रञ्जुश्री पराजुली
पाठ्यपुस्तकको अध्ययनको भारले थिचिएको बालमस्तिष्कले कुनैपनि प्रकारको मानसिक मनोरञ्जनरूपी मल्हमले त्यसलाई अझ बढी क्रियाशील बनाउनु पर्ने आवश्यकताको बोध पश्चिम विद्वानहरूले गरे । त्यसैले उनीहरूले बालबालिकालाई मनोरञ्जन दिलाउने उद्देश्यले पाठ्यपुस्तकभन्दा बेग्लै प्रकारको साहित्यको रचना गर्न थाले, गद्य तथ पद्य दुवै विधामा । सामाजिक, ऐतिहासिक, दन्त्यकथात्मक आदि विविध विषयलाई समावेश गरेर उनीहरूले बालसाहित्यको रचना गर्न थाले । त्यस्ता अतिरिक्त बालपाठ्यसामग्रीले बालपाठकका मानसिकतामा मनोरञ्जनात्मक उर्जा प्रदान गर्दै शिथिल बालमस्तिष्कलाई क्रियाशील बनाउन उत्प्रेरित गर्दछ किनकि बालसाहित्यले बालमस्तिष्कलाई रुचीकर, सरल सरस र मनोरञ्जनात्क हुनेहुनाले बालपाठक रमाउँदै त्यसको अध्ययन गर्न उत्साहित हुन्छन् । विश्व साहित्यमा बालसाहित्यको आवश्यकताको बोध अनुरूप विभिन्न बालसाहित्यको रचना तथा प्रकाशन हुन थालेको धेरे भैसकेपछि नेपाली जनमानसमा पनि यसको आवश्यकताको उदेवोध भएको हुनाले यहाँ पनि यसको चेतनाको लहर फैलियो । फलस्वरूप विभिन्न बालपाठ्य पुस्तकका साथै बालसाहित्यको पनि रचना र प्रकाशनको प्रारम्भ भयो । नेपाली भाषामा बालसाहित्यको लेखन तथा प्रकाशनमा पनि नेपाली भाषा प्रकार्शनी समितिको ठूलो योगदान रहेको कुरा सदैव प्रशसनीय छ । त्यसपछि स्वदेश तथा विदेशबाट पनि नेपाली बालसाहित्यको पुस्तकहरू धमाधम देखापर्न थाले । आज नेपाली भाषामा बालसाहित्यको पुस्तकहरूको लेखन र प्रकाशनको प्रक्रियाले सय वर्षको उमेरपार गरिसकेको छ । आज आएर यो साहित्यले भाषा, भाव, विषयवस्तुका आधारमा विभिन्न उमेरका बालपाठकका रुचीअनुसारका बालगद्य साहित्य, बालपद्य साहित्यका साथै चित्रात्मक साहित्यको पनि विकास गरिरहेको छ । यस क्षेत्रमा आज धेरै साहित्यकारहरू अगाडि बढिरहेका छन् । तिनै साहित्यकारहरूमध्ये यस क्षेत्रमा अटुट रूफले लेखन तथा प्रकाशन दुवैतर्फ दत्तचित भएर लागिपरेका व्यक्ति हुन् बालसाहित्यकार विजयराज आचार्य।
कथा आँखीझ्यालबाट चिहाइने संसार हो । कथा आकारमा सानो हुन्छ । यसको विषयवस्तुले थोरै घटना र थोरै पात्रको जीवनको एकपक्षलाई उद्घाटन गरेको हुन्छ । उपन्यास आकारमा ठूलो हुन्छ । यसमा धेरै घटनाहरू रहेका हुन्छन् । यसमा प्रमुख पात्रका साथै गौणपात्रहरूको पनि उपस्थिति हुन्छ । एउटै विषयमा आधारित रहेर विभिन्न घटनाहरूतर्फ सुहाउँदो परिवेशमा बोलिचालीमा भाषाको माध्यमले पात्रद्वारा कुनै पनि उद्देश्यलाई उपन्यासकारले उजागार गरेको हुन्छ । उपन्यासको आख्यानात्मकताभित्र कतै उपन्यासकार आफै बोलिरहेको हुन्छ भने कतै अरू कुनै पात्रलाई बोलाइएको हुन्छ ।
बालउपन्यासकार विजयराज आचार्य सहरीया चहलपहलदेखि टाढा, आधुनिकता र सहरीया हल्लाखल्लादेखि धेरै पर, आधुनिक विलासी जीवनशैलीदेखि धेरै पर, पश्चिम नेपालको प्युठानमा २०३३ मा जन्मिएका हुन् । बाल्यकालदेखि नै गाउँघरमा रहेको जातीय भेदभाव, सामन्ती प्रवृत्ति आदिलाई प्रत्यक्षरूपमा देखेका र सम्भवतः भोगेकाले पनि यिनमा प्रगतिशील विचारधाराको प्रार्दुभाव भयो । सामन्ती संस्कारको थिचोमिचोमा परेका निमुखा, दलित, विपन्न वर्गका पीडाको भोगाइले यिनमा क्रान्ति र विद्रोहको राँको दन्कियो । फलतः एकपछि अर्को गर्दै तिनै विषयवस्तुको रूपमा बोकेका साहित्यिक कृतिहरू धमाधम यिनीद्वारा जन्मिए । गाउँघरमा विद्यमान त्यस्ता प्रकारका कुरीतिलाई नै विषयवस्तु बनाएर त्यसलाई बालमस्तिष्कले समाउन सक्ने किसिमले उनले बालसाहित्यको पनि रचना गरे । बालबालिका भन्नाले तीन वर्षको उमेरदेखि सोह्र वर्षसम्मको भन्ने बुझिन्छ । त्यसभित्र पनि शिशु र किशोर भनेर वर्गीकरण गरिएको छ । यस्ता विषयलाई समावेश गरेर बालसाहित्यकार आचार्यले किशोरहरूको बौद्धिक मानसिकतालाई सुहाउने कथा तथा उपन्यासहरूको रचना गरेका छन् । बालसाहित्यकार विजयराज आचार्यका प्रकाशित बाल आख्यानात्मक कृतिहरू मौलिक तथा अनुदित गरी दुई भागमा बाँडिएका छन् । यनले जीवनी र अन्तवार्तामा पनि कलम चलाएका छन् । ‘चौध चम्किला कोपिला’ बालअन्तवार्ताको सङ्गालोको लागि यिनले २०६० को उत्कृष्ट बालसाहित्य पुरस्कार प्राप्त गरेका छन् । यिनका प्रकाशित बालसाहित्यहरू ः
परिवर्तन ः २०६० (उपन्यास)
नयाँ वस्ती ः २०६१ (उपन्यास)
हाम्रो आवाज ः २०६१ (उपन्यास)
झमककुमारी ः २०६० (झमककुमारीको जीवनीपरक सचित्र बालकथा)
केवलपुरे किसान ः २०६१ (जीवनी परक सचित्र बालकथा)
कान्छाकुमार ः २०६३ (जीवनीपरक सचित्र बालकथा)
शान्तिको आत्मकथा ः २०५८ (सचित्र बालकथा)
उज्यालोको खोजी ः २०६१ (सचित्र नाटक)
नयाँ बस्ती’ बालसाहित्यकार विजयराज आचार्यको वि.स. २०६१ सालमा प्रकाशित बालउपन्यास हो । गाउँ, घरका ठूलावडाले साना निमुखालाई थिचोमिचो गर्ने अनि गैरदलितले दलितलाई अर्थात् तल्लो जातिलाई अछुत भनेर हेला गर्ने प्रवृत्तिलाई यस उपन्याको विषयवस्तुको रूपमा लिइएको छ । यो उपन्यास एउटा विपन्न गाउँले मिजारको कथा हो अनि यो उपन्यास सोही गाँउको सम्पन्न सामन्ती जिम्मालको कथा हो । विपन्नन अछुत परिवारको छोरा ‘नुमे’ पाँच वर्षको मात्र छ । गाउँघरको चलन अनुसार ऊ अझै आमाको दूध खाँदैछ । एकदिन गाउँको जिम्माल आफ्नो घरमा आमाको दूध चुसेर सुतिरहेको पाँच वर्षे बालक नुमेलाई गाउँको जिम्माल आफ्नो घरमा गोठ, गोठालो, घाँस, दाउरा आदि गर्ने चाकरको आवश्यकता परेकोले उक्त बालकलाई सो काम गर्नको लागि उसको आमाको न्यानो काखबाट खोसेर लानको लागि लिन आउँछ । आफ्नो बालक सानै भएको र कामको जिम्मेवारी पूर्ण तरिकाले गर्न नसक्ने अवस्थाको भएको कुरा नुमेको बाबुआमा जिम्माललाई भन्दछन् । तर होचा निमुखालाई थिचोमिचो गर्नु आफ्नो जन्मसिद्ध अधिकार भएको जस्तो बोध गर्ने जिम्माल ती गरिब आमाबाबुको नम्रनिवेदन किन स्वीकार्दथे र ? झन् उल्टो नुमेलाई चाकरी गर्न लान नदिने भए लिएको ऋण तुरुन्त तिर्नु भन्ने विकल्प बाबु आमासमक्ष राख्दछ । विचरा गरीब मिजारले जिम्माले भन्नेवित्तिकै तिर्ने पैसा कहाँबाट पाउनु र ? त्यसैले उनीहरू मुटुमा पत्थर राखेर पाँच वर्षे बालक छोरालाई जिम्मालको घरको कठोरभन्दा कठोर घरायसी काम गर्न उसको हातमा सुम्पिदिन्छन् । पाँच वर्षको नाबालक छोरालाई अर्काको घरमा कठोर काम गर्न पठाउनु उनीहरूको विवशता थियो । त्यसैले नुमेको बाबु धन कमाएर ऋण तिरेर जिम्माल कहाँबाट छोरो फिर्ता ल्याउने संकल्प गर्दै मुग्लानतिर झर्छ । उपन्यासको पूर्वाधमा यसरी उपन्यासकारले गाउँघरका जिम्मालहरूको शोषण, गरीब, निमुखा तल्लो जातका व्यक्तिहरूको दुःख र कष्टमय जीवनको सेरोफेरोलाई कथावस्तुको रूपमा अभिव्यक्त गरेका छन् ।
कथावस्तुको मध्य भागमा आइपुग्दा उपन्यासकारले पाँच वर्षे नुमेको जिम्मालको घरमा रुखा–सुखा, चिसो, आधा पेट खानाको भरमा मेसिनभन्दा पनि बलियो भएर गर्न परेको कामको वर्णन गरेका छन् । त्यसमाथि पनि उसले अछुत भनेर पाएको प्रताडनाको चित्रण उपन्यासमा मार्मिक ढङ्गले गरिएको छ । अरूबेला अछुत भनेर छिःछिः, दुरदुर खप्नुपर्ने तर जिम्माल्नीलाई रिस उठेको बेला नुमेलाई लछारपछार गर्दै हात हालेर सजाय दिएको दृश्यको चित्रणले उपन्यासमा उपल्ला तहका सामन्तीहरूको कठोर अमानवीय प्रवृत्तिको चित्रण गरेको छ । जिम्माल्नीको पिटाइले नुमे अचेत भएर लड्छ । उसको दाहिने खुट्टा नै भाँचिन्छ । घाइते भएर अचेत भएपछि अब काम दिन सक्दैन भनेर उसलाई उसैको घरमा पठाइन्छ । नुमेलाई चेत आउँदा ऊ आफ्ना वरिपरि केही नयाँ मान्छेहरू र रोइरहेकी आमालाई ढाडस दिँदै आपूmहरू दलित र दुःखीको पक्षमा काम गर्ने संस्थाबाट आएको र नुमेको विषयमा पनि उसलाई काठमाडौँ सहर लगेर उपचार गराउने र न्याय दिलाउने कुरा गर्छन् । जिम्मालजस्तो शक्तिको पहुँच पुगेको मान्छेलाई ती नयाँ व्यक्तिहरूले केही गर्न सक्छन् भन्ने विश्वास त गाउँलेलाई थिएन तर पनि केही सहयोग गरी पनि हाल्छन् कि भनेर तिनीहरूको जिम्मामा नुमेलाई अधिकार प्राप्ति र उपचारको लागि काठमाडौँ लिएर जाने मञ्जुरी दिन्छन् । काठमाडौँमा नुमेको विषयलाई लिएर स्वदेशी तथा विदेशी पत्रकारहरूबीच पत्रकार सम्मेलन गरिन्छ । नुमेको तस्वीर खिचिन्छ । ऊ पूर्णतयः स्वस्थ भएपछि उसलाई संस्थाको कार्यालय पु¥याइन्छ ।
संस्थाको कार्यालयमा नुमेले आफ्नो अधिकार पाउँछ । ऊ शोषण र अत्याचारबाट मुक्ति पाउँछ भन्ने पाठकको प्रतिक्षालाई उपन्यासको कथाले पारिभित्ता पु¥याइदिन्छ किनभने दलित, पीडितको उद्धारको लागि देशी तथा विदेश िभएर प्रशस्त आयश्रोत जुटाएर खोलिएको कार्यालयमा पुगेपछि चमारको छोरो नुमे आफ्नै गाउँको ब्राम्हणकी छोरी गीतालाई त्यहाँ जुठोभाँडा माझ्ने र चियाचौका गर्ने नोकर्नीको रूपमा भेट्छ । त्यहाँ गीता र नुमे सहकर्मी भएर नोकरको काम गर्दछन् । अफिसमा दलितमुक्ति र बालशोषणबारे कुराकानी, बैठक आदि हुन्छ । नुमे र गीता पकाउने, खुवाउने, सरसफाइ गर्ने गर्दछन् । यहाँसम्म किसिमकिसिमका स्त्रीपुरुष पाहुना जो त्यहाँ रात पनि बिताउँदथे तिनका लुगा, फाटा, मोजा, भित्री लुगा सबै ती दुई केटाकेटीले सफा गर्दछन् । नुमे र गीतालाई पढ्न मन लागे पनि उनीहरूले त्यहाँ पढ्न पाएनन् । त्यहाँका पालेदाइ एक सज्जन र सहयोगी व्यक्ति थिए । उनले ती दुई केटाकेटीलाई पढ्नको लागि पुस्तकालयको पुस्तक उपलब्ध गराइदिन्छन् । त्यसैबेला त्यहाँ एक जना देख्दाखेरी भलाद्मी, सहयोगी, साधारण र सरल व्यक्ति दलित र शोषितहरूबारे किताब लेख्ने काम लिएर आइपुग्छन् । उनको बाह्यव्यक्तित्वले नुमे र गीतलाई प्रभावित पार्छ जसलाई ती दुईका ‘काका’ नाता लगाउँछन् । तर पछि उनीहरू थाहा पाउँछन् कि ती काका पनि दलित र शोषितलाई मद्दत गर्नुको साटो अर्थात् उनीहरूको पक्षका केही सत्यतथ्य लेख्नुको साटो संस्थाको प्रशंसा र गुणगान गरेर मात्र पुस्तक तयार पारेका रहेछन् ।
आफु वरिपरि यस्ता घृणित घटनाहरू जेलिएको देखेर बाल्यकालबाट युवावस्थातिर लम्किरहेको नुमे र गीतालाई केही पढेर जान्ने मान्छे भएर केही ठूलो काम गर्ने इच्छा जाग्रित हुन्छ । एउटै अफिसमा बाल्यकालदेखि एघार वर्षको उमेरसम्म सँगै बस्दै आएका ती दुई गीता र नुमे आफ्नै गाउँमा गएर केही राम्रो काम गर्ने निर्णय गर्दछन् । नुमे सोह्र वर्ष र गीता चौध वर्षका थिए । नुमेको लागि आपूm सार्कीको छोरो बाहुनकी छोरी गीतासँँग मिलेर आफ्नै गाउँमा केही काम गर्न सक्ने अवस्था त धेरै परको कुरा थियो तर उसले हरेस खाएन । ती दुई आफ्नै जन्मस्थान फर्किए । गाउँमा उनीहरूके सक्रियतामा स्कूलकेटाकेटी र बूढाबूढीको लागि स्याहार केन्द्र, स्वास्थ्य केन्द्रजस्ता संस्थाहरू खुले । गाउँ सफासुग्घर भयो । गाउँले निरोगी भए । नुमे र गीता जवान भैसकेका थिए । ती दुई आफु खुसीले सल्लाह गरेर साधारण तरिकाले आफ्नै गाउँमा बिहे गरे । गाउँले पनि चेतनशील भैसकेका थिए । त्यसैले पनि विरोध गरेनन् । यसरी ती दुई बालबालिकाले आफ्नै बुद्धि र ज्ञानले आफ्नो पुरानो थोत्रो विचारधाराले जकडिएको सङ्कुचित गाउँलाई नयाँ वस्तीमा परिणत गरेर गाउँको नाम नै ‘नयाँ वस्ती’ राखे।
प्रस्तुत बालउपन्यास ‘नयाँ बस्ती’को प्रमुख बालपात्र नुमे सार्की हो र प्रमुख बालिका पात्र ब्राम्हणकी छोरी गीता हो । पाँच वर्षको बाल्यकालदेखि ठूलाहरूले दलित बालबालिका उपर गर्दै आएको शोषण, अन्याय, अत्याचार देख्दै आएको सार्कीको छोरा नुमेको मानसिकतामा त्यसप्रति विरोध जाग्रित हुन्छ । ऊ पच्चीस वर्षको पुग्दा नपुग्दै त्यस्ता कलुषीत जातिपाति र उच्चनिचको पर्खाललाई गर्लम्म ढालेर आफ्नो गाउँको चौर्तफी विकास गर्दै ब्राम्हणकी छोरीसँग विवाहबन्धनमा बाँधिन्छ । कथाको सुरुमा देखापरेका पात्रहरूमध्ये नुमेको बाबु साहुको रिन तिर्ने पैसा कमाउन मुग्लान जान्छ । उसकी आमा, जिम्माल, जिम्मालनी अरू गाउँलेहरू उपन्यासको केही अग्रिम भागसम्म देखा पर्दछन् । काठमाडौँको अफिसमा पालेदाइ, लेखककाका तथा स्वदेशी तथा विदेशी पाहुनाहरू आक्कल, झुक्कल देखा परेका छन् । त्यस्ता पाहुनाहरू शोषक, स्वार्थी र खाली पैसा कमाउने नियतले यस्ता संघ–संस्थाभित्र प्रवेश गरेको तथ्य उपन्यासले खुलासा गरेको छ ।
उपन्यासको सुरु ग्रामीण परिवेशबाट भएको छ भने कथाको मध्य परिवेशको विस्तार काठमाडौँको कुनै दलित उद्धार संस्थाको भवनभित्रको रहेको छ । कथाको अन्त्य फेरि ग्रामीण परिवेशमा नै भएता पनि कथाको सुरुको ग्रामीण परिवेशभन्दा कथाको अन्त्यको ग्रामीण परिवेश बेग्लैखाले छ । सुरुमा जिम्मालको जगजगी देखाइएको छ भने अन्त्यमा जातीपाती, छुवाछुतसँग समन्वय गरेर मिलिजुली सबै गाउँलेले आफ्नो गाउँलाई नयाँ वस्तीको रूपमा विकसित गर्नुपर्छ भन्ने देखाइएको छ ।
बालउपन्यासकार विजयराज आचार्य एक प्रगतिशील विचारधारा भएका क्रान्तिकारी साहित्यकार हुन् । स्वयंले जीवनमा प्रगतिशीलता अपनाएका यिनले आफुले देखेको, भोगेका र सुनेका सुधारोन्मुख घटनाहरूलाई साहित्यमा प्रयोग गर्दछन् । उनको विचारमा जबसम्म समाजमा विद्यमान छुवाछुत, जातिपाती, धनी गरीबको भेदभाव रहिरहन्छ तबसम्म गाउँ, समाज र देश विकसित हुँदैन भन्ने देखाउँदै त्यस्ता संकुचित प्रवृत्तिलाई जरैदेखि निर्मुल पारेर नुमे र गीताजस्तै प्रगतिशील बन्नुपर्छ अनि मात्र पुरानो गाउँ नयाँ वस्तीमा परिणत हुन्छ भन्ने कुरा उनले यो बालउपन्यासमा देखाएका छन् । यही नै यसको उद्देश्य हो ।
उपन्यास सरल बोलीचालीको नेपाली भाषामा लेखिएको भएता पनि यसमा प्रशस्त पश्चिम नेपालको ग्रामीण भेगमा बोलिने ठेट शब्दहरूको प्रयोग यसमा पाइन्छ । यो उपन्यासमा प्रयोग भएका ‘डाङ्ग्रा, डाम्ना, डन्टी, इन्टी, संघारजस्ता शब्दले बालपाठकहरूलाई नयाँ शब्द सिकाएको छ । यो उपन्यास नुमेको पूर्वदीप्ती शैलीबाट सुरु भएको छ । नुमेको पाँच वर्षको उमेरदेखि पच्चीस वर्षसम्मको वरिपरिको घटनाहरू यहाँ समावेश भएका छन् । यो उपन्यासमा मनोवादात्मक अभिव्यक्तिको राम्रो नमूना पाइन्छ, जसले बालपाठकलाई यसको ‘मनोवादात्मक अभिव्यक्ति’ मीठो स्वाद चखाएको छ । नुमे नै उपन्यासको प्रमुख बालपात्र हो र उसैको जीवनको घटनाको सेरोफेरोमा यसको घटनाहरू घुमेका छन् । आफुले देखेर भोगेका घटनाहरू यहाँ व्यक्त गरेको हुनाले यो उपन्यासमा प्रथमपुरुष दृष्टिबिन्दु संरचित छ ।
बालसाहित्यमा चित्र अनिवार्य तŒव हो । चित्रविना बालसाहित्य पूर्ण हुँदैन । बालसाहित्यमा प्रयोग भएका चित्रले कथावस्तुको भाव छर्लङ्ग पारेको हुनुपर्छ । कथाको भाव बोक्न असफल चित्रले बालपाठकलाई मनोरञ्जन प्रदान गर्नुभन्दा बढी अन्योलतर्फ उन्मुख गराउँछ । प्रस्तुत उपन्यासमा चित्रका स्वयम्बर हाङले चित्र संयोजन गरेका छन् । यहाँ प्रयोग भएकै प्रायः सबै चित्रले विषयवस्तुको भावलाई छर्लङ्ग पारेका छन्। तर कुनै चित्रले भने भाव बोकेता पनि आकृति भने साधारण नभई कतै असाधारण लाग्नेखालका देखिएका छन् । जस्तै पृष्ठ १२ को जिम्मालको अनुहारको चित्रको टाउको ज्यादै ठूलो, त्यस्तै पृष्ठ १४, १५ मा नुमेकी आमाको अनुहार ज्यादै लामो, पृष्ठ २५ को पनि अनुहार ठूलो । पृष्ठ ३८ को लेखक काकाको तस्वीर बालबालिकाको मनछुने रोचकखालको र मनोरञ्जनात्मक छ ।
२०६१ सालमा विवेक सिर्जनशील प्रकाशन, काठमाडौँबाट प्रकाशित प्रस्तुत बालउपन्यास ‘नयाँ वस्ती’ले पुराना जातभात, धनी गरीबको भेदभावलाई जरैदेखि उखेलेर फालेर सबै समान सहयोगी र एकमत भएर विकासको मार्गमा अग्रसर हुनुपर्छ । आजका बालबालिका भोलिका देशका कर्णधार हुन् तिनको भविष्य सुन्दर बनाउनका लागि उनीहरूको बाल्यकाल तनावमुक्त, सरल र सहज हुनुपर्छ भन्ने सन्देश दिएको छ । गाउँको दलित नुमेले भविष्यमा पुरानो परम्परामा रहेको आफ्नो गाउँको विकास र विस्तार गरेर नयाँ वस्तीको रूपमा ठड्याएर गाउँको नाम नै नयाँ वस्ती राख्न सफल भयो । यस्तो कठोर काम ऊ एक्लैले गरेको होइन, उसको कठोर परिश्रम, बफादारिता, मिलनसारिताले अरूको मन जित्न सफल भएर भएको हो । उसमा भएका यिनै गुणहरूले गर्दा उसले गाउँका ठूलाठालुको मन जित्न सफल भयो । उनीहरूको पनि सहयोग र सहमति पायो जसले गर्दा सम्पूर्ण गाउँले नै नयाँ वस्तीमा बस्न पाए । यो बालउपन्यासको शीर्षक ‘नयाँ वस्ती’ले विषयवस्तुको भाव बोक्न सफल भएको छ । त्यसैले यो शीर्षक पनि सार्थक बनेको छ । यसरी हेर्दा विजयराज आचार्यको प्रस्तुत ‘नयाँ वस्ती’ बालउपन्यास बालपाठकहरूका लागि एउटा सरल र मनोरञ्जनात्मक खुराकसावित भएको छ ।
सन्दर्भसामग्री
१ नेपाली बालसाहित्य समाज काठमाडौँ– नेपाली बालसाहित्यको सय वर्ष, इ.स. २००७ जुलाई ।
२ रञ्जुश्री पराजुली–नेपाली बालकथाको विकासक्रम सुनकोसी २, २०५३, १००–१०६ ।
३ प्रमोदप्रधान –नेपाली बालसाहित्यको इतिहास २०५७ ।
४ चंकी श्रेष्ठ–शब्द, स्पर्श र अनुभूति विविध पुस्तक भण्डार २०६२ ।
५ शर्मिला खड्का (दाहाल) नेपाली बालसाहित्य र विजयराज आचार्य– शब्द संयोजन वर्ष ६, अंक ४, पूर्णाङक ६३, २०६६ साउन ।
७ प्रमोद प्रधान–नेपाली बालवाङ्मय परिचय कोष २०६४ ।