Menu Close

प्रकाशनमा बौद्धिक तस्करी छ

अनुवाद र मौलिक गरी १६ वटा कृति नेपाली साहित्यलाई पस्कनुभएका युवा साहित्यकार हुनुहुन्छ– विजयराज आचार्य । आफ्नो प्रकाशन संस्थाको माध्यमबाट धेरै नवोदित साहित्यकारलाई कृति छपाउन सहयोग गर्दै आउनुभएका आचार्य साहित्यिक तस्करी हुनुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ ।


भर्खरै २०६० को सर्वोकृष्ट बाल साहित्य पुरस्कार पाउनुभयो, यसले कस्तो अनुभव भयो ?


मैले मुना र नवप्रतिभा बालपत्रिकामा समाजका विपन्न परिवारका बालबालिकाका विषयवस्तुलाई समेटेर उनीहरूको अन्तर्वार्ता लिएको थिएँ । नेपाल बाल साहित्य समाजले त्यसैको संकलन ‘चौध चम्किला कोपिला’लाई त्यो कृति पुरस्कारयोग्य ठान्यो । यो पुरस्कारले मलाई हर्ष र विस्मत दुवै छैन । यो पुरस्कार पाएपछि मैले आफ्नो लेखनको जिम्मेवारी बढेको महसुस गरेको छु । मेरो लेखाइलाई अझै परिष्कृत गर्दै लान यो पुरस्कारले घच्घच्याएको छ । हिजोको भन्दा गुणस्तरीय लेखन लेख्नुपर्छ भन्ने बोध भइरहेको छ ।


पुरस्कारले तपाईलाई निरुत्साही बनाएको हो ?
म निरुत्साहित त बिल्कुलै होइन तर पनि जिम्मेवारी बढेको हो कि भन्ने मलाई लागेको छ । मैले संख्यात्मक होइन, गुणात्मकतालाई प्राथमिक दिनुपर्ने भएको छ । विश्व साहित्यकारलाई हेर्ने हो भने उनीहरूले गुणस्तरीय लेखनलाई प्राथमिकता दिएका हुन् र उनीहरूको चर्चा हुँदा थोरै कृतिका कुरामात्र आउने गर्छन् । थोरै कृतिले उनीहरूलाई चर्चामा ल्याएको हो ।


बालसाहित्यमा तपाईको आगमन कसरी भएको हो ?
खास गरेर काठमाडाँैमा म आउँदा सडक बालकको रूपमा हुर्किएँ । त्यसैले मेरो जानकारीको विषय त्यही थियो । सडक बालकपछि जब म पत्रकारिता पेसामा आए, त्यसपछि पनि मेरो विषयवस्तु बालबालिका नै बने । कुनै पनि मान्छेले कुनै गलत काम ग¥यो भने कस्तो केटाकेटीले गरेजस्तो गरेको भनी होच्याउने गरिन्छ । त्यसैले बालसाहित्यका माध्यमबाट त्यसमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर नै मैले यो विधिलाई रोजेको हुँ ।


बालसाहित्यमा के सुधार गर्नुुपर्ने ठान्नुहुन्छ ?
पहिले पनि बालसाहित्यमा लेखिएको हो । त्यो बेला बालबालिकालाई उपदेश दिने गरिन्थ्यो । तर, अहिले आएर उपदेश दिनेभन्दा पनि उनीहरूसँग सहभागिता गर्नु राम्रो हुन्छ भन्ने मान्यता बढ्दै गएको छ । उनीहरूलाई राम्रा विचार दिने कार्य गरिनु आवश्यक छ ।


बालसाहित्यमा राम्रै कमाइ हुन्छ हो ?
आर्थिक रूपमा त्यस्तो कमाइलाई राम्रै मान्न सकिन्छ । तर, ती कृतिको कत्तिको सदुपयोग भएको छ भन्ने महत्वपूर्ण कुरा हो । अहिले आएर अभिभावकले पनि आफ्ना बालबालिकाका लागि त्यस्ता कृति किनिदिएर पढाउने गरेका छन्, जुन सुखद पाटो हो ।


बालसाहित्यका पाठकचाहिँ कस्तो पाउनुभएको छ ?
कतिपय अभिभावक आफ्ना बालबालिकाका लागि भनी बालसाहित्यका कृति किनिदिने र त्यसलाई अध्ययन गर्ने गर्दछन् भने बालबालिका पनि आफ्नो इच्छाअनुसारका बालसाहित्यका कृति किन्ने गरेका छन् ।


तपाईले बालबालिकालाई विद्रोही बनाउनु हुन्छ भन्ने आरोप छ नि ?
विद्रोही नै बनाउनुपर्छ भन्ने मान्यता मेरो होइन । तर, बालबालिकाले जे जस्ता अन्याय पनि सहनुपर्छ भन्ने छैन । अन्यायको विरोध गर्दा त्यसलाई विद्रोह भनिन्छ भने विद्रोह नै हो ।


तपाईको प्रकाशनमा संस्थाको अवस्था कस्तो छ ?
हामी बौद्धिक तस्करी गर्नुहुँदैन भन्ने मान्यताबाट प्रभावित छाँै । तर, यहाँ त बौद्धिक तस्करी गर्नेहरू मालामाल भएका छन् । बिक्रि हुने खालका पुस्तकहरू अनुमतिबेगर छापेर बौद्धिक तस्करी गर्नेहरू छन् । त्यो कोटीमा हाम्रो संस्था नपरेकाले पनि हामीसँग २५ लाख रुपियाँको पुस्तकहरू हुँदाहुँदै पनि रु. १२ लाख घाटा छ ।


अनुवाद पनि गर्नुहुन्छ, रुचि केमा छ ?
मौलिक कृतिमा जति आनन्द हुन्छ, त्यति आनन्द अनुवादमा त हुँदैन नै । तर पनि बालसाहित्यका राम्रा कृतिहरू अनुवाद गरेर पनि पाठकसमक्ष पु¥याउँदा त्यसबाट राम्रै ज्ञान हासिल गर्न सकिन्छ भन्ने ठानेर नै मैले अनुवाद विधामा हात हालेको हुँ । आफ्ना कृति नबिकेको अवस्थामा पनि अनुवाद गरेका कृतिहरू बिकेको अनुभव मेरो छ ।


लेखनप्रति कसरी आकर्षित हुनुभयो ?
२०५८ मा शुभतारा स्कुल र नेपाल बालसाहित्य समाजले लेखन कार्यशाला गरेको थियो । त्यो बेला म प्रकाशककै रूपमा रहेको थिएँ । त्यहीँ एकजना मित्रले मेरो नामै तोकेर ‘उहाँलाई लेखनमा ल्याउनुहुँदैन, प्रकाशकमा मात्र राख्नुपर्छ’ भन्दा मलाई साह्रै नरमाइलो लाग्यो । हामीले लेख्नै नहुने ? भन्ने प्रश्नले मलाई घच्घच्याइरह्यो र मैले पनि लेख्नुपर्छ भन्ने भावना विकसित भयो । त्यही घटनाले गर्दा मैले लेख्न थाले । मैले बालसाहित्यका कृतिहरू छाप्ने क्रममा धेरैको अध्ययन पनि गरेको थिएँ, त्यसैले मैले लेख्न सक्छु भन्ने लाग्यो र लेख्न थालेँ ।


राजनीति र साहित्यको कस्तो सम्बन्ध हुन्छ ?
राजनीतिले साहित्यलाई थिच्नुहुँदैन भन्ने कुरा गरिन्छ । तर, मलाई भने राजनीतिविनाको साहित्य नै हुन सक्दैन जस्तो लाग्छ ।
प्रस्तुतिः के.भट्टराई
२०६१ माघ २४ गते सोमबार
प्रतिस्पर्धा साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *