कुनै बेला राजधानीका सडकहरूमा कराउँदै पत्रिका बेच्ने दाङवाङ–४, प्युठानका विजयराज आचार्य (३०) अहिले अरूका पुस्तक छापेर देशव्यापी बनाइदिन्छन् । उनको छ वर्षअघि काठमाडाँैमा स्थापना गरेको विवेक सिर्जनशील प्रकाशन प्रालिले पाँच सयभन्दा बढी साहित्यिक कृतिहरूको प्रकाशन, वितरण गरेर धेरै स्रष्टाहरूलाई छपाइको चिन्ता नगरी लेख्न हौस्याएको छ ।
एसएलसी परीक्षापछि भारतको हरियाणा पुगेर भाँडा माझेको, त्यहाँ असहनीय हेपाइ भोगेपछि स्वदेश फर्किएर काठमाडौँका सडक सडकमा अखबारु बेच्न थालेको, धेरै दिन भोकभोकै सुतेको विगतलाई करिअरको आधार ठान्ने आचार्यले पाँच हजार रूपैयाँ ऋण काढेर राजधानीका सभा, सम्मेलन, गोष्ठी तथा साहित्यिक कार्यक्रमहरूमा बोरा ओछ्याएर पुस्तक बेच्ने हिम्मत जुटाएका थिए । राजनीति र दर्शनका किताब बेचेकै कारण पहिलो सङ्कटकाल लागू भएलगत्तै माओवादीको आरोपमा चरम यातनासहत तीन महिना हिरासतमा बस्नुपर्दा उनले भविष्यबारे धेरै सोचे । हिरासत–मुक्त भएपछि अक्षरमाथिको सरकारी दुराग्रहविरुद्ध अक्षरकै खेती गर्ने उद्देश्य लिए पनि आफ्नै प्रकाशन प्रा.लि. स्थापना गरेर युवा सर्जकका कृतिहरू छाप्न थाले । मोफसलका कृतिलाई प्राथमिकता दिने प्रकाशन प्रा.लि.का सञ्चालक ÷ निर्देशक आचार्यको अहिलेको लक्षित बजार बनेका छन् राजधानीका स्कूल । मोफसलका प्रमुख शहरहरूमा पनि उनी पुस्तक पु¥याउँछन् । बाल साहित्यका हिमायती, ‘चम्किला चौध कोपिला’ मार्फत २०६० सालको सर्वोकृष्ट बाल साहित्यिक पुरस्कार पाइसकेका आचार्य भन्छन्, “समाजलाई केही दिन अक्षरको खेतीमा लागेको हुँ । वरिष्ठ साहित्यकारदेखि लिएर कनिष्ठहरूको समेत स्याबासी पाएको छु । यही नै मेरो अमूल्य कमाइ हो ।”
हिमाल खबरपत्रिका
१–१५ असार २०६४