नेपाली बालसाहित्य समृद्धिको दिशातिर उन्मुख हुँदैछ । विगतको दाँजोमा बालसाहित्य लेखनमा वृद्धि आउनुका साथै नयाँ नयाँ पुस्तकहरूसमेत निस्किएका छन् । बाल प्रकाशनको क्षेत्रमा देखिएको नयाँ उत्साह र जाँगरले यस क्षेत्रलाई विस्तारित मार्ग प्रदान गर्न यथेष्ट सघाउ पु¥याएको छ ।
बालसाहित्य प्रकाशनका क्षेत्रमा बितेको केही वर्षदेखि सक्रिय विजयराज आचार्यले बालबालिकाका निम्ति एउटा नयाँ कोसेली ल्याउनुभएको छ— “शान्तिको आत्मकथा ।” एउटी बालिकाको सङ्घर्षशील जीवनगाथालाई सरल र सोझो ढंगले उतारिएको कथावस्तु नै शान्तिको आत्मकथा हो ।
हामी बाँचिरहेको नेपाली समाज शोषण, अन्याय, अत्याचार र दमनको चौघेरोमा कैद छे । कैयौँ गरिब परिवारका बालबच्चाहरूले आफ्नो इच्छाअनुरूपका कार्यहरू गर्न पाइरहेका छैनन् । विपन्न आर्थिक अभावका कारण उनीहरूको जीवन सम्पन्न घरपरिवारको सेवा कार्यमा बितिरहेको छ । शिक्षाको अवसर प्राप्त गर्नु त उनीहरूका निम्ति निकै परको कुरा हो ।
लेखक आचार्यले पश्चिम नेपालको दैलेख जिल्लाकी एउटी बालिकाको सङ्घर्षशील जीवनयात्रालाई लेखनका विषय बनाउनुभएको छ । आफ्ना आम बुबा पहाडबाट तराई झरी सकुम्वासी जीवन बिताउन थालेपछि शान्ति सोही ठाउँका जमिन्दारको छोरीको कामदार बनेर काठमाडौँ आउँछे । काठमाडौँमा उसले एउटा असल शिक्षिकलाई भेट्छे । त्यही शिक्षकको प्रेरणा पाएर शान्ति र अर्कै घरमा काम गर्ने उनको साथी वसन्तीले पढ्न, रुचि देखाउँछन् । तर शान्तिको मालिक्नीले सो कुरा थाहा पाएपछि निकै कडा गर्दछे ।
आफ्नो मालिक्नीको कडाईको बाबजुद शान्तिले फुर्सदको क्षण शिक्षककहाँ गएर अध्ययन गर्दछे । सङ्योगवस, शान्तिका मालिक मालिक्नीले काठमाडाँै छाडेपछि शान्ति आफ्नै गाउँमा जान्छे र सात कक्षामा भर्ना भएर अध्ययन गर्न थाल्दछे । शान्तिको गाउँकै स्कुलबाट एसएलसी पास गर्दछे र त्यहीँ पढाउन सुरु गर्दछे ।
बाल मजदुरको रूपमा एक अप्ठेरो र असहयोगीहरूको घर परिवारमा काम गरेर शिक्षासमेत आर्जन गर्न पुगेकी शान्तिको आत्मकथा, नेपाली समाजमा रहेका अरू थुप्रै थुप्रै शान्तिहरूका निम्ति प्रेरणाको माध्यम बन्न सक्दछ । लेखक आचार्यले यस दिशामा उल्लेखनीय एवम् पं्रशसनीय काम गर्नुभएको छ । अर्को खुशीको कुरा के छ भने, सो आत्मकथा नेपाली मात्र होइन, अंग्रेजी भाषामा समेत लेखिएको छ । विवेक सिर्जनशील प्रकाशन प्रा.लि.द्वारा प्रकाशित सो बालसाहित्य पुस्तकमा युवक श्रेष्ठका चित्रहरू धेरै आकर्षक छन् ।
साहित्यकार विजय चालिसेले सो पुस्तकलाई एउटा सुन्दर कोसेलीको रूपमा उल्लेख गर्नुभएको छ । पुस्तकको अन्तिम आवरणमा छापिएको चालिसेका सङ्क्षिप्त भूमिका निकै महत्वपूर्ण रहेको छ– “हाम्रो समाजका यस्तै आफ्नो भविष्य आफै बनाउने शान्ति र यस काममा बाटो देखाउने माष्टरर काकाजस्ता असल मानिसको कथा सुनाउनुभएको छ विजय दाइले । यो कथामा तिमीहरू शान्ति र माष्टर काका मात्रै होइन, शान्तिहरूलाई सधैँ पढ्न लेख्न नदिएर कमारा बनाउन खोज्ने मानिसहरूलाई पनि भेट्नेछौँ ।”
२०६० वैशाख ३ गते बुधबार