व्यक्तित्व र पृष्ठभूमि
एउटा मान्छेले जीवनमा गरेका, भोगेका हरेक काम र त्यसबाट पाएका सफलता र असफलताको आधारमा नै उक्त व्यक्तिको व्यक्तित्व निर्माण भएको पाइन्छ । मानिसभित्र निहित गुण दोषहरूले पनि व्यक्तित्व निर्माणमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । व्यक्तिको शारीरिक र मानसिक दुवै पक्ष व्यक्तित्वमा समेटिएको हुन्छ । विशेष व्यक्तित्व भएका मानिसको कुनै न कुनै क्षेत्रमा दख्खल रहेको हुन्छ । साहित्यकारभित्र सिर्जना गर्ने प्रतिभा हुन्छ, जुन प्रतिभा नै उसको व्यक्तित्व बन्न पुग्दछ । कुनै पनि मानिसको जीवन भोगाइमा आउने विविध घटना, हर्ष–विस्मात, आरोह–अवरोह, घात–प्रतिघात तथा क्रिया–प्रतिक्रियाले व्यक्तित्व निर्माणमा महŒवपूर्ण भूमिका खेलेको हुन्छ । यसका अतिरिक्त ऊ बाँचेको परिवेश, पारिवारिक पृष्ठभूमि, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक तथा वातावरणीय प्रभावले पनि व्यक्तित्व निर्माणमा उल्लेखनीय प्रभाव पारेको हुन्छ । यी विविध परिवेशबाट निर्माण भएको व्यक्तित्व आन्तरिक र बाह्य दुवै किसिमको हुन्छ । यहाँ बालसाहित्यकार विजयराज आचार्यका विभिन्न व्यक्तित्वबारे खुलासा गर्ने प्रयास गरिएको छ ।
आन्तरिक व्यक्तित्व
प्रत्येक व्यक्तिको निजी व्यवहारसँग सम्बन्धित व्यक्तित्व नै आन्तरिक व्यक्तित्व हो । आन्तरिक व्यक्तित्व बुझेपछि मात्रै बाह्य व्यक्तित्व बुझ्न सजिलो पर्दछ किनभने आन्तरिक व्यवहारको प्रभाव बाह्य व्यवहारमा परिरहेको हुन्छ । कुनै व्यक्तिलाई राम्ररी चिन्न उसको शीलस्वभाव, आचरण, प्रवृत्ति तथा बाह्य आकार–प्रकारको पनि अवलोकन आवश्यक हुने भएकाले पनि तदनुसार विजयराज आचार्यलाई हेर्ने प्रयास गरिएको छ –
विजयराज आचार्य एक निडर, आत्मविश्वासी, परिश्रमी, विवेकशील, चिन्तनशील र सरल व्यक्तिका रूपमा देखापर्दछन् । बाहिरबाट हेर्दा गम्भिरजस्तो देखिए पनि उनी अत्यन्त सहयोगी, मिलनसार र स्वाभिमानी छन् । सधँै परिश्रम गर्न रुचाउने, कसैलाई दुःख नदिने, कसैसँग झगडा नगर्ने, सबैलाई मित्रवत् व्यवहार गर्ने स्वभाव भएका उनी कहिलेकाहीँ साथिभाइसँग हाँसिमजाक पनि गर्न रुचाउँछन् । कामप्रति इमानदार आचार्य कामचोर र आलेटाले गर्ने व्यक्तिलाई पटक्कै मन पराउँदैनन् (स्रोत ः पुष्पा आचार्य) । राष्ट्र र राष्ट्रियताप्रति अगाध आस्था राख्ने आचार्य सामाजिक कुरीति, अन्याय, अत्याचार, विकृति र विसङ्गति आदिको घोर भत्सर्ना गर्दछन् । निःस्वार्थ व्यवहारलाई आदर्श मान्ने, परिवर्तनकामी, प्रगतिवादी व्यक्तित्वका रूपमा उनी परिचित छन् । उनी प्रकृतिको पुजारीसमेत भएको देखिन्छन् । उनी भन्छन् – विश्वमा नाम कमाउने सफल कलाकार साहित्यकारहरूले देश, जनता र प्रकृतिको सुन्दर वर्णन गरेका कारण नै सधैँ अमर हुन सकेका हुन् (स्रोत ः शोधनायक) । उनी शिष्ट र नम्र स्वभावका व्यक्तित्व हुन् तर समाजमा रहेका शोषित पीडित मानिसको पक्षमा बोलिदिने र भ्रष्टाचारको कडा प्रतिवाद गर्ने खरो स्वभाव पनि उनमा पाइन्छ ।
बाह्य व्यक्तित्व
५ फिट ३ इञ्च अग्लाइ भएका विजयराज आचार्य शारीरिक बनौटका हिसाबले मझौला आकृतिका भएर पनि ठूला गाला र डम्म परेको पेटका कारणले मोटा देखिन्छन् । मोटो शरीर, ठूलो गोलो टाउको, हँसिलो ओजस्वी मुखमण्डल, तेजिला आँखा, फराकिलो निधार र गोरा वर्णका आचार्य सधैँ हाँसिरहेजस्ता देखिन्छन् । कुराकानी गर्दा उज्यालो अनुहार पार्ने आचार्यलाई रातो रङ मनपर्छ तर पहिरनमा चाहिँ कुनै पनि रङको साधारण कपडा नै प्रयोग गर्दछन् । उनको आवाज न मसिनो न खस्रो ठिक्क किसिमको छ । अरूका कुरा राम्ररी सुन्ने र बडो आनन्दपूर्वक कुराकानी गर्ने स्वभाव उनको रहेको छ । साधारण जीवन मन पराउने आचार्य खानपिनमा त्यति सौखिन देखिदैनन् भान्सामा जे पाकेको हुन्छ खोट नलगाई खान्छन् । शारीरिक साजसज्जामा खासै चासो नदेखाए तापनि अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझैं आचार्य आफैमा त्यति नै सुन्दर, राम्रा र हँसिला छन् जति उनको विचार राम्रो छ ।
बिहान चाँडै उठ्न मन पराउने उनी बेलुका १०/११ बजेतिर सुत्नु राम्रो मान्दछन् । साथीभाइसँग भेटघाट गर्ने र सबैलाई तपाईं भनी सम्बोधन गर्ने, ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने स्वभाव भएका उनी फुर्सतको समयमा अध्ययन गर्न रुचाउँछन् । अध्ययनको समयमा कुनै कुराको अवरोध वा हस्तक्षेप उनलाई मन नपर्ने बताउँछन् (स्रोत ः शोधनायक) । आचार्यलाई बालबालिका खुबै मन पर्छन्, त्यसैले बालबालिकाका सच्चा साथी बन्न सकेका छन् । आजको समयमा असली अभिभावक बन्नुअघि असल साथी बन्नु जरुरी छ, आचार्य दुवै भूमिकामा सफल भएका छन् (गौतम, २०६१ ः भूमिका) ।
आचार्यका कोठाका चारै भित्ताका र्याकहरू साहित्यकार तथा संसारका विभिन्न महापुरुषहरूको कृति तथा पत्रपत्रिकाले भरिएका छन् । यही कोठामा बसी उनी घण्टौं पढिरहन्छन् । सादा जीवनशैलीमा रमाउने आचार्यको व्यस्तता निकै बाक्लो देखिन्छ । नरम लवजमा बोल्ने उनी जीवनमा कहिल्यै भूफठो नबोल्ने कुरा बताउँछन् । सत्य र सही मात्र बोल्ने तथा सत्य बोल्दा कुनै समस्या पर्छ भने त्यसको मूल्य चुकाउन तयार भएको जानकारी गराउँछन् । यही सत्यवादी स्वभावको प्रभाव उनका प्रत्येक मौलिक कृतिहरूमा प्रशस्त पाइन्छ । उनको आन्तरिक र बाह्य दुवैखाले व्यक्तित्वले साहित्यिक व्यक्तित्व निर्माण हुनुमा निर्णायक भूमिका खेलेको पाइन्छ ।
साहित्यिक व्यक्तित्व
विजयराज आचार्य २०५९ सालमा शान्तिको आत्मकथा (सचित्र बालकथा) लिएर औपचारिक रूपमा नेपाली बालसाहित्यमा देखापरेका हुन् । यसअघि उनले पत्रकारिता, अनुवाद गर्ने गरेको देखिन्छ । कथाविधाबाट साहित्यिक यात्रा सुरू गरेका आचार्यले बालउपन्यास, बालनाटक, बालअन्तर्वार्ता, जीवनी आदि विधामा कलम चलाई उत्कृष्ट बालसाहित्यकारका रूपमा स्थापित भैसकेका छन् । उनका सबै विधाका कृतिहरू पुस्तकाकार रूपमा प्रकाशित भैरहेका छन् । उनको साहित्यिक व्यक्तित्वलाई विधागत रूपमा निम्नानुसार प्रष्ट पार्न सकिन्छ –
कथाकार व्यक्तित्व
विजयराज आचार्यको साहित्यिक यात्रा कथा विधाबाट भएको पाइन्छ । उनका हालसम्म प्रकाशित ७ वटा सचित्र बालकथा रहेका छन । शान्तिको आत्मकथा (२०५९) नै उनको पहिलो र सफल सचित्र बालकथा हो । यसका साथै झमककुमारी (२०६०), केवलपुरे किसान (२०६१), कान्छाकुमार (२०६३), बाटुली (बालकथासङ्ग्रह २०६६), श्यामप्रसाद शर्मा (२०६६) र चितुवासँग जम्काभेट (२०६८) रहेका छन् । यी सबै कृतिमा मुख्यतया बालबालिकाका समस्यामाथि प्रकाश पार्ने काम भएको छ । शान्तिको आत्मकथामा एउटी गरिब परिवारकी बालिकाले शिक्षा प्राप्तिको लागि गरेको सङ्घर्षको कारुणिक चित्रण गरेका छन् । त्यस्तै झमककुमारी पनि शारीरिक रूपमा अपाङ्ग भएपछि आपाङ्गताका बाबजुद पाएको सफलताको चित्रण छ । केवलपुरे किसानमा देशप्रेम, सामाजिक परिवर्तनका लागि गरेको सङ्घर्ष, कान्छाकुमारमा गरिबीले प्रतिभालाई रोक्न सक्दैन भन्ने र श्यामप्रसादमा राणाविरुद्ध उनले गरेका आन्दोलन र सफल जीवनको चित्रण पाइन्छ ।
उपन्यासकार व्यक्तित्व
बालउपन्यासकार विजयराज आचार्य उपन्यास विधामा पनि चर्चित भएका छन् । उनका हालसम्म प्रकाशित उपन्यास विधामा परिवर्तन (२०६०), नयाँवस्ती (२०६१) र हाम्रो आवाज (२०६१) । यी उपन्यासहरूमा उनले सामन्ती संस्कारका कारण नेपालीले पाउने दुःख, गरिबीका कारण बालबालिकाले सडकमा आउनुपर्ने र सडक बालबालिकाका अनेक समस्या, बालबालिकाका आँशु बेचेर महल बनाउन पल्केका गैरसरकारी संस्थाहरूको फोहोरी चरित्रलाई अति मार्मिक तरिकाले उजागर गरेका छन् । साथै बालबालिकालाई स्वाबलम्बन र आत्मनिर्भरताको नैतिक सन्देश पनि दिइएको पाइन्छ ।
जीवनीकार व्यक्तित्व
विजयराज आचार्यले दख्खल गरेको अर्को विधा जीवनी पनि हो । जनताका पक्षमा कलम चलाउने, राजनीति गर्ने, देश र जनताको लागि शहीद हुने र नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका विभिन्न महान् व्यक्तित्वको जीवनी बालबालिकाको माझमा ल्याएर बालबालिकामा आदर्श र समर्पणको भावनाको विकास पुर्याउन सफल भएका छन् । जीवनी समेटिएको उनको पहिलो कृति अग्रज स्रष्टाहरू (२०६७) हो जसमा आगो ओकल्ने कवि युद्धप्रसाद मिश्र, बहुप्रतिभाशाली साहित्यकार हृदयचन्द्रसिंह प्रधान, जनकलाकार कुलमानसिंह भण्डारी, आख्यानकार रमेश विकल, मुक्तियोद्धा कवि गोकुल जोशी, सङ्घर्षशील साहित्यकार पारिजात, जनताका साहित्यकार जनकप्रसाद हुमागार्इं, जनताको बोली बोल्ने लेखक रुद्र खरेल, र शहीद कवि कृष्णसेन इच्छुकका जीवनका आरोह अवरोह छन् भने दोस्रो कृति हाम्रा आस्थाहरू (२०६८) हो जसमा जनताका नेता पुष्पलाल श्रेष्ठ, प्रजातान्त्रिक नेता विपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, श्रमिक नेता निर्मल लामा, जननेता मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, विद्रोही नेता रूपचन्द्र विष्ट र गणतन्त्रवादी गिरिजाप्रसाद कोइरालाको जीवनी समावेश गरेका छन् ।
बालअन्तर्वार्ताकार व्यक्तित्व
बालसाहित्यकार विजयराज आचार्य बालअन्तर्वार्ताकार पनि हुन् । नेपाली बालसाहित्यमा यो नौलो विधा भित्याउने उनी पहिलो व्यक्ति हुन् । चम्किला चौध कोपिला (२०६०) उनको बालअन्तर्वार्ताको संगालो हो । उनले यी अन्तर्वार्ताहरू प्रायःजसो विगतमा नवप्रतिभाको सम्पादकका रूपमा काम गर्दा लिएका हुन् (आचार्य, २०६० ः लेखकीय) भनी उल्लेख गरेका छन् । यसमा नेपालका तराई, पहाड, हिमाल तथा प्रवास समेतमा बस्ने नेपाली बालबालिका जो विविध कारणवश सङ्घर्ष गर्दै सुनौलो भविष्यको सपना बोकेका छन्, फोटोसहित तिनका चम्किला विचार र जीवनको लक्ष्य प्रस्तुत गरेका छन् ।
नाटककार व्यक्तित्व
बालसाहित्यका विभिन्न विधामा कलम चलाएका आचार्यले नाटकलाई अछुतो राखेनन् । बालनाटकका रूपमा उज्यालोको खोजीमा (२०६१) उनको एकमात्र सचित्र बालनाटक हो । यस नाटकमा स्वयम्बर हाङका जीवन्त चित्रहरू पनि राखिएको छ । सुखशान्ति र स्वतन्त्रताका लागि जनताले लडेर ल्याएको प्रजातन्त्र धरापमा परेको स्थिति र बोलीका ठेगान नभएका जनताप्रति अनुतरदायी नेताको चरित्रको चित्रण यस नाटकमा देखाउन खोजेका छन् ।
अनुवादक व्यक्तित्व
आफ्ना अनावश्यक विचार अरूमा थोपर्नुभन्दा अरूका राम्रा विचारका अनुवाद गरी सार्वजनिक गर्नु राम्रो (स्रोत ः शोधनायक) भन्ने सोचाइका साथ विजयराज आचार्य अनुवादतर्फ लागेका देन्छिन् । उनले अनुवाद गरेको कृतिहरू सन्देशमूलक, नैतिकमूलक र आदर्शवादी शिक्षा दिने खालका रहेका छन् । उनक विभिन्न भाषाबाट नेपाली भाषामा अनुवाद गरिएका कृतिहरू यस प्रकार छन् ः
बालबगैँचा
एउटा नयाँ पुलको निर्माण २०५८ असार
खरायोको पुच्छर किन छोटो भयो ? २०५८ असनर
कृतज्ञ बाघ २०६२ असोज
विश्वप्रसिद्ध लोक कथाहरू १ २०६६ जेठ
विश्वप्रसिद्ध लोक कथाहरू २ २०६६ जेठ
विश्वप्रसिद्ध लोक कथाहरू ३ २०६६ जेठ
विश्वप्रसिद्ध लोक कथाहरू ४ २०६६ जेठ
हितोपदेशका कथाहरू (भाग १) २०६६
विश्व प्रसिद्ध बालकथासङ्ग्रह (खण्ड–६) २०६४ मसिर
विश्व प्रसिद्ध बालकथा (खण्ड–७) २०६४
रमाइला चिनियाँ बालकथा २०६३ बैशाख
लियो टाल्सटायका उत्कृष्ट बालनाटक २०६५ जेठ
पञ्चतन्त्रका रमाइला कथाहरू २०६५ जेठ
विश्व प्रसिद्ध जापानी लोककथाहरू २०६५ भाद
सफलताका सय सूत्र २०६५ असार
सम्पादक व्यक्तित्व
विजयराज आचार्यले आफ्नो सम्पादक व्यक्तित्वलाई विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादन गर्दै अघि बढाएको देखिन्छ । काठमाडौँबाट प्रकाशित हुनेगरेको बालपत्रिका नवप्रतिभाको सम्पादक भई वि.सं २०५५(५७ सम्म काम गरेको पाइन्छ र त्यस्तैगरी नयाँ परिवेश, झिमु्रक सन्देश जस्ता साहित्यिक पत्रिकाको पनि सम्पादक भई आफ्नो सम्पादक व्यक्तित्वको विकास गरेको देखिन्छ भने हाल विवेक सिर्जनशील प्रकाशनबाट प्रकाशित बालपत्रिका हाम्रो बालबगैंचाका सम्पादक रहेका छन् ।
आचार्यले बालसाहित्य सम्बन्धी कथा र नाटकको पनि सम्पादन गरेका छन् । प्रतिनिधि बालकथाहरू र प्रतिनिधि बालनाटकहरू उनले सम्पादन गरेका बालकृतिहरू हुन् ।
प्रकाशक व्यक्तित्व
सिर्जनशील प्रकाशकका रूपमा वि.सं २०५४ सालमा माओत्सेतुङ्गद्वारा लिखित ‘जनताको सेवा गर र पर्वत पन्छाउने बूढो मान्छे’ शिर्षकको सानो पुस्तिका प्रकाशन गरी यस क्षेत्रमा प्रवेश गरेको आचार्यले २०५८ सालदेखि संस्थागत रूपमा हालसम्म हजारौं पुस्तकको प्रकाशन गरिसकेका छन् । बालसाहित्यदेखि राजनीतिक तथा विभिन्न विद्वानका विश्वप्रख्यात कृतिको समेत अनुवाद र प्रकाशन गर्दै आइरहेका छन् । कम्युनिष्ट विचारधाराका किताब प्रकाशन गरेको आरोपमा २०५७ साल पुष सत्ताइस गते गिरफ्तार गरी ३ दिन बेपत्ता पारी तत्कालीन प्रशानले उनलाई ३ महिनासम्म हनुमान ढोकामा हिरासतमा राखी निकै दुःख दिएको बताउने आचार्य ‘बालबालिकाको स्वच्छ छवि निर्माणार्थ सहयोग पुग्ने पुस्तकको प्रकाशन गरें’ भन्दै सही कामको लागि आफु सधैँ क्रियाशील रहने प्रतिबद्धता जनाउँछन् ।