Menu Close

विजय बधाई र विमति

प्रकाश सिलवाल

ऊ सम्पूर्णमा विवेकशील मान्छे होइन । तर अविजेय प्राणत्व बोकेर बिग्रे÷भत्केका अविवेकी शैलीलाई निरन्तर कुल्चन सफल भएको छ । उसलाई थाहा छ समाजका कतिपय रुढी आदर्श र त्यसको विरुद्ध लड्दा आइलाग्ने घाउका स्वादबारे । त्यसैले हुनसक्छ उसको नाम विजयराज आचार्य । बाल्यकालमा घर परिवारबाट पनि हेलत्व पाएको र यदाकदा वर्तमान समाजबाट पनि विविध आक्षेप खेपिरहेको विजयले हरेशलाई सदैव शत्रु ठान्ने गरेको छ । आफ्नो प्रगतिवादी चिन्तनमा नझुक्ने तर सकेसम्म एकोहोरो ढंगले हठ लागु गर्ने काम उसबाट सम्पादन हुँदै आएको छ ।


वस्तुतः कहिले नमीठा र मीठा तर क्षणिक सन्तोषलाई पनि हृदयमा अङ्गाल्न लागि पर्दा उसले धेरै मित्र बढाएको मात्र छैन, घटाएको पनि छ । त्यो बेग्लै पाटो हो, ऊ मूलतः एक साहित्यको व्यावसायिक प्रकाशक हो । विवेक सिर्जनशीलको प्रमुख हो । आफैमा क्रियाशील कलमको पर्याय पनि । हिजोको उही हकर, वितरक र प्रकाशक हुँदै सक्रिय लेखक भएको पाइनु एक प्रकारको विजय गाथा हो जसमाथि सानो लेखमा उतार्नु जटिल हुनेछ ।


आफ्नो छोरा विवेक ४ वर्षको नपुग्दै उसकै नाममा सञ्चालित विवेक सिर्जनशील प्रकाशनको चर्चा नचाहेर पनि भएको छ । चाहेर गएकोलाई पनि इतिहासको मस्यौदाको रूपमा हेरिनुपर्छ । खासगरि बाल साहित्य र अझ युवा स्रष्टाका अनगिन्ती पुस्तकको प्रकाशन र वितरणमा अपनाइएको शैली क्रमशः साहित्यिक संस्थाका लागि पनि अनुकरणीय बन्न थालेको छ । त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष अनुभव पङ्गितकारसँग पनि सुरक्षित छ । त्यसो त, यही यात्राले उसलाई बोझिलो बनाएको छ । र अरूलाई पनि गाँजेको छ । गरेर खान के सजिलो होला र ? तर विजयमा पश्चाताप छैन । यो उसको विशेषता हो । ऊ हारेको छैन । यो उसको मानसिक संरचनाबाटै निर्मित विजय हो । जानेर वा नजानेर बोझलाई नै शक्ति र समाधान ठानेका कारण ऊ कुनै दुर्घटनामा परेको पाइएको छैन । यस अर्थमा ऊ एक प्रकारको सफलतामा छ । यो प्रशंसा होइन ।


जहाँसम्म विजयको लेखन यात्रा छ, यो पनि करिब प्रकाशन प्रा.लि.को जस्तै दुर्घटनारहित सफलताको दौडमा छ । यो वा त्यो कारणले नजिक तथा कारण वा अकारण बेला बखत विवाद र सहमतिको शैलीमा ऊसँग सामेल भएको हुनाले मलाई के लाग्छ भने विजयको लेखकीय क्रियाशीलता लोभलाग्दो छ । रर त्यो चर्चामा उसले अपनाएका विविध शैलीको उठान अनुकरणीय । अक्षर अध्ययन बिन्दुमा एकै रात बसेर त्यही कोठामा पर्सिपल्ट पाण्डुलिपिमाथि बहस गराउने मात्र होइन आफ्ना कृतिको अनुवादमा पनि ऊ हरू मित्रभन्दा अगाडि छ । यो समष्टीगत योगदानको पक्ष हो । यसको मानक विश्लेषण र मूल्याङ्कन विज्ञ समालोचकले क्रमशःmm गर्नेछन् । कालजयी वा मेधावी प्रदर्शन भए नभएको बारेमा समालोचकले विश्लेषण गरेमा हामी जस्ता शुभेच्छुकलाई लाभ हुने थियो ।


विजजय व्यक्तिगत रूपमा खराब मित्र होइनन् । त्यसैले झगडा गरेरै भएपनि उसका अघि पछि धेरै मित्र टिकिरहेका छन् । आफ्नो कुरा माथि पार्न सधैँ सक्रिय र पछि परिएमा पार्नेको भरमग्दुर विरोध गर्ने सामथ्र्यले उसलाई भित्रैदेखि खिचेको छ । छिटो खुसाउन र रिसाउन उसलाई कसैले सिकाउन पर्दैन । ऊ अरूका चाकडी गर्दैन तर आफ्ना पक्षको कुरालाई कान ठाडो पारेर सुन्छ । त्यतिबेला उसको अनुहारमा बेग्लै चमकता देखा पर्दछ । यिनै गुण सम्पन्न सहयात्री िविजयको सहमति वा आफ्नै महत्वाकांक्षी योजनामा सबैका लागि प्रयोगशील कवि मित्र मणि लोहनीबाट यो संकलनको कार्य सम्पादन भएको छ । यस अर्थमा बेखुशी वा आपत्ति जनाउनुपर्ने कारण छैन । जुन प्रयास भएको छ यो पनि एक प्रकारको समीक्षात्मक धारणा बोटल्न ठिकै होला । नयाँ र युवा मनको मूल्याङ्कनको परिपाटी बसाल्न यसले मद्धत दिनेछ । तर पनि कसैको बारेमा एकाएक वा रहस्यमी रूपमा भन्दा स्वतस्फूर्त र आवश्यकीय ढंगबाट लेखिनु अझ श्रेयस्कर हुनेछ । अन्यथा विजयमाथि लेखाउने तालमेल विजय मणिको व्यक्तित्व दीर्घ बनाउन फलदायी हुन सक्दैन । मलाई लाग्छ यतिबेला भने उनीहरू असफल छैनन् । विजयलाई बधाई मणिलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *