प्रमोद प्रधान
विजयराज आचार्यको ‘चम्किला चौध कोपिला’ सरसर्ती हेर्ने अवसर पाएँ । यो अवसरका लागि हार्दिक धन्यवाद ! नेपाली बालसाहित्यका क्षेत्रमा यो पुस्तकसँगै ‘बालअन्तर्वार्ता’ विधाको प्रवेश भएको छ । पहिलो पुस्तकको रूपमा यसको आफ्नै प्रकारको महत्व छ । यसबाहेक अन्तर्वार्ता लिइएका बालबालिका रर अन्तर्वार्ता पढ्ने बालबालिका दुवैले प्रोत्साहन पाउने हुँदा यसप्रकारको अन्तर्वार्ताको विशिष्टतालाई लामो व्याख्यामार्फत् बताइरहनु आवश्यक छ्रैन ।
नेपाल अधिराज्यको पूर्वी, मध्य र पश्चिमी भाग तथा नेपालबाहिरका बालबालिकाको अन्तर्वार्ता प्रस्तुत गरी सबै क्षेत्रमा दृष्टि पु¥याउने लेखकको प्रयास उल्लेखनीय छँदैछ, त्यस बाहेक नौजना बालिका र अझ त्यसमध्ये पनि तीनजना अपाङ्ग बालिकाको अन्तर्वार्ता प्रस्तुत गरी उनीहरूको प्रतिभा र विचारलाई प्रस्तुत गर्नु स्तुत्य प्रयास हो । यस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि अझ सुधार गर्नुपर्ने विषय पनि प्रस्तुतमा छन् ।
१. पहिलो अन्तर्वार्तामा अन्तर्वार्ता सुरु हुनु अगाडिको परिचयात्मक वर्णनमा ‘आजभन्दा १४ वर्ष अगाडि’ को साटो वि.संं. …. भनेर लेख्नु राम्रो हुन्छ । अन्यथा बालबालिका भ्रममा पर्न सक्छन् । पुस्तक छापिनुभन्दा १४ वर्ष अगाडि कि अन्तर्वार्ता लिँदाको समयभन्दा १४ वर्ष अगाडि ? फेरि अन्तर्वार्ता कहाँ, कहिले छापियो त्यो पनि उल्लेख छैन ।
२. बालबालिकाले प्रश्नको उत्तर दिँदा तथ्यगत त्रुटिहरू हुनसक्छन् । त्यस्ता त्रुटि अन्तर्वार्ताकारले सच्याई दिनुपर्छ । पृष्ठ ९ मा ‘जिल्ला शिक्षा निर्देशनालय’ उल्लेख छ; त्यो त्रुटिपूर्ण छ । कि जिल्ला शिक्षा कार्यालय हुन्छ कि क्षेत्रीय शिक्षा निर्देशनालय ! यस्ता तथ्यगत त्रुटिले बालबालिकालाई गलत सूचना दिन्छन् ।
३. संक्षिप्त नामसूचीको सकेसम्म प्रयोग गर्नुहुँदैन । बालबालिकालाई त्यसको पूर्णरूप थाहा नहुनसक्छ । सञ्जीवकुमार पाण्डेको अन्तर्वार्ता अगाडिको परिचयात्मक वर्णनमा उप.म.न.पा र मा.वि. प्रयुक्त छन् ।
४. झमककुमारीको परिचय प्रस्तुत गर्ने क्रममा बुबाको नाम अगाडि ‘श्री’ को प्रयोग गर्नु तर आमाको नाम अगाडि प्रयोग नगर्नु ठीक होइन । त्यस्तै पृ.२२/२३ को झमककुमारीको सामग्री आवश्यक छैन, पुनरावृत्ति मात्र भएको छ ।
५. भाषिक एवम् व्याकरणगत त्रुटि प्रशस्त छन् । बालबालिकाका पुस्तकमा यति धेरै त्रुटि हुनु राम्रो होइन । छापिएको कुरालारुई सत्य र सही ठान्ने मानसिकता बालबालिकामा हुने हुँदा त्रुटिहरूलाई नै उनीहरूले पछिसम्म ठीक ठानेर ग्रहण गर्ने हो भने उनीहरूको भाषा कस्तो हुन्छ– हामीले विचार गर्नुपर्छ ।