टाइम्स संवाददाता
काठमाडौँ, माघ–२० । विगत दुई दिनदेखि मुलुकमा उत्पन्न राजनीतिक घटनाक्रमपछि सूचना प्रवाहमा आएको अवरुद्धको क्रमले सधैँ अभ्यस्त उपत्यकाबासीलाई बुधबार पनि अलमल्यायो । तर जनजीवन भने सामान्य नै रह्यो ।
आफ्ना आफन्त को कहाँ छन् भन्नेदेखि मुलुकमा को को नयाँ मन्त्री बने भन्नेसस्म्मको सूचना पाउन उपत्यकाबासीलाई कठिन प¥यो । नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डता एवं सुरक्षामा गम्भीर संकट उत्पन्न भएकोले नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११५ को उपधारा (१) बमोजिम तत्काल लागू हुनेगरी संकटकालीन अवस्थाको आदेश जारी भएदेखि सर्वसाधारणका लागि सञ्चारका सबै माध्यमसँग सदाझैँ हातेमालो गर्ने अवस्था रहेन र।
मुलुकमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखेर टेलिफोन, मोबाइल र इमेल तथा इन्टरनेट सेवा अवरुद्ध भएका थिए । प्युठानको विजयराजले आचार्य, काठमाडौँ नै कता कता टाढा र एकान्त वास लागेको अनुभवमा आफूलाई पाएको बताए । सायद त्यसैले उनी अनामनगरको डेरा छोडेर टौदहस्थित आफन्तकहाँ बसाइँ गए ।
विभिन्न एफएम रेडियोबाट तातो तथा समसामयिक समाचार सुनिरहेका कतिपय उपत्यकाबासीले बुधबार साँझसम्म नयाँ मन्त्रिमण्डलबारे थाहा पाउन नसकेको बताए । कतिपयले भने मन्त्री आउने र जाने कार्यका बारेमा उत्सुकता जनाउन छोडेको बताए, तर उनीहरूले फोनमा कुराकानी गर्न नपाउँदाको बेग्लै अनुभव भने सँगाले ।
सिन्धुली हत्पतेका वसन्त बराल प्रसूतिगृह अस्पतालमा डाक्टर आए नआएको बारेमा जान्न भक्तपुरबाट थापाथलीमै पुगे । ‘फोन भइदिएको भए, त्यति दुःख पाइने थिएन । उनले भने– ‘शान्ति सुव्यवस्था कायम गराउन गरिएको हो भने त्यस अर्थमा आपत्ति जनाउनुपर्दैन । विवाहको लगन बढी परेको यो साता फोनको असुविधाले बर बधु दुवै पक्षलाई अन्योलग्रस्त बनाएको पाइयो ।
बालाजुस्थित एक विवाहघरमा निमन्त्रणा पत्र बाँड्न गएका ठाउँबाट कति संख्यामा वरियात आउँछन् भन्ने जानकारी समयमा नपाउँदा बिहीबारको भोजको तयारीमा समस्या परेको पाइयो ।