Menu Close

विजयराज आचार्यका बालसाहित्यमा समाजवादी अन्र्तवस्तु

– डिजन भट्टराई

१. विषयपरिचय


विजयराज आचार्य नेपाली बालसाहित्यको फाँटमा प्रतिबद्ध साहित्यकार हुन् । उनको जन्म वि.स. २०३३ साल माघ ९ गते दाङ्बाङ–४ प्युठानमा भएको हो । बालसाहित्यमा आफुलाई समर्पित गर्दै दर्जनौ कृतिहरु सिर्जना गरेका आचार्यले आफ्ना सिर्जनामा आफ्नो चिन्तनदृष्टि र उद्देश्यलाई खुलारुपमा अभिव्यक्त गरेको पाइन्छ । बालसाहित्यमा कलम चलाउदै आएका आचार्यका मौलिक र अनुदित कृतिहरु प्रकाशित छन् भने बालसाहित्य सम्बन्धि कथा र नाटकको समेत सम्पादन गरिसकेका छन् । यसरी हेर्दा साहित्यकार आचार्य सर्जक, अनुवादक र सम्पादक व्यक्तित्वको रुपमा चिनिएका छन् । उनका मौलिक कृतिहरुमा नयाँबस्ती (बालउपन्यास), उज्यालोको खोजीमा (सचित्र नाटक), परिवर्तन (बालउपन्यास), हाम्रो आवाज (बालउपन्यास), चम्किला चौध कोपिला (बालअन्तरवार्ता), बाटुली (बालकथा संग्रह), केवलपुरे किसान (सचित्र बालकथा), कान्छा कुमार (सचित्र बालकथा) लगायतका रहेका छन् भने अनुदित कृतिहरुमा विश्वप्रसिद्ध लोककथा भाग १, २, ३ र ४, हितोपदेशका कथाहरु, रमाइला चिनियाँ बालकथाहरु, प्रसिद्ध चिनियाँ बालकथा, एउटा नयाँ पुलको निर्माण, पन्चतन्त्रका रमाइला कथाहरु, बाल बगैचा ( चिनियाँ बालकथा संग्रह), कृतज्ञ बाघ (सचित्र चिनियाँ बालकथा), विश्वप्रसिद्ध जापानी लोककथाहरु, लियो टोल्सटोयका उत्कृष्ट बालनाटकहरु लगायतका पाइन्छन् । प्रतिनिधि बालकथाहरु र प्रतिनिधि बालनाटकहरु समेत सम्पादन गरिसकेका यिनको साहित्य पूर्णत बालसाहित्यको सेरोफेरोमा केन्द्रित छ । समाजको संरचना शोषणमूलक छ । अन्याय, अत्याचारगर्ने उत्पीडक वर्ग र शोषित तथा उत्पीडित वर्गबीचको अन्र्तसंघर्षलाई बालबालिकाकै सापेक्षतामा साहित्य सिर्जना गर्नु नेपाली बालसाहित्यमा उनको एउटा बेग्लै र विशिष्ट पहिचान हो । त्यसकारण उनका कृतिहरुले समाजवादी अन्र्तवस्तुलाई बालबालिका समक्ष प्रस्तुत गर्दै परम्परागत आदर्शवाद, अतिभावुकता, अर्थहीन काल्पनिकतालाई भत्काइ समाजको यथार्थतालाई अभिव्यक्त गरेका छन् । जसका माध्यमबाट बालचेतनामा समाजको शोषणमूलक संरचनाबारे बुझ्ने र जान्ने अवसर प्रदान होस, परिणामस्वरुप उनीहरु समाजको त्यो सामन्ती र घिनलाग्दो सामाजिक स्वरुपलाई भित्रैदेखि घृणा गर्न सक्षम होउन भन्ने देखिन्छ । उनका बालसाहित्यहरु उद्देश्यमूलक छन् । परम्परावादी साहित्यकारहरुले झै उनी बालबालिकालाई कोरा उपदेश र आदर्शमात्रै पस्कदैनन् बरु परम्परावादी सामाजिक संस्कार र चिन्तनले बालबालिकाका साथै समाजका तल्लो वर्गका मानिसमाथि कति धेरै अत्यचार भएको छ सोलाई समेत अभिव्यक्त गर्न पुग्छन् ।

२. बालमनोविज्ञान र बालसाहित्यको स्वरुप


बालबालिका समाजका जटिल पक्षहरुलाई विश्लेषण गर्न समर्थ हुँदैनन् । मानवीय जीवनका भावानात्मक र सपाट अभिव्यक्तिका साथै कल्पनाशीलता उनीहरुको रोचक र जीवनउपयोगी पक्ष बन्न पुग्छ । सामाजिकीकरणको पं्रक्रियामा अघि बढिरहेको बालस्थिति आर्दशको पक्षधर रहेको हुन्छ । सरल कथा प्रवाह र भाषाशैलीमात्र बुझ्ने बालबालिका चमत्कारिक र अद्भुत परिकल्पनालाई यथार्थ बनाउन चाहान्छन् । कार्य–कारण तथा तर्कसंगत कुराहरु भन्दा अलौकिकताप्रति उनीहरुको बढि चासो रहन्छ । इमान्दारी, आदर्श र सत् पक्षधर बालबालिका असत् र विकृत पक्षहरुलाई अत्यन्तै घृणा गर्दछन् । भावुकता बालबालिकाहरुको महत्वपूर्ण विशेषता हो । सुक्ष्मतम् अनुभूतिलाई आत्मसात गर्न असमर्थ यिनीहरुले स्थुल र सपाट पक्षलाई आत्मसातीकरण गर्दै संवेदनाको अन्र्ततहमा पुग्दछन् । त्यसकारण बालसाहित्यको महत्वपूर्ण पक्ष भनेको स्पष्टता, स्थुलता, कल्पनाशीलता, मानवेत्तर चिजमा मानवीकरण गर्दै त्यसमा समाजको यथार्थको प्रस्तुति गरिनुपर्छ । जुन बालसाहित्यका निम्ति अपरिहार्य बन्न पुग्दछ । बालबालिका सामाजिकीकरणको प्रक्रियामा आफ्नो घर, परिवार, पर्यावरण, साथीभाइका साथसाथैै पुस्तकबाट पनि प्रशिक्षित बन्दै गइरहेका हुन्छन् । उनीहरु अत्यन्तै संवेदनशील हुने भएकाले त्यो विशिष्ट परिस्थितिमा जे सिक्छन् त्यो नै उनीहरुको दीर्घकालिन रुपमा बन्ने चरित्रको आधारशीला हो । यसकारण साहित्यको पक्षधरता बालसाहित्यमा पनि रहन्छ् । त्यतिमात्रै होइन् लेखकको जीवन जगतलाई हेर्ने विश्वदृष्टिकोणबाट ती साहित्य विमुख हुन सत्तैmनन् ।
विशेषतः बालसाहित्यको विशेषता मनोरञ्जनमूलक मात्र नभएर उद्देश्यमूलक नै रहने गर्दछ । नैतिकताको प्रस्तुति यिनको अभिष्ट बन्न जान्छ । समाजको चित्रण बालसाहित्यमा समेत कुन रुपमा अभिव्यक्त छ भन्ने प्रश्न पनि एउटा महत्वपूर्ण प्रश्न हो । किनकी बालसाहित्य पनि विचार चिन्तन र दृष्टिकोणले निरपेक्ष हुन सत्तैmनन् । यसले पनि यावत साहित्य भैmं बालसापेक्ष यथार्थको एउटा विशिष्ट स्वरुपलाई अभिव्यक्त गरिरहेको हुन्छ । समाजको यथार्थलाई विशद्ध आर्दशीकरणको दृष्टिले हेर्ने आर्दशवादी चिन्तन, समाजप्रति निरपेक्ष रहन चाहने चिन्तन, समाजको वस्तुगत यथार्थलाई अभिव्यक्त गरि सुन्दर, उद्देश्यमूलक, यथार्थलाई अभिव्यक्त गर्ने चिन्तन गरि विविध दृष्टिकोणबाट प्रस्तुत हुन पुग्दछ् । अन्य साहित्य भैंm बालसाहित्यमा पनि सामाजिक संरचना र लेखकीय दृष्टिकोण महत्वपूर्ण बन्न जान्छ जसका आधारमा ती साहित्यको उद्देश्य समेत फरक फरक बन्न पुग्छ । आगामी पुस्तामार्पmत कस्तो सामाजिक सम्बन्धको निर्मांण गर्ने उद्देश्य समेत बालसाहित्यमा जोडिन पुग्छ । त्यसकारण यो अत्यन्तै संंवेदनशील, महत्वपूर्ण र विचारणीय पक्ष हो । एउटा सिङ्गो पुस्तालाई कुन विचार, चिन्तन र दृष्टिकोणतर्पm डोहो¥याउने भन्ने प्रश्न महत्वपूर्ण भएकाले बालसाहित्यको विकासमा राज्य व्यवस्थाले अत्यन्त चनाखो भएर हेर्ने गर्दछ । हिजोको सामन्तवादी राज्यव्यवस्थाले बालसाहित्यमा परम्परागत आदर्श र दासमनोवृत्ति थोपरी दियो भने प्रजातान्त्रिक पुँजीवादी राज्यव्यवस्थाको उद्देश्य निरपेक्ष यथार्थको चिन्तनलाई जोडदिने रहन्छ । समाजवादी यथार्थवादमा आधारित बालसाहित्यमा क्रान्ति र परिवर्तनउन्मुख विषयको बोध गराइएको हुन्छ । समाजका वर्गीय शोषण, अन्याय, अत्याचारका कथाहरु मार्पmत बालबालिकामा उदात्त र प्रगतिशील भावनाको विकास गराउँदछ । त्यसकारण आजको बालसाहित्यको दिशापनि समाजवादी यथार्थवाद उन्मुख हुनुपर्छ । सामन्तवादी चिन्तन, विचार, संस्कारका विपरित निरपेक्ष यथार्थवादका साथै उपभोक्तावादी विकृत र भ्रष्ट संस्कृतिका विरुद्ध परिवर्तन, समानता उन्मुख, क्रान्तिकारी राज्यव्यवस्थाका निम्ति क्रियाशील रहने उद्देश्यमूलक केन्द्रमा आबद्ध बालसाहित्य नै आजको आवश्यकता हो ।

३. आचार्यको बालसाहित्यका सन्दर्भमा अभिव्यक्त दृष्टिकोण


विजयराज आचार्य बालसाहित्य मार्पmत बालबालिकालाई सकारात्मक चेतनाको विकास गराउँन चाहान्छन् । समाजका भएको भ्रष्टता, नग्तता, विकृत र विसंगत स्थितिलाई बालबालिकाको सापेक्षतामा अभिव्यक्त गर्न चाहान्छन् । जसले नेपाली समाजको शोषणमूलक व्यवस्थालाई बुझ्न सघाउ पु¥याउँछ । उनी परम्परागत आर्दशलाई स्वीकार गर्दैनन्, यसै सन्दर्भमा उनी भन्छन् “ विज्ञानले अस्वीकृत गरेका कुराहरुले बालबालिकालाई अगाडि बढाउन सत्तैmन्, त्यसैले मैले सत्य तथ्य विषयवस्तुलाई बढी प्राथमिकता दिएको छु”(सं.श्रेष्ठ,२०६२ः७८) । उनको यो अभिव्यक्तिले बालसाहित्य सम्बन्धी परम्परागत मान्यतालाई भत्काउन चाहेको देखिन्छ । त्यतिमात्र होइन् उनी समाजमा भएका अन्याय, अत्याचार, शोषण र उत्पीडनका कथाहरु मार्पmत बालबालिकालाई चेतनशील बनाउन चाहान्छन् । यही सन्दर्भमा उनी भन्दछन् “बालबालिकालाई सही मार्गमा डोहो¥याउन यही समाजमा भएका विकृत्ति, विसंगति, थिचोमिचो, अन्याय देखाउनु पर्दछ”(सं.श्रेष्ठ, ऐ.) । यो अभिव्यक्तिले उनको उद्देश्यलाई स्पष्ट पारेको छ । बालसाहित्यमा पनि लेखकीय पक्षधरता रहन्छ र त्यसले बालबालिकालाई कुन दिशातर्पm निर्दिष्ट गराउन चाहान्छ भन्ने कुरालाई समेत स्पष्ट पार्दछ । उनको यो अभिव्यक्तिले उनी समाजवादी यथार्थवाद नजिक देखिन्छन् । जसले समाजको परिवर्तन र क्रान्तिउन्मुख चरित्रलाई प्रस्तुत गर्दछ । गरिब, पिछडिएका, दुःखी, दलित, शोषित बालबालिकाको विषयवस्तु उठाउनु विजयको लेखनको छुट्टै विशेषता हो (सं.श्रेष्ठ, ऐ.) । यसरी वैचारिक र उद्देश्यमूलक दृष्टिकोणबाट हेर्दा आचार्य आफ्ना बालसाहित्यमा समाजवादी यथार्थवादको मूल मान्यतालाई केन्द्रबिन्दूमा राख्न पुग्दछन् । उनी शोषणमूलक राज्यब्यवस्था र सामाजिक संरचनामा बालबालिकाको शोषणका कथाहरु अभिव्यक्त गर्न चाहान्छन् ।
‘हाम्रो आवाज’ नामक बालउपन्यासका सन्दर्भमा उनी लेख्दछन् “बालसाहित्य लेखनकै क्रममा यसपाली मैले सडक बालबालिकाको समस्या रोजेको छु । उनीहरु माथि के–कति थिचोमिचो भएको छ, उनीहरुलाई बिज्ञापन गरेर कस्ता–कस्ता नकाम पनि भएका छन् भन्ने देखाउन खोजेको छु ”(आचार्य, २०६३ ः ४४) । उनको यस कथनले पनि उनी समाजवादको अन्र्तबस्तुलाई केन्द्रमा राख्दै साहित्य सिर्जना गर्ने बालसाहित्यकार हुन । उनी समाजमा बालबालिका माथि भएको र हुने गरेको शोषणलाई आफ्नो सिर्जनामा अभिव्यक्त गर्दछन् । जुन नेपाली समाजको एउटा यथार्थ हो । जसले बालबालिकालाई नेपाली समाजमा हुने र हुनसक्ने शोषणका कथामार्फत सामन्ती राज्यव्यवस्था विरुद्धको मानसिकता निर्माण गर्दछ । यस कुराप्रति लेखक आचार्य अत्यन्तै सचेत देखिएका छन् ।

४. विजयराज आचार्यका बालउपन्यास


विजयराज आचार्यको मौलिक उपन्यास ‘नयाँ बस्ती’ ले पनि समाजवादी यथार्थवादको अन्र्तवस्तुलाई समातेर आफ्नो स्वरुप निर्माण गरेको छ । नेपाली समाजको शोषणजन्य यथार्थ र त्यसबाट मुृक्तिका निम्ति भएको आह्वान उपन्यासमा अभिव्यक्त भएको छ । यसै उपन्यासको सन्दर्भमा टिप्पणी गर्र्दै स्वागत नेपाल (२०६१ ः ५ ) लेख्दछन “‘नयाँ बस्ती’ सचित्रबाल उपन्यास पनि बालबालिकालाई रुढिग्रस्थ समाजमा रहेको अन्धविश्वास तोडन र श्रमप्रति आत्मविश्वास जगाउन त्यही लेखन मान्यताको एउटा निरन्तरता हो । बास्तबमा यस उपन्यासले एउटा दलित बालक नुमेको कथामार्फत नेपाली समाजमा दलित बालबालिकाले भोगेका दुःख र पीडालाई जीवन्त र गथार्थपरकरुपमा अभिव्यक्त गरेको छ” । समाजको वर्गीय चरित्र र शोषणलाई यस उपन्यासले अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गर्न सक्षम छ । बाबुले ऋण तिर्न नसकेका कारण जिम्मावलको घरमा ५ वर्षको नुमे नोकरी गर्न बस्नुपरेको अत्यन्तै पीडादायी कथा अभिव्यक्त छ जसले हरेका बालबालिकालाई नेपाली समाजको शोषणजन्य यथार्थ बुझाउन सफल छ । यस उपन्यासमा मध्ययुगीन कालो सामाजिक संरचना देख्न पाइन्छ । स्वर्ग र नर्कका कुरालाई छुवाछुतसँगै अन्तर्सम्बन्धित गराइएको छ (सिलवाल, २०६१ ः७) । यस बालउपन्यासका सन्दर्भमा पदम गौतम लेख्दछन् “अबको युगमा धनीजति सामन्त र गरिबजति दलित र शोषित । यो सन्देश बालबालिकाका लागि त हुँदो हो, सत्रौं शताब्दीको समाजलाई आधार मानेर विश्लेषण गर्ने कथित वुद्धिजीवीलाई चड्कन पनि हो ”( गौतम, २०६१)। यो उपन्यासले नेपाली समाजको सामाजिक याथार्थको झाँकी नै प्रस्तुत गरेको छ । नेपालको ग्रामीण समाजमा आजपनि गरिवका छोराछोरी बाबु–बाजेको ऋण तिर्नका निम्ति कमारो भएर बस्नुपर्ने नियति छ । तर उसले जति काम गरेपनि ऋण भने तिरी नसकिने शोषणमूलक व्यवस्थाबाट प्रताडित हुने परेको ययार्थ घटनाको अभिव्यक्ति यस बालउपन्यासमा देख्न सकिन्छ । यातना, पीडा सहेर जिम्वालका घरमा काम गरेर बसेको नुमेलाई मुक्त पार्न बिदेशिएको बाबु लाखौ बिदेशिन बाध्य भएका नेपालीको प्रतिनिधि पात्र हो । पश्चिम पहाडी नेपालको परिवेश भएको यो बालउपन्यासले भ्रष्टता, नैतिकताहीन गैरसरकारी संस्थाप्रति ठूलो आक्रोस अभिव्यक्त गरेको छ । त्यस्तै यस उपन्यासले नेपाली समाजमा जरो गाडेर बसेको जात–पात, छुवाछुत जस्ता कुरीतिलाई अन्त्य गर्नुपर्ने सन्देश पनि प्रदान गरेको छ । नयाँ र प्रगतिशील मूल्य र मान्यतालाई अँगाल्न नचाहानेको परम्परागत सामन्ती मानसिकताका विरुद्ध सचेत प्रतिकारमा उभिनु पर्ने आवश्यकताको बोधसमेत उपन्यासले गरेको छ । यो उपन्यसमा वर्णित कथा नुमे र गीताको कथामात्रै नभएर लाखौं नेपाली बालबालिकाले भोगको यथार्थ हो ।
यस उपन्यासको अन्र्तवस्तुको रुपमा समाजको शोषणमूलक वर्गविभेदजन्य स्थितिको प्रस्तुतिको माध्यमबाट बालबालिकाले आजको नेपालको ययार्थ अनुभूति गर्न सकुन र त्यसले उनीहरुप्रति यो भ्रष्ट सामाजिक र राजनीतिक व्यवस्थालाई ध्वङ्स गर्नै पर्ने आवश्यकताको अनुभूति गराओस भन्ने देखिन्छ । यो सारलाई पुरा गर्न उपन्यास सक्षम छ । बालबालिकाको सापेक्षतामा लेखिएको यो उपन्यास बालप्रगतिवादी उपन्यास हो ।
आचार्यको अर्काे महत्वपूर्ण बालउपन्यास ‘हाम्रो आवाज’ हो । उनी यस उपन्यासमार्फत समाजको अन्याय, अत्यचार र शोषणका कथाहरुलाई सपाट रुपमा प्रस्तुत गरी शोषणमूलक सामाजिक व्यबस्था विरुद्ध प्रत्येक बालबालिकाको मनमा घृणा र आक्रोश उब्जाउन चाहान्छन् । विभिन्न बालबालिकाको हक–हितका निम्ति भनेर खोलिएका एन.जि.ओहरुले बालबालिकामाथि कसरी डलरको खोती गरिरहेका छन् भन्ने नेपाली समाजको विद्रुप यथार्थको विशिष्ट अभिव्यक्ति प्रस्तुत गरेको छ यो उपन्यासले । हाम्रो आवाज बालउपन्यासका सन्दर्भमा टिप्पणी गर्दै चंकी श्रेष्ठ (२०६३ ः५) यही उपन्यासको भूमिकामा लेख्दछन् “राज्यका अंगहरुनै सत्य र न्यायलाई घाटमा सेलाएर पाखण्ड र अत्यचारलाई शाश्वत बनाउन तल्लीन देखिन्छन् । यही संस्कृतिमा हाम्रो सिङ्गो समाज चलिरहेको छ । विजयको प्रहारबिन्दू यहीँनेर छ ”। आफूलाई सभ्य बताउनेहरुका कु–कृत्यहरु यस उपन्यासले प्रस्तुत गरेको महत्वपूर्ण पक्ष हो ।
जनआन्दोलनमा तथा कफ्र्युमा परि प्राण गुमाएका सडक बालबालिकाका आजपनि बेखबर भइरहेको नेपालको राजनीतिक विकृत स्थितिप्रति आवाज उठाउन पुग्छन उपन्यासकार आचार्य । वास्तवमा यही सहरमा कोही मान्छेहरु लाखौं, करौडौंको गाडीमा हिंडछन् तर कसैको ओत लाग्ने छहारी छैन्, कोही हजारौं रुपयाँ महिनावारी तिरेर राम्रा–राम्रा स्कूलमा पढछन्, कोही बालबालिकाले सडकमा वेवारिसे भएर दिन विताइरहनु पर्छ । यो विषम र घिनलाग्दो सामाजिक संरचनाप्रति उपन्यासकार अत्यन्तै चिन्तित देखिन्छन् । समाजवादी राज्यव्यस्था भएका चीन, क्युवा, उत्तर कोरिया जस्ता मुलुकमा सडक बालबालिका कम भएको र त्यहाँ सामाजिक न्यायको स्थिति पनि राम्रो भएको तर आफूलाई प्रजातन्त्रको दुहाइ दिने अमेरिकामा सबैभन्दा बढी सडक बालक भएको बिचार व्यक्त गर्ने उपन्यासकार यो प्रजातान्त्रिक शासन व्यवस्थाप्रति नै असहमति राख्न पुग्छन र समाजवादी शासनव्यवस्थाको अपेक्षा गर्छन् । त्यसकारणपनि यस बालउपन्यास समाजवादी अन्र्तवस्तु बोकेको प्रगतिशील उपन्यास हो ।
आचार्यको अर्काे महत्वपूर्ण बालउपन्यास परिवर्तनले पनि नेपाली समाजको वर्गीय चरित्र र शोषणको कथालाई नै समेट्न खोजेको छ । मन्त्रीले सोझी–सादी केटीलाई फकाइ यौन तुष्टि गरेपछि घरबाट निकालिएकी एउटी युवतबिाट जन्मिएको केटाको कथाबाट निर्माण भएको यो उपन्यासले काठमाडौंका सडकमा सडकबालक भएर बाँचन विवस हजारौं बालबालिकाको यथार्थलाई अभिव्यक्त गरेको छ । धनी र गरिबबीचको गहिरो खाडलको स्पष्ट चित्रण उपन्यासमा प्रस्तुत छ ।

५. विजयराज आचार्यका सचित्र बालकथा


विजयराज आचार्यद्वारा लिखित सचित्र बालकथाका रुपमा केबलपुरे किसान, शान्तिको आत्मकथा, बाटुली, कान्छा कुमार लगायतका छन् । उनका यी अधिकांश बालकथामा समाजको वर्गीय स्वरुप, शोषण, अन्याय, अत्यचार र उत्पीडनको जीवन्त अभिव्यक्ति पाइन्छ । धनी र गरिबबीच हुने विभेदलाई स्पष्टसँग देखाइएको छ । नेपाली प्रगतिवादी साहित्यकार केबलपुरे किसानको जीवनीलाई आत्मपरक शैलीमा प्रस्तुत गरिएको बालकथा हो केबलपुरे किसान । यस कृतिमा केबलपुरे किसानको सङ्घर्षमय जीवनलाई आत्मपरक शैलीमा अभिव्यक्त गरी समाजको शोषणजन्य स्थिति र वर्गविभेदलाई प्रष्टएको पाइन्छ । राष्ट्रियताको पक्षमा समेत यो बालकथा सशक्त रुपमा उभिएको छ । नेपालको दुर्नियतपूर्ण वर्तमान राजनीतिक परिवेशको समेत यो बालकथाले आलोचना गरेको छ । यही सन्दर्भमा लेखिएको छ “राणा र पञ्चायतकालमा शासकहरु जस्तै अहिलेका बहुदलीय शासकहरु पनि भारतीयलाई रिजाउन कम्मरकसेर लागेका छन् । उनीहरुलाई आफ्नो राष्ट्रको भन्दा मालिकको चाकडी गरेर सत्तामा टिकिरहने चिन्ता छ (पृ. ४०) । यो केबलपुरे किसानको चिन्तामात्र होइन, स्वयं लेखक आचार्यको चिन्तापनि हो र हरेक नेपाली बालबालिकालाई सचेत बनाउने उद्देश्यका साथ यो प्रस्तुति गरिएको हो । बहुदलीय शासकले भारतलाई नदी–नाला सुम्पिएको आरोप समेत कथाकार आचार्यले लगाएका छन् । बालबालिकालाई समसामयिक राजनीतिक ज्ञान प्रदान गर्ने उद्देश्य लगायत समाजको धनी, शोषक र सामन्ती वर्गप्रति घृणाभाव जगाइ सर्वहारा नेपाली जनताप्रति सहानुभूति जगाउने समाजवादी यथार्थवादको अन्र्तवस्तु यो बालकथामा स्पष्ट रुपमा छ ।
आचार्यको अर्काे बालकथा सङ्ग्रह बाटुलीमा पनि बालसापेक्षतामा समाजवादी यथार्थवादलाई अभिव्यक्त गर्ने कथाहरु नै समेटिएका छन् । ‘बाटुली’ कथामा समाजमा भएको जात–पात, छुवाछुत र ठूलो–सानो भन्ने सामन्ती दृष्टिकोणलाई प्रहार गर्नुका साथै नारी शिक्षाको विकासमा जोड दिइएको छ । समाजमा भएका ठालुहरुले शोषण र दमनका निम्ति अनेक भ्रम छरिरहेको कुरा व्यक्त गर्दै त्यसप्रति सचेत हुन आह्वान समेत गरिएको छ । घरबेटी भन्ने कथाले भाडामा बस्ने र घरबेटी बीचको अन्र्तसङ्घर्षलाई अभिव्यक्त गरेको छ । यसले समाजको एउटा वर्गीय स्वरुपलाई स्पष्ट पारेको छ जसले बालसापेक्षतामा शोषणको स्वरुपलाई छर्लङ्ग बनाएको छ । त्यस्तै ‘शान्तिको आत्मकथा’ नामक बालकथाले अर्काको घरमा भाडा माझेर जीवन बिताइरहेका बालिकाहरु बसन्ती र शान्तिको कथा मुख्यरुपमा प्रस्तुत छ । नोकर भएर पढनु हुँदैन भन्ने सामन्ती मानसिकता अझै पनि नेपाली समाजमा व्याप्त छ । सामाजिक शोषण तिब्ररुपमा देखिन्छ भन्ने कुरा यस कथामार्फत पाउन सकिन्छ । ‘सिंहराज’ भन्ने कथाले जंगलमा जसरी सिंहले शासकको व्यवहार गरी अन्य जनावरमाथि अत्याचार गर्दछ त्यस्तै नेपाली शासकपनि जनतामाथि अन्याय अत्याचार गर्न पछि परेका छैनन्, त्यसको सम्पूर्ण नेपाली जनता मिलेर प्रतिकार गर्नुपर्छ भन्ने आशय बालबालिकामा प्रेषितगर्ने उदेश्यका साथ यो कथा प्रस्तुत छ ।
कान्छाकुमार पनि विजयराज आचार्यद्धारा लिखित अर्काे सचित्र बालकथा हो । चित्रकार के के कर्माचार्यको जीवनीलाई आत्मपरक शैलीमा प्रस्तुत गरिएको यो बालकथाले संघर्षका बीचबाट सफलता कसरी हात लाग्छ भन्ने कुरालाई देखाएको छ । एउटा सफल चित्रकारको जीवनीलाई आत्मपरक शैलीको कथामार्पmत बालबालिकामा रहेको महत्वकांक्षी प्रवृत्तिलाई उत्साह प्रदान गर्न सफल देखिन्छ ।

६. विजयराज आचार्यका सचित्र नाटक


बालसाहित्यकार विजयराज आचार्यद्धारा लिखित सचित्र नाटक उज्यालोको खोजीमामा अँध्यारोका विरुद्ध उज्यालोको खोजीमा निस्किएका संसारका सबै मानवजातिलाई समर्पण गरिएको छ । निरंंकुश आततायी शासकका विरुद्ध न्यायपूर्ण आन्दोलनका सन्दर्भमा लेखिएको नाटक हो उज्यालोको खोजीमा । यस नाटकमा आचार्यले २०४६ सालमा पञ्चायती शासन व्यवस्थाका विरुद्ध न्याय, समानता र स्वतन्त्रताका निम्ति नेपाली जनताले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिलाई कुल्चिएर बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा भं्रष्ट शासकहरुले अन्याय, अत्याचार र शोषणलाई निरन्तरता दिइएको कुरा व्यक्त गरिएको छ । त्यसकारण नेपाली जनताले २०६२÷६३ सालको जनआन्दोलन गरी सम्मुनत र शान्तिपूर्ण नेपालको परिकल्पना गरेको यथार्थ अभिव्यक्त छ । बाबु र छोराबीचको संवादमा संरचित यो नाटकले बालसापेक्षतामा भ्रष्टाचार, देशघाती निर्णय, विदेशी हस्तक्षेप र भ्रष्टशासकका विरुद्धमा जेहाद छेड्ने काम गरेको छ । यसले नेपाली सामन्ती भ्रष्ट राज्यव्यवस्थाको चरित्रलाई उजागर गर्नुका साथै बालबालिकालाई त्यस विरुद्धको सचेत प्रतिकारमा उभिन आव्हान समेत गरेको छ । त्यसकारण यो नाटक समाजवादी यथार्थवादको अन्र्तवस्तुमा आधारित नाटकको रुपमा देखिन्छ ।

७ विजयराज आचार्यको अनुदित बालसाहित्य


विजयराज आचार्यले विभिन्न देश र भाषाका बालसाहित्य तथा लोककथालाई नेपाली भाषामा अनुवाद गरेका छन् जसका कारण बालबालिकाले विश्वका विभिन्न देशका लोककथा तथा अन्य भाषाका प्रख्यात बालकथा तथा नाटकलाई नेपाली भाषामा पढ्ने अवसर प्राप्त गरेका छन् । अफ्रिका, इटाली, चिनियाँ, उज्वेकिस्तान, फ्रान्स, भारत, रुस, जर्मनी, जापान लगायतदेशका लोककथा तथा बालकथालाई उनले नेपाली भाषामा अनुवाद गरेको पाइन्छ । संस्कृत भाषाको हितोपदेशका कथाहरुको विभिन्न भागहरु समेत आचार्यद्धारा बालबालिकालाई प्रदान गरिएका उपहारहरु हुन् ।
रमाइला चिनियाँ बालकथाभित्र बालबगैचा, सामुहिक भावना, पूmलको नमूना, सामुहिक काम, कृतज्ञ बाघ, खरायोको पुच्छर किन छोटो भयो ? लगायतका धेरै उपदेशमूलक कथाहरु समेटिएका छन् । यस कथा सं्रग्रहका बारेमा टिप्पणी गर्दै यसै पुस्तकको भूमिकामा देवी नेपाल लेख्छन् “प्रतीकात्मक रुपमा सामाजिक वर्गीय असमानताले उत्पन्न गरेको मानवीय समस्याहरुको रोचक विश्लेषण गर्ने कामपनि यस संग्रहमा गरिएको छ । प्रत्येक बालबालिका सामाजिक विषमता, आर्थिक विभेद, अन्याय, अत्याचार र शोषणजन्य घृणित कुराका शिकार बन्नु हुदैन” । उनको यस कथनले यस कृतिको अन्र्तवस्तुले समाजवादी चरित्रलाई आत्मसात गरेको देखिन्छ । तर यस संग्रहका अधिकांश कथाको मूल भाव भनेको परम्परागत नैतिकताको पाठ पढाउने आशयद्धारा अभिव्यक्त भएको छ । बालबालिकालाई सामुहिक कार्यप्रतिको विश्वास जगाउने, अरुलाई सहयोग गर्ने, कामप्रति लगनशील हुने लगायतका सन्देशहरु प्रदान गर्नमा जोड दिइएको यस संग्रहका कथाहरुको अन्र्तवस्तुलाई गहिरिएर हेर्ने हो भने समाजवादी यथार्थका सापेक्षतामा आचार्यका मौलिक कृतिका तुलनामा यो कृति धेरै कमजोर छ । यसले परम्परागत नैतिकताको पाठ पढाउने कुरामा आपूmलाई केन्द्रित गरेको छ । जसका कारण यसले समाजको वर्गीय अन्र्तसंघर्ष र शोषणलाई छायाँमा पारेको पाइन्छ ।
लियो टोल्सटोयद्धारा लिखित उत्कृष्ट बालनाटकहरुको अनुवाद पनि आचार्यको महत्वपूर्ण कार्य हो । यस नाटक संग्रहमा आचार्यले टोल्टोयद्धारा लिखित रसियन समाजमा भएको वर्गीय विभेद, अन्याय, अत्याचार, शोषण र विषयवस्तु भएको बालनाटकहरुलाई आफ्नो अनुवाद कार्यका लागि छनोट गरेका छन् । यसले पनि आचार्यलाई समाजवादी अन्र्तवस्तु भएका कृतिहरुको छनौट गरी बालबालिकामा समाजको वर्गीय विषमता बोध गराई शोषणमूलक संरचना ध्वंसंको निम्ति तयार पार्ने विशिष्ट उद्देश्य राखेका अनुवादकको रुपमा हेर्न सकिन्छ ।
त्यस्तै उनीद्धारा अनुदित हितोपदेशका कथाहरुका विभिन्न भागहरु लोककथाका विभिन्न भागहरु, जापानी लोककथा, चिनियाँ बालकथा, पन्चतन्त्रका कथाहरुमार्पmत समाजकेन्द्रित कथाहरुलाई बालबालिकासमक्ष प्रस्तुत गर्न चाहान्छन् । त्यसकारण उनका छनोटमा परेका कथाहरुले कुनै न कुनै रुपमा समाजवादी अन्र्तवस्तुलाई समेट्न प्रयास गरेको देखिन्छ ।
तर उनीद्धारा छनोट गरिएका अनुदित बालसाहित्यहरु समाजवादी यथार्थका सापेक्षतामा मौलिक कृतिका तुलनामा अत्यन्तै कमजोर सावित भएका छन् जसरी उनका मौलिक कृतिहरुले बालबालिकालाई नेपाली समाजको शोषणजन्य यथार्थ प्रस्तुत गराई परम्परागत सामाजिक संरचनाका विरुद्ध विद्रोही भावनाको विकास गराउने उद्देश्य राखेका थिए तर उनको छनौटमा परेका अनुदित साहित्यहरु सामाजिक यथार्थको त्यो गहिराइसम्म पुग्न सक्षम छैनन् । नैतिक र उपदेशलाई केन्द्रविन्दुमा राख्दै परम्परागत मूल्य मान्यताको श्रृखलामा बालमनोविज्ञानलाई अगाडि बढाउने साहित्यलाई अनुवादका निम्ति छनौट गर्नुलाई उनको उद्देश्यगत विचलनको रुपमा लिन सकिन्छ ।

८. निष्कर्ष


विजयराज आचार्य आफ्नो लेखन यात्राको यो अवधिमा नै यो हदसम्मको प्रतिवद्धताका साथ बालसहित्यमा प्रवेश गर्नु भएको छ, जुन नेपालको बालसाहित्यको क्षेत्रमा अत्यन्तै सुनौलो दिन आगमनको सङ्केतका रुपमा देखिन्छ । बालसहित्यमा आफ्ना मौलिक कृतिको सिर्जनाका साथसाथै अनुदित कृतिहरु र विभिन्न लेखकद्वारा लेखिएका बालकथा तथा नाटककोे समेत सम्पादन गरिसकेका आचार्यको लेखनको मूल प्रवृत्ति नै समाजवादी यथार्थवाद बन्न पुगेको छ । अनुदित साहित्यको छनौटका सन्दर्भमा भने आचार्यको उद्देश्यगत स्पष्टता पूर्णरुपमा देखिंदैन् । जसलाई उनको उद्देश्यगत विचलनका रुपमा लिनुपर्छ । आचार्यले आफ्ना मौलिक कृतिमा जुन धार र उद्देश्यलाई निर्धारण गरेका छन त्यसलाई अनुदित साहित्यको छनौटका सन्दर्भमा समेत पूर्णरुपमा लागू गरे राम्रो हुन्थ्यो ।
तर उनका मौलिक कृतिहरुमा भने नेपाली समाजमा भएका अन्याय, अत्यचार, शोषण, उत्पीडन, जातीय विभेद, वर्गीय विभेद लगायत सामाजिक संरचनामा भएका काला र अँध्यारापक्षहरु प्रस्तुत गर्दै यो व्यवस्थाका विरुद्ध आक्रोस व्यक्त भएको छ । बालबालिकालाई परम्परागत अन्धताबाट माथि उठाइ विज्ञानसम्मत ज्ञान प्रदान गर्नुपर्छ भन्ने मान्यता भएका आचार्यले आफ्ना मौलिक कृतिहरुमा कहिंपनि नैतिकता र उपदेशको पाठ पढाएका छैनन् । त्यसको सट्टामा नेपालको समाजव्यवस्था र राज्यव्यवस्थाका गलत चिन्तन र विचारले नेपालका बालबालिकामाथि कति अत्यचार र शोषण भएको छ, त्यसलाई प्रस्तुत गरेका छन् । जन्मदै कोही ठूलो र सानो भएर जन्मने, कसैले संसारका सबै आनन्द र सुख भोग्न पाउने, कसैले नपाउने यो व्यवस्थाका विरुद्ध उनले हरेक बालबालिकालाई सचेत हुन आवहन गरेका छन् । नेपालको राजनीतिको क्षयोन्मुखी प्रवृति, नेपालको गरिवी लगायत नेपाली समाजको यथार्थ विषयवस्तु जुन बालबालिकाकाले जान्नै, बुझ्नै र त्यसबारे एउटा धारणा बनाउनै पर्ने हुन्थ्यो, तिनै कुराहरुलाई भ्रष्टीकरण नगरिकन यथार्थपरक रुपमा देखाउन सकेका छन् जुन विशेषता नै आचार्यको बालसाहित्यका क्षेत्रमा एउटा विशिष्ट विशेषता बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *