Menu Close

केवलपुरे किसान

विजयराज आचार्य


जन्म मेरो त्रियासी साल, चैत हो र मैन्हा


भन्नुहुन्थ्यो जेठीआमा चिनाटिपन छैन ।


किन हो किन मलाई त,जहिले पनि कवितामै कुरा गरूँगरूँ जस्तो लाग्छ । मनमनै सोच्छु सबै मान्छे कवि भइदिए र कवितामै कुरा गरे कति जाती हुन्थ्यो होला ? तर म बूढाले कवितामै मेरो जीवनका कथा सुनाऊँ भने तपाई साना साना नानीहरूले बुझ्नु पनि हुन्न होला, त्यसैले कथाको रूपमा नै तपाईहरूलाई मेरा जीवनका बारेमा बोलिविस्तार सुनाउँछु ।


जन्मँदा पुरेतले राखिदिएको मेरो नामचाहिँ षडानन्द हो । पछि मलाई त्यो नाम त्यति मन परेन्, त्यसैले त्यसलाई बदलेर देवीप्रसाद पौडेल राखेँ । सुरुमा मैले गोडा दुईचार रचना देवीप्रसाद किसानका नामबाट लेखे पनि पछि मेरो साहित्यिक नाम केवलपुरे किसानको रूपमा स्थापित भयो ।


मेरो जन्म १९८३ सालमा धादिङ जिल्लाको लामीडाँडास्थित केवलपुरमा बुबा हरिप्रसाद र आमा मायादेवी पौडेलको कोखबाट भएको हो ।


मेरा बुबा बित्दा म भर्खर चार वर्षको थिएँ, त्यसैले उहाँको त अनुहारसम्म पनि हेक्का छैन । आमाका बारेमा भने अलिअलि सम्झन्छु । उहाँ बित्दा म आठ वर्षको थिएँ । तर आमाले पकाएर दिने गरेको मीठो चाम्रे (अस्पटे वा ढकनी पनि भन्थे) को स्वाद अहिले पनि जिब्रोमा गढेको छ ।


हुन त चार वर्षसम्म बुबा र आठ वर्षसम्म आमाले मलाई औधी माया गर्नुभयो होला । तर, मलाई भने त्यो न्यानो मायाको अनुभव नै भएन । किनकी त्यतिबेला म सबै कुरा बुझ्न सक्ने भएकै थिइन् ।


मेरा आमाबुबाले बालकमै मलाई छाडेर जानुभए तापनि मैले त्यति दुःख कष्ट झेल्नुपरेन । किनकी मेरा जेठाबुबा र जेठीआमाले् गर्भबाट जन्माएको सन्तानलाई जस्तै मायाममता दिएर लालनपालन गर्नुभयो ।


जेठाबुबा, जेठीआमाले मलाई यति माया गर्नुहुन्थ्यो कि आफ्नो कोखबाट जन्मेका दाइहरूलाई मेलापातको अप्ठ्यारो काम लगाएर मलाई चाहिँ गाई हेर्ने सजिलो काम लगाउनुहुन्थ्यो ।


यसरी म मेरी आमा बितेकै वर्षबाट गाईगोठालोको काम गर्न थालेँ । यो काम मैले जम्मा चार वर्ष जति गरेँ ।


त्यतिबेला म दिनभरि गाईगोठालो जान्थे । बिहान बेलुकीचाहिँ भाषापाठशालामा गएर पढ्थेँ ।


गाउँको भाषा पाठशालामा करिब चार वर्षसम्म पढिसकेपछि अब यहाँमात्र पढेर काम लाग्दैन भन्ने लाग्यो । त्यति धेरै माया गर्ने जेठाबा र जेठीआमालाई समेत थाहा नदिईकन फुत्त भागेर काठमाडौँतिर लागेँ । ‘अर्थ न बर्थ गोविन्द गाई, टाउको दुख्या ओखती नाइटामा लाइ’भनेझैँ यो समयमा काठमाडौँलाई नेपाल भन्ने चलन थियो ।


काठमाडौँमा सानीआमा हुनुहुन्थ्यो । सोध्दै खोज्दै सानीआमाको डेरासम्म पुगेँ । दुईचार दिन त उहाँसँगै बसेँ । तर, मजस्तो चञ्चले केटाको मनले के ठान्दो हो एकोहोरो सानिमाको डेरामा बसिरहन । त्यसमा पनि म जस्तो आफ्नो मुटुलाई भन्दा बढी माया गर्ने जेठाबा जेठीआमालाई सम्म एकचोटि नसोधी चटक्क छाडेर भाग्नेले ।


मैले गाउँमा छँदै बाहुनको छोराले काठमाडौँमा भान्छेको काम पाउँछन् भन्ने सुनेको थिएँ । त्यसैले सानिमाका आँखा छलेर भान्छाको कामको खोजीमा हिँडे ।


तैँले चिताइस् भने मैले पु¥याइदिनेछु भन्ने नेपाली लोकप्रिय उखान छ । सायद त्यही भएर होला सोध्दै जाँदा भीमसेनस्थानमा एक जना लामिछानेको घरमा भान्छेको काम पाइहालेँ ।
अब भने मेरो दिनचर्या नै बदलियो, बिहानबेलुका भान्छेको काम । दिनभरी दरबार हाइस्कुलको पढाइ ।


दुःखियालाई जे चितायो त्यो पुग्न मात्र कहाँ हुन्छ र ? जति दुःख छ, त्यसको दोब्बर हाइस्कूल पढ्दा करिब आठदस घरमा नै भान्छेको लागि चहार्नुपरेको थियो ।


मैले जीवनमा दुःख सुखका कुराहरू निकै भागेँ । भान्छे लाग्दै पढ्दै थिएँ । दुईसालतिर फेरि सरकारले दरबार हाइस्कुलमा संस्कृत पढ्नेहरूका लागि निःशुल्क खानबस्न आउने व्यवस्था छात्रवासमै गरिदियो ।


मलाई त ‘के खोज्छस् काना आँखो’ भनेझैँ भयो । म पनि भान्छेसान्छेको काम छाडी फुत्त त्यही छात्रवासमा बस्न र दरबार हाइस्कुलमा पढ्न थालेँ ।


मलाई के लाग्छ भने हामी दुःखी, गरिबहरूका लागि जीवनमा दुःख र सुखका क्षणहरू बराबरजस्तै हुन्छन् । लाग्छ यी दुई कुरालाई तुलामा तौलियो भने कतै पनि घटीबढी हुन्न होला ।


यसो भनेर मैले धनसम्पति र भोगविलासको दुःख सुखको कुराचाहिँ गरेको होइन । मनमा शान्ति छाउने र दुःखी हुनुपर्ने कुरालाई नै मैले तराजुमा जोख्नुपर्छ भनेको हुँ ।
मैले पनि मेरो अठहत्तर वर्षको उमेरसम्म सुखदुःखका क्षणहरू बराबर रूपमा नै बिताएको छु ।


यसै सिलसिलामा चार सालमा दरबार हाईस्कुलमा पढ्ने विद्यार्थीहरूले आफ्ना विभिन्न माग राखेर आन्दोलनल गरे । जो जयतु संस्कृतम् छात्रआन्दोलन भनेर चिनिन्छ । मैले पनि त्यस आन्दोलनमा सक्रिय रूपमा भाग लिएँ ।


हामीले आफ्नो माग राखेर आन्दोलन गरेकाले त्यति बेलाको सरकारले हामी बत्तीस जना विद्यार्थीहरूलाई देशनिकाला ग¥यो ।


हामीलाई पाँचमाने भर्याङ लगेर नेटो कटाइदियो । त्यसपछि हामीहरू आफ्नै तरिकाले वनारस पुग्यौँ ।


त्यहाँ पुगेपछि वनारस बसेका नेपालका विभिन्न पार्टीका वरिष्ठ नेताहरूलाई भेट्ने मौका पायौँ । त्यति मात्र कहाँ हो र ? महाकवि लक्ष्मीप्रसाद देवकोटालाई समेत प्रत्यक्ष रूपमा भेट्न पाइयो ।


त्यतिबेला महाकवि लक्ष्मीप्रसाद देवकोटाले वनारसमा ‘युगवाणी’ पत्रिका चलाउनुहुन्थ्यो ।
बिस्तारै उहाँसँगको उठबस बढ्दै गयो । त्यसले गर्दा म पनि साहित्यतर्फ आकर्षित बन्दै गएँ । साहित्यका पुस्तक धमाधम पढ्न थालेँ ।


महाकविकै प्रेरणाले गर्दा पाँच सालमा मैले जीवनमै पहिलो चोटि ‘आह्वान’ शीर्षकको कविता लेखेँ । त्यो कविता देवकोटालाई देखाएँ ।


कविता उहाँलाई देखाउँदा “थुक्क यस्तो पनि कविता हुन्छ ?” भनेर च्यातेर फालिदिनुहुन्छ होलाजस्तो लागेको थियो । उहाँले त मुसुक्क हाँसेर ‘राम्रै छ, अझै मिहिनेत गरेर लेख्दै जानुहोस्, राम्रो हुन्छ’ भन्नुभयो र त्यही कविता पनि आफ्नो पत्रिकामा पो छापिदिनु भयो ।
त्यसपछि त खुट्टाले भुइँमा टेक्न छाडेँ । ममा खुसीको सीमै रहेन । त्यसपछि त म पनि नियमित लेख्न थालेँ र जीवनभरी लेखिरहेँ । सायद त्यतिबेला देखिको निरन्तरताले त अहिले सबैले मलाई ‘जनकवि उपाधि दिएका छन् ।


वनारसमा आठ महिनासम्म बसेर स्वअध्ययन गर्दै कविता लेख्ने कामलाई निरन्तरता दिएँ ।
किन हो किन, मलाई सानैदेखि सबै मान्छे बराबर हुन् जस्तो लाग्थ्यो । बाहुनका भुसतिघ्रे छोराहरू घरमा काम नगरी बस्ने अरू जातिका फुकी ढल्ने छोराहरूले सकी नसकी भएपनि हलो जोत्नै पर्ने ?


यस्तो अन्याय देख्दा मलाई झोक चल्यो र छ सालमा आफैले गोरु नारेर जोत्न थालेँ ।
मैले हलो के जोतेको थिएँ, गाउँका ठुलाठालू त जुरुक्क उठे । बाहुन भएर हलो जोत्ने ? यो बाँदर हो कि भालु भनेर गिज्याए । उनीहरूले मलाई देख्ने बित्तिकै आँखा तर्न थाले । तर उनीहरूले ममाथि जाइलाग्ने आँट भने गरेनन् ।


म आफूले गरेको कामप्रति दङ्ग थिएँ । कसैले हल्लाएर हल्लिनेवाला पनि थिइनँ किनभने मेरो मनमा जे गरेँ, राम्रो गरेँ भन्ने थियो ।


त्यसपछि बेलाबेलामा म काठमाडौँ आउने जाने गर्थेँ । कहिलेकाहीँ काठमाडौँ आएर विभिन्न पत्रपत्रिका र पुस्तक लान्थेँ र घरमै बसेर अध्ययन र लेखन गर्न थालेँ ।


यही क्रममा नौ सालतिर एउटा किताब निकाल्ने रहर लाग्यो र ‘बाघ आयो’ भन्ने पहिलो कवितासंग्रह निकालेँ ।


नौ सालदेखि सोह्र सालसम्ममा मैले, ‘बाघ आयो’ बाहेक ‘नेपाल न छो’, ‘समातेर पछार’, ‘छिः छिः’ र ‘संघर्षको ठीक गर’ नामका छवटा पुस्तकहरू प्रकाशन गरेँ ।


त्यसपछि मेरो कविता लेख्ने काम कम हुँदै गयो किनकी २०१७ सालदेखि देशमा पञ्चायती कालरात्रीका दिन सुरु भए । मान्छेहरूलाई स्वतन्त्र रूपमा लेखपढ र हिँडडूल गर्न समेत प्रतिबन्ध लगाइयो ।


बीस सालबाट म गाउँलेहरूले चन्दा संकलन गरी खोलेको केवलपुरकै एउटा स्कुलमा पढाउन थालेँ । त्यतिबेला मेरो तलब जम्मा पचहत्तर रूपौयाँ मात्र थियो ।


बीस सालदेखि उनन्तीस सालसम्म विभिन्न पाँचवटा स्कुलमा पढाउने काम गरे । तर नौ वर्षभरी नै मेरो तलब मासिक पचहत्तरबाट बढेन । यो ‘खरी’ घोट्ने जागिर खाँदाखाँदा दिक्क भएपछि म घरमै बस्न थालेँ ।


त्यति बेला मलाई साह्रै माया गर्ने व्यक्तिहरूमा टंकप्रसाद आचार्य र पुष्पलाल हुनुहुन्थ्यो ।


त्यति बेला राजनीतिपीडित सहायता समितिको अध्यक्ष टंकप्रसाद हुनुहुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर देखेर उहाँले राजनीतिपीडितलाई प्रदान गरिने सहायतास्वरूप सर्लाहीको मूर्तियामा तीन बिगाहा जग्गा लिन आग्रह गर्नुभयो । त्यो मैले स्वीकारेँ । त्यसपछि हाम्रो आर्थिक अवस्थाम केही सुधार भयो । त्यो जग्गाबाट अहिले पनि वार्षिक २४ हजार आम्दानी भइरहेको छ ।


एकतीस सालदेखि चवालिस सालसम्म गाउँघरमै कुटोकोदालो गरेर बसेँ ।


यस बिचमा मेरी जीवनसंगिनीलाई दमले छोयो । चवालिस सालमा उनले काठमाडौँमै बसेर औषधी गरे हुन्छ कि भन्ने चाहना गरिन् । छोराछोरीको पनि त्यही आग्रह रह्यो जसअनुसार केवलपुरको पुख्र्यौली सम्पत्ति बेचेर काठमाडौँको सीतापाइलामा एउटा टुक्रा जग्गा किनी सानो घर बनाएँ र थन्किएँ ।


जब म काठमाडौँबासी भएँ, फेरी मेरा साहित्यिक गतिविधि बढेर गए ।


२०४५ सालमा मोदनाथ प्रश्रित र विष्णु प्रभातको पहलमा केवलपुरे किसानका गीत र कवितासंग्रह प्रकाशित भयो ।


भाइबहिनीलाई मैले पहिले नै भनेका थिएँ, पञ्चायती कालो व्यवस्थाले …. गर्ने हो भनेर । नभन्दै मेरा किताब पनि जफत गरिदियो ।


यसै उसै गरेर मेरो जीवन बित्दै थियो । २०४६ सालको चैतमा पञ्चायती व्यवस्थाको अन्त्य भयो । सबै नेपालीले स्वतन्त्र रूपमा लेखपपढ हिँडडूल गर्न पाउने भए । त्यति बेला साह्रै खुसी भएँ ।


उमेरले पनि बूढो भइयो । नेपालीको चलनअनुसार अहिले मलाई पुरस्कार लिन दोसल्ला ओडाई प्रमुख अतिथि बन्न र भाषणतुषण गर्दैमा भ्याइनभ्याइ छ ।


जीवनमा मैले धेरै हन्डर ठक्कर खाएँ, चौवन्न सालमा मेरी प्रिय जीवनसंगिनी सावित्रीले धर्तीबाट बिदा लिँदा थप पीडाबोध भयो । त्यसपछि मैले ‘आँसुको पोखरी’ शोेककाव्य लेखेँ । मलाई एक्लै छाडेर आफूमात्र फुत्त कहिल्यै नआउने गरी कता गइन् कता ? यस घटनाले जति पीर जीवनमा अरू कुनै घटनाले पनि पारेको थिएन ।


मान्छे मरेपछि पीरल मानेर मात्र के हुन्छ र ? त्यसैले घरपरिवारमा सल्लाह ग¥यौँ र उनको सम्झनामा समाजलाई फाइदा पुग्ने खालको काम गर्ने निधो गर्यौ ।


मेरो सन्तान निकै समझदार छन् । मैले राम्रो काम गर्नका लागि सल्लाह मागेँ भने उनीहको एकैतालीमा समर्थन जनाउँछन् । सकेसम्मको सहयोग गर्न पनि पछि पर्दैैनन् ।


मलाई हाम्रै केवलपुरमा घटेको घटनाको सम्झना बारम्बार भइरहन्छ । त्यहाँ एउटा ब्राह्मणले आमा बितेको एक वर्षसम्म धोती मात्र लगाए । खाना पनि आफै पकाएर खान्थे । तर, बाँचुञ्जेल उनले आमालाई सधैँ नराम्रो व्यवहार गरेका थिए । सधैँ रोएर बाँच्ने आमा मरेपछिको यो नाटक मलाई पटक्कै मन परेन । तर मेरा छोराछोरीले बाँचुञ्जेल आफ्नी आमालाई खुसी नै राखे । मरेपछि पुरेतलाई पोस्ने काम गरेनन् । बरु आमाकै सम्झनामा केवलपुरकै एउटा स्कुलमा पुस्तकालय भवन बनाउने योजना गरेका छन् ।


केवलपुरमा पानीको साह्रै समस्या थियो जसले गर्दा त्यहाँका जनताले निकै दुःख पाएका थिए तर मेरो जेठो छोराले आफ्नी आमाको नाममा एउटा ट्याङ्की निर्माण गरिदियो । त्यसबाट अहिले त्यहाँका मानिसले आनन्दसँग पानी पिइरहेका छन् ।


अब त, मैले पृथ्वीमा पाइला टेकेका पनि अठहत्तर वर्ष भएछ । तीनखाले शासन व्यवस्थाका आनीबानी देख्ने र भोग्ने मौका पाइयो ।


एकसय चार वर्षे जहाँनिया राणाशासन कस्तो थियो भन्ने कुरा त भाइबहिनीले इतिहासका पुस्तकमा पढ्नु नै भएको होला ।


त्यति बेला राणाहरू आफ्नो परिवारको लागि मात्र फाइदा हुने काम गर्थे । आफू मालिक बनेर सबै नेपालीलाई नोकर बनाउन पाउँदा मात्र उनीहर मख्ख पर्थे ।


राणाहरूले सामान्य जनतालाई पढ्न लेख्नबाट बन्चित गरेका थिए । जनताले पढेर जान्ने मान्ने भ एभने आफ्नो सत्ता जान्छ भन्ने निरङ्कुश मानसिकता उनीहरूमा थियो । त्यसैले उनीहरूले सकेसम्म जनताका छोराछोरीलाई पढ्नबाट बन्चित नै गराउँथे ।


राणाहरूले जनतामाथि साह्रै थिचोमिचो गरेकाले सात सालमा क्रान्ति भयो । सबै जनताले राणाशासनको विरोध गरे ।


त्यसैले एक सय चार वर्षसम्म जनतालाई रैती बनाएर मालिका बनेका राणाहरूको शासन गर्लम्म ढल्यो । त्यतिबेलाका शासक र नेताहरू भारतको राजधानी दिल्लीमा गएर प्रजातन्त्र ल्याउने सम्झौता गरे ।


साँच्चीकै भन्ने हो भने त्यस पछाडि जुनजुन समूह सत्तामा गए पनि भारतकै इसारामा काम गरिरहेका छन् ।


सात सालदेखि सत्र सालसम्म नेपालका जनताले सामान्य रूपमा लेखपढ गर्न पाएका थिए । सत्र सालबाट राजा महेन्द्रले पञ्चायती तानाशाही व्यवस्था लागू गरे । यसले पनि जनतालाई दिनुसम्मको दुःख दियो ।


तीस वर्षे कालो पञ्चायती व्यवस्थाले जनतामाथि गरेको अन्यायका कारण २०४७ सालमा राजा, काङ्ग्रेस र वाममोर्चाले दरबारभित्रै सम्झौता गरे । त्यसपछि नेताहरू चुनावमा उठेँ र उनीहरूलाई हामी जनताले भोट दिएर जितायौँ ।


भोट माग्न जाँदा ती नेताहरूले हामी गाउँमा आउँछौँ, गाउँलेका दुःख सुखलाई साथ दिन्छौँ भनेका थिए । तर हामीले दिएको भोटबाट सांसद बनेर सरकारमा गएपछि त उनीहरूले आफ्नो सुखसुविधालाई मात्र हेरे । जनताका लागि अभाव, शोषण, थिचोमिचोलाई मात्र निरन्तरता दिए ।


नानीहरू, तपाईहरूले सुन्नु र देख्नुभएको होला । हिजोसम्म एक पेट भर्न र एक आङ टाल्न धौ धौ हुने नेता अहिले ठूला ठूला महल बनाएर चिल्ला र महङ्गा गाडीमा सवार हुन्छन् । अहिले उनीहरू भोट दिएर त्यो स्थानसम्म पु¥याउने जनतालाई भने वास्ता नै गर्दैनन् ।


राणा र पञ्चायतकालका शासकहरूजस्तै अहिलेका बहुदलीय शासकहरू पनि भारतीयलाई रिझाउन कम्मर कसेर लागेका छन् । उनीहरूलाई आफ्नो राष्ट्रको भन्दा मालिकको चाकरी गरेर सत्तामा टिकिरहने चिन्ता छ ।


त्यसैले त यिनीहरूले राणा र पञ्चायती शासकले बेच्न बाँकी नदीनाला भारतलाई सुम्पेर आफ्ना मालिकलाई ठूलो गुण लगाएका छन् । आफ्नो स्वार्थ पूरा गरेका छन् र जनताको मुटुमा काँडो रोपिदिएका छन् । हेर्नुहोस्, प्यारा भाइबहिनीहरू हो, मैले तीनवटै शासनव्यवस्था देखेको छु, त्यसैले मैले एउटा कुरो तपाईहरूलाई बताउनै पर्छ । त्यो के हो भने चाहे राणा होस्, चाहे पञ्चायत, वा अहिलेको प्रजातान्त्रिक व्यवस्था नै किन नहोस् । यी तीनवटै शासक हुनेखानेको लागि मात्र भए । मेहनत गरेर पनि पेटभरी खान नपाउनेलाई बहुदलका सरकार पनि शत्रु भए । थोरै मान्छेमा भएको सम्पत्तिलाई सबैमा बाँडेर बराबर पार्नुपर्छ । नेपालीले काम गरेर खान पाउनका लागि उद्योग, कलकारखाना खोल्नुपर्छ भन्नेलाई उतिबेला पनि जेल हालिन्थ्यो र अहिले पनि त्यो काम जारी छ ।


अब त पुस्तौली शासन गर्ने परम्पराको अन्त्य नगरी कसरी जनताले सुख पाउलान् र खै ? त्यो गर्नका लागि जनता शिक्षित बन्नैपर्छ । जनतामाथि शोषण गर्नेहरूलाई निमिट्याउन्न पार्नै पर्छ ।


एउटा कुरा, नेपालको जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरूलाई हेलाहोचो गरेको देख्दा मलाई साह्रै चिन्ता लाग्छ । एउटी श्रीमती मरी भने श्रीमान्ले तुरुन्तै विवाह गर्छ, तर सत्तरी वर्षको बूढाले १४ वर्षे बालिकालाई विवाह गरेर विधवा भई भने त्यसले विवाह गरे समाजले घृणा गर्छ । यो परम्परालाई हामीले बदल्नु नै पर्छ ।


राणाशासकले जहिले पनि महिला र पुरुषलाई सँगै बस्न पनि दिँदैनथे । नब्बे सालतिर ठुलीआमाले पशुपतिको जात्रा हेर्न लैजाँदा मलाई महिलाहरूका बीचमा केटो आएको भनेर पुलिसले लछारपछार गर्ने ठानेर सेतो खास्टोमा गुटुमुटु पारेर काखमा सुताएको भर्खरैजस्तो लाग्छ ।


महिलाहरू विधवा भएपछि न त माइतमा बस्न पाउँछन्, न त घरमा नै । उल्टो यो अलच्छिनाले लोग्ने टोकी भनेर हेला गर्ने गर्छन् ।


नढाँटी भन्ने हो भने, भाइबहिनीहरूले मलाई त साहित्यकार भनेर चिन्नुभएको छ । त्यसैले मैले साहित्यसम्बन्धी मनमा लागेका केही कुरा बताउनु आवश्यक छ ।


आफ्नो बौद्धिकता मात्रै प्रर्दशन गर्ने, जनताले नबुझ्ने गरी साहित्य लेख्ने मान्छेहरूलाई म साहित्यकार मान्दिन । जुन समुदायलाई लक्षित गरेर साहित्य लेखिन्छ, त्यही समुदायका दुःख पीडाहरूलाई समेटेर उनीहरूले बुझ्ने भाषामा लेखिएको साहित्य नै साँचो अर्थमा जनसाहित्य हो ।


सहरमा बसेका ठूलाठालू र धनीमानी मान्छेलाई त केको साहित्यको आवश्यकता छ र ? मान्छेले त झुप्रामा बसेका दुःखी गरिब जनताको पीरमर्कालाई समेटेर साहित्य लेख्नुपर्छ ।
मलाई त, सबभन्दा मनपर्ने साहित्य विधा लोकगीत नै हो किनभने लोकगीत्मा कसैको पनि हस्तक्षेप छैन ।


सहरमा बसेर ठूलाबडाको चाकरी गरेर उनीहरूका निम्ति मात्र साहित्य लेख्नेहरूप्रति मलाई घृणा लाग्छ । साँच्चैको जनताको लेखकले त गाउँबेसीमा गएर तिनै गाउँका जनताको पक्षमा उनीहरूले स्पष्ट बुझ्ने भाषामा साहित्य लेख्नुपर्छ भन्ने मेरो भनाइ हो ।


हाम्रो पालामा भन्दा अहिले साहित्य फस्टाउन त फस्टाएको छ तर त्यो छाप्रा छाप्रासम्म नपुगी सहरमा मात्र सीमित भएको देख्दा दुःख लागेको छ ।


कथाको अन्तमा अब म, तपाईहरूलाई मेरो जीवनमा घटेका बिर्सनै नसकिने केही घटना सुनाउन चाहन्छु ।


म भान्छे लाग्दाको कुरा हो । त्यति बेला बाहुनको छोराले धोती मात्र लगाएर पकाउने चलन थियो । एकदिन दाल त्यति पाकेनछ । घरबेटीको छोराले तथानाम गाली गर्दै त्यो दाल मेरो शरीरमा खन्याइदियो । धन्न दाल अलि सेलाएको रहेछ र मात्रै, नत्र मेरो शीरर त्यति बेला खत्तम हुने थियो ।


त्यस्तै अर्को पनि घटना छ । म भान्से लागेको अर्को घरमा एउटी सुत्केरी थिइन् । तिनैलाई खुवाउनका लागि मलाई कलेजो किन्न पठाए । मैले कलेजो किनेर ल्याँउदै थिएँ ।

भीमसेनस्थाननेर एउटा चिलले मेरो हातबाट कलेजो झ्याप्प खोसेर लग्यो । म रित्तै घर फर्किएँ । मालिकका परिवारले अइसा काठो, तैसा काठो भन्दै गाली गरे । त्यो घटना सम्झँदा त अहिले पनि कन्सिरीका रौँ ठाडा हुन्छन् ।


अर्को पनि एउटा बिर्सन नसकिने कुरा । म सानो छँदा घरमै भात पकाउँदा चामलमा धेरै पानी राखेछु । ओदानमाथि बसालेको भातको कसौँडीबाट पनि उम्लेर आगो निभ्यो । म डाँको छाडेर रोएँ । त्यो सुनेर जेठाबाले बढी भएको पानी डाडुले झिक्न लगाउनुभयो । अनि आँसु पुछ्दै भात पकाउन थालेँ । ढङ्ग नपुगेर धुरुधुरु रोएको कुरा सम्झँदा अहिले आज र हाँसो लाग्छ ।


अर्को त्यस्तै घतलाग्दो घटना छ । मेरो जेठाबाका जेठा छोरा दाइले साँझपख एउटा झक्कले खसी खोरभित्र लान फुकाउन लाग्नुभएको थियो । त्यहीँ बेला एउटा भाटाले खसीको टाङमुनि घोचिदिएँ । खसी उफ्रँदा सिङले दाइको आँखामा घोच्न पुगेछ । आँखाबाट तर्तरी रगतको भल बग्यो । मैले गर्दा त्यो घटना घट्यो भन्ने कसैले चाल पाएनन् । म जोगिहालेँ । दोष खसीलाई गयो ।


अब घिउचिउरा घूस खाएको कुरा भन्छु । गोविन्दे भन्ने बाहुनको एउटी घर्तिनीसँग मायाप्रिती बसेछ । ती नानीले माइतबाट आउँदा घिउ र चिउरा कोसेली ल्याएकी थिइन् । त्यो गोविन्देलाई दिन थाल्दा मैले देखेँ । देवीप्रसादले देख्यो, हल्ला नगरोस् भनेर मलाई घरमै डाकेर पेटभरि घिउचिउरा खान दिए । म उल्लुले त्यो कुरा घरघरमै सुनाइँदिएँ । अहिले भए कुटाइ खान्थेँ होला । मसँग बलिया, तर सोझा ती बाहुनले केही गरेनन् । मसँग बोल्न मात्र छाडिदिए ।


जीवनका अठहत्तरौँ खुड्किला पार गर्दासम्म घटेका कुनै घटना रुन मन लाग्नेछन् भने कुनै हाँसो लाग्ने पनि छन् । कति समस्याहरू आइपरे, कसरी तिनीहरूलाई पन्छाउँदै यहाँसम्म आइपुगेँ ? सम्झँदा पनि अचम्म लाग्छ ।


भाइबहिनीहरू अहिलेलाई यो एक श्लोक भनेर बिदा हुन्छ—


सिँगारे बोको, भर्खरै फोको, कर्दले रेटौँला
नमरी बाँचे, कालले साँचे, म फेरि भेटौँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *