अन्ध विश्वासलाई हाँक दिने किसान । सङ््घर्षलाई नाक ठान्ने किसान । विचारका खम्बा किसान । सिद्धान्तका सच्चा किसान । सिर्जनाका रस किसान, प्रस्तुतिका प्राण किसान । सरलताका सान किसान । हामी सबैका केवलपुरे किसान । सम्पूर्ण किसानका प्रवक्ता । साहित्यका स्रष्टा । विजय अभियानमा निरन्तर किसान । मैले प्रेम गर्ने किसान । साहित्यका किसान ।
किसानलाई विषय बनाउने विजय । विजय चाहने को हुँदैन । विजय हुन काम गर्नुपर्छ । किसानका विषयमा बालबालिकालाई जानकारी दिनका लागि सचित्र बाल कथा ‘केवलपुरे किसान’ प्रकाशन गरिनु खुसीको कुरा हो । यसले अग्रजको सम्मान र स्रष्टाको पहिचान एकै साथ गराउँछ ।
म विजयका निरन्तर क्रियाशीलतामा प्रत्यक्षदर्शी छु । अभावका बाबजुद सिर्जनामा लाग्न सक्नु ठट्टा होइन । म उनै विजयको ‘केवलपुरे किसानमा विचरण गर्ने अनुमति माग्छु ।
सन्दर्भ सचित्र बालकथा ‘केवलपुरे किसान’ को हो । युवा सर्जक विजय राज आचार्य विभिन्न ढङ्गले उज्यालोको खोजी गर्ने उज्यालोप्रेमी व्यक्ति हुन् । उनले सर्जकका साथसाथै प्रकाशक, वितरकको भूमिका पनि कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । सत्र ओटा पुस्तकको एकै पटक घुम्टी खोलेर होस् वा सात जना स्रष्टाद्वारा सिर्जित बाल पुस्ताको एकै पटक समीक्षा गरेर होस् अर्थात् विवेक सिर्जनशील प्रकाशन शृङ्खला कै माध्यमबाट किन नहोस् विजय निरनतर क्रियाशील छन्– साहित्य कै क्षेत्रमा ।
हुन त व्यक्तिले तनाउलाई सकारात्मक बनाउन सक्नु सिर्जनामा लागी पर्नु हो । नकारात्मक तनाउले पलायन बनाउँछ भने सकारात्मक तनाउले चाहिँ नवीन यात्राका लागि बाटो देखाउँछ । यो पनि भएन, त्यो पनि भएन भनेर निराशाको कुम्लो बोकेर हिँड्नु र सुस्केरामा डुब्नु भन्दा यो पनि गर्छु, त्यो पनि गर्छु भनेर हिम्मतका साथ अगाडि बढ्नु व्यक्ति स्वयम्का लागि र समाजका लागि पनि हितकर हुन्छ । विजयको लगनशील भएर धैर्य लिएर आफ्नो कर्मक्षेत्रमा निरन्तर लागे कै कारण कलिलै उमेरमा दर्जनौँ पुस्तक सार्वजनिक भए ।
जे मनमा आयो त्यही लेख्ने र समय कटाउन वा मन बहलाउन लेख्ने कित्ताको लेखकहरूले सामाविक दायित्व बुझेको र जिम्मेवारी बहन गरेको मान्न सकिँदैन । लेखकीय जिम्मेवारी प्रष्ट हुनका निम्ति वैचारिक स्पष्टताको नितान्त आवश्यकता हुन्छ । होस् नभएका बेलामा गम्भीर विषयको ख्याल गर्न नसके जस्तै नै मनमा आयो त्यही लेख्ने र विना उद्देश्य लेख्ने बेहोसी लेखकले पनि समाजिक जिम्मेवारी सम्हाल्न सक्दैन । यसरी हेर्दा होस भएका र होस नभएका अर्थात् सचेत र असचेत गरी दुई प्रकारका सर्जकहरू पाइन्छन् । विजय होस भएका सचेत सर्जक हुन् । उनी के, किन, कसका लागि कुन शैलीमा कस्ता कृति प्रकाशनमा ल्याउनु पर्छ भन्ने कुरामा चनाखो भएर लागछन् । यसैको पुष्टी गर्छ—‘केवलपुरे किसान’ ले ।
विकास निर्माणको भागबन्डामा खासै न्याय नपाएको प्युठान जिल्लाको ठूलो परिवारका एक सदस्यका रूपमा जन्मिएका विजयलाई जिल्लैमा सुखसयलले बाँच्न सक्ने पूर्ण स्थिति थिएन । काठमाडौँको बसाइँ उनका लागि अझै अग्नि परीक्षा थियो । केही गर्नुपर्छ भन्ने जीवनवादी दर्शनले स्पर्श गरेका कारण विजयले सङ््घर्षका मैदानबाट पीठ पर्काएनन् । आफ्नो ज्ञान र विवेकयुक्त क्रियाशीलताले उनलाई युवा साहित्यकारका रूपमा उभ्याएको छ । प्रकाशनका हिसाबले धेरै नवीन प्रतिभाहरूका मन जितेका विजय साहित्य क्षेत्रमा नौलो मानिँदैनन् । वितरकका दृष्टिले पनि फराकिलो सञ्जाल छ उनको । सर्जकका कोणबाट पनि आफ्ना समकालीन सहयोद्धाहरूसँग पौठेजोरी खेल्न सक्षम छन् ।
राजनीतिक सचेतका कारण सामाजिक दायित्वलाई पनि आत्मसात् गर्ने विजय मिहिनेती युवा प्रतिभा हुन् । विना हिच्किचाहट सडक पेटीमा समेत कैयौँ रात बिताएको र रोजीरोटीका लागि ‘हकर’ भएर पत्रिका बेच्नुपर्ने स्थितिबाट गुज्रिएका विजय घुम्ती पुस्तक पसल सञ्चालनका पनि एक योद्धा हुन् ।
जीवनका आरोहअवरोहरू खेप्दै काठमाडौँका विविध खाले समस्याहरूसँग जुध्दै हरेक हिसाबले साहित्यमा क्रियाशील विजय आफैपनि नव पुस्ताका प्रेरणा बनि सकेका छन् । उनले साहित्यका माध्यमबाट सामाजिक परिवर्तन दीर्घकालीन लक्ष्यको सङ््केत गरेको बुझिन्छ । सामाजिक सङ्रचना र चेतनाका हिसाबले अहिलेको पुस्ताले समयको गति राम्ररी बुझ्न सक्दैन । भोलिको पुस्ता भनेको अहिलेका बालबालिकाहरू नै हुन् । त्यसैले बालबालिकालाई सचेत र सबल बनाउने भनेको सामाजिक सङ्रचनालाई विश्व दृष्टििकोणका आधारमा रूपान्तरण गर्नु र वृद्धिका माध्यमबाट सही मार्ग निर्देशन गर्नु हो ।
कुनै पनि व्यक्ति प्रेरणा लिने र प्रभाव ग्रहण गर्ने कुराबाट पृथक रहन सक्दैन । हुन त अनि प्रतिभा सम्पन्न व्यक्तिहरूको हकमा कुरा बेग्लै हुन पनि सक्दछ । त्यसो त त्यस्ता प्रतिभालाई सही गोरेटो प्रदान गर्ने कार्य भने प्रेरणाले नै गर्छ । प्रतिभाले सर्जकलाई ठूलो बनाउँछ भने प्रभावले चाहिँ असल बनाउँछ । व्यावहारिक सफलताको कसीमा ठूलो र असलमध्ये एक रोज्ने हो भने असललाई रोज्नुपर्छ । एउटा भन्ने चलन पनि छ— ‘ठुलो होइन, असल बन ।’ ठुलो र असल दुवैको सन्तुलन कायम गर्ने कार्य प्रेरणाले गर्दछ । लेखकीय प्रतिभाको गति तीव्र हुन्छ, यसमा लेखकीय अहम् हुन्छ । असल व्यक्तिहरू कै चर्चा परिचर्चा हुनुका साथै इतिहासमा पनि भेटिने हुनाले प्रभावका माध्यमबाट सापेक्षित सफलता र गरिमामय छाप ग्रहण गर्ने र धैर्य लिने गुणको विकास हुन्छ । प्रतिभाको गति र प्रभावको सहमतिमा सबै अतिलाई त्यागेर सन्तुलन कायम गर्ने प्रेरणाको नेती कसिन्छ ।’
पारिवारिक जिम्मेवारी एउटा नागरिकको देशप्रतिको दायित्व थोरै अगुवाहरूमध्येको एउटा सर्जकले खेल्नुपर्ने भूमिका र यी सबै क्रियाकलापहरूका माध्यमबाट उज्यालोप्रतिको प्रेम नै विजयका अभीष्ट हुन् । “खाने मुखलाई जुँगाले छेक्दैन” भन्ने कुरालाई चरितार्थ गरेका विजयको चित्र बाल कथाको यो पछिल्लो कल्पनालाई दिन खोलेर प्रशंसा गर्नै पर्छ ।
यही समाज, सङ्स्कृति र व्यक्ति इच्छाको सङ्घर्षपूर्ण जीवन साथै सफल जीवनको प्रभाव ज्यादै पर्दछ । नव सर्जकलाई प्रेरणा प्राप्त हुन्छ । यो लेखनीको उद्देश्य प्रतिभा, प्रभाव र प्रेरणाको विशद चर्चा होइन, खालि सचित्र बाल कथा ‘केवलपुरे किसान’ को छोटो चर्चा गर्नु हो । चर्चित प्रगतिशील व्यक्तित्व किसानलाई पुस्तकको विषय बनाउनु आफैमा सही छनौट हो ।
विजयका प्रकाशित पुस्तकहरू ‘नयाँ बस्ती’, ‘उज्यालोको खोजीमा’, ‘परिवर्तन’ र ‘हाम्रो आवाजले’ आफ्नो कर्तव्यपट्टी सजग रहनलाई बाटो खनि दिएको छ । ‘चम्किला चौध कोपिला’, ‘बाल बगैँचा’, ‘खरायोको पुच्छर किन छोटो भयो ?’, ‘एउटा पुलको निर्माण’, ‘शान्तिको आत्मकथा’ आदि बालबालिकालाई सङ्वेदनशील बनाउने र विचार गर्न प्रेरित गर्ने खालका छन् । ‘झमक कुमारी’ शारीरिक असक्तताबिच पनि मानसिक कसरतले सफलता चुम्ने प्रयत्नशील प्रेरणाका उदाहरण बनेको छ भने ‘कान्छाकुमार’ रङ साहित्यको सफलताको कथा भएको छ । र ‘केवलपुरे किसान’ सङ्घर्षशील जीवनको सफलता ।
रङ साहित्यकार के.के कर्माचार्यको रङ सङ्योजनमा आवरणले जीवन पाएको छ । भादगाउँले टोपीमा सजिएको किसानको तस्विर आकर्षक छ । सानो कुनाको विनाटोपीको टोपी जत्रै तस्विर पनि कलात्मक र वैचारिक अनुभूति गराउने खालको छ ।
दोस्रो पृष्ठले नागार्जुन प्रतिष्ठानद्वारा प्रकाशनको दोस्रो पाइलाको सर्जमिन बन्छ । साहित्य क्षेत्रमा विभिन्न गतिविधिका साथ सक्रिय यस प्रतिष्ठानको आकर्षक प्रतीकका साथै चरित्र बाल कथाको जानकारी हुन्छ, विजयराज आचार्यको सङ्लग्नता आवरणबाटै छँदै छ । तेस्रो पृष्ठको छापाइ सूचीले चित्रकार देव कोइमी र आवरण तस्विर खिच्ने रोजन राईको परिचय दिन्छ ।
किसानका विषयमा विजयद्वारा लेखिएको हुनाले हुन सक्छ । प्रकाशकीय त्यहीँ रूपमा अर्थात् किसानको लेखन शैलीमा लेख्न खोजिएको छ । ‘क्षितिजको आशय’ कविता सङ्ग्रह र ‘पूर्णिमाको रात’ निबन्ध सङ्ग्रहका सर्जक पत्रकारितामा समेत सक्रिय नागार्जुन साहित्यिक प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालको कवित्व र केवलपुरेको व्यक्तित्व प्रकाशकीयमा कलात्मक रूपमा पोखिएको छ—
“टुहुरा र मान्छे” बाको मर्म बोक्ने केवल
केवल मात्र कहाँ हो र विचारको देवल”
युवा साहित्यकार देवी नेपालको ‘कथाका रूपमा किसानको पुनर्जन्म’ शीर्षकको भूमिकाले चर्चित किसान र मिहिनेती विजयका विभिन्न पाटाहरूको आकर्षक शैलीमा उजागर गरेको छ ।
बाल साहित्यका क्षेत्रमा विशेष क्रियाशील विजयले बालबालिका कै निम्ति प्रेरणा प्रदान गर्ने कृतिको सिर्जनाबारे सामग्री सङ्कलन र लेखन विधिका बारेमा आफ्ना धारणा प्रस्तुत गरेका छन् ।
केवलपुरे किसान कै कविताका अंशहरूलाई ‘छोटो मिठो’ शीर्षकमा समावेश गरिएको छ । ‘झन् छोटो मिठो’ शीर्षकमा विजयसँग भेट भएपछि लेखिएका किसानका कवितांश राखिएका छन् । त्यसपछि सुरु हुन्छ– सचित्र बाल्यकाल ‘केवलपुरे किसान’ को पृष्ठ बाह्रबाट ।
जन्ममितिबाटै अनिश्चितता बोकेर सुरु हुन्छ केवलपुरे किसानको जीवन कथा । जेठी आमाको भनाइलाई प्रमाणका रूपमा पेस गरेबाट टुहुरो भएको कुराको सङ्केत मिल्छ । कविता मै कुरा गर्न मन पराउने किसानको जोशिलो प्रस्तुतिका अभिव्यक्तिमा पनि आभास हुन्छ । पुरेतले राखि दिएको नाम षडानन्द, बदलेको नाम देवी प्रसाद, उपनाम किसान र साहित्यिक नाम केवलपुरे जन्म स्थानप्रति अगाध स्नेह गर्ने व्यक्तित्व हुन् ।
जेठी आमा र जेठाबाको माया ममता पाए पनि किसानलाई गाउँमा बसेर पढ्न सकिन्छ भन्ने लागेन । सानी आमाको डेरामा केही दिन बसे पनि चञ्चले किसान काठमाडाँैमा भान्छेको काम पाइन्छ भन्ने कुरा सुनेर सानीआमाका आँखा छली काम खोज्न थाले । भान्छे । काममा लाग्दै पढ्दै गरेका किसान दरबार हाइ स्कुलमा छात्रवासमा बसेर निःशुल्क पढ्न पाइने थाहा पाएर त्यही बसी पढ्न थाले । २००४ सालको ‘जयतु सङ्स्कृतम्’ आन्दोलनमा लागेका कारण बत्तिस जना विद्यार्थीलारुई देश निकाला गरियो । तीमध्येको एकजना केवलपुरे किसान थिए । वनारसमा विभिन्न पार्टीका नेताहरूका साथै महाकवि लक्ष्मी प्रसाद देवकोटासँग पनि किसानको भेट भयो । महाकवि देवकोटाकै प्रेरणाले किसान साहित्यमा लागे ‘आह्वान’ शीर्षकको कविताप्रति देवकोटाको हेराइ, स्वीकृति र छपाइले किसान उत्साहित बने ।
सामाजिक अन्ध विश्वासको जरो उखेल्नुपर्छ भन्ने किसान बाहुनको छोराले हलो जोत्नु हुँदैन भन्ने कुरालाई चुनौती दिन तयार भए सारा गाउँलेले उडाउनसम्म उडाए उनी कहिल्यै विचलित भएनन् । अध्ययन, लेखनमा लागि रहे २००९ देखि २०१६ सम्म पाँच ओटा पुस्तक प्रकाशन गरे । २०२० सालमा केवलपुरकै एउटा स्कुलमा पचहत्तर रूपैयाँ तलब लिएर पढाए । उनको पढाउने कार्य २०२९ सम्म निरन्तर रह्यो । त्यसपछि गाउँ मै खेती किसानी गरेर बसे । २०४५ ताक निस्केको पुस्तकका निहुँमा किसानका थुप्रै पुस्तकहरू जफत गरिए । २०४६ सालको जनआन्दोलनको सफलतामा ज्यादै खुसी हुने किसानका बहुदल आएपछि तिन पुस्तक र एउटा क्यासेट एल्बम प्रकाशित छन् ।
समयले कोल्टे फे¥यो । उनकी जीवन सङ्गिनी सावित्रीको निधनले किसानलाई ठुलो चोट प¥यो । छोरा बुहारीसँग सल्लाह गरेर सावित्रीको सम्झनामा केवलपुरमा पानी ट्याङ्की बनाइदिए । राणाहरूका ज्यादति विरुद्ध, पञ्चायती निरङ्कुशता विरुद्ध लडेका किसान बहुदलका विकृति, विसङ््गतिका पनि साक्षी हुन् । भारतीय इसारामा चल्नेहरूलाई घृणा गर्ने किसान पुस्तौली शासनको अन्त्य चाहन्छन् भन्ने कुरा यस सचित्र बालकथामा उल्लेखित छन् ।
महिला पुरुषका बिचमा समानताको विचार राख्ने किसान लोक साहित्यलाई विशेष मन पराउँछन् । भान्छे लाग्दा मालिकको छोराले दाल शरीरमा खन्याइ दिएको, कलेजो किनेर ल्याउँदा चिलले खोसेर लगेको कुरा, आगो नबलेर भान्छे लाग्दा रोएको विषय, खसीको माध्यमबाट दाजुको आँखा फुटेको प्रसङ्ग गोविन्दे बाहुनको घर्तिनीसँगको प्रेमका बारे कसैलाई पनि नभन्ने सर्तमा घिउ, चिउरा घुस खाएका घटनाहरूलाई प्रस्तुत गर्दै अठहत्तर वर्षका आरोह अवरोहलाई कथात्मक रूपमा पस्किएको छ । अन्तिम आवरणमा विजय राजका प्रकाशित पुस्तकका तस्विरहरू छन् । जनजनका मनमा आसन जमाउन सफल जनकवि केवलपुरेलाई लोकलयका रसिला कविताले स्थापित गरेका छन् । हँसिलो स्वभाव, होचो हद तर फुर्तिलो प्रस्तुतिले किसानलाई निम्न वर्गीय माया प्राप्त छ ।
नेपाली कांग्रेसले किसान र गरिब जनताको हित गर्दैन भनेर माक्र्सवादी बनेका उनले शोषण, दमन, अन्याय, अत्याचारको विरोध गर्दै समतामूलक समाज निर्माणका लागि आगो ओकेलेका छन् । विसङ्गति विकृतिलाई मट्टियामेट गराउनुपर्छ भन्ने सोच राख्ने किसान सरल शब्दहरूका आडमा बोलीचालीका पाराले कलासित घोलेर विचारलाई पस्कने व्यक्तित्व हुन् । प्रगतिशील व्यक्ति किसानले सङ्स्कृतको पूर्वमध्यमासम्मको अध्ययन गरेका भए पनि नेपाली समाजको चुरोलाई राम्ररी बुझेका छन् ।
केवलपुरेका साहित्यिक व्यक्तित्वको पुष्टि प्रकाशित ‘बाघ आयो’ (गीत–कविता सङ्ग्रह, २०२९), ‘नेपाल नछो (गीत–कविता सङ्ग्रह, २०१०), ‘छिः छिः’ ( गीत–कविता सङ्ग्रह, २०१२), ‘सङ्घर्षको ठिक गर’ ( गीत–कविता सङ्ग्रह, २०१६), ‘केवलपुरे किसानका गीत र कविताहरू’ (२०४५), ‘बोको खस्यो’ (कविता सङ्ग्रह, २०४८), ‘शङ्कैशङ्का’ (कविता सङ्ग्रह, २०५४), ‘आँसुको पोखरी’ (शोककाव्य–२०५६), ‘केवलपुरेको आन्द्राभुँडी’ (केसेट एल्बम, २०५८) कृतिले गर्दछन् । त्यसो त किसानका फुटकर प्रकाशित रचनाको नालीबेली पनि लामै हुन्छ । सम्पादनमा समेत भूमिका निर्वाह गरेका किसानको सामाजिक व्यक्तित्व पनि त्यतिकै प्रखर छ– अन्ध विश्वासका विरुद्ध हलोक्राीनत गर्ने किसान समाजलाई स्वस्थ वैज्ञानिक बनाउने कल्पना गर्दछन् । उनको शैक्षिक व्यक्तित्व पनि उदाहरणीय छ समुदायद्वारा सञ्चालित स्कुलमा अध्यापन गर्नुका साथै स्कुल सञ्चालनमा समेत सहभागी किसान शिक्षाको चेतना फैलाउने व्यक्तित्व पनि हुन् । ‘केवलपुरे प्रतिभा पुरस्कार’लाई हाल ‘केवलपुरे जनमत’ का नामले सञ्चालित छ ।
सामाजिक मर्यादा पाएका, राष्ट्रिय सम्मान भएका प्रेरक विशिष्ट व्यक्तित्वलाई नायक बनाउँदा मूल योगदानलाई विशेष ध्यान दिनुपर्छ । सोही अनुरूपको वर्तमानसित जोडेर विश्लेषणलाई पनि कथात्मक रूपले स्थान दिनुपर्छ ।
हरेक सत्प्रयास सफल हुँदैनन् । साथै आफू प्रस्तावित व्यक्तित्वका रूपमा खडा भएर प्रस्तुत हुँदा पूर्ण सम्बन्धित व्यक्तित्व कै रूपमा तटस्थ भएर प्रस्तुत हुँदा पूर्ण सम्बन्धित व्यक्तित्व कै रूपमा तटस्थ भएर प्रस्तुत हुन सक्नुपर्छ । बाल्यकालका रोचक प्रसङ्गहरूलाई सम्बन्धित स्थान मै भएको भए अझै राम्रो हुन्थ्यो । उपदेशात्मक रूपमा भन्दा कर्तव्यका रूपमा प्रेरणादायी प्रसङ्गलाई कथामा ढाल्नु बाल मनोविज्ञानलाई समाजप्रति सचेत गराउनु हो ।
जीवन भोगाइका विविध पाटाहरूलाई शीर्षक शीर्षकमा छुट्टाएर एउटै कथाभित्रका उपकथा जसरी अर्थात् कथाभित्र अर्को कथाका रूपमा पटकथालाई सिलसिलाबद्ध गरिएको भए अझै राम्रो हुने थियो । त्यसैगरी कथामा सङ्वादात्मक शैलीलाई पनि बाल बालिकाका तर्फबाट जिज्ञासाका रूपमा समावेश गरिएको भए पलाँसमा सुगन्ध भए झैँ हुन्थ्यो । किसानका विविध पाटाहरूका व्यक्तिलाई अलग अलग भागमा विभाजन गरी ‘जयतु सङ्स्कृतम्’ आन्दोलन जस्ता आन्दोलनहरूको मूलभुत उठान, सञ्चालन प्रक्रिया र बैठानको विस्तारमा दिनु पथ्र्यो । सुरुमा भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र जस्ता विषयहरू सङ्स्कृतमा पनि पढाइ हुनुपर्छ भन्ने बिन्दुबाट उठेको यो आन्दोलन कसरी राणा विरोधी बन्यो भने तथ्यले अहिले शिक्षालाई पनि कसरी लाने कुरामा बाल बालिका मानसिक तयारी गर्थे ।
हुन त कलिलो बाल मस्तिष्कलाई भारी बोकाउने काम साहित्यको होइन, मनोरञ्जन प्रदान गर्दै कर्तव्य बोध गराउन सक्नु बाल साहित्यको पराकाष्ठा हो । यसरी व्यक्तिलाई नायक बनाउँदा नकारात्मक कुरालाई थोक रूपमा र सकारात्मक कुरालाई विस्तारमा प्रस्तुत गर्नुपर्छ ।
आवरणबाटै वर्ण विन्यासका त्रुटिहरू देखिन्छन् । आवरणपछिको सुरु कै हरफबाट यसको पुष्टि हुँदै जान्छ । प्रकाशकीयको दोस्रो हरफ, भूमिकाको कवितापछिको दोस्रो हरफ कै दुई ओटा गल्तीले निरन्तरता पाउँदै अन्तिमसम्मै यस्ता हिज्जेका गल्तीहरू छन् । एउटै शब्दका बिच सबै ठाउँमा
एकरूपता नहुनु । प्रसङ्गको ख्याल नगरिनु, रेफको, विसर्गको र विभक्तिको उपयुक्त प्रयोग नहुनुले मिठो खाना खाँदा दाँतमा ढुङ्गा लागेको आभास हुन्छ । साथै वैज्ञानिक र प्राकृतिक दुष्टिले असम्भव कुरालाई भावुक भएर आशा राख्नु शुभकामना दिनु पनि यथार्थको पहिचान होइन ।
प्रगतिशील र यथास्थितिको पहिचान उसको लेखाइबाटै थाहा हुन्छ भन्ने किसान मनोरञ्जन र क्षणिक वाह ! वाह ! का लागि लेख्ने सर्जक होइनन्, उनका लेखनमा समाज हुन्छ, समाजको समतामूलक अपेक्षा हुन्छ, त्यति भइकन पनि सरल, सरस शब्द र शैलीमा माध्यमबाट विचार पस्कन खप्पिस छन् कतिहरूका किसान कै कविता सापटी लिएर लेख्दा–
“चाकडी गर्न जानेन यल्ले लात हान्यो डङ्डङ्डङ्
कविता पनि त्यस्तै नै लेख्यो फेरेन कहिल्यै रङ”
समग्रमा भन्नु पर्दा विजयले उदाहरणीय काम गरेका छन् । सर्जकलाई बालबालिकाबिच प्रेरणा स्रोतका रूपमा बालबालिका कै रुचि अनुसार पस्किनु विजयको खुबी हो । सरल ढङ्गको यो रोजाइ र लेखाइलाई अझै सरल बनाउँदै जानु र छनौट नायकलाई समग्रमा सिङ््गो रूपमा प्रस्तुत गर्नुले नायकप्रति न्याय र बालबालिकाप्रति सद्भाव प्राप्त हुन्छ । यस्तो सम्मान सर्जकका लागि विशेष खालको हुन्छ ।
उमेरले दिएसम्म समयले भ्याएसम्म किसान र विजयको सक्रियता रहिरहनु पर्छ । केवलपुरे किसानः विजयराज जवान ।
किसानलाई सम्मान । विजयलाई बधाई । मलाई बाइ बाइ, प्रेरणा लिने, प्रभाव ग्रहण र सिर्जनामा निरन्तर लागि रहने बानीले हानी गर्दैन ।
समीक्षात्मक निबन्ध
चेतनाको चित्र