समीक्षा
– प्रकाश सिलवाल
नेपाली बालसाहित्यको लेखन र प्रकाशनमा सक्रिय विजयराज आचार्यको नयाँकृति ‘बाटुली’ साझा प्रकाशनले बजारमा ल्याएको छ । यसअघि उनका बालसाहित्यसम्बन्धी करिव डेडदर्जन कृति विवेक सिर्जनशील प्रकाशन मार्फत् प्रकाशनमा आइसकेका छन् । साथै, उनले दुईसयभन्दा बढी स्वदेशी र विदेशी स्रष्टाका पुस्तकहरुको प्रकाशन पनि गरिसकेका छन् । यस अर्थमा आचार्यको परिचय एक लोकप्रिय प्रकाशक तथा लेखकका रुपमा स्थापित भइसकेको छ ।
‘बाटुली’ बालकथासङ्ग्रह हो । यसमा जम्मा चारवटा कथाहरू रहेका छन् । यी कथाहरू मूलतः बालबालिकाकै मानवीय र शैक्षिक अभिरुचीका विषयको सेरेफेरोमा लेखिएका छन् । सामाजिक परिवर्तनका लागि यी कथाहरुले भरमग्दुर प्रयत्न गरेका छन् ।
यसको पहिलो कथा ‘बाटुली’ कै नामबाट पुस्तकको शीर्षकसमेत चयन भएको छ । यस प्रथम कथामा बाटुली र कोलबोटे पण्डित मुख्य पात्र रहेका छन् । छोरी भएकै कारण बाटुलीलाई पढ्न जानबाट सामाजिक रुपमा वञ्चित गराउने कोलबोटे पण्डितको पूर्वाग्रही र पौराणिक गलत मान्यतालाई कथाले मुख्य प्रहारको विषय बनाएको छ । हिन्दू धर्मको कथित व्यख्याताका नाममा यी पण्डितले विद्यालय जाने उमेरकी बाटुलीलाई विद्यालय गएमा अनिष्ट हुने खालको जनाउसमेत दिएका हुन्छन् । तर, आफ्नो उमेरमा पढ्न नपाएकी र हाल स्थानीय पदमसरसँगको प्रौढ शिक्षामार्फत् चेतना पाइरहेकी चुमी पात्रले पण्डितको उक्त मान्यतामाथि प्रतिवाद गरेकी हुन्छिन् । अन्ततः पदम सरकै प्रयासमा बाटुलीलाई पनि अनिवार्य विद्यालय पठाउने अठोटका साथ कथा सकिन्छ । शिक्षाबाट नै जातीय र वर्गीय विभेद्को समस्या पहिचान हुने तथा त्यसविरुद्ध उत्रन सकिने स्पष्ट सन्देश दिएर कथाले पाठकमा छोरीहरुलाई पढाइबाट वञ्चित गर्दा सामाजिक सन्तुलन विग्रनेमा जोड दिएको छ । यस अर्थमा यो कथा शैक्षिक जागरणमूलक रहेको छ ।
सङ्ग्रहको दोस्रो कथा ‘घरबेटी’ धनी र गरीबका नाममा भएका असमान व्यबहारप्रति लक्षित छ । यसले डेरावालहरुमा हुने मानसिक पीडा र घरबेटीहरुले गर्ने आडम्बरको चित्रण गरेको छ । कथामा ‘समाजमा ओत लाग्ने छाप्रो होस् या महल, सबैको घर हुन्छ । फरक यति हो– कसैको ठूलो घर छ, कसैको सानो, कसैको गाउँमा, कसैको सहरमा ।’ भनेर घर हुने र नहुनेका नाममा मानिसको वर्गीकरण भइरहेकोप्रति असहमति प्रकट गरिएको छ । तर, कतिपयको कुनै पनि स्थानमा पनि घर नभएको र टुहुरा र अनाथको जीवन व्यतीत गर्नुपरेको प्रति भने कथा मौन रहेको छ । ‘घरबेटी’ कथामा अङ्ग्रेजी कथा ‘सेल्फिस ग्रयान्ट’ मा जस्तै घरबेटीले आफ्ना छोराछोरीलाई मात्रै खेल्न दिने र माया गर्ने सामन्ती दृष्य देखाइएको छ । तर, ‘कहिलेकाँही भाडामा बस्ने पनि पतीत र बद्मास हुन्छन्’ भनिएकाले मानिसको मनस्थितिमा सुधार नआएसम्म धनी वा गरीब जे भएपनि बालबालिकाप्रति सम्मान र माया दिनेहरुको अभाव नै हुने कथामा व्यक्त गरिएको छ ।
पुस्तकको तेस्रो कथा ‘शान्तिको आत्मकथा’ एक कमैयाकी छोरी शान्तिको कथा हो । प्रगतिशीलताका हिषाबले यस पुस्तकमध्येकै बढी सान्दर्भिक कथाका रुपमा यसलाई लिन सकिन्छ । यसको पात्र चयन, त्यसको दुखान्त चक्रको शिलशिलावद्ध प्रस्तुती र अन्य सम्बन्धित पात्रहरुको संवादसमेतले कथालाई रोचक र मार्मिक बनाएको छ । आमाबाले साहूको ऋण तिर्न नसक्दा जन्मजात कमैया बन्न विवशः शान्ति एक जिम्वालकी छोरीकोमा काममा लगाइन्छिन् । त्यस घरमा बस्ने मास्टर काकाको सल्लाहमा पढ्न थालेको भन्दै यातना खेप्न बाध्य शान्ति पछि त्यस यातना दिने घरबाट उम्केर बा–आमाको सम्पर्कमा पुग्छिन् । पढाइप्रतिको लगावलाई निरन्तरता दिँदै उनले रामै्र नतिजाका साथ एसएलसीको अध्ययन पूरा गर्छिन् । शिक्षण पनि गर्न थालेपछि उनकी साथी वसन्तीले सहर्ष पठाएको पत्रलाई अक्षरशः उतार्ने काम कथामा भएको छ । यसबाट महिला शिक्षाप्रति कथाकारको चासो र उत्प्रेरण पुनः प्रकट भएको देखिन्छ ।
अन्तिम कथाका रुपमा ‘सिंहराज’ रहेको छ । यसमा मूलतः जनावरहरुलाई नै कथामा उनिएको छ । यो मानिसका भन्दा जनावरहरुकै कथा जस्तो बनाइएको छ । तर, अन्त्यमा जङ्गका राजा सिंहजस्ता प्रवृत्तिका मानिस हुनुले निंरकुशता बढ्ने सन्देश दिन कथा सफल छ । कथामा सिंहको अत्याचारका विरुद्ध जङ्गलकै अन्य जनावरको आन्दोलनको चर्चा गरिएको छ । एक अर्थमा यो कथा नेपाली सामन्ती राजतन्त्रको समाप्तीका लागि भएको लोकतान्त्रिक आन्दोलनको प्रतिविम्बन पनि सावित भएको छ । तर, कथाकारले त्यही विषयलाई प्रकट गर्न खोजेका हुन् भने जनावरलाई नभई मानिसहरुलाई नै पात्रका रुपमा प्रस्तुत गरेको भए झन् सान्दर्भिक हुने थियो किनकी, वर्तमान गणतान्त्रिक कालमा लेखेका आधारमा कुनै पनि पक्षबाट सेन्सर वा प्रकाशन जफत हुने स्थिति छैन । यद्यपि, यस कथाले अर्काको रगतमा बाँच्ने वा अत्याचार गर्ने जो कोहीको अवस्था जङ्गलबाट रुँदै हिंड्ने सिंहको सरह हुनेतर्फ लक्षित भएकाले समग्रमा कथाकार आफ्नो आशय बाँड्न सफल देखिन्छन् ।
सारमा, चारवटा मात्रै कथा समविष्ट गरिएको भएपनि ‘बाटुली’ पुस्तकमा पाठकहरुले धेरैवटा कथाबाट पाउने सन्देश र मनोरञ्जन पाउन सक्नेछन् । बालसाहित्यका अन्य पक्ष र विजयराज आचार्यको लेखनीको विस्तृत विवरण थाहा नपाउनेका लागि पनि यो कृति एक नमूना सावित भएको मान्न सकिन्छ ।