स्पेसटाइम संवाददाता
काठमाडौँ, असार ५ । बालबालिकाका लागि बजारमा थुप्रै खुराक छन् । दर्जनौँ पत्रपत्रिका छन्, रंगीबिरंगी खेलौना पनि छन् । त्यस्तै निश्चित उमेर समूहका कथा, कविता, नाटक, उपन्यास, निबन्ध, चित्रकथा, कमिक्स, जोक्स पनि सजिलै पाइन्छ । अब चाहिँ बालबालिकासँगको अन्तर्वार्ता संगालो पनि पढ्ने सकिनेछ ।
अहिलेका बालबालिका के चाहन्छन् ? के सोच्छन् ? कस्ता सपना देख्छन् ? चासो र रुचि केके छन् ? सबैको एकमुष्ट जवाफ मिल्छ, चम्किला चौध कोपिलाबाट । ठूलाबडा र विशिष्ट व्यक्तिका भन्दा चिल्ला, तार्किक र घतलाग्दा कुराकानी गर्न बालबालिका सक्षम छन् । हिमाल, तराई र पहाड लगायतका भारत प्रवासमा रहेका चम्किला १४ कोपिलाका कुराकानी किताबमा समावेश छ । त्यसमा पनि नौ बालिका छन्, पाँच बालक । तीन बालिका अपांग छन्, केही असहाय र टुहुरा ।
प्युठान खलंगाकी सपना पोखरेलका हातखुट्टा सद्दे छैनन् । तर कलाकार बन्ने चाहना छ । उनको अठोट कति कठोर ? आत्मविश्वास कति धेरै ? उता जन्मँदा नै दुवै हात छैनन् सरस्वती शर्माका । न्यायाधीश बन्ने सपनाा सँगालेकी छन् उनले । कवाड बटुलेर आमा र भाइसहति जीविका चलाउने कृष्ण भुजेल घरठेगाना बताउन चाहँदैनन् । र, भविष्यका सुनौला सपना देख्न पनि सकिरहेका छ्रैनन् । त्यस्तै आसाममा छिमेकको घरमा डाँका लाग्दा गुहार दिन जाँदा पिताको मृत्यु भएपछि कृष्णप्रसाद खरेल भोकैनांगै भए पनि रुखासुखा खाएरै स्वदेशमा बस्न चाहन्छन् ।
टनकपुरकी सुमन पन्तलाई देशमा परचक्रीको दबाब बढेको चिन्ता छ । वीरेन्द्रनगरकी मीनाकृष्ण श्रेष्ठ समतामूलक समाजका निम्ति राजनीतिमा जान चाहन्छिन् । झुप्राछाप्रामा पुग्ने डाक्टर बन्न चाहन्छन् सञ्जिवकुमार पाण्डे । यसैगरी धनकुटाकी झमककुमारी घिमिरे शुभचिँन्तकको नक्कली प्रशंसाबाट पीडित छन् । मैले समयमा नै सचेत भएर साहित्य सिर्जन ागर्न सकिन’, उनी भन्छिन्, ‘शारीरिक रूपमा पो म अपांग हुँ, वैचारिक र मानसिक रूपमा म अपांग छैन ।’
साहित्यकार विजयराज आचार्यले लिएका यी अन्तर्वार्तामा जीवन्त सन्देश छन् । जीवनका संघर्ष मनोरञ्जक पक्कै हुँदैनन् । त्यसले जगाउने श्रमप्रति सम्मान अमर छ । समीक्षक जीवेन्द्रदेव गिरीका अनुसार, यो किताबले छिरलिएका बालप्रतिभाको समुचित विकासतिर हुटहुटी जगाएको छ । यसअघि झमककुमारी, शान्तिको आत्मकथालगायत किताब प्रकाशन गरिसकेका विजय बालसाहित्यप्रति समर्पित लेखक हुन् । विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको उक्त किताबबारे राजधानीमा अन्तक्र्रिया सम्पन्न भयो । कार्यक्रममा प्रमोद प्रधान, राजेन्द्र महर्जन, कविताराम श्रेष्ठ, जनकप्रसाद हुमागाई, चंकी श्रेष्ठ, देवी नेपाल, स्वागत नेपाल, नारायण श्रेष्ठ, पदम गौतम, मणि लोहनी, राजकुमार बानियाँलगायतले किताबबारे धारणा राखे ।
विवेक आचार्यले तेस्रो जन्मदिनका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रकाशोन्मुख चित्रकार केके कर्माचार्यको जीवनीमा आधारित सचित्र बालकथाबारे पनि छलफल भयो । ‘यस्ता कार्यक्रमले प्रकाशनअघि नै त्रुटि सुधार्न सहयोग पुग्छ’, साहित्यकार श्यामप्रसादले भने ।
२०६१/३/७ गते