Menu Close

प्रतिभाको पहिचान

विदुर खतिवडा
बालबालिकाहरूका लागि विभिन्न विद्यामा प्रेरणादायी रचनाहरू लेखिएपनि बाल अन्तर्वार्ताको प्रकाशन त्यति भएको पाइएको छैन । स्रष्टा विजयराज आचार्यले प्रतिभावन् बालबालिकाहरूसँगको अन्तर्वार्तालाई लिएर ‘चम्किला चौध कोपिला’ नामक संकलित प्रकाशन गरेका छन् । जसलाई शनिबार उनका छोरा विवेकको चौथो जन्मदिन पारेर वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादबाट सार्वजनिक गरियो ।


विवेक सिर्जनशील प्रकाशनको यो कृतिमा शारीरिक, आर्थिक एवं सामाजिकलगायतका कारणले समाजद्वारा अपहेलित भएका प्रतिभावान् बालबालिकाहरूको संक्षिप्त परिचयसहित अन्तर्वार्ता समावेश गरिएको छ । जुन समाजका अन्य बालबालिकाहरूका निम्ति प्रेरणाको स्रोत बन्न सक्छ ।


हामीकहाँ प्रायः ठूलाबडा एवं विशिष्ट पहिचान बोकेका व्यक्तिहरूको मात्र अन्तर्वार्ताका लागि स्थान दिइन्छ । तर, आचार्यले देशका कुनाकाप्चा र देश बाहिरसमेत रहेका नेपाली बालबालिकाहरूसँगको कुराकानीलाई कृतिमा समावेश गर्नुभएको छ । प्रस्तुत कृतिमा समावेश गर्नुभएको छ । प्रस्तुत कृतिमा विगत ८ वर्षको पत्रकारिताको क्रममा आचार्यले संकलन गरेका १४ बालबालिकाहरूसँग अन्तरंग छलफल प्रस्तुत गरिएको छ । एकपछि अर्का बालबालिकासँगको कुराकानीको क्रमलाई विश्लेषण गर्ने हो भने पाठक आफैले उनीहरूसँग साक्षात् कुराकानी गरिरहेको हो कि भन्ने आभाष मिल्छ । कृति पढ्दा कतिपय ठाउँमा पाठकको आँखा रसाउने प्रकृतिका देशको परिस्थितिलाई सजिलै ढंगले प्रस्तुत गरिएको छ ।


पुस्तकमा ९ बालिका एवं ५ बालकको अन्तर्वार्ता प्रस्तुत गरिएको छ । जसमा तीनजना अपांग रहेका छन् । केही बालबालिका असहाय र टुहुरा पनि रहेका छन् । प्रतिभा सहरमा मात्र होइन ग्रामीण परिवेशमा पनि हुन्छन् । गाउँ–गाउँ, बस्ती–बस्ती पुगेर ओझेलमा रहेका भविष्यमा कर्णाधार बालबालिका खोज्नु निश्चय पनि गाह्रो काम हो । आचार्यले यसमा निरन्तरता दिन सक्नु र पुस्तकको रूपमा प्रकाशन गराउने बालसाहित्यमा नयाँ आयाम थपेको छ ।


‘अन्यायमा परेकालाई न्याय दिने न्यायाधीश बन्न चाहन्छु देखि लिएर मिहिनेती गरेर सरकारी स्कुलमा पढेर पनि उन्नति गर्न सकिन्छ’ सम्म बालबालिकाहरूको केही गर्न खोज्नु अठोटको तस्वीर कृतिमा समावेश गरिएको छ । दुई हात नभएकी सरस्वती शर्मा आफै खाने, कपाल कोर्न, चित्र कोर्न र पढ्ने कुरामा त्यति नै प्रतिभावान् देखिनुले सबलांगपनको छनक मिलेको छ । यस्तै अर्की बालिका सपना पोखरेल कठिन आर्थिक अवस्थाका बाबजूद उत्साह र आँट लिएर आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउँदै लैजानुले निश्चय पनि अन्यलाई उत्साह थप्दछ । भारतको नयाँदिल्लीमा बस्दै आएकी अर्की प्रतिभा बिमला राउत डाक्टर बनेर नेपालीहरूको सेवा गर्ने चाहना राख्छिन् । राउत विद्यालय जानुका अतिरिक्त दुई घण्टा ट्युसन पनि पढाउँछिन् । प्रवासी नेपाली बन्नुको पीडा राउतसँगको छलफलमा अभिव्यक्त भएका छन् । यस्तै प्रवासमा पिता गुमाएर नेपाल फर्केका बालक कृष्णप्रसाद खरेल र पिताद्वारा परित्याग गरिएका कवाडी बटुल्ने काममा लागेका कृष्ण भुजेलले गरिबी हुनाको पीडालाई आचार्यसँगको अन्तर्वार्तामा व्यक्त गरिएको प्रसंग अत्यन्त हृदयविदारक छ ।
भुकम्पले बाबुआमा दुवैलाई आफूबाट खोसेर लगे पछि टुहुरी भएकी सीता केसी परिवारका अन्य सदस्यहरूको विछोडलाई सम्झँदै भविष्यमा टुहुरा बालबालिकाहरूको संरक्षण गर्ने कार्यमा लाग्ने बताउनुहुन्छ ।


कृतिको केन्द्रबिन्दुमा रहेकी धनकुटाकी झमक घिमिरेले पढ्न लेख्ने गरेको संघर्ष र त्यसबाट पाएका सफलता हेर्दा शारीरिक रूपमा संबल नागरिकहरूको प्रेरणा मिल्न सक्छ । झमक अरूको साहारामा बाँचे पनि आजको आधुनिक सूचना प्रविधिको युगसँग परिचित हुन कम्प्युटरलाई चलाउन सक्षम भएको अन्तर्वार्तामा पाइन्छ । झमक अहिले कान्तिपुर दैनिकमा सफल स्तम्भकारको रूपमा परिचित हुनुभइसकेको छ । झमक सचेत नागरिकको हैसियतले देश विदेशको घटना क्रमहरूलाई तार्किक ढंगले विश्लेषण गर्न सक्षम हुनुहुन्छ ।


झमकले उत्साह अठोटले पाएको सफलताले सबलांगलाई पनि पछि पारेको छ । कृतिमा रहेका अन्य मिनाकृष्ण खड्का, दीपिका केसी, सुमन पन्त, पासाङ दोर्जे शेर्पा, मिनु केसी, सविन्द्र कुइँकेल सञ्जीवकुमार पाण्डेलगायतका बालबालिकाहरूको प्रतिभालाई आचार्यले आकर्षक ढंगले प्रस्तुत गर्नुभएको छ । यी बालबालिकाहरूको अन्तर्वार्तालााई समष्टिगत रूपमा हेर्दा कुनै स्वार्थ नबोकी देश विकासका लागि केही गर्न खोज्नु भावना प्रस्फुटित भएको पाइन्छ ।


कृतिको बारेमा आचार्य भन्नुहुन्छ यी बालबालिकाहरूको अन्तर्वार्तालाई समष्टिगत रूपमा हेर्दा कुनै स्वार्थ नबोकी देश विकासका लािग केही गर्न खोज्नु भावना प्रस्फुटित भएको पाइन्छ ।
कृतिको बारेमा आचार्य भन्नुहुन्छ ‘भविष्यको सुन्दर संसार निर्माणकर्ता बालबालिकाहरूलाई यो उपयोगी सामग्री बन्नेछ’ वरिष्ठ साहित्यकार जीवेन्द्रदेव गिरीका अनुसार ‘बालबालिकाहरू राष्ट्रिय सम्पत्ति हुन् यिनको समुचित विकास हामी सबैको चिन्ताको विषय बन्नु स्वाभाविक छ । ‘चम्किला चौध कोपिला’ ले त्यसतर्फ पनि हुटहुटी जगाउने काम गरेको छ ।’


शनिबारको कार्यक्रममा डा.कविताराम श्रेष्ठ, जीवेन्द्रदेव गिरी, यादव भट्टराई, मणि लोहनी, स्वागत नेपाल, पदम गौतम, चंकी श्रेष्ठ, प्रकाश सिलवाल, सौरभकिरण श्रेष्ठ, राजकुमार बानियाँलगायतले विचार प्रकट गरेका थिए । सोही अवसरमा विजयको अर्को प्रकाशोन्मुख कृति कान्छाकुमार कमाचार्य (सचित्र बालकथा) माथि पनि चर्चा गरिएको थियो ।
असार ५, शनिबार हिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *