विजय चालिसे
होचो, होचो गोरो अनुहारको नम्र र मिजासिलो एउटा भलाद्मी केटो विजयराज आचार्यलाई मैले आठ दश वर्ष पहिले संभवतः झोँछेको प्रभात प्रिण्टिङ प्रेसमा पहिलोपल्ट देखेजस्तो लाग्छ, शान्तदास माननधरको घरमा ! त्यतिबेला संभवतः शान्तदासजीको प्रेस र बालकोसेली पत्रिकामा सघाउँथे विजयजी । शान्तदास दाइलाई चित्त बुझाएर लामो समयसम्म उहाँसँग काम गर्नु आफैमा सजिलो काम थिएन, धेरैको अनुभव त्यस्तै सुनेको थिएँ मैले । त्यसैले हुनसक्छ विजयजी त्यहाँ टिक्न सकेनन् ।
संभवतः त्यसपछि नै हुनुपर्छ, उनी कवितारामजी लगायत अन्य धेरैको संलग्नतामा सञ्चालित बालबालिकासम्बद्ध एउटा संस्थामा संलग्न भए । बालपत्रिका प्रकाशन गर्ने मूल ध्येयसहित अस्तित्वमा आएको त्यो कम्पनीबाट केही अङ्क बालपत्रिका समेत प्रकाशित भयो । त्यो कम्पनीको नाउँमा प्रकाशित बालपत्रिकाको प्रकाशनमा र कम्पनीको सेयर पुँजी जम्मा गर्ने काममा विजयको उल्लेख्य सक्रियता रह्यो । उनको त्यो परिश्रम र सक्रियता खेर गएन, उनको त्यो सक्रियताले उनलाई नेपाली बालसाहित्यका लेखक पाठक समूहसँग परिचित र स्थापित गराउन निकै सहयोग ग¥यो । त्यतिबेला उनकै बारम्बारको आग्रह पन्छाउन नसकेर मजस्तो सामान्य आर्थिकस्तरको निरीह लेखकले समेत त्यो कम्पनीमा पाँच हजार होकि, दश हजार रुपियाँको सेयर लगानी गर्न पुगेको थिएँ । तर दुर्भाग्य, त्यसको कुनै निस्साप्रमाण समेत आजपर्यन्त पाउन सकेको छैन मैले । काम गर्नेहरूको आलोचना मात्र हुने र काम नगर्नेहरू ठूलो स्वरमा विरोध मात्रै गरेर पद ओगट्ने हाम्रो सनातन प्रवृत्तिले विजयजी सायद त्यो संस्थामा अटेनन् र त्यसबाट अलग्गिए सायद । त्यसपछि त्यो कम्पनी पनि विखण्डित भयो क्यारे । मजस्ता लेखकले पसिना भिजाएर दुई चार पैसा जोगाउँदै लगानी गरेको त्यो सेयरको रकम के भयो, कहाँ पुग्यो, कुनै जवाफ आजसम्म पाइएको छैन ।
जे होस् त्यो कम्पनीबाट अलग्गिएपछि पनि केही गरि छाड्ने विजयको दरिलो अठोट र उत्साहले उनलाई निस्कृय बस्न दिएन । त्यसैले उनले आफ्नो नितान्त एक्लो प्रयासमा सुरु गरे । बालसाहित्यको प्रकाशन, सिर्जनशील प्रकाशन । उनको एक्लो प्रयासले सुरु भएको सिर्जनशील प्रकाशन आज विवेक सिर्जनशील प्रकाशनका नाउँले आफैमा एउटा सशक्त प्रकाशन गृहको रूपमा रूपान्तरित भैसकेको छ । व्यक्ति विजय पनि अब संस्था विजय बनिसकेको छ । साहित्य अनुत्पादक ठान्ने मानसिकता र किनेर पढ्ने बानी पटक्कै नभएको हाम्रो सन्दर्भमा एक्लो व्यक्तिको प्रयत्नमा एक सयभन्दा बढी शीर्षकका पुस्तकहरूको प्रकाशनको खतरा उठाउने काम अवश्य पनि कम आँटिलो काम होइन । यस्तो दुस्साहस विजयजस्तै आँटिलो मान्छेले मात्रै गर्न सक्छ र आँट गर्नेले नै संसारमाथि विजय पनि हासिल गर्छ । यही आँट र लगनशीलताले विजयलाई एउटा सफल प्रकाशक मात्र नभएर संभावनायुक्त आशलाग्दो लेखकका रूपमा समेत अगाडि बढाएको छ । यिनले प्रकाशनका अवसर जुटाइदिएर धेरै स्थापित साहित्यकारलाई गुन त लाएकै छन्, कतिपय नवोदित लेखकहरूलाई प्रकाशनको अवसर दिएर अघि बढ्न पनि हौस्याएका छन् । म झोँछेको एउटा गल्लीबाट निस्किएर उन्मुक्त आकाशमा विचरण गर्न निस्केर व्यापक बनेका विजयराजको यो संघर्षपूर्ण यात्राको लगभग प्रारम्भिक कालखण्डदेखि निकटतम दर्शक रहँदै आएको छु । त्यसैले निशङ्कोच भन्न सक्छु म, अस्तित्वको लागि संघर्षरत अविश्रान्त यात्री गर्न लायक जीवन कथा बन्न सक्छ ।
अघि नै भनेँ, विजयले अरूलाई प्रकाशनको उज्यालो देख्ने अवसर मात्र दिएका छैनन्, आफै बालसाहित्यको लेखनमा संलग्न भएर उल्लेख्य कृतिहरू पनि दिएका छन् नेपाली बालसाहित्यको भण्डारमा । उनको विषय प्राय समाजका तिनै बालबालिका हुन गरेका छन्, जो समाजिक शोषणको चक्रव्यहूमा परेर कोही सडकलाई आफ्नो संसार ठान्न बाध्य छन्, कोही घरेलु बाल श्रमिकका रूपमा आफ्नो बालककाल साटिरहेका छन् शोषण र उत्पीडिन डुबेर । उनको “परिवर्तन” उपन्यास हेर्नोस् वा ” उपन्यास हेर्नोस् वा “नयाँबस्ती”, र “शान्तिको आत्मकथा” तिनका घटना हाम्रै वरिपरिका घटना हुन्, तिनका पात्र हाम्रै वरिपरिका पात्र हुन्, तिनका परिवेश हामी बाँचेकै समकालीन परिवेश हो । तर यी दुःख पाएका विजयका पात्रहरू पलायनवादी पात्र होइनन्, उनीहरू रचनात्मक भविष्य निर्माण गर्न कम्मर कसेर लागेका छन्, उनीहरू संघर्षबाट भाग्दैनन्, अरूलाई अर्तिउपदेश दिने तर आफू अरूको केही सुन्न नचाहने कथित आदर्शको मुखौटो आढेर साखुल्ले बन्नेहरूबाट पनि सिक्नै खोज्छन् उनीहरू र तिनलाई पनि आदरसम्मान दिन पछि पर्दैनन् । यसरी विजयका पात्र संघर्षमा रम्छन्, नयाँ सुन्दर संसारको निर्माणको सपना देख्छन् र त्यो सपनाको निरपेक्ष द्रष्टा मात्र नबनेर त्यसको प्राप्तिका लागि संसारसँग लड्छन्, भाग्दैनन् । आफूलाई बालबालिकाको हितैषाी ठान्ने केही सुकिला र सम्पन्न अनुहारको ओठे सहानुभूतिको नाटकलाई राम्ररी बुझ्दछन् विजयका पात्रहरू र त्यस्ता प्रवृत्तिबाट बच्न सदा प्रयत्नशील रहन्छ । दुःख पाएका केटाकेटीलाई सताउने मात्र नभएर इमान्दारीपूर्वक सघाउने केही असल पात्रहरू पनि छन् विजयका रचना संसारमा । र यस्तै सघाउने नाउँमा सुकिलो अनुहार देखाएर नजानिँदो पारामा तिनैको शोषण गर्ने खसीको खोलमा अनुहार लुकाएर खोर पस्ने ब्वाँसाहरू पनि छन् उनका केही पात्रहरूमा, जुन हाम्रो यथार्थ हो । विजयका रचना संसारमा देखा पर्ने सत्य र यथार्थको प्रतिनिधित्व गर्ने काल्पनिक पात्रका साथै शारीरिक रूपमा अशक्त देखिएर पनि मानसिक र सत्कर्मको क्षमतामा शारीरिक रूपले आफूलाई सबल ठान्नेहरूभन्दा सशक्त उपस्थिति र अस्तित्व सिद्ध गर्न सफल जीवन्त र प्रेरणादायी पात्र “झमककुमारी” को संघर्ष गाथालाई पनि अमर तुल्याएका छन् विजयले आफ्नो लेखनका माध्यमद्वारा । यस अतिरिक्त अन्य असल साहित्यकारहरूको बालोपयोगी जीवनीसम्ममा हात चलाएर विजयले नेपाली बाल पाठकलाई लगाएको गुन संभवतः इतिहासले आफ्ना पानाहरूमा सुरक्षित पारिसकेको छ ।
सुन्दर विचार बोकेर हिँड्ने मान्छेको व्यवहार पनि सुन्दर हुनुपर्छ, बाशिबाट सुन्दर देखिएका दानाको गुदी कुहिएको रहेछ भने दिगमिग लाग्दो हुन्छ । हामीले अरूलाई केही कुरा सिकाउनु अघि आफैले गरेर देखाउनु पर्ने हो तर त्यो भइरहेको छैन भन्ने विजय आफ्ना यी उद्गारलाई भविष्यमा पनि सार्थक पार्न सकून्, संघर्ष यात्राका यी अवि।ान्त यात्री विजयलाई सफलताको शुभकामना ।
आरुबारी
फागुन ७, २०६२