स्वागत नेपाल
ऊ ढिला ढिला आकलझुकलल स्कुल जान्थ्यो, उसलाई उसका सबै साथीले ‘ऊ बाख्रा गोठालो आयो’ भनेर जिस्क्याउँथे । ऊ भने केही पनि नबोली बसिरहन्थ्यो, पढिरहन्थ्यो । खासमा कक्षा ७ पुगेपछि मात्रै विद्यार्थीजस्तो भयो अथवा भनौँ ऊ बल्ल केही नियमित रूपमा स्कुल जान थाल्यो । मान्छे जति बढी ठक्कर खान्छ त्यति नै चाँडो देश र परिस्थिति बुझ्न सक्ने हुँदोरहेछ । त्यही ठक्करबाट जीवन चेत भित्रिएको ऊ, अर्थात् विजयराज आचार्य ।
विजयले के गरेनन् ? पत्रिकाको हकर बनेनन् कि, भारतको विभिन्न स्थानमा गएर मजदुरी गरेनन् कि ? नेपालका विभिन्न कार्यक्रम भएका ठाउँमा ए हजुर यो नयाँ पुस्तक राम्रो छ भन्दै बेचेनन् कि ? तर उनले प्रशस्तै बिक्रि हुने तर समाजलाई अहित नगर्ने पुस्तक कहिल्यै बेचेनन् । यदि त्यसो गर्न चाहेको भए उनले एकदुई वर्षमै प्रशस्त सम्पत्ति कमाउन सक्ने थिए ।
विवेक सिर्जनशील प्रकाशन प्रा.लि. को प्रकाशककी श्रीमती झोलाझोलामा किताब बोकेर अझै विभिन्न कार्यक्रममा फिँजाएर बेच्दै हिँडेको सुन्दा पनि धेरैले पत्याउँदैनन् । तर पुष्पाको मेहनत र उनको जीवनप्रतिको दृष्टिकोणमा मेरो सामीप्यले पनि हामीलाई दुई शरीर भए पनि एकै हिम्मतमा दरा खुट्टा टेकेर उभिन सक्ने बनाएको छ– विजय भन्छन् ।
विजयले धेरै लामो उतार चढावपछि काठमाडाँैमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशनजस्ता संस्थाले पनि गर्न नसकेका प्रकाशनका काम गरेर एउटा उदाहरण प्रस्तुत गरेका छन् । इच्छाशक्तिका अगाडि अरू सबथोक फिका हुँदारहेछन् भन्ने तथ्य उनले दुई वर्षमा झण्डै तीन सय महत्वपूर्ण पुस्तक निजी क्षेत्रबाट प्रकाशन गरेर देखाइदिए । जनतालाई कामलम्पट फोहोरी विचारका घीनलाग्दा कुरा नबेचेर असल, असलमात्र पुस्तक बेचेको आरोपमा पक्राउ परे उनी । उनी भारतका गल्ली गल्ली खानका लागि मात्रै पनि भौँतारिइरहेका थिए । त्यतिबेलै उनले थाहा पाए कि ठूलो मान्छेकाा लागि मात्र धर्मशाला रहेछन् । पार्टी, पौवा रहेछन्, आखिर बालबालिकालाई धर्मशालामा प्रवेश निषेध छ, पार्टी पौवामा असुरक्षा छ । सबै संघ संस्था ठूला मान्छेका लागि मात्र काम गर्दा रहेछन् । सानाका लागि कसले गर्ने ? उनी साहित्यमा पनि बालसाहित्यलाई नै समाएर अघि बढ्नुमा पनि त्यसैले भूमिका खेलेकाले उनको रचना – मान्यताबारे धेरै घोत्लिनुरहनु पर्दैन । उनको पहिलो कृृति ‘शान्तिको आत्मकथा’ देखि क्रमशः ‘झमककुमारी’, ‘चौध चम्किला कोपिला’, ‘उज्यालोको खोजीमा’, ‘हाम्रो आवाज’, ‘नयाँ बस्ती’, ‘परिवर्तन’, ‘केवलपुरे किसान’, ‘कान्छाकुमार कर्माचार्य’, ‘श्यामप्रसाद शर्मा’ लगायतका मौलिक कृतिमा पात्र चयन तथा व्यवस्थीकरण र ‘एउटा नयाँ पुलको निर्माण’, ‘खरायोको पुच्छर किन छोटो भयो ?’ ‘बालबगैँचा’ सम्मका चिनियाँ र रुसी कृति अनुदानका लागि पुस्तक चयन गरेको देख्दा पनि उनको रचना मान्यता बुझ्न सकिन्छ । साहित्यमा राजनीति हुनुहुन्न भनेर राजनीति गरिरहेकाहरूविरुद्ध बालबालिकालाई नै उठाउन प्रयत्नशील एउटा अभियन्ता हो विजय आचार्य । उनका कृतिमा सबैभन्दा प्रबल पक्ष भनेकै बालबालिकालाई समय बुझाउने प्रयत्न हो । उनी बालबालिकालाई कथा उपन्यासहरूमा यो त्यो पुगेन अभाव भो भनेर चिच्याइमात्र रहन लगाउँदैनन् । अथवा बालबालिकालाईज्ञानी बनाउन दुःखी गरिबहरूको सेवा गर्नुपर्छ भनेर सिकाउनेमात्र होइन, बरु तिनलाई सधैँभरी गरिब बनाइहेर आफूचाहिँ सधैँभरी धनी भइरहनेहरू को हुन् तिनलाई पनि बालबालिकासामु प्रष्टसँग चिनाउँछन् । अनि त्यसैलाई केही मान्छे राजनीति भनेर आरोप लगाउँछन् ।
विजयको सबैभन्दा ठूलो योगदान बालसाहित्यमा बालअन्तर्वार्ता र जीवित व्यक्तिहरूकै चित्रकथा तयार गरेर बालबालिकामा प्रेरणा, साहस, धैर्य, वीरता र राष्ट्रप्रेम भरिदिनु हो । नेपाली बालसाहित्यमा अहिले उनको एकल प्रयासबाट बालबालिका र देशकै लागि केही गर्ने व्यक्तिहरूको चित्रकथा सरल भाषामा पस्किनु राजभक्तिमाला र भूपालअर्चना लेख्दै गोजी भर्नेहरूका लागि एउटा सबक पनि हो ।
बालबालिकाको अन्तर्वार्ता ‘चौध चम्किला कोपिला’, कृतिले बालबालिकाका लागि भनेर चिल्ला कागतमा प्रतिवेदन लेख्दै विदेशी रकम झ्याम पार्नेहरूका पनि एउटा आँखासम्म खोलिदिएका हुनुपर्छ । यस्तो पनि पुस्तक हुनसक्छ भन्ने त्यसले एउटा उदाहरण देखाएको थियो । वास्तवमै शारीरिक रूपमा अपाङ्ग मानिएका साहसी नेपाली बालबालिकाको गौरवपूर्ण सफलता समेटिएको त्यो पुस्तक सरकार लोककल्याणकारी हुने हो भने सम्पूर्ण बालबालिकालाई एक प्रति निशुल्क छापेर पढ्न दिनुपर्ने कृति थियो । उनका सबैजसो कृतिमा नै पाइने प्रमुख विशेषता समाज परिवर्तनका लागि बालबालिकालाई आजैदेखि तयार बनाउने प्रयत्न गर्नु हो । उनी त्यसमा सफल पनि छन् । विजय आफै भन्छन्— ‘बालबालिकालाई धेरै माया गरेर एकैपटक धेरै प्रोटिन भएको खाने कुरा खान दियो भने माया गरे नगरेको एउटै हुन्छ । थोरै भयो भने पनि कुपोषित बन्छ । त्यसकारण उसलाई आवश्यक मात्रामा उपदेश, चेतना भरिदिने काम गर्नुपर्छ ।’
परिश्रम र मेहनतका साथ सामाजिक परिवर्तनका लागि साहित्यको प्रवाह गर्नुपर्छ भन्ने मान्यता राख्ने विजयराज आचार्यको जन्मथलो प्युठान जिल्लाको दाङवाङ हो । वि.सं. २०३३ माघ ९ मा जन्मिएका विजयले उमेरवर्ष बराबर नै कृतिहरू लेखिसकेका छन् । आचार्यलाई एउटा जागरुक साहित्यस्रष्टा र प्रगतिशील प्रकाशकको रूपमा चिन्न सकिन्छ ।
सचेत नेपाल
राष्ट्रि मासिक