Menu Close

विजय यात्रातर्फ अग्रसर विजय !

प्रमोद प्रधान

विजयराज आचार्य अर्थात् सङ्क्षेपमा विजय ! विजयलाई मैले कहिले चिनेँ— मलाई सम्झना छैन । मम विराटनगरमा भएकै बेला उहाँ मलाई भेट्न मेरो कार्यालयमा आउनुभएको चाहिँ मलाई सम्झना छ तर त्यो पहिलो भेट थियो कि दोस्रो म अहिले ठम्याउन सकिरहेको छैन । नेपालगञ्जमा रहँदा पनि भेट भएको हो कि जस्तो लाग्छ । विराटनगरमा आएको बेला मेरो नेपाली बालसाहित्यको इतिहासको दोस्रो संस्करण आफूले छाप्न चाहेको उहाँले मलाई बताउनुभएको थियो । एउटा लेखकका लागि यो भन्दा खुसीको कुरा अरू के हुनसक्छ ? पुस्तक प्रकाशन गर्न अत्यन्त गाह्रो रहेको अहिलेको अवस्थामा दोस्रो संस्करण छाप्न उहाँ अग्रसर हुनु मेरा लागि सुखद प्रसङ्ग थियो । पहिलो संस्करण छाप्ने बगर फाउन्डेसनले नछाप्ने भएमा सो कृतिको दोस्रो संस्करण उहाँलाई नै छाप्न दिने मैले त्यसबेला प्रतिबद्धता व्यक्त गरेको थिएँ । त्यो प्रतिबद्धता हामी दुवैबाट पूरा भइसकेको छ । अर्थात् मैले त्यो पुस्तक उहाँलाई जिम्मा लगाएँ, उहाँले पनि आफ्नो प्रतिबद्धताअनुसार पुस्तक छाप्नुभयो ।


काठमाडौँमा २०६० को माघमा सरुवा भई आएपछि विजयसँगको मेरो भेटघाट, कुराकानी र छलपललको क्रम बढेको छ । यो स्वभाविक पनि हो । उहाँ बालसाहित्यको लेखन र प्रकाशन कार्यमा समर्पित भई लाग्नुभएको छ । बालसाहित्यमा मेरो पनि अत्यधिक रुचि छ । वास्तवमा हामी दुईलाई जोड्ने सेतु पनि बालसाहित्य हो ।


अत्यन्त छोटो समयमा विजयको प्रकाशन संस्था विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले अत्यधिक पुस्तक प्रकाशित गरेर एउटा रेकर्ड नै कायम गरेको छ । विशेष गरेर उनको प्रकाशन संस्थाको योगदान दुई क्षेत्रमा महत्वपूर्ण देखिन्छ । पहिलो, बालसाहित्यका क्षेत्रमा सस्तो मूल्यमा अत्यधिक पुस्तक प्रकाशित गरेर बालबालिकासम्म पु¥याउनु र दोस्रो, योजना सुरु गरेर धेरै नयाँ र प्रतिभाशाली लेखकका पुस्तकहरू छापेर प्रोत्साहित गर्नु । यी दुवै कार्यमा उनको संलग्नता मात्र छैन, समर्पण रहेको छ । यही समर्पणले उनलाई भविष्यमा एक महत्वपूर्ण प्रकाशकका रूपमा प्रतिष्ठा प्रदान गर्ने मेरो विश्वास रहेको छ । छोटो समयमा अत्यधिक कृति प्रकाशित गर्ने र नयाँ लेखकलाई प्रोत्साहित गर्ने महत्वपूर्ण कार्य सम्पन्न गरिसकेका हुनाले अब उनले र उनको प्रकाशन संस्था विवेक सिर्जनशील प्रकाशनले वार्षिक योजना बनाएर कति बालपुस्तक छाप्ने, कति अन्य पुस्तक छाप्ने भन्ने निक्र्योल गरेर तदनुरूप उत्कृष्ट र महत्वपूर्ण पुस्तकहरूको प्रकाशनमा ध्यान दिनुपछए भन्ने मेरो विचार छ । यसतर्फ मलाई लाग्छ मैले भन्नु भन्दा अघि नै उनले सोचिसकेका छन् ।


विजयको व्यक्तित्वको अर्को महत्वपूर्ण पाटो हो– लेखकको । उनले अत्यन्त छोटो अवधिमा थुप्रै बालपुस्तकको रचना र अनुवाद गरेका छन् । यस्ता कृतिहरूमा शान्तिको आत्मकथा (२०५९), झमककुमारी (आत्मकथात्मक शैली, २०६०), परिवर्तन (बालउपन्यास, २०६०), उज्यालोको खोजीमा ( चित्रकथा, २०६१), नयाँ वस्ती (उपन्यास, २०६१), केवलपुरे किसान (२०६१), हाम्रो आवाज, (?) आदि मौलिकृतिका साथै अनुदित कृतिहरूमा बालबगैँचा (चिनियाँ बालकथा, २०५७), एउटा पुलको निर्माण (वान युन, बालकथा २०५८), खरायोको पुच्छर किन छोटो भयो ? (श्वी क्वाङसी, चित्रकथा, २०५९) र विश्वप्रसिद्ध बालकथाहरू ( ?) रहेका छन् । उनको प्रतिभाशाली बालबालिकासँग गरिएको कुराकानीमा आधाति कृति चम्किला चौध कोपिला वि.सं २०६० मा प्रकाशित भएको छ ।


विजयको सबै कृतिका बारेमा यहाँ चर्चा गर्दा लामो हुन्छ । त्यसैले त्यतातिर म जान्नँ । तर समग्रमा भन्दा उनका बालकृतिहरूको महत्वपूर्ण विशेषता भनेको नेपाली समाजमा रहेका अन्तरविरोधीहरू, शोषण, भेदभाव, अन्धविश्वास र रुढिवादको अन्त्यका लागि नेपाली बालबालिकालाई सचेत पार्नु हो । वास्तवमा नेपाली समाजलाई समुन्नत र भेदभावरहित समाजका रूपमा रूपान्तरण गर्ने कार्यमा नयाँ पुस्ताको योगदान आवश्यक छ र यो कार्य बालबालिकाबाटै सुरु हुनुपर्छ भन्न विजयको सोच वास्तवमै अग्रगामी सोच मान्नुपर्छ । परिवर्तन र नयाँ वस्ती उपन्यासलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । परिवर्तन सडक बालबालिकाको जीवनमा आधारित छ र यसले उनीहरूको समस्यालाई प्रस्तुत गर्नुका साथै उनीहरूलाई कसरी जीवनमा अगाडि बढ्न सकिन्छ भन्ने पनि सिकाउने प्रयास गरेको छ । पाँच सडक बालक र एक सम्पादकको इतिवृत्तमा घुमेको यस उपन्यासले नेपाली बालबालिकालाई आफूजस्तै अन्य बालबालिकाका पीडा, समस्या र स्थिति बुझाउन यो उपन्यास सफल छ । उनको अर्को उपन्यास नयाँ वस्तीमा ब्राह्मण र दलितबिचको विवाहका माध्यमबाट जातीय सहिष्णुताको सुन्दर सन्देश दिइएको छ । समाजको रूपान्तरणतर्फ अग्रसर यो कथाले बालबालिकाको सोचको क्षितिजलाई उघार्ने विश्वास गर्न सकिन्छ ।


शान्तिको आत्मकथामा विजयले कमैयाको पीडालाई मुखरित गरेका छन् । यसमा बालश्रम शोषणकोे चित्रण गर्दै उनले त्यस्तो पीडाबाट मुक्ति दिने कार्यमा लाग्न जिम्मेवार व्यक्ति, संस्था र सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गरेका छन् । उनका केही कृति नेपाली साहित्य र कलक्षेत्रका विशिष्ट व्यक्तित्वका जीवनमा आधारित छन् । यसले उनी साहित्य र कलक्षेत्रका अग्रजहरूलाई कति सम्मान गर्छन् भन्ने पुष्टि हुन्छ ।


विजयका बालकृतिहरूको अध्ययन गर्दा के स्पष्ट हुन्छ भने उनी सामाजिक रूपान्तणको गुरुत्तर जिम्मेवारी अब नयाँ पुस्तालाई दिनुपर्छ भन्ने कुरामा दृढ छन् । उनका बालकृतिहरूका विषयवस्तुले पनि यही तथ्यलाई अघि सारेका छन् । वस्तुतः उनका यस्ता कृतिहरूमा बालबालिका र समाजका कुरीतिहरूसँग सम्बन्धित कुरालाई नै विषय बनाएको पाइन्छ । अपाङ्ग र बालप्रतिभाहरूलाई प्रोत्साहन, समाजमा विद्यमान शोषण र सामन्ती प्रवृत्तिको चित्रण, वर्गीय चेतना र वर्ग सङ्ग्रहको व्याख्या उनका बालकृतिहश्रका विशेषता हुन् । उनी बालकृतिमार्फत बालबालिकालाई ऐक्यबद्ध भई अगाडि बढ्ने जीवनोपयोगी प्रेरणा पनि दिन्छन् । उनको यो एकलव्य यात्राले उनलाई आफ्नो लक्ष्यप्रति दृढ भएको देखाउँछ । वास्तवमा छोटो समयमा उनले लेखन र प्रकाशनका क्षेत्रमा हासिल गरेका उपलब्धि हामी सबैका लागि प्रेरणादायक छ ।


विजयसँग धेरैपटक बालसाहित्यका क्षेत्रमा गर्न सकिने कार्यहरूबारे छलफल भएको छ । बालसाहित्यका क्षेत्रमा समर्पित अर्का युवा कार्तिकेय घिमिरे र विजयसँग बसेर बालसाहित्यका बारेमा भविष्यमा गर्ने कार्यबारे पनि धेरैपटक कुराकानी भएको छ । योजना पनि बनेका छन् । मेरो जिम्मामा दुवैले केही काम दिएका छन् । त्यो कार्य गर्न बाँकी नै छ । गर्नुपर्छ भनेर मैले पनि अठोट गरेको छु । तर अनेक बाधा व्यवधानर व्यस्तताले गर्न सकिरहेको छैन । विजय र कार्तिकेयले जिम्मा लगाएका काम म २०६३ सालभित्र पूरा गर्न प्रतिबद्ध छु । विजय जस्ताको हुटहुटीले नै मलाई पनि बालसाहित्यमा अझ सक्रिय हुन सहयोग पु¥याएको छ भन्दा मलाई लाज लाग्दैन । विजयको विजय यात्रातर्फको यो यात्रालाई म शुभकामना व्यक्त गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *