अधिकांश अभिभावकहरू आफ्ना छोराछोरीले हरेक समय पाठ्यक्रमकै पुस्तकहरू मात्र पढिरहेको हेर्न चाहन्छन् । ग्रामीण क्षेत्रमा मात्र होइन शहरी क्षेत्रका शिक्षित भनिने कतिपय अभिभावकहरू पनि आफ्ना सन्तानले पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरू पढेको देखेपछि उनीहरू विद्यालयको पढाईमा बिग्रने डरले चिन्तित बन्छन् । त्यसो त केही त्यस्ता अभिभावकहरू पनि छन्, जो आफैले आफ्ना सन्तानलाई विद्यालयभन्दा बाहिरका पुस्तकहरू ल्याएर पढ्न दिन्छन्, तर त्यसरी पढ्न दिने अभिभावकहरूले आफ्ना विद्यार्थी, छोराछोरीहरूका लागि पुस्तक चयन गर्न विवेक नपु¥याएको अवस्थामा साँच्चै नै उनीहरूमा चेतनाक्रम नै बिग्रने खतरा बढ्न सक्छ ।
अहिले जापानी, स्विडेनी, कोरियाली र चिनियाँ अभिभावकहरू आपसमा कुराकानी गर्दा मेरा छोराछोरीले यो महिना कोर्सभन्दा बाहिरका यतिवटा पुस्तक पढे भनेर गर्वसाथ सुनाउँछन् । हामीकहाँ विद्यार्थीले खोजेर पढ्दा पनि गाली गर्छन् । जति अभिभावकले पनि गाली गर्छन् । जति अभिभावकले आफै कोर्सबाहिरका पुस्तक पढ्न दिन्छन् । उनीहरूले पनि केवलल चुट्किलाहरू भूतको कथाहरू मात्रै धेरैजसो पढाउँछन् ।
तर विद्यार्थीहरूलाई शुरुदेखि नै त्यस्ता पुस्तकहरू मात्र पढाउँदा उनीहरूमा कल्पनाशीलता बढे पनि कल्पनामा झैँ आफ्नो बास्तविकता नपाएपछि निराशावादी हुने खतरा बढ्छ । वर्तमानमा जति पनि बालसाहित्यका पुस्तकहरू छापिन्छन्, ती सबैमध्ये प्रायः जसोले बालबालिकालाई काल्पनिक र उडन्ते कथाहरू मात्र पढ्न बाध्य बनाउँछन् । त्यही अवस्थालाई चिर्ने मुख्य उद्देश्य लिएर विजयराज आचार्यले २०५७ सालमा विवेक सिर्जनशील प्रकाशन शुरु गरेका थिए । अहिले दुई तीन कक्षादेखि दश जोड दुई स्तरका विद्यार्थीले कोर्सभन्दा बाहिरका कस्ताकस्ता पुस्तकहरू पढ्नुपर्छ भन्ने उदाहरण नै हुनेगरी पुस्तकहरू प्रकाशन गरिरहेका छन् ।
उनका धेरैजसो कृतिहरूमा शारीरिक रूपमा अपाङ्ग भएका, गरिबीमा पिल्सिएका बालबालिकाहरूले संघर्ष गरेर सफलता पाएका वास्तविक कथाहरू हुन्छन् । तीमध्ये देशभरी डुलेर त्यस्तो सफलता पाउने १४ बालबालिकाको अन्तर्वार्तासंग्रह ‘चौध चम्किला कोपिला’, धनकुटाका चर्चित साहित्यकार झमककुमारी घिमिरेको कथा ‘झमककुमारी’, मौलिक कथा ‘शान्तिको आत्मकथा’ र दुईवटा उपन्यास ‘नयाँ बस्ती’ र ‘परिवर्तन’ विद्यार्थीहरूका लागि पढ्नै पर्ने किसिमका पुस्तकहरू हुन्, किनकी ती पुस्तकहरू बालमनोविज्ञान र बालसाहित्यको अन्तर्राष्ट्रिय मान्यताअनुसार लेखिएका छन् ।
विजयराज आचार्यले जापानी, चिनियाँ, रुसी र भारतीय प्रसिद्ध कथाहरू अनुवाद गरी ‘विश्वप्रसिद्ध बालकथा खण्ड–६’, ‘एउटा नयाँ पुलको निर्माण’, ‘खरायोको पुच्छर किन छोटो भयो’, ‘बालबगैँचा’ जस्ता कृतिहरू पनि प्रकाशन गरिसकेका छन् ।
उनले अहिलेसम्म कलाकार केके कर्माचार्य, साहित्यकार रमेश विकल, श्यामप्रसाद र केवलपुरे किसानको जीवनीपरक सचित्र बालकथा, ‘कुटी’ बालउपन्यास, ‘हाम्रो आवाज’, बालउपन्यास पनि लेखिसकेका छन् । तीमध्ये नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित आचार्यको ‘केवलपुरे किसान’ सचित्र बालकथा र ‘उज्यालोको खोजीमा’ सचित्र बालनाटक यसै हप्ता बजारमा आउँदै छन् ।
विजय आचार्यले विद्यार्थीहरूलाई कोर्सका पुस्तक मात्र पढेर दिक्क लागेको समयमा पढ्नै पर्ने र पढेर पनि अभिभावकहरूले सोचेझैँ नबिग्रने बरु ज्ञान बढने, कसरी सफल मान्छे बन्ने भन्ने कुराहरू नै सिक्नलाई हिम्मत बढ्ने खालका विदेशी पुस्तकहरू लेखेर त्यस्तै खालका विदेशी पुस्तकहरू अनुवाद गर्ने छपाएर पढ्ने मौका दिएकोमा विजय विद्यार्थीका साथी बनेका छन् ।
२०६१ माघ ५, मंगलबार
नेपाल समाचारपत्र