Menu Close

अलग धारमा विजय

बालबालिकालाई सही शिक्षा दिन सकियो भनेमात्र समाज राम्रो बन्छ । तर, किताबी शिक्षा मात्र पर्याप्त हुँदैन । यसका लागि प्रगतिशील बालसाहित्यको ठूलो भूमिका हुन्छ । कुनै बेला जीवनदेखि हार खाएर आत्महत्या गर्ने मानसिकतामा पुगेका विजय आचार्य अहिले यसै योगदानलाई कदर गर्दै बालसाहित्य प्रतिष्ठानले उनलाई २०६० को उत्कृष्ट बाल साहित्य पुरस्कार प्रदान गरेको छ । एकै दिनमा १६ वटा किताब विमोचन गर्नेदेखि दुई वर्षमै १ सय १० वटा किताब निकाल्ने र अनुवाद र मौलिक गरी डेढ दर्जन बालकृति निकाल्नुलाई विजयको सानो सफलता मान्नु हुन्न ।


नेपाली समाजमा बालसाहित्यलाई त्यति ध्यान दिने गरेको र आवश्यक भएको ठानिँदैन । तर, बालबालिकालाई सचेत नबनाई समाज सुधार नहुने विजयको सोचाई छ । उनी भन्छन्– ‘बालबालिका सानैबाट साहित्य र विभिन्न व्यक्तित्वको जीवनी थाहा पाए भने उनीहरू देश जनता । भविष्यप्रति सचेत हुन्छन्, त्यसैले मैले यो बाटो रोजेँ ।’ उनी अगाडि थप्छन्— ‘मैले अरू केही गर्न नसके पनि वार्षिक रूपमा एउटा किताब निकाल्ने विचार गरेको छु ।’ २०६३ सालभित्र ३२ वटा बालसाहित्यको किताब निकाल्ने र आफू जति वर्ष भइन्छ, त्यति वटा किताब केटाकेटीलाई छोडेर जाने सदिच्छा छ उनको ।
यद्यपि, विजयको सो सशक्त भूमिका त्यतिकै निर्माण भएको भने

होइन । स्कुल जने उमेरमा बाख्रोको ठूलो हुल खेत्दै जंगलतिर जानुपर्ने, बाबुआमालाई भने न छोराको पढाइको चिन्ता, न भविष्यको सुर्ता । एक महिनाको दुईदिन स्कुलल जान पाए फेरी अर्को महिना कुर्नुपर्ने । ‘नियमित स्कुलमा जान नपाउँदा सरबाट तिरस्कार, साथीभाइबाट अपहेलना हुनुपर्दा मनै कुँडिने’ उनी बताउँछन् । भन्छन्– ‘मलाई सबैले बाख्रे गोठालो भन्थे । यो सब मेरा बाबुआमाले गर्दा हो भन्ने लागेर घरीघरी त बाबुआमालाई नै एक चिहान पारुजस्तो लाग्थ्यो । तर, कसलाई के भनेर के हुने बाबुआमा हुन छोराछोरीका भविष्यप्रति चिन्ता गर्ने उनीहरूलाई काम प्यारो । तर जेनतेन पाससम्म भइन्थ्यो ।


प्युठान जिल्लाको अति विकट गाउँ दाङभाचरमा आजभन्दा २८ वर्ष अगाडि जन्मिएका विजयराज आचार्यलाई अहिले झट्ट देख्नेले धनी बाबुको छोरो होला, घरमा केहीको दुःख छैन, त्यसैले बालसाहित्यमा लागेको होला ! भन्ने अनुमान लगाउन सक्छन् । तर, ठूलो दुःख र लामो संघर्षपछि जन्मिएको हो–उनको नामजस्तै काम । घरपरिवारबाट माया नपाउनु धेरैका लागि अभिषाष बने पनि विजयका लागि त्यो आर्शिवाद नै भएको मान्नुपर्छ । उनी भन्छन्– ‘मैले घर परिवार र आफूलाई बिर्सिएर त्यतिबेला केही गर्नुपर्छ भन्ने अठोट गरे तर म सानै थिए मेरो लागि त्यो परिस्थिति त्यति सहज थिएन ।


जति दबायो, उति उफ्रिन्छ’ भनेझैँ बाबुआमाले बाख्रा हेर्न जंगलतिर पाइला विभिन्न राजनीतिक पार्टीको अफिसतिर लाग्थ्यो । पारिवारिक वातावरणले उनीमा दिनप्रतिदिन असन्तोष थपिँदै गएको थियो । यो थाहा पाएर बाबु आमाले खान बस्न नदिएको उनी सम्झन्छन् । तर, विजयलाई यी सबैका पछाडि आफूले जिन्दगीमा केही गर्न सकिने आटले उकासिरहेको थियो । ‘मैले त्यति बेला त्यो पारिवारिक दलदलबाट मुक्त हुन खोजेको थिएँ’ विगत उनका आँखाअघि नाच्न लाग्छन् ।


सात कक्षापछि गाउँमा स्कुल थिएन । र, उनी जसोतसो पास भएपछि अर्को गाउँमा पढ्न जानुपथ्र्यो । उनका लागि त्यो समय ‘के खोज्छस् कानो आँखा’ भने जस्तै भयो । विजयलाई बाउले पढाउन नसकिने कुरा गरे दाजुहरूले नपढ्ने सल्लाह दिए । तर, उनलाई घरपरिवारप्रति न विश्वास थियो न आशा नै । उनले आफ्नै हठले पढ्न भनेर अर्को गाउँमा पुगेका विजय पढाइका साथसाथै पूर्णकालीन राजनीतिक कार्यकर्ता र १० कक्षामा पुग्दा नपुग्दै जिल्ला कमिटीको उपाध्यक्ष भइसकेको उनले बताए ।


तर, पार्टीभित्र भएको आपसी खिचातानीले गर्दा पार्टी भित्र टिक्न नसकेर उनी नेपालमा कहिल्यै नफर्कने गरी भारतमा लागेकी उनी बताउँछन् । उनी भन्छन्– ‘जहाँबाट पनि उस्तै निराश त्यसपछि म कहिल्यै नफर्कनेगरी जहाँ गइन्छ भनेर हिँडे र भारतको हरियाणा कम्पनीको क्यान्टिनमा काम गर्न पुगेँ । सानो हुनाले सबैले माया गर्थे । त्यहाँ जसले धेरै पढेको छ, उसले उति धेरै काम गर्नुपथ्र्यो, मैले नपढेको बताएपछि कुपन काट्ने काममा लागेँ ।’


तर, त्यहाँ पनि उनको स्थायित्व हुन सकेन । काम गर्ने क्रममा उनकै भाषामा ‘धोती’ ले हिर्काएपछि विजयको जीवनमा फेरी अर्को प्रहार प¥यो । उनी फेरी अर्काको देशमा मर्नुभन्दा नेपालमै गएर आत्महत्या गर्ने निर्णय गरे । नेपाल फर्किएपछि पनि उनी घर नगई अर्घाखाँची गएर पार्टी र पार्टीका मान्छेलाई भेटेको उनी बताउँछन् । ६ महिना पार्टीमा काम गरेपछि २०५० सालतिर पार्टीको काम गर्ने र पत्रिका बेच्ने भनेर काठमाडौँ आएका विजयका दुःखका दिन तब सुरु भए जब उनी िकाठमाडौँ आए । कहिले पत्रिका बेचेर, कहिले प्रेसमा कडा काम गरेर र कहिले होटलमा काम गरेर उनका दिन बिताउन थालेको उनी बताउँछन् । उनी भन्छन्– ‘मैले तीन वर्ष एक छाक मात्रै खाएँ । रातमा भोक लागेर साह्रै सताउँथ्यो । मैले त्यसबेला चुरोटको अम्मली भए चुरोट खाएपछि झम्म लाग्ने भोक पनि बिर्सर्ने ।’


भोकभोकै बस्ने र सडकमै सुत्ने गर्दा नराम्रो बिरामी परेको सम्झँदै उनी भन्छन्– ६ महिनासम्म बिरामी परेर हस्पिटल बस्दा कोही फर्केर आएर अस्पतालको बेडमा नै मैले गोर्कीको जीवनी, जनतालाई सेवा गर र पर्वत पन्छाउने बुढो मुखे मान्छे पढेँ र फेरी जीवनमा केही गर्नुपर्छ भनेर आट आयो ।’ सधैँ असफल हुँदा आत्महत्या गर्ने अन्तिम विकल्प सोच्ने विजयले यति लामो अशक्तताबाट उठेपछि भने नयाँ काम गर्ने निर्णय गरेँ ।


लाटाको खुट्टो बाटोमा भनेझैँ विजयले हस्पिटलबाट निस्कनेबित्तिकै मार्केटिङ काम पाएँ । त्यसैबाट कमाएको पैसाले २०५४ सालमा साथीसँग मिलेर ‘नवप्रतिभा’ भन्ने पत्रिका निकालेको उनी बताउँछन् । उनी भन्छन्– ‘पत्रिका राम्रो थियो सुरुमा ५ हजार कपी निकाल्ने गथ्र्र्यौँ, पछि त्यो बढेर १८ हजार कपी पुग्यो । तर, आफ्नै मान्छेले माओवादीको पत्रिका किताब प्रकाशित गर्ने मान्छे हो भनेर आर्मीलाई सुराकी गरेपछि म तीन महिना थुनामा परेँ ।’


सानै उमेरबाट आत्मनिर्णय लिएर एक्लै अगाडि बढेको वियजको जीवन असफल को हुन्छ, जसले हिम्मत नहारेर काम गर्छ’ यो उक्ति पयार्यवाची जस्तोे लाग्छ । जेलजीवनपछि त झन् उनलाई आफ्नै प्रकाशनबाट बालसाहित्य र इतिहासमा महत्व राख्नेखालका किताब निकालने अठोट गरे र २०६० सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.बाट कृति निकाल्न सुरु गरेको उनी बताउँछन् ।


अम्बिका पौडेल
शनिबार, २७ फागुन, २०६२ राजधानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *