के.के कर्माचार्य
विजयराज आचार्य र मेरो सम्बन्ध धेरै पुरानो होइन । तथापि थोरै भएपनि अविस्मरणीय हुँदो रहेछ । सम्भवतः हाम्रो सम्बन्धको सुरुआत वहाँले पुस्तक प्रकाशन गर्न थालेदेखि हो । यसपछिको कदम हकरबाट सुरु गरेको भन्ने सुनेको थिएँ । केही साथीहरूसित मिलेर सुरु गरेको यो कामले वहाँको भविष्यका रेखा कोर्यो भन्न सकिन्छ । उन्नत समाज निर्माण गर्न जन चेतनाको ठूलो महत्व हुन्छ । त्यसको लागि राम्रो माध्यम मध्ये एउटा प्रकाशन पनि हो । यही कुरालाई मनन गरी विजयराजजीले पहिला सानो स्केलमा प्रकाशनको काम सुरु गर्न भयो । त्यहीँ कारणले वहाँको र मेरो भेट हुन पुग्यो । यसमा वहाँले थोरै समयमै सफलता हासिल गर्नुभयो । मैले वहाँबाट प्रकाशित बालसाहित्य र केही अरू साहित्यिक पुस्तकहरूको आवरण डिजाइन गर्ने अवसर पाएँ । विवेक सिर्जनशील प्रकाशन प्रा.लि.को प्रतिक चिन्ह डिजाइन गर्ने मौका पनि पाएँ । आज विवेक सिर्जनशील प्रकाशन प्रा.लि. एक स्थापित प्रकाशक भैसकेको छ । वहाँसँग मेरो धेरै नजिकको सम्बन्ध रहेन तर गाढा सम्बन्ध भने रह्यो । मान सम्मान बिच हुर्किएको हाम्रो सम्बन्ध सिर्जनशील काममा आजसम्म पनि अटुट नै रह्यो ।
आफुलाई युवा भन्न रुचाउने विजयराजसँग हुने बेला बखतको भेटघाट र भेटवार्तामा अत्यन्त सुनिश्चित विचारबाट निर्दिष्ट परिपक्व विचारहरू राख्ने गर्नुहुन्छ । मलाई लाग्दछ वहाँ काठमाडौँ आउँदा पनि निश्चित विचार लिएर आएको अनुभूत हुन्छ मलाई । वहाँको हरेक कार्य सिर्जनशील र प्रगतिशील हुन्छ । हरेक आफ्ना नयाँ कामलाई सफलल असफल भन्दा पनि बढी सुरुआतलाई जोड दिनुहुन्छ । यसले वहाँको हरेक कार्यगतिको निमित्त थप ऊर्जा दिइरहेको हुन्छ । नविन कुराहरू सोचिरहने, प्रगतिशील विचार बोक्ने, सिर्जनशील क्रियाकलाप गर्ने वहाँको कार्यशैली भएको मलाई लाग्दछ । वहाँका कतिपय क्रियाकलापहरू सम्झना योग्य हुन्छन् । त्यसमधये एउटा कार्य छ, जो मेरो मनमा बारम्बार आइरहन्छ । मलाई लागदछ यो कार्य वहाँको अग्रगामी सोचमध्ये एउटा हो । त्यो कार्य हुँदाको मिति मलाई याद रहेन । वहाँको पिताजीको देहावशान हुँदाको कार्य हो ।
आचार्यजीको पिताजीको देहावशान भयो । हाम्रो विद्यमान रुढिवादी समाजमा अधिकांशले पितृ सम्मान, श्रद्धा आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार गर्ने गर्दछ । तर वहाँले पृथक ढंगले गर्नुभयो । यहाँ सम्झन खोजेको वहाँको पिता स्वर्गीय हुनुभएको तेह्राँै दिनको पुण्य तिथिको कार्य हो । त्यस दिन एउटा सानो श्रद्धान्जलि सभाको कार्यक्रम गर्नुभएको थियो । मैले पनि खबर पाएँ । करिब २ जबेतिर चोभार, टौदहमा वहाँको दाजुको निर्माणाधीन निवासमा पुगेँ । अरू केही गन्यमान्यहरू पनि आइसक्नु भएको थियो । कार्यक्रम माथि कौशीमा गरेको थियो । श्राद्ध, पुजापाठ केही पनि थिएन । अरू दाजुहरूले वर्षि बारेनन् कपालसम्म काट्ने काम गरे जस्तो लाग्छ तर विजयजीले त्यस्तो केही पनि गर्नु भएन । आफ्ना दाजु, भाउजू, ठूला, घरपरिवार सबैलाई चित्त बुझाएर यो कदम उठाएको कुरा वहाँकै अभिव्यक्तिबाट बुझियो । श्रद्धान्जलीका श्रद्धासुमन र सम्वेदना अर्पण गर्ने कार्यक्रम थियो । खगेन्द्र संग्रौला, हरिगोविन्द लुइँटेल, रुद्र खरेल, मोहन विक्रम सिंह, प्युठान जिल्लाका तत्कालिन सांसद र अरू केही विद्वान्हरूले श्रद्धान्जली र सम्वेदनाका शब्दहरू अर्पण गर्ने कार्य भयो । हाम्रा अन्धविश्वासका कुराहरू, आधुनिक समाजको विकास गर्ने जस्ता कुराहरू आआफ्ना वाणीबाट प्रस्ट्याउने कार्य भए । त्यसै क्रममा विजयराज आचार्यले पनि आफ्ना केही कुराहरू व्यक्त गर्नुभयो । वहाँले पुरातन रीतिरिवाज, परम्परा, अन्धविश्वासलाई तोडेर आफूलाई पृथक ढंगले प्रस्तुत गर्नुभयो । प्रगतिवादी अथवा प्रगतिशील अग्रजहरूले यसबारे पनि ध्यान दिन आवश्यक भैसकेको छ । नयाँ पिढीलाई यस्ता कुरीति, अन्धविश्वासबाट मुक्ति दिलाउन मार्ग निर्देशनको खाँचो औल्याउनु भयो । त्यस प्रसंगमा निनु चापागाईबाट लिखित कृतिबारे पनि केही चर्चा गर्नु भयो । हाम्रो समाजलाई आधुनिकता तिर कसरी अगाडि लाने भन्ने कुरामा वहाँको आफ्नो हरेक क्रियाकलापहरूमा देखिने गर्दछ । तथापि य िघटनामा वहाँ र वहाँका परिवार एक नमूनाको रूपमा प्रस्तुत हुनु भएको छ । यसै अवसरमा वहाँले अर्को एउटा अत्यन्त महत्वपूर्ण कुरा अगाडि सार्नुभयो । नयाँ पिढी, नयाँ पुस्ताका लागि पुराना अदुरदर्शी, रुढीवादी चिन्तन, विद्यमान अन्धविश्वासलाई नयाँ सोच र नयाँ ढंगले नयाँ समाज, आधुनिक समाजमा रूपान्तरण गर्न एउटा मार्ग दर्शनको रूपमा नीति थिति ल्याउन अग्रजहरूसँग आग्रह गर्नुभयो । त्यसका लागि वहाँले रु. २०,००० बिस हजार समर्पण गर्ने वचन त्यही सार्वजनिक गर्नुभयो । यो वहाँको अत्यन्त सहानीय र प्रशंसनीय समर्पण हो भन्ने मलाई लाग्दछ । यसलाई एउटा अग्रगामी सोच, समाज प्रतिको गहिरो चिन्तन भएको एक नेपाली युवकको रूपमा लिनु पर्दछ भन्ने मलाई लाग्दछ । अस्तु ।
के.के. कर्माचार्य
२०६४/४/११