Menu Close

विवेक जिन्दावाद

राजकुमार बानियाँ


झुक्किएर पनि म अनामनगरतिर पुगिरहन्छु । परिचयहीन हुनुको मज्जाले हुनसक्छ, अनामनगरतिर भौँतारिइरहन्छु । त्यहाँ दाहालको दैलोमा एउटा प्रकाशन गृहको अँध्यारो कोठामा विजयराज आचार्य मलाई ‘कमरेड’ या ‘दाइ’ यस्तै केके सम्बोधन गरिरहेको हुन्छ । मलाई के थाहा छ भने, म उसको दाइ उमेरको अवश्य होइन, कमरेडष् पनि होइन । उसका सम्बोधन जतिसुकै अप्रिय भएपनि म निस्पृह छु । लाग्छ, स्वजनकहाँ आइपुगेको छु, अन्तरंग साथी पाएको छु, मेरा कुरा सुन्ने धैर्य छ ऊसित । हुनसक्छ, उसकै कुरा ममाथि थोपरेको होस् ।


के खाले दाइ, चिया ! विजयराज आचार्य सवालजवाफ आफँै एकमुष्ठ दिन्छ । ममा चियाको पारखी होइन र चिया मेरो शत्रु पनि होइन । उसका मात्र होइन, कसैका पनि आग्रह, टाल्ने सामथ्र्य मसित हुँदैन । यसले मेलमिलापवादीभन्दा लाचार बनाउँदै लागेको पनि मलाई थाहा छ । चियाको मेसोमा यसबाहिर निस्केर मतिर कुन्नि कुन ब्रान्डको हो, फितावाल चुरोट मुखतिर सोझ्याउँछ । मैले भनेँ नि, उसका यस्ता अभद्र प्रस्ताव पनि मैले स्वीकार गरेको हुन सक्छु । विजय लापरवाह छ भन्ने मनसाय होइन मेरो । मलाई लाग्छ, मप्रति साँच्चै कृतज्ञ छ विजय ।


विजयराज आचार्यसित पहिलोपटक कलाकार बासु क्षितिजले साक्षात्कार गराएको मलाई हेक्का छ । स्पेसटाइम दैनिकको कार्यालय पानीपोखरी (पहिलेका पाकिस्तानी दूतावास) मा । त्यतिबेला भरखरै जेलबाट छुटेको हुनुपर्छ । माओवादीका प्रकाशन बेचेको आरोपमा पहिलो संकटकालमा तीन महिना थुनिएको थियो । त्यो विजय मसित संगत गर्न खोज्थ्यो, म विभिन्न कारणले असमर्थ हुन्थेँ ।


पछिल्लो समय, कतिपय कारणबाट इमानदार हुन नसके पनि कवि चंकी श्रेष्ठका कारण विजय घनिष्ठ छ । भाउजू पुष्पा र उसका केटाकेटीलाई पनि मैले नजिकबाट नियालेको छु । सा¥है असल भाउजू पाएको छ उसले । अनामनगरदेखि चोभरसम्मको विजयलाई मैले कति चिन्न सकेँ ? मलाई नै थाहा छैन । कवि मणि लोहनीले विजयका बारेमा लेख्न र इमेल गरिदिन भन्दा पनि असलमा म असफल भइरहेको छु । उसका बारेमा मैले के लेख्ने ? न मैले उसलाई महत्वपूर्ण ठानेको छु, न त म नै महत्वपूर्ण हुँ । खासमा मैले असल लेख्दैमा कोही ढुंगे अक्षरमा बस्ने होइन । जे होस्, लेख्दैछु, बस् बस्, औपचारिक लेख्दैछु । स्वजनको आग्रह टाल्न नसकेर लेख्दैछु । तर, विशेष लेखिरहेको पटक्कै भ्रम छैन मलाई ।


नयाँ साथीहरू ढुण्डी भनेर चिन्दैनन्, पुराना साथीहरू विजय भनेर बोलाउँदैनन् । यस्तै विरोधाभास छ उसमा । अनामनगरको सेरोफेरोमा भेटिने विजयको प्रकाशन गृह हो, विवेक सिर्जनशील प्रा.लि. । पाँचौ वर्ष नपुग्दै उसले सयौँ युवालाई लेखकको हुलिया दिएको छ । (त्यसमा म पर्दिन । उसले मलाई निरन्तर तीन वर्ष फरमाइस गरिरहेको छ) पैसा नहुने पनि नवलेखक बन्न पाएका छन् । असंख्य । तर, मलाई के थाहा छ भने, सीमित मात्र लेखक बन्न सकेका छन् । बाँकीले विजयलाई बोझ नै बनाएका छन् । सके ऋणको धनी पनि बनाएका होलान् । तापनि उसलाई मैले त्यति निराश पाएको छैन ।


विजयराज आचार्य किताबमाझ बसेको हुन्छ । किताबको थाकमा मलाई लोभ लाग्छ । विशेषतः अनुवाद कृतिमा । अधिकांश नेपाली कृति त हरियालीका शत्रु नै सावित भएका छन् । हरेक पानामा आगो चीत्कार नै हुन्छ । तर, ती सब पढेको छ के विजयले ? छैन, ऊसित त्यति धैर्य र फुर्सद छैन । संगठन, बालसाहित्य लेखन र साथीभाइको भीड । यी सबै सामना गरेर कम्तीमा मचाहिँ सफल हुन सक्दिन । ऊ किताब पढ्न सफल छ भने म उसलाई सम्मान गर्छु । दुई दर्जनभन्दा बढी किताब लेखेको छ उसले बालसाहित्यमा । अनुवादमा पनि चाख दिएको छ । बालबालिकाका हातभन्दा पहिले दिमाग सुसज्जित होस् भन्ने उसको चाह छ । उसलाई सफलता मिलोस् भन्ने मेरो कामना व्यर्थ हुन नहोस् ।


संघर्षशील र विद्रोही व्यक्ति हो विजयराज । पत्रिका बेच्दै, हरियाणाको क्यान्टिनमा नेपाली कान्छा बन्दै, सडकमा तीन वर्ष एक छाक भात खाँदै आज बालसाहित्यकार या प्रकाशन गृहको मालिक बन्न पुगेको छ । हिजोको काउब्वाई (बाख्रे गोठालो) आज नामी भएको छ ।


उमेरको हिसाबले पनि उपलब्धि हो यो । युवापुस्ता ऊजस्तै धारिलो र सचेत बन्ने हो भने असम्भव केही पनि छैन । पर्वत पन्छाउने बूढो मान्छे, गोर्कीको जीवनी, जनताका सेवा गरजस्ता किताब पढेर लेखक मात्र होइन, व्यवहारमुखी वामपन्थी बनाउने उसको अभ्यास पनि यस सन्दर्भमा जोड्न मिल्छ । वार्षिक एउटा किताब निकाल्ने उसको प्रत्रिबद्धता पनि स¥हानीय छ । केटाकेटीलाई औपचारिकभन्दा अनौपचारिक शिक्षामा उसले दिएको सन्देश मैले पनि ग्रहण गर्दैछु । मेरो तीनवर्षे छोरा आफ्नो पाठ्यपुस्तकभन्दा विजयले अनुवाद गरेका चित्रकथामा मज्जा भेट्छ । यस निम्ति पनि मैले विजयराज आचार्य जिन्दावाद भन्नैपर्छ । क्यावात् विजय भन्नैपर्छ ।
नव प्रतिपक्षराष्ट्रि साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *