Menu Close

बालसाहित्यमा विजयको पाइला

नेपाली बालसाहित्यको क्षेत्र प्रकाशनका दृष्टिले केही समय यता उर्वरजस्तो देखिन थालेको छ तर बाल साहित्यका नाममा सस्ता मनोरञ्जन सामग्री, खोक्रा चुट्किला, भूतप्रेतका उडन्ते कथाहरूले मात्र भोलिको देश र नागरिकहरूलाई कुन दिशातर्फ धकेल्छु भन्ने कुरामा स्वयम् बालसाहित्यमै कलम चलाउने स्रष्टाहरूले पनि मनग्यै ध्यान दिन सकेका छैनन् ।


बालबालिकालाई अवश्यै रमाइलो गर्न, मन रोमाञ्चक कुराहरूमा भुलाउन रुचि हुन्छ तर त्यसको गलत फाइदा उठाएर उनीहरूलाई सधैँ त्यस्तै फोसाका विषयमा मात्र रल्लाउने र त्यस्तै रचनाहरू मात्र पस्किरहने सोचका विरुद्धमा उभिएको छ विवेक सिर्जनशील प्रकाशन प्रा.लि., जसले लामो समयदेखि बालबालिकालाई रमाइलो गर्न, भूतप्रेतका कथा मात्र भन्न सुन्न र चुट्किलाहरू भनेर ठट्टा गरिरहन मात्र सिकाउँदैन, केही सवेदनशील पनि बनाउँछ, केही सचेत पनि गराउँछ र सँगैसँगै रमाइलो पाराले ज्ञानगुन पनि थपिदिन्छु । चन्द्रमामा बा स्वर्गमा पुगेर भोज मनाएको कल्पनाभन्दा आफूजस्तै नानीहरूले झुपडीभित्र गरिबीले खान नपाए पनि संघर्ष गरेर अध्ययन गरी सफल बनेका कथाहरू पस्किन्छ त्यो प्रकाशनले ।


अर्कोतर्फ बालसाहित्यको क्षेत्रमा मनगढन्ते कुराहरू मात्र लेखी स्थापित बन्न खोजेकाहरूलाई सिर्जनशील प्रकाशन प्रा.लि.ले अनुवाद बालसाहित्य शुद्ध खलबद्धरूपमा पस्किएर एउटा पाठ पढाउन पनि खोजेको छ । जसले विश्वप्रसिद्ध वान युनको सचित्र चिनियाँ बालकथा ‘एउटा नयाँ पुलको निर्माण’, ‘श्वी क्वाङको ‘खरायोको पुच्छर किन छोटो भयो’, फू हुङको ‘बालबगैँचा’, लुपिङको ‘सामूहिक भावना’ छन् । त्यस्तै पाओ–च्वानको ‘चेतना’ आदि अनुवाद प्रकाशनमा ल्याएको छ । ती सबै प्रकाशनको अनुवाद स्वयम् विजयराज आचार्यले गरेका हुन् ।


बालसाहित्यको दिशा निर्धारण गर्दै अघि बढेका आचार्यले भर्खरै प्रतिभावान् हस्ताक्षर झमककुमारी घिमिरेको संघर्षक कथामा आधारित सचित्र बालकथा ‘झमककुमारी’ प्रकाशनमा ल्याएका छन् । ‘झमककुमारी’ मा नसक्ने लुली बालिका झमक कसरी अपाङ्ग भन्नै नमिल्ने गरी प्रतिभापुञ्जका रूपमा धपक्कै बन्न सकिन् र उनको जन्ममा खिन्न हुने उनका अभिभावक र आफन्तहरू पनि पछि कसरी उनकै नामबाट जोडिएर आफूसमेत परिचित हुन पाउँदा गौरवान्वित बनिरहेका छन् भन्ने कथा साना बालबालिका मात्र होइन, प्रौढ अभिभावकहरूका लागि पनि उत्तिकै सुरुचिपूर्ण बनाएका छन् आचार्यले ।


तथापी पृष्ठ १६ मा झमकको मुखबाट आचार्यले ‘मुखले पढ्न सक्ने क्षमता ममा आएन’ भनेर बोलाएका छन् र पृष्ठ १९ मा ‘एकदिन मैले बाबालाई आँट गरेर कापी कलम किनिदिन भनेँ’ भन्न लगाएका छन् । यसले बोल्न नसक्ने झमकले कसरी भनिन् भन्ने भ्रम पैदा गर्छ, अझ बालबालिकाबीच त त्यसले अप्ठ्यारो नै पार्छ । त्यस्ता स–साना विषयमा बालबालिकाकै पंक्तिमा आफूलाई पनि सोचेर सूक्ष्म ढङ्गले भनिदिनु ठीक हनुे थियो । त्यसो त सूक्ष्म ढङ्गले भन्दा पुस्तक ठूलो आकारमा जान सक्थ्यो, त्यो पृथक कुरा हो । बाँकी सानै आकारमा झमकको हालसम्मको जीवनी खिच्नु पनि ठूलै कुरा हो ।
२०६० भदौ ११, बिहीबार ‘सृजना’ नेपाल समाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *