Menu Close

अक्षर जलाउनु भनेको शिक्षामा प्रतिबन्ध लगाउनु हो

विजयराज आचार्य अर्थात् साहित्यको कुम्लो साहित्यप्रेमी सामु पोख्न सहयोग गर्ने सहयात्री । वि.सं. २०३२ सालमा प्युठानमा जन्मिएका आचार्य एसएलसी दिए पश्चात् केही समय भारततिर रहे । नेपाली फर्किएर पत्रपत्रिकामा हकरको रूपमा काम गरेका आचार्य २०५४ सालदेखि साहित्यिक लेखन तथा प्रकाशनमा लागेका थिए । २०५८ चैतदेखि विवेक सिर्जनशील प्रकाशन प्रालिका अध्यक्षका रूपमा निरन्तर लागि परेका छन् पुस्तक प्रकाशन गर्न । यो प्रालिबाट विशेष गरी बालबालिका सम्बन्धी पुस्तक प्रकाशन गरिन्छन् । ठूला मान्छेले आफ्ना कुरा राख्न सक्ने र केटाकेटीहरू राजनीतिदेखि सरकारसम्म सबै क्षेत्रबाट उपेक्षित भएकाले यो क्षेत्र रोजेको उनको भनाइ छ । उनले ‘झमककुमारी’, ‘शान्तिको आत्मकथा’ लगायत ५ वटा पुस्तकहरू लेखिसकेका छन् भने ‘परिवर्तन’ र ‘कुटी’ बालउपन्यास प्रकाशोन्मुख छन् ।


बालबालिका सम्बन्धी प्रकाशन गर्ने भएपनि आफू राजनीतिबाट प्रभावित भएकाले प्रगतिशील लेखनलाई प्रकाशित गर्न हौसला दिन्छन् उनी । अहिलेका समय असहज परिस्थितिमा गुज्रिरहेकोले प्रगतिशील लेखकले दुःख पाएकाले ‘सिर्जनशील साहित्य एउटा स्रष्टा श्रृंखला ’ अन्तर्गत ६० वटा पुस्तक निकाल्ने लक्ष्य राखेको उनले जानकारी दिए । हालसम्म ३५ वटा पुस्तक प्रकाशन भइसकेका छन् । १६ वटा पुस्तक एकैपटक विमोचित गरेर यो प्रकाशनले रेकर्ड समेत राखेको छ । प्रस्तुत छ ‘सिर्जनशील साहित्य स्रष्टा श्रृंखला ’ को बारेमा प्रकाशनका अध्यक्ष विजयराज आचार्यसँग सोमराज पोखरेलले गरेको कुराकानीको सारसंक्षेपः


१. एकै पटक १६–१६ वटा पुस्तक विमोचन गराउनुभयो त ?
हाम्रा साहित्यिक अभियानमध्ये एकै पटक गरिएको हो । धेरै पुस्तक एकैपटक बजारमा ल्याउँदा पाठकले छानेर पढ्न पाउँछन् । संस्थालाई घाटा लाग्न सक्छ तर त्यसले सिंगो समाज र राष्ट्रका निम्ति सही सन्देश जानसक्छ ।


२. भिन्दा भिन्दै विमोचन गराएको भए त पुस्तकले बढी चर्चामा आउने मौका पाउँथ्यो कि ?
एकजनाको मात्र गर्नु ठूलो कुरा होइन तर समाजलाई के दिन सकियो त्यो ठूलो कुरा हो । सामूहिकतामा सामूहिक खालको अभियान निस्कन सक्छ । समाज बनाउने समूहले नै हो । प्रजातन्त्रमा आएको खतरा र एकलकाँटे प्रवृत्तिलाई हटाउन चुनौती स्वरूप यसो गरियो ।


३. स्रष्टा श्रृंखला अभियानको सोच कसरी आयो ?
२०५८ साल पुस २५ गते संकटकालको बेलामा किताब छापेका कारण ७२ दिने जेलमा बस्नुप¥यो । शारीरिक, मानसिक सबै किसिमको यातना दिइयो । नारायणमान विजुक्छेको घरमा पुगी किताब जलायो सरकाले । अक्षर जलाउनु भनेको शिक्षामा प्रतिबन्ध लगाउनु ठानियो । त्यसैले विद्रोहको रूपमा शिक्षाको प्रचार गर्न भनी यो अभियान ल्याएको हो ।


४. कहिलेसम्म रहन्छ यो अभियान ?
यो अभियानलाई निरन्तरता दिइरहने विचार छ । सुरुमा ६० वटा पुस्तक निकाल्ने सोच थियो, अब १०० वटा सम्म पुग्छ जस्तो लागेको छ ।


५. बालसाहित्य मात्र प्रकाशित गर्ने प्रकाशनले किन प्रगतिशील पुस्तकमा जोड दिएको त ?
यो अभियानपछि पुनः बालसाहित्यमा निरन्तरता दिने नै छु । यो अभियानमा पनि ८–१० वटा बालसाहित्यहरू निस्किएका छन् ।


६. कस्ता लेखकहरू छन् यो अभियानमा ?
पुरानो नयाँ सबै किसिमका छन् । राजधानीका मान्छे एकेडेमी, साझा जहाँपनि जान सक्छन् । तर मोफसलका लेखकले लेखेको कुरा छापिन कठिनाइ हुने भएकाले बढी मौका दिएको हो । ७५ प्रतिशत लेखक मोफसलका छन् । लुकेको प्रतिभा अगाडि आउनुपर्छ भन्ने मेरो मान्यता भएकाले मौका दिएको हुँ ।


७. भाषा शुद्धी र स्तरीयतामा पाठकको गुनासो सुनिन्छ नि ?
एकै समयमा व्यापक काम गर्नुपर्ने भएकोले लेखक स्वयमले भाषाको जिम्मा लिनुपर्ने सहमति भएको थियो । मेहनत गर्नेले राम्रो गरे नगर्ने, नजान्नेले गरेनन् । जहाँसम्म स्तरीयताको कुरा छ सबै किताब राम्रो भन्ने होइन । तर प्रतिकुल परिस्थिति अनुसार भौतारिरहेको युवाले केही लेखेर भएपनि जीवनको सदुपयोग गर्न सकोस् भन्ने मेरो मान्यता हो । आगामी प्रकाशनमा विचार पु¥याउने छु ।


बोल्ने साहित्यकार सुन्ने राजनीतिज्ञ
बोल्ने ठाउँ पाएपछि साहित्यकारहरू पनि बोल्दा रहेछन् नेता जस्तै । सुन्नै पर्ने बाध्यता रहेपछि नेतनपनि बन्दा रहेछन् कार्यकर्ता जस्तै ।


शास्वत बोली र भक्त कार्यकर्ता कमै पाइन्छन् विपरीत क्षेत्रमा । क्षेत्र उल्टो हुँदा कोही डगमगाएनन् । निभाइरहे आफ्नो भूमिका निरन्तर ।


रुसी सांस्कृतिक केन्द्रमा भएको साहित्यिक मन्थनमा राजनीतिक पार्टीका नेताहरूलाई साहित्यकर्मीहरूले मनका कुरा खोल्नलाई बोलाएका थिए । पहिला पहिला राजनीतिलाई फोहोरी खेल भन्दै आए पनि राम्रो राजनीतिले देश सर्पान सक्ने निष्कर्ष निकाल्न पछि परेनन् उनीहरू ।


त्यो जमघटको व्यवस्था मिलाएको थियो विवेक सिर्जनशील प्रकाशन प्रा.लिले । कार्यक्रममा प्रमुख राजनीतिक पार्टीका गन्यमान्य नेताहरू दर्शक थिए । नेपाली कांग्रेसका नरहरि आचार्य, एमालेका जनमोर्चा नेपालका अमिक शेरचन, राप्रपाका प्रवक्ता रोशन कार्की, राप्रपा राष्ट्रवादीका नेता राजेश्वर देवकोटा, नेपाल विद्यार्थी संघका अध्यक्ष गुरुराज घिमिरे सामेल थिए । गुनासो पोख्नेमा थिए साहित्यकार एवं सो पुस्तक विमोचनमा समालोचना गर्ने समालोचकहरू चट्याङ मास्टर, कृष्णहरि बराल, हरिगोविन्द लुइँटेल । त्यस्तै डा. जगदीशचन्द्र भण्डारी, रामप्रसाद ज्ञवाली, विजय चालिसे, डा. माधव पोखरेल, डा. ताराकान्त पाण्डे, नेत्र एटम र देवी नेपाल पनि त्यसमा सहभागी थिए । कार्यक्रमको बीचबीचमा राजनीतिलाई प्रहार गर्न तम्सिएका थिए हास्य कलाकार मनोज गजुरेल र व्यङ्ग्य कवि अर्जुन पराजुली ।

पुस्तक विमोचनमा रकेर्ड
नेपाली साहित्यको इतिहासमा सबैभन्दा बढी पुस्तक एकै पटक विमोचन हुने रेकर्ड बनेको छ । १६ वटा स्रष्टाले तयार गरेका १६ वटा पुस्तकहरू २४ माघमा एकै पटक विमोचित भएका थिए रुसी सांस्कृतिक केन्द्रमा ।


ड्यासमा उपस्थित सबैले संयुक्त रूपमा दुई दुईवटा पुस्तकहरू हातमा लिएर विमोचन गरेका थिए । विवेक सिर्जनशील प्रकाशन प्रा.लिको आयोजनामा भएको सो पुस्तक तयारीमा नयाँ एवं पुराना पुस्ताका लेखकहरूले कलम चलाएका थिए ।


नेपाली साहित्यको श्रीवृद्धिका लागि ‘सिर्जनशील साहित्य– स्रष्टा श्रृंखला’ अन्तर्गत पुस्तक प्रकाशित गरिएको थियो । मोफसलमा रहेका साहित्यिक स्रष्टालाई अगाडि ल्याउने र प्रकाशन गर्न नसक्नेलाई सहयोगस्वरूप यो अभियान थालिएको प्रकाशनका अध्यक्ष विजय राज आचार्य बताउँछन् । सबैभन्दा बढी पुस्तक प्रकाशन गरी विमोचित भएकामा सुधार गर्ने प्रतिबद्धता जोहर गरे । धेरै पुस्तक एकै पटक विमोचन गर्ने होडमा यस अगाडि नै कालचक्रले १२ वटा पुस्तक विमोचन गरेको थियो ।


विमोचन गरिएका पुस्तक र लेखक
१. सामाजिक जागरणमा महिला विद्रोहको प्रस्थानबिन्दु — लेखनाथ भण्डारी
२. धमिराको दरबार —स्वागत नेपाल
३. दुखेको घाउ — ललिता दोषी
४. सम्झौता — भाषा भण्डारी
५. फूल — अनिल पोखरेल
६. उपाय बहिष्कार— प्रकाश ज्ञवाली
७. बोली फुट्नेछ— विका ज्ञवाली
८. कथा हजुरबाको— सौरभकिरण श्रेष्ठ
९. अनुभूतिका चर्चाहरू — जीवित खड्का मगर
१०. कविकाृ छैटौँ इन्द्रिय — पुन्य कार्की
११. बुख्याँचा— प्रेम सिलवाल
१२. मलाई एउटा बाँसुरी देऊ— शेषमणि आचार्य
१३. बाँदरको हातमा नरिवल —नरनाथ लुइँटेल
१४. ऊ बेचिने रातहरू— गौरा रिजाल
१५. ठुल्दाइका सपना —सूर्य बीसी
१६. रातामाटा कालापानी— सूर्यनाथ सापकोटा
अर्कोदिन सिर्जनशील साहित्य श्रृंखला अन्तर्गत प्रकाशित कृति ‘पार्थिव तस्विर’ बारे अन्तक्रिर्या गरिएको थियो । यो संग्रहका स्रष्टा नारायण श्रेष्ठ हुन् ।


रिपोर्टस नेपाल
२०६० फागुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *