बेलाको बोली
खगेन्द्र संग्रौला
कुन्साङ काकालाई सम्झना छ एकताका माओ बीपीका पनि क्रान्ति निर्देशक थिए । कुरा एकतीस बत्तीस सालतिरको हो । हाम्रा काका उसबेला तनहुँमा मास्टरी गर्थे । कतिपय रैथाने काङ्ग्रेसीहरू उनका मित्र थिए जसले उनलाई खुसुक्क “तरुण” पढ्न दिन्थे । सत्ताको उत्पीडन चरमोत्कर्षमा पुग्दा र काङ्ग्रेसी रोषले उग्र रूप लिँदा बीपीले पञ्चायती सत्तालाई चुनौती दिँदै माओको कोटेसन उद्धृत गरेका थिए— राजनीतिक सत्ता बन्दुकको नालबाट हासिल हुन्छ । बीपीका भाई जीपी र उनका मित्रहरू बागी राजनीतिमा माओको यसै उद्धरणबाट समेत दीक्षित भएका हुन् । माओका कृतिहरूका प्रकाशक विजयराजहरू पक्राउ पर्ने हो भने ती कृतिबाट दीक्षित भएका जीपीहरूचाहिँ किन पक्राउ नपर्ने ? आज पजेरोपथका अनुगामी भए पनि उसबेला माधवकुमार नेपाल र वामदेव गौतमहरू माओको यही विद्रोही कथनबाट शिक्षित भएका हुन् । विजयराजहरू पक्राउ पर्ने हो भने सनातन एमाले माकुने महोदय र फिर्ती पोइले एमाले वादेर्गौँ साहेपचाहिँ किन पक्राउ नपर्ने ? अनि माओका राजनीतिक सूत्रहरू रटाएर बीपीले राजनीतिमा आँखा खोलिदिएका शेरबहादुर महोदयले आफ्नै आदेशमा आफैलाई पक्राउ किन नगर्ने ? लाठेहरूलाई छाडिदिनु र विजयराजहरूलाई पक्राउ गर्नु जो होचो उसैका मुखमा घोचो भएन र ?
यतिखेर सङ्कटकालको निहुँमा शब्दका क्रूर सिकारीहरू सर्वत्र क्रियाशील छन् । बोलीको बध गर्न गोली उद्धृत भएको छ । शब्दका संवेदनशील कालीगढहरू, शब्दका रक्षकहरू र शब्दका प्रचारकहरूका विरुद्ध राज्यको बर्बर अभियान जारी छ । र उनी अहिले खोरमा थुनिएका छन् ।
उनी प्रुफ आफै हेर्थे । पुस्तकहरूको भारी बोकेर बिक्रेतााकहाँ पु¥याउन उनी आफैँ जान्थे । सडकका पेटीमा वा सभा गोष्ठीहरूका ढोकाबाहिर पुस्तक फिँजाएर पसल थाप्न उनी आफैँ पुग्थे । पुस्तक फिँजाउन र आनासुकी रकम उठाउन मेचीदेखि महाकालीसम्म उनी आफै दगुर्थे । उनी आफै आफ्नो मालिक थिए र आफै आफ्नो कुल्ली पनि । आफै प्रकाशक र आफै हकर । सङ्कटकालको निहुँमा शब्दको बध गर्ने हिंस्रक अभियानमा सत्ताले उनलाई कतै एकलासको खोरमा थुनेको डेढ महिना भयो । उनी कुन्साङ काकाका मित्र हुन् र उनका समझदार प्रकाशन पनि । उनको नाम हो विजयराज आचार्य । कुन्साङ काकालाई थाहा छ, विजय माओवादीका न अन्ध समर्थक हुन्, न अन्ध विरोधी । माओवादीले हाम्रो विषम सामाजिक संरचनातर्फ औँलो उठाएथ्यो । के त्यो बेठिक थियो ? माओवादीले सामाजिक न्यायका कुरा गरेको थियो । के त्यो असान्दर्भिक थियो ? माओवादीले जनप्रतिनिधिको भेषमा सिंहदरबारमा भित्रिएकाहरू भ्रष्टाचारका प्रणेता र अभियान्तामा रूपान्तरित भए भनेको थियो । के त्यो असत्य थियो ? माओवादीले शिक्षा र स्वास्थ्यमा जनहितका कुरा गरेको थियो । के त्यो अनुचित थियो ? माओवादीले महिला, दलित र जनजातिहरूका न्यायिक हकहरूबारे आवाज उठाएको थियो । के त्यो आवाज अनर्थ थियो ? कुन्साङ काकालाई सम्झना छ, माओवादीले उठाएका यी न्यायिक सबलहरूप्रति प्रत्येक न्यायप्रेमी नेपालीको जस्तै विजयराजको पनि सहानुभूति थियो । तर, माओवादीको चौतर्फी जबर्जस्ती, उसको अतिशय ध्वंशप्रेम र हिंसामोह, उसको बेहिसाब मित्रघात र उसको तालीबानी मैमत्तापनप्रति भने उनको गम्भीर असहमति थियो । तैपनि धमिलो पानीमा माछा मार्नेहरूका हातबाट विजयराज पक्राउ परे र अहिले उनी सरकारी खोरमा निसासिएका छन् ।
शासन सत्ताका अधिपतिहरूसँग कुन्साङ काका सविनय सोध्छन्— विजयराज कुन कसुरमा थुनामा परेका हुन् ? माओ त्सेतुङका रचनाहरू प्रकाशित गरेको कसुरमा ? माओ क्रान्तिका प्रयोगधर्मी चिन्तक हुन् र प्रगतिशीलल सामाजिक परिवर्तनका अथक अभियान्ता पनि । नेपाली माओवादीहरूझैँ माओ विध्वंशको खरानीको थुप्रो र लासहरूको वीभत्स चाङमाथि न्यायपूर्ण समाजको भवन स्वतः खडा हुन्छ भन्ने कुरामा कदापि विश्वास गर्दैनन् । विचारमाथि बन्दुकको हुकुम लादेर कल्याणकारी सामाजिक परिवर्तनको प्रवाह पैदा गर्न सकिन्छ भन्ने मूर्खतापूर्ण हठ माओमा छैन । माओ एक संवेदनशील सामाजिक चिकित्सक हुन् । क्रान्तिको माध्यमबाट रोगी समाजको शल्यक्रिया गर्दा रोगीको शरीरबाट ज्यास्ती रगत बग्यो भने रोगी मर्छ भन्ने कुरामा माओ सदैव सजग छन् । के त्यस्ता माओका कृतिहरू प्रकाशित गर्नु विजयराजको अपराधै भयो त ?
माओका कृतिहरू पञ्चायती राजमै नेपालीमा खुला रूपले प्रकाशित भएका थिए । विजयराजले त केवल तिनै कृतिहरूको पुनर्मुद्रण मात्र गरेका हुन् । के उदार भनिने यस पुँजीवादमा सङ्कीर्ण भनिने पञ्चायतले छुट दिएका विचारहरू सार्वजनिक गर्नु पनि ज्यादती भयो त ? विजयराजले माओका कृतिहरू त्यो बेला प्रकाशित गरेका हुन् जब शेरबहादुर देउबा सरकारी सञ्चार माध्यमबाट माओवादीहरूलाई ‘मित्रहरू’ भनेर प्रणययुक्त भाकामा सम्बोधन गर्दै थिए । ती कृतिहरू त्यो बेला सार्वजनिक भएका हुन् जब गरिजाबाबु र शेरबहादुरका जम्बोजेटका अगस्ती सवारहरू माओवादीहरूलाई चन्दा भरिरहेका थिए, तीसँग समुस्कान हात मिलाइरहेका थिए, तीसँग सप्रेम बफे डिनर ज्युनार गरिरहेका थिए । के हिजो राज्यले अनुमति दिएका कृत्यहरू गरेबापत नागरिक विजयराजहरूले आज माओवादीका नाममा दण्डित हुनुपर्ने हो ? यो अराजकताको परिणाम हो कि जङ्गली राजको ?
कुन्साङ काकालाई सम्झना छ एकताका मााओ बीपीका पनि क्रान्ति निर्देशक थिए । कुरा एकतीस बत्तिस सालतिरको हो । हाम्रा काका उसबेला तनहुँमा मास्टरी गर्थे । कतिपय रैथाने काङ्ग्रेसीहरू उनका मित्र थिए जसले उनलाई खुसुक्क “तरुण” पढ्न दिन्थे । सत्ताको उत्पीडन चरमोत्कर्षमा पुग्दा र काङ्ग्रेसी रोषले उग्र रूप लिँदा बीपीले पञ्चायती सत्तालाई चुनौती दिँदै माओको कोटेसन उद्धृत गरेका थिए— राजनीतिक सत्ता बन्दुकको नालबाट हासिल हुन्छ । बीपीका भाई जीपी र उनका मित्रहरू बागी राजनीतिमा माओको यसै उद्धरणबाट समेत दीक्षित भएका हुन् । माओका कृतिहरूका प्रकाशक विजयराजहरू पक्राउ पर्ने हो भने ती कृतिबाट दीक्षित भएका जीपीहरूचाहिँ किन पक्राउ नपर्ने ? आज पजेरोपथका अनुगामी भए पनि उसबेला माधवकुमार नेपाल र वामदेव गौतमहरू माओको यही विद्रोही कथनबाट शिक्षित भएका हुन् । विजयराजहरू पक्राउ पर्ने हो भने सनातन एमाले माकुने महोदय र फिर्ती पोइले एमाले वादेर्गौँ साहेपचाहिँ किन पक्राउ नपर्ने ? अनि माओका राजनीतिक सूत्रहरू रटाएर बीपीले राजनीतिमा आँखा खोलिदिएका शेरबहादुर महोदयले आफ्नै आदेशमा आफैलाई पक्राउ किन नगर्ने ? लाठेहरूलाई छाडिदिनु र विजयराजहरूलाई पक्राउ गर्नु जो होचो उसैका मुखमा घोचो भएन र ?
एकाचालिसे जम्बोका पुर्जाहरू काठमाडौँमा रिबन काट््दै सुगा रटान गरिरहेका छन्— लक्षित समूहबाहेक सङ्कटकालबाट कोही पनि पीडित भएको छैन । सङ्कटकालबाट लाभैलाभ र फलिफापै फलिफाप भएको छ । कुन्साङ काकाको विचारमा यो आफू रक्षकसहितको वातानुकूलित वाहनमा चढेर सबै मुलुकवासीहरूलाई आफूसँगै वाहनमा चढेको देख्नेहरूको विवेकहीन प्रलाप हो । लक्षित समूहबाहिरका विजयराज आचार्य राजधानी काठमाडौँमै पक्राउ परेका छन् । त्यहाँ जहाँ सञ्चारकर्मीहरू छन्, जहाँ मानव अधिकारवादीहरू छन्, जहाँ नागरिक समाजका प्रबुद्ध व्यक्तित्वहरू छन् र जहाँ छन् विदेशी कूटनीतिकहरू । यी सबैका नाकैमुन्तिर राजधानी महानगरीमा विजयराज पक्राउ परेका छन् भने थानकोटबाहिरको बृहत् नेपालमा कति असम्बद्ध विजयराजहरू पक्राउ परेका होलान् ? एकचालीसे पुर्जाहरू रिबन काट्नमा मस्त छन् र कुन्साङ काकाको प्रश्न अनुत्तरित छ ।
एमालेले चुनावी सरकार नामको सत्तामा उक्लिन आफूलाई सर पर्ने भर्याङको भीख मागेर सङ्कटकाललाई औँठाको ल्याप्चे सही प्रदान गर्यो । तर, अन्यायपूर्वक खोरमा थुनिएर नागरिक अधिकार कुण्ठित भएका विजयराजहरूलाई भने उसले बिर्सिदियो । पवित्र क्रोधका साथ कुन्साङ काका एमालेछेउ एउटा निवेदन गर्छन्– एमाले सत्ताका अर्दलीरूपी मुर्दाहरूको भीड होइन भने विजयराजहरूको मौलिक अधिकारको जोगाउ गर्नु र उनीहरूलाई नर्कबासबाट मुक्त गर्नु उसको पहिलो, जरुरी र अनिवार्य दायित्व होइन ? नत्र केको प्रतिपक्ष ? सरकार पक्षमा विधिवत् विलीन भएर एकचालीसे जम्बोका पुर्जाहरूमा एकाकर भए भैगो नि !
कान्तिपुर दैनिक पत्रिका
२०५८, फागुन ११, शनिबार