काठमाडाँै । बालसाहित्य तथा राजनैतिक पुस्तकहरू प्रकाशन गर्दै आएका सिर्जनशील प्रकाशनका प्रकाशक विजयराज आचार्यलाई माओवादीको आरोपमा पक्राउ गरिएकोमा एमेनेष्टी इन्टर नेशनलको ध्यान आकर्षित भएको बताएको छ ।
९ जनवरीका दिन सेनाहरूले आचार्यलाई उनकै निवासमा पुगी त्यहाँ भएका सम्पूर्ण पुस्तक तथा उनको मुखमा पट्टी र हत्कडी लगाई गिरफ्तार गरिएकोमा विरोध जनाएको छ । प्रशासनले माओवादीको आरोपमा पक्राउ गरेको बताए तापनि यस सम्बन्धमा प्रधानमन्त्रीले उनलाई छोड्न सकिने बताउनुभएको थियो । तर कहिले छोड्ने भन्ने प्रश्नमा उहाँले उल्लेख नगरेको कुरा एमेनेष्टीको वक्तव्यमा जनाइएको छ ।
पक्राउ गरिएपछि निज आचार्यलाई हिरासतमा विभिन्न प्रकारको दुःख कष्ट दिएकोमा एमेनेष्टीले विरोध जनाएको छ । हाल विजयराज आचार्यलाई हनुमान ढोकाको जिल्ला प्रहरी कार्यालय हनुमान ढोकाका अनुसार उनलाई सेनाद्वारा नै छानविन भैरहेकाले राय आउन बाँकी रहेको प्रहरीले बताएका छन् ।
अनेरास्ववियु (छैठौँ) प्रकाशन विभागको सदस्य साथै नेपाल पत्रकार महासंघका राष्ट्रिय पार्षद् समेत रहेका आचार्यलाई विना कारण यसरी गिरफ्तार गरिएकोमा सर्वत्र समाजसेवी, मानवअधिकारवादी तथा राजनैतिक पार्टीहरूले बारम्बार विरोध जनाउँदै आएका छन् । निज आचार्यको रिहाइको सम्बन्धमा राष्ट्रिय जनमोर्चाले बारम्बार प्रधानमन्त्री समक्ष आवाज उठाइरहेको छ ।
यसरी सरकारले विनाकसुर विपक्षी राजनैतिक पार्टीका कार्यकर्ता, समर्थकहरूलाई माओवादीको आरोपमा गिरफ्तार गर्दै जाने हो भने भोलिका दिनहरू नेपाली जनताका लागि अत्यन्त कष्टकर र दुःखदायी हुनेछन् । सरकारले विभिन्न मानवअधिकारवादी संघसंस्था, राजनैतिक पार्टी, पत्रकारहरूको न्यायपूर्ण आवाजलाई बेवास्ता गर्दै गएमा भविष्यमा अझ विकराल स्थिति सिर्जना हुनसक्ने पर्यवेक्षकहरू बताउँछन् ।
९ माघ २०६४
२३ जनवरी, २००८