा नै गरेको देखिन्छ । रत्नराज्य क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह २०५६ सालमा र स्नातक तह २०६६ सालमा मानविकी सङ्कायअन्तर्गत पूरा गरेका छन् भने पत्रकारिता विषयमा स्नातकोत्तर तह भने हाल अध्ययनरत छन् ।

स्वाध्ययन

साहित्य पढ्न, बुझ्न र लेख्न चानचुने अध्ययनले भ्याउदैन । विजयराज आचार्यको औपचारिक अध्ययन त छदैँ छ त्यसका अतिरिक्त उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्य र बालसाहित्यको अध्ययन गरेका छन् । आचार्यले साहित्यको गहन अध्ययन गरेको कुराको प्रमाण उनका रचना र उनको घरको एउटा कोठामा भएको पुस्तकालयले पुष्टि गर्दछ । अर्थात् उनी अध्ययनशील व्यक्तित्व हुन् भन्ने कुरामा दुईमत छैन । हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा लेखिएका साहित्यिक र राजनीतिक पुस्तकहरू उनलाई रुचिकर लाग्दछ । माक्र्सवादी सिद्धान्तमा आधारित, व्यावहारिक लेखनहरू, जीवनवादी यथार्थ भएका लेख वा पुस्तक मन पराउने आचार्य विदेशी लेखक म्याक्सिम गोर्की, लुसुन आदिका किताब पढ्न रुचाउँछन् भने नेपाली स्रष्टाहरूमा सबै बालसाहित्यकारहरू उनको रोजाइमा पर्दछन् (स्रोत ः शोधनायक) ।

युवावस्था

युवावस्था बाल्यावस्था पार गरेर परिपक्व र जिम्मेवारीपूर्ण विचारका साथ जीवनलाई अघि बढाउन र जीवनको लक्ष्य निर्धारण गर्न महŒवपूर्ण भूमिका खेल्ने अवस्था हो । विजयराज आचार्यको युवावस्था निकै सङ्घर्षमय व्यतीत भएको पाइन्छ । अध्ययन, जागीर र राजनीतिका कारण उनले नेपालका ६२ जिल्लाको भ्रमण गरिसकेका छन् । काठमाडाँैको जीवन भोगाइमा उनी कतिपटक सडकमै रात बिताउनु परेको यथार्थ पनि नलुकाई सुनाउँछन्
(स्रोत ः शोधनायक) । जागीरको खोजमा भारतसम्म पुगेका उनी धेरै दुःख र हण्डर पाएपछि मात्र जीवनको सही बाटो समात्न सफल भएको देखिन्छ । हाल उनी बालसाहित्यलाई जीवनको लक्ष्य बनाइ त्यसमै प्रतिवद्ध छन् र परम्परागत रूपमा लेखिदै आएको जादुकथा, परिकथालाई विस्थापित गरी बालसाहित्यमा सामाजिक, मनोवैज्ञानिक, राजनीतिक, मानवतावादी, नीतिमूलक, सन्देशमूलक विषयवस्तु भित्रसफल भएका छन् ।

रुचि र स्वभाव

प्रगतिवादी युवा बालसाहित्यकार विजयराज आचार्य स्वतन्त्र विचार भएका स्वतन्त्र जीवनशैली मन पराउने व्यक्तित्व हुन् । अरूको अन्याय, अत्याचार र शोषण सहन नसक्ने वा अरूले होच्याएको मन नपराउने स्वभाव उनमा युवावस्थादेखि नै विकास भएको पाइन्छ । परिश्रममा विश्वास गर्ने आचार्य बालसाहित्यमा प्रवेश गरी बालबालिकाका लागि अन्य भाषाका कथा, नाटक अनुवाद तथा लेखनमा कटिबद्ध छन् । उनी साथीभाइ, इष्टमित्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहने व्यक्ति हुन् । भनाइ र गराइमा भिन्नता राख्ने मानिसहरू उनी मन पराउदैनन् र आपूm पनि त्यसो गर्दैनन् । उनले जीवनको सैद्धान्तिक आदर्श व्यवहारमा उतारेका छन् । आफ्ना कुरा स्पष्ट राख्ने र अरूबाट पनि सोही अपेक्षा राख्छन् । आफुले गर्न सक्ने सहयोगका लागि सधँै तत्पर रहने आचार्य आपसी भाइचारामा भरोसा राख्दछन् ।
‘बाँच्नको लागि खानुपर्छ, खानको लागि बाँच्ने होइन’ भन्ने मान्यता बोकेका आचार्य भान्सामा बनेको मीठो मसिनो जस्तो छ खोट नलगाइ खान्छन् (स्रोत ः पुष्पा आचार्य) । परिश्रम नै सच्चा ईश्वर हो र जीवनका तीता–मीठा अनुभव, अनुभूति सँगाल्दै अगाडि बढ्न सके अवश्य सफल भइन्छ भन्ने विश्वास सबैमा बाँड्न चाहन्छन् ।
माक्र्सवादी विचारबाट प्रभावित भएका हुनाले उनका सहानुभूतिका पात्र जहिले पनि गरिब, दुःखी, असहायहरू हुन्छन् । निम्नवर्गमाथि हुने अन्याय, अत्याचारको उनी खुलेर विरोध गर्दछन् । अझ बालबालिकामाथि हुने गरेका श्रम–शोषण, अन्याय, अत्याचार, दमन, मानवअधिकारको हनन्जस्ता अमानवीय क्रियाकलापको त निर्मूल नै हुनुपर्दछ भन्ने धारणा राख्दछन् । बालबालिका देशका कर्णधार हुन्, यिनीहरू सही बाटोमा हिँड्न सकेमात्र भोलिको भविष्य सुनौलो हुन्छ भन्ने मान्यता राख्दै बालसाहित्यमार्फत बालबालिकालगायत सम्पूर्ण मानव जातिलाई मार्गनिर्देश गरिरहेका छन् । बालसाहित्यको श्रीबृद्धि उनको जीवनको रुचि र लक्ष्य दुवै हो । ‘पेसाको रूपमा अरू प्रकाशन गरे पनि म बालसाहित्यकार नै बन्न चाहन्छु, यो मेरो रुचि हो’ (स्रोत ः शोधनायक) ।

दाम्पत्य जीवन र सन्तान

बालसाहित्यकार विजयराज आचार्यले २६ वर्षको उमेरमा वि.सं. २०५६ सालमा अर्घाखाँची जिल्ला धरमपानी निवासी जनार्दन भुषालकी माइली छोरी पुष्पा भुषालसँग प्रगतिशील विवाह गरेका थिए । कन्या मन परेपछि मौखिक रूपमा विवाहको प्रस्ताव राखे र पुष्पा भूषालले परिवारको स्वीकृतिमा सहमति जनाइन् र मौखिक सहमतिलाई नै विवाहको सबै प्रक्रिया मानी एक अर्कालाई पति–पत्नी स्वीकार गर्दै वैवाहिक जीवनमा सहभागी भएका हुन् । यसरी एउटा पारिवारिक सहमतिको आधारमा पोते, सिन्दुर, जन्ती र बाजा बिना नै विवाह सम्पन्न भएको थियो विजयराज आचार्यको । उनीहरूका दुई सन्तान छन् पहिलो छोरा विवेक आचार्य वि.सं. २०५८ मा जन्मिएका हुन् भने दोस्रो सन्तानका रूपमा छोरी विवेचना वि.सं. २०६२ मा जन्मिएकी हुन् । अहिले विवेक आचार्य कक्षा ६ मा र विवेचना कक्षा २ मा शुभकामना एकेडेमी टौदह, कीर्तिपुरमा अध्ययनरत छन् । जुन बोर्डिङ स्कुलमा विजयराज आचार्यको पनि साझेदारी रहेको छ र हाल उनी उक्त स्कुलको सञ्चालन समितिको अध्यक्ष हुन् । आचार्यकी धर्मपत्नी पुष्पा आचार्य पनि शिक्षित छिन् । उनले आइ.ए. सम्मको अध्ययन पूरा गरेकी छिन् र श्रीमान्कै प्रकाशनको काममा सहयोग गरिरहेकी छिन् । उनी एक कुशल गृहिणी हुन् भन्ने कुरामा उनले जागीरका अतिरिक्त पनि सबै घर व्यवहार सम्हालेबाट प्रष्ट हुन्छ । दुवै जनाले एकअर्काबाट पाउनु पर्ने माया, सद्भाव र सहयोग पाएको हँुदा जीवनका उकाली–ओराली सजिलै कटिरहेको बताउँछन् आचार्य दम्पती ।

आर्थिक स्थिति

मध्यमवर्गीय परिवारमा जन्मिएका विजयराज आचार्यको पुख्र्यौली सम्पत्ति दाङवाङमा थियो । तर हाल उनी हकभोग लाग्ने सबै छोडी काठमाडौँ पसेका हुन् । खेतीपाती मात्र हुने उक्त पुख्र्यौली थलो छोडेर उनी अहिले काठमाडौँमा सङ्घर्ष गर्दै छन् र आफ्नै कमाइले कीर्तिपुरको टौदहमा १० आना जग्गामा ३ कोठे घर बनाउन सफल भएका छन् । उनले पेसाको रूपमा पुस्तक प्रकाशन (विवेक सिर्जनशील प्रकाशन प्रा.लि.) लाई नै अघि बढाइरहेका छन् र त्यही प्रकाशनबाट प्राप्त रकम नै मुख्य आयको रूपमा देखिन्छ । यसका साथै टौदहमा सञ्चालन भइरहेको शुभकामना इङ्लिस बोर्डिङ स्कुलबाट पनि शेयरवापत केही आम्दानी हुने गरेको देखिन्छ । यिनै आयस्रोतबाट नै उनले आफ्नो दैनिक खर्च, सन्तानको अध्ययन खर्च र भैपरि आउने खर्चहरू टार्दै आइरहेका छन् । यसका अतिरिक्त बालसाहित्य लेखन र प्रकाशनबाट पनि आम्दानी हुने गरेको देखिन्छ । अतः उनको आम्दानीको मुख्य स्रोत लेखन र प्रकाशन नै देखिन्छ ।

साहित्यिक प्रेरणा

कुनै पनि स्रष्टाले साहित्य सिर्जना गर्नुको पछाडि कुनै व्यक्ति, घटना वा परिवेश आदिले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । विजयराज आचार्य पनि साहित्य सिर्जनाको प्रेरणा र प्रभाव आपूm बाँचेको परिवेश, समय, परिस्थिति, राजनीतिक वातावरण, दुःख, सङ्घर्ष र पीडाबाटै प्राप्त गरेको बताउँछन् । आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालसाहित्य अध्ययन गरेका छन् जसको प्रभाव उनमा परेको छ त्यही प्रभावका कारण उनको बालसाहित्यतर्फ झुकाव रहेको पाइन्छ । उनको रुचिको विषय पनि बालसाहित्य भएकोले पनि यसप्रति प्रतिबद्ध हुने प्रेरणा प्राप्त भएको हो । आफुले प्रकाशन चलाएकै कारण साहित्यिक लेखनमा हतोत्साही गराउने आफ्नै साथीको धारणा बुझेपछि उनी झन् उत्साही भएर यस क्षेत्रमा लागिपरेको बताउँछन्
(स्रोत ः शोधनायक) ।

देशको राजनीतिक वातावरणप्रति पनि चासो राख्ने आचार्य देशको बिग्रदो स्थिति देखी निकै दुःखी हुन्छन् । देशको राजनीतिक व्यवस्था भताभुङ्ग र अस्तव्यस्त भएको अवस्थामा बालबालिकाको समस्या र तिनको समाधानतर्फ राज्यको ध्यान जान सक्दैन भन्ने भावनाले प्रेरित भई उनी बालबालिकालाई स्वालम्बनको पाठ साहित्यमार्फत सिकाउन तम्सिएका छन् । जब बालबालिकाहरू आफै आफ्नो अधिकार र कर्तव्यको बारेमा सजग हुन्छन् तब एक सचेत नागरिक बन्दछ भन्ने उनको विचार रहेको पाइन्छ । त्यसैकारणले पनि बालसाहित्यमा वास्तविक र जीवनवादी शिक्षा भित्रिनु पर्छ भन्नेमा उनी जोड दिन्छन् । उनी भन्छन् ः (बालबालिकाले सानैबाट साहित्य र विभिन्न व्यक्तित्वको जीवनी थाहा पाए भने उनीहरू देश, जनता र भविष्यप्रति सचेत हुन्छन् त्यसैले मैले यो बाटो रोजँे (शोधनायक, २०६२ ः ७) । उनको जीवन पनि दुःख र सङ्घर्षको बीचबाट गुज्रिएको देखिन्छ । आफ्नै जीवनमा आपूmले भोगेका विभिन्न दुःख र समस्याबाट बिचलित हुँदै फेरि सम्हालिदै अघि बढेको पाइन्छ । लामो समय बिरामी परेर अस्पतालको बेडमा बस्दा म्याक्सिम गोर्कीको जीवनी र अन्य कृतिहरू पढेपछि निराश भएर होइन आशावादी भएर जीवनमा केही राम्रो काम गर्नैपर्छ भन्ने भावनाले नै विजयराज आचार्य आज उत्कृष्ट बालसाहित्यकार बन्न पुगेका हुन् । यस्तैगरी जीवनमा आइपरेका विभिन्न असफलताबाट पाठ सिक्दै आपूmलाई यो स्थानसम्म ल्याइपु¥याउन यस्ता घटनाहरूको प्रभाव र प्रेरणा उनको जीवनमा धेरै देखिन्छ ।

सङ्लग्नता

विजयराज आचार्य विभिन्न समयमा विभिन्न सङ्घसंस्थाहरूमा आबद्ध रहँदै आएका छन् । विशेषगरी उनी विवेक सिर्जनशील प्रकाशनमा दत्तचित भई काम गरिरहेका छन् । वि.सं. २०५४ देखि सिर्जनशील प्रकाशनबाट प्रकाशनको काम थालेका आचार्य १० वर्षसम्म उक्त संस्थाको संस्थापक कार्यकारी अध्यक्ष भई संस्थालाई अघि बढाएको देखिन्छ । वि.सं. २०५६ सालमा विवाह गरेपछि पुष्पा आचार्यको नाम पनि उक्त संस्थाको स्वामित्वमा गासिन्छ र २०५८ सालमा उक्त प्रकाशन आचार्य दम्पतीको नाममा संयुक्त रूपमा दर्ता भएको पाइन्छ । वि.सं. २०६७ मा विवेक सिर्जनशील प्रकाशन रमेश भट्टराई, जयदेव भट्टराई, नवनिधि पन्तलगायत ४० जनाको सामूहिक लगानीमा एकल स्वामित्वबाट साझेदारीमा परिणत भएको हो भने आचार्य हाल उक्त संस्थाको प्रबन्ध निर्देशक पदमा रही संस्थाको जिम्मेवारी सम्हाल्दै आइरहनुभएको पाइन्छ । आफ्नो प्रकाशनबाहेक विभिन्न समयमा विभिन्न संस्थामा पनि जिम्मेवारीपूर्ण पदीय दायित्व निर्वाह गर्दै आएका र आचार्य सङ्लग्न भई काम गरेका संस्थाहरू निम्न रहेका छन् ः

सम्मान तथा पुरस्कार

विजयराज आचार्यले नेपाली बालसाहित्य जगतमा महŒवपूर्ण योगदान पु¥याएका छन् । उनले गरेका प्रशंसनीय र विचारणीय कामको उचित मूल्याङ्कन राज्यपक्षबाट हुनु जरुरी देखिन्छ । उनले पु¥याएको योगदानको कदर तथा मूल्याङकन गर्दै पुरस्कृत गर्ने संस्थाहरू निम्न छन् ः

नेपाल बालसाहित्य समाज – सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार, २०६० (चौध चम्किला कोपिलाको लागि)

पुस्कर गौतम बालसाहित्य पुरस्कार – २०६७ (बाटुली कथासङ्ग्रहको लागि)

साहित्यिक धारणा र जीवनदर्शन

साहित्यकार एउटा स्रष्टा हो । ऊ आफ्ना सिर्जनाहरूमा एउटा नयाँ समाजको अपेक्षा राख्दछ । यसका निम्ति स्रष्टाले आफ्नो स्पष्ट जीवनदर्शन बनाएको हुन्छ । साहित्यकारले बनाएको यस्तै जीवनदर्शनबाट उसको वास्तविक मूल्य निर्धारण हुन्छ । जीवनसम्बन्धी विजयराज आचार्यको धारणा यस्तो छ ः जीवन एउटा यात्रा हो, जुन यात्रामा विभिन्न उतारचढावहरू आइरहन्छन्, सही तरिकाले संयमी भएर समस्याको समाधान गर्ने मान्छे नै सफल यात्री हुन्छ । आचार्य बालसाहित्यमा समाजको त्यस पक्षको अभिव्यक्ति गर्न चाहन्छन् जसलाई समाजले कि देखेकै छैन कि भने देखेर पनि निरन्तर उपेक्षा गरिरहेको छ । यसरी समाजका फोहोर विकृति, विसङ्गति, भ्रष्टाचार, दुःख, पीडा र उपेक्षाका भावनाहरूलाई उनी आफ्नो साहित्यमा स्पष्ट खुलाउन चाहन्छन् । उनका बालसाहित्यका पात्र ती दुःखी पीडित र सीमान्तकृत मानिसहरू हुन्, जसलाई राजनीति, सरकार, समाज, धर्म र कानून सबै पक्षले ठगिरहेका छन् । बालसाहित्य भनेको उडन्ते, मनगढन्ते, भूतप्रेत वा एकादेशका राजाको भूफठो कथामात्र होइन यही समाजभित्रका वास्तविक र तीतो यथार्थ समेटिएको साहित्य पनि हो । त्यसैले आजका बालबालिकालाई आफ्नो वरिपरिको वातावरणको ज्ञान हुनुपर्दछ, अनिमात्र भोलिका दिनमा समस्याको समाधानको सही निर्णय गर्नसक्ने क्षमताको विकास हुन्छ । साहित्यकारहरू समाजप्रति उत्तरदायी हुनुपर्दछ भन्ने उनको धारणा रहेको पाइन्छ ।
प्रगतिवादी युवा बालसाहित्यकार विजयराज आचार्य अरूभन्दा भिन्न विचार र धारणा बोकेका र त्यसलाई आफ्नो जीवनमा चरितार्थ गर्न पछि नपर्ने व्यक्तित्व हुन् । आजको समाजमा आफ्ना अभिभावक बाँचुन्जेल उचित व्यवहार नगर्ने, हेला गर्ने, खान लाउन नदिने तर मरेपछि चाहि उनीहरूप्रति श्रद्धा प्रदर्शन गर्ने गलत प्रवृत्तिको उनी घोर विरोध गर्दछन् । उनले आफ्ना पिता पिताम्बर आचार्यको मृत्युमा हिन्दु परम्पराअनुसार गरिने क्रिया गरेनन् तर पिता तथा दाजु चोपनिधि आचार्यको सम्झनामा दाङवाङको माध्यमिक विद्यालय अमिलीमा आफ्नै लगानीमा पिताम्बर–चोपनिधि पुस्तकालयको निर्माणको तयारीमा छन् । पीताम्बर आचार्य जीवित छँदा उक्त विद्यालयको सञ्चालन समितिको सदस्य र दाजु चोपनिधि शिक्षक रहनुभएको थियो । यसरी प्रगतिशीलहरूले गर्ने कर्मकाण्डको विधिबारे पुस्तक नै प्रकाशन गर्ने तयारीमा आचार्य लागेका छन् । उक्त पुस्तकको सामूहिक लेखन खगेन्द्र संग्रौलाको संयोजनमा मोहनविक्रम सिंह, घनश्याम शर्मा, नरहरि आचार्य, मोदनाथ प्रश्रित, डा. विष्णु घिमिरेसहित ६ जना लेखकले तयार पारिरहेका छन् (स्रोत ः शोधनायक) । जीवनयात्राको क्रममा आइपर्ने दुःख, पीडा र तनावलाई समस्या र कर्मको खेलको संज्ञा नदिई सकारात्मक ऊर्जाको रूपमा लिनुपर्ने मान्यता राख्ने आचार्यमा नैतिकता, इमानदारी, धैर्य, लगनशीलताजस्ता गुणको समन्वय पाइन्छ । मानव जीवन भनेको कर्म गर्न पाएको हो र कर्म नै सबै कुरा हो भन्नेमा विस्वस्त छन् । समाजमा बसेपछि समाजको भलो हुने वा बहुजन हितायको भावना राखी साहित्य लेखिनु पर्दछ र आफु समाजप्रति उतरदायी भएको पुष्टि गर्नुपर्दछ भन्ने उनको जीवनदर्शन रहेको पाइन्छ ।

अविस्मरणीय सम्झना

नयाँ विचार लिएर साहित्यमा अघि बढिरहेका विजयराज आचार्यको जीवन भोगाइको क्रममा थुप्रै तीतामीठा स्मरणहरू छन् जुन अविस्मरणीय छन् । आफु सानै छँदा बाख्रा चराउन गएका र आफुलाई मनपर्ने पाठो चितुवाले हातैबाट खोसी धमाधम खाएको र आफु हेरेको हेर्यै भएको उनले बिर्सेका छैनन् । त्यस्तै, कक्षा १० को अध्ययनपश्चात् नेपालमा बस्न मन नलागी उनी भारततिर पसे र त्यहीँ सानोतिनो काम गरी बसे । तर एकदिन सानो गल्तीको कारण हाकिमको हातबाट थप्पड खाए । त्यसपछि, उनीमा देशको ममता जागेर आयो पराइको देशमा हेपिएर बस्नुभन्दा बरू नेपालमा गई आफ्नै गाउँको झिम्रुक खोलामा हामफालेर आत्महत्या गर्ने विचारले नेपाल फर्केको बताउँछन् शोधनायक विजयराज आचार्य । त्यस्तै, तीतो सम्झना उनीसँग अर्को छ जुन बिर्सन सक्दैनन् । उनी आफु प्रगतिशील विचारका भएकाले २०५८ सालमा छोरा विवेक जन्मिदा न्वारान गरेनन् र यही निहुँमा घरवेटीले आफुले छोएको नखाएपछि कोठा सर्न बाध्य भएको स्मरण उनी नलुकाइ सुनाउँछन् ।
यिनै घटनाहरू उनको जीवनको अविष्मरणीय सम्झना बनेको कुरा उनीबाट जानकारी पाइन्छ ।

निष्कर्ष

नयाँ पुस्ताका बालसाहित्यकार विजयराज आचार्यको जन्म वि.सं. २०३३ सालमा प्यूठान जिल्लाको दाङवाङ –४, च्यान्धारा भन्ने विकट गाउँमा भएको थियो । उनी आफ्ना मातापिताका सातौँ सन्तानका रूपमा जन्मिएका हुन् । उनको बाल्यकाल दाङवाङ–४, च्यान्धारामा नै बितेको पाइन्छ । साधारण परिवार, गाउँले परिवेश र पहाडी जीवनशैलीका कारण उनको बाल्यकाल त्यति सुखद् नरहेको पाइन्छ । आफ्नै गाउँको श्री दाङवाङ निम्नमाध्यमिक विद्यालयमा अध्ययन थालेका आचार्यले कक्षा ७ पछि अर्को गाउँमा रहेको स्कुल श्री जनप्रिय माध्यमिक विद्यालय, असु्रकोटबाट नै २०५० सालमा एस.एल.सी. पास गरेको पाइन्छ । विद्यालयीय शिक्षा पूरा गरी उनी विभिन्न सङ्घर्ष गर्दै अध्ययनलाई निरन्तरता दिदै रत्नराज्य क्याम्पसमा भर्ना भई वि.सं. २०५६ सालमा आई.ए. र वि.सं. २०६६ सालमा बी.ए. उतीर्ण गरी विभिन्न समस्या पन्छाउँदै हाल पत्रकारिता विषयमा एम.ए.मा अध्ययनरत छन् ।
आचार्यको दाम्पत्य जीवनको सुरूवात वि.सं. २०५६ मा अर्घाखाँचीकी पुष्पा भुषालसँग भएको हो । उनीहरूबाट एक छोरा र एक छोरी सन्तानका रूपमा रहेका छन् । आफ्नै मिहिनेत र लगानीमा कीर्तिपुरको टौदहमा १० आना जग्गामा ३ कोठे घर निर्माण गरेका छन् साथै मुख्य आयस्रोत चाहिँ पुस्तक लेखन र प्रकाशन नै रहेको देखिन्छ ।
बालसाहित्यलाई रुचि र प्रकाशनलाई पेसाको रूपमा अँगाल्दै आएका आचार्यले वि.सं. २०५८ सालदेखि बालसाहित्य लेखनमा प्रवेश गरेका हुन् । उनको पहिलो मौलिक कृति शान्तिको आत्मकथा (२०५९) हो जुन अहिले अङ्ग्रेजी, हिन्दी, नेवारी, मैथिली र थारू भाषामा अनुवाद भैसकेका छन् । उनले विभिन्न पत्रिकाको सम्पादन पनि गरेका छन् र अझै पनि ‘हाम्रो बालबगैँचा’ बालपत्रिकाको सम्पादक छन् । उनले बालसाहित्यका विभिन्न विधामा कलम चलाएका छन् र हालसम्म ३ वटा बालउपन्यास, ६ वटा सचित्र बालकथा, एउटा बालनाटक, एउटा बालअन्तर्वार्ता एउटा कथासङ्ग्रह तथा यी मौलिक कृतिबाहेक अनुवादित र सम्पादित गरी चार दर्जनभन्दा बढी कृति प्रकाशित भैसकेका छन् । आचार्यका मौलिक र अनुवाद दुवैथरी किताबको विशेषता नै मनोरञ्जनभन्दा पनि जीवनोपयोगी सन्देश हुने गरेका छन् ।

नेपाली बालसाहित्यमा कथा, नाटक लेखी विशेष योगदान पुर्याउने आचार्यलाई विभिन्न सङ्घ–संस्थाले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् तर राज्यपक्षबाट भने उनको योगदानतर्फ कुनै चासो राखिएको देखिँदैन । उनले साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको दीर्घकालीन लक्ष्य बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *