झमक घिमिरे
कुरो कहाँबाट थालूँ म अल्मिएकी छु, पाठाकहरू कहिले म यसरी थाल्छु सायद लामो भूमिका किन बाध्नू म ? जसको माध्यमबाट यहाँसम्म आइसकेकी छु, हो अहिले म । विजयराज आचार्यकै बारेमा लेख्दैछु त्यो पनि मणि दाइको विशेष आग्रहमा हुन त विजयराज दाइले पनि आफ्नो परिवर्तन बालपन्यास बारेमा केही कुरो बोल्न आग्रह गर्नुभएको थियो त्यतिबेला थोरै समयको कारण देखाएर म सजिलै पन्छिएको थिएँ । हुन पनि हो न कसैको कृतिबारे बोल्दा त्यसलाई गहन अध्ययन गरेर मात्र बोल्न खोज्छ ताकि स्रष्टालाई मैले अन्याय नगरूँ । त्यतिबेला परिवर्तन उपन्यासमा स्रष्टा विजयराज हतारमा थिए । मलाई त्यो उनको हतारपन मन परेन र हतारमा केही गर्न सक्दिनँ भनेर पन्छिदिएँ । अचानक म एउटा कार्यक्रममा भाग लिन काठमाडौँ छिरेको बेला कवि मणि लोहनी दाइसँग भेट भयो । उहाँले पहिलो भेटमा नै ओहो ! आज त मैले धेरै अगाडिदेखि खोजेको व्यक्ति झमक सँग भेट भयो भन्नुभयो । म चूप लागेर यो मान्छेले मलाई खोज्नुको कारण के होला ? यो मान्छे किन मलाई भेट्न चाहन्थ्यो ? मनमनै सोचिरहे । मणि दाइले सँगै आएका विजयदाइलाई बाहिर पठाएको देख्दा यो मान्छेले मलाई विजयदाइको बारेमा नराम्रो कुरा सुनाउन खोजेको हेछ कि शंका लाग्यो । यदि यस्तो ग¥यो भने म त्यसलाई गतिलो जवाफ दिएर यसलाई पठाइदिन्छु मनमनै सोचिरहेकी थिए । तर मणिदाइ कहाँ त्यस्तो मानछे हुनुहुँदोरहेछ र ? वहाँले मलाई विजयदाइको विषयमा एउटा लेख लेख भन्नको लागि पो विजयदाइलाई बाहिर निकाल्नुभएको रहेछ । मलाई खुसी लाग्यो आखिर यो संसारमा मरो अक्षरले विजयराजको आवृति प्रवृत्तिहरूको रंग पोखिएको हेर्न चाहने मान्छे पनि रहेछ, त्यसैले मैले त्यो विशेष आग्रहलाई नाइँ भनेर पन्छाउन पनि सक्थेँ तर विजयराज आचार्य प्रति न्याय गरेको पटक्कै ठहरिनन्थ्यो । मलाई साहित्य क्षेत्रमा स्थापित गराउने धेरै हातहरूमध्ये एउटा हात विजयराज आचार्यको पनि छ । । यहाँ स्थापित भैसकेपछि जस लिनेहरू धेरै भए तिनको पक्षमा म सधैँ मौन रहे यसको मतलब यो होइन त्यो मेरो मौनता भित्र उनीहरूलाई ज्ञान दिएको आभाषको स्वीकारोक्ति थियो । तर म त्यो समयको पखाईमा थिएँ जुन समयले मलाई बोल्न लाउने छ । मैले ती हातहरूलाई बिर्सिन मिल्दैन जसले मलाई वाम सर्दा अवस्थामा आफ्नो हात दिएर हिड्न सहज पारिदिएका छन् । फूलका कोपिलाहरू लाग्दा ती कोपिलाहरूबाट सुन्दर फूलहरू फुलाउने आशामा बोटहरूलाई मलजल गर्नेहरूका हातहरूलाई मैले कसरी बिर्सने ? हो मेरो साहित्यिक यात्रामा कहीँ अभिभावक भएर, कहीँ प्रकाशक भएर कहीँ मित्र भए। सघाएका छन् विजयराज आचार्यले । मणि दाइलाई मैले लामो समयसम्म पर्खाएँ । मलाई पनि समयले कहिले कता कहिले कता पु¥याएर व्यस्त बनाई दियो । मलाई यतिका समउ पर्खिएर समेट्ने दाइ मणि तपाईलाई पनि धन्यवाद किनभने मैले तपाईमार्फत विजयराजको बारेमा बोल्न खोज्दैछु, म विजयराजलाई धेरै फुक्र्याउने पक्षमा छैन । उनको साहित्य सेवा देखेर म खुसी छु तर आफूलाई खोक्रो पारेर साहित्य सेवा चाहिँ कस्तो साहित्यसेवा हो ? उनले किताबहरू निकाल्न नसक्ने साहित्यकारहरूका किताब छापिदिए, नयाँ स्रष्टाका किताबहरू छापिदिएर गुण त लाएका छन् तर उनी कतै महत्वाकांक्षामा त डुबेका छैनन् ? उनले आफ्नो प्रकाशन संस्था विवेक सिर्जनशील प्रकाशन प्रा.लि. मार्फत कयौ नयाँ पुराना स्रष्टाहरूका किताबहरू छापेँ । ती किताबहरूको बिक्रि वितरण त्यति नभएको सुन्दा कता कता मनमा खल्लो लागेर आउँछ । तर विजयको काम देख्दा मलाई यो भन्न लाग्छ वषौँ देखि लाखौँ रूपैयाँ सरकारको लगानी भएका प्रकाशन संस्थाहरूले देशमा छरिएका प्रतिभाहरूको हकमा खोइ के गरे ? विजयराजले आफूले लेखेँ अरूलाई पनि लेखाए, आफूले सम्भावना देखेकाहरूलाई बाहिर ल्याइदिए । त्यति मात्र होइन, विजयराजले राम्रा बालकोपिलाहरूलाई फूल बनाएका छन् । त्यसमा विजयराजलाई हात समातेर थुप्रै प्रतिभाहरू बाहिर आएका छन् । त्यसमा विजयराजलाई जस दिनैपर्छ । प्रकाशकहरूको एउटै ध्याउन्न हुन्छ नाम चलेका साहित्यकारहरूमात्र किताब छाप्ने त्यसलाई नाफा कसरी उठाउने ? आम राजधानीका हरूको मात्र विशेष महत्व दिने मोफसलकाहरूलाई महत्व नदिने तर विजयराज त्यो भेद राख्दैनन् । अझ बूढा, युवा, बालक तीन पुस्ताका मान्छेहरूलाई सम्मान गर्छन् । त्यो पक्ष चाहिँ उनको राम्रो पक्ष हो । व्यक्तिगत रूपमा भन्दा मलाई यो कुरो मनपर्छ । मैले कतै बाट सुनेकी थिएँ उनले आफ्ना सन्तानहरूको न्वारान गरेनन्, बाहुन पढाएनन् । यो आफैमा राम्रो कदम हो सामन्ती संस्कारलाई एउटा चुनौती पनि हो । म उनको छोरा विवेकको जन्मदिनको दिन विवेक सिर्जनशील प्रकाशन प्रा.लि.बाट प्रकाशन भएका किताबहरूको विमोचनको एउटा कार्यक्रमको प्रमुख अतिथि भएर छिरेकी थिएँ । विवेक अर्थात् ज्ञान, बुद्धीलाई बाहिर ल्याउन उनले आफ्नो विवेक सिर्जनशील प्रकाशन छोरा जन्मिनु भन्दा पहिल्यै स्थापना गरिसकेका थिए क्यारे । यो कुरो मलाई अहिले एक्कीन याद भएन । त्यो संस्थालाई आफ्नो छोराको नामसँग जोडिदिएका हुन् भने विजयको यो काम चाहिँ राम्रो लागेन मलाई किनभने यो एउटा ज्ञान विवेकको मन्दिर भएर रहनुपर्छ त्यसका उत्तराधिकारीहरू एउटा विवेक मात्र होइन सयौँ विवेकहरू हुन सक्छन् । छोराको जन्मदिन त प्रत्येक वर्ष यसरी मनाउँछन् उनी छर छोरीको जन्मदिन कसरी मनाउँछन् ? मेरो मनमा प्रश्न उठिरहेछ र उनलाई मेरो धेरै धेरै शुभकामना !
२०६३ कात्र्तिक २९, बुधबार