धेरै दिन पछि फेरी तपाईसँग शब्द सम्वाद गर्न मन लाग्यो । अघिल्लो पत्रमा तपाईको प्रतिक्रिया कस्तो रह्यो थाहा छैन । यो पत्र तपाईको हातमा कहिले पर्दछ त्यो पनि मलाई थाहा छैन । यतिखेर एक्लोपनको न्यास्रो मेट्ने साथी बनाउन खोज्दैछु म तपाईलाई । तपाईलाई मेल गरेको थिएँ हेर्नु भयो कि भएन थाहा भएन त्यसपछि मैले मेल खोलेको छैन । तपाईको वेवसाइट हेर्न खोजेँ तर खुलेन किन ? तपाईलाई याद छ अप्ठेरो पर्दा म तपाईकहाँ आउँथेँ मनको बोझ बिसाउन । तपाईसँगको सुख दुःखका गन्थनले, भलाकुसारीले मन केही हलुङ्गो हुन्थ्यो, मनको बोझ बिसाउन पाउँदा पनि हलुङ्गो महसुस हुन्छ हैन र !
कहिले काहि किन मन निरन्तर उदास हुन्छ । म छक्क पर्दैछु । गफ गर्ने नेपाली साथीहरू छन्, डिउटीको नियमितता छ तैपनि केही दिनदेखि मलाई त्यसै त्यसै उदास लागेको छ दिनहरू । निरास र एक्लो भएको बेला म मन परेको कुनै सामाग्री पढ्थेँ । कथा, लोककथा वा व्यक्तित्व विकास सम्बन्धी सामाग्री जसबाट म फेरी स्वाभाविक अवस्थामा फर्कन्थेँ, एक दिन पनि रहँदैनथ्यो यस्तो स्थिति तर यहाँ हप्तादिन देखि म उदासीपन, एक्लोपनबाट निस्कन सकिरहेको छैन । न त लेखनमा मन दिन सकेको छु न त अध्ययनमा नै । त्यसो त पढ्ने सामाग्री नै के छ र यहाँ युवराज नयाँ घरेको ‘मुहुर्तको वरिपरि’ अंग्रेजी बोलचाल, अरविक भाषा सिकाउने सानो पुस्तक र मूल्याङ्कनको एउटा पुरानो अङ्क अनि यहीँबाट प्रकाशन हुने प्रवासी देउरालीको केही अङ्क । बस कति पढ्नु यी सामाग्री । यी नै सामाग्रीमा पनि मन दिन सहिरहेको छैन आजभोलि किन यस्तो हुन्छ भन्नुहोस् त । ‘चिन्ता ! मान्छेले मनको चित्रलाई मेट्न सकिन्न तर अब घरको विषयमा चिन्ता लिन छाडिदिएको छु मैले, आखिर मेरो चिन्ताले त्यहाँ सहज हुने हो र हैन ?
मैले अघिल्लो पत्रमा समयको सदुपयोग गर्ने कुरा बताएको थिएँ तर त्यो पनि कठिन हुन थालेको छ । अनियमित कार्य समयले शरीरमा आलश्यता ल्याउँदो रहेछ कि क्या हो । कहिले दिउँसो कहिले बेलुका र कहिले रातिको डिउटीले सुत्ने सयममा नियमितता छैन यसले गर्दा शरीरले ठीक ढंगले आराम पाउँदोरहनेछ र हो कि न त बेलामा निदाउन सकिन्छ न त बेलामा उठ्न नै । यसले गर्दा सिर्जनाको नियमितता खण्डीत भएको छ । कामबाट कहिले पाँच बजे, कहिले राति बाह्र बजे र कहिले बिहान ८ बजे छुट्टि मिलेको हुन्छ अनि शरीरले पाउने आराममा कसरी नियमितता होस्, यसको असर मेरो सिर्जना उद्देश्यमा परेको छ । त्यसो त एक दर्जन कथाहरू लेखिएछन् यहाँ आएर कति ठीक वा बेठिक भयो लााई थाहा छैन ।
तपाईहरूसँगकै संसर्गले बालसाहित्यको सृजना गर्ने उद्देश्य राखेको थिएँ मैले तर यहाँको परिवेशले लेखन उद्देश्यलाई बदलेको छ । यहाँको पृष्ठभूमिमा सामाग्राीलाई सिर्जनामा उतार्ने प्रयासमा छु म, यो प्रयोगमा कति सफल हुन्छु मलाई थाहा छैन । अनि यहाँको विषय विविधतालाई सामाग्री बनाउन खोज्दा, प्रगतिवादी मान्यताको कसिया कति उभिन सक्छ त्यो पनि थाहा छैन । यथार्थतालाई कुन कोणबाट हेर्ने वास्तवमा म अन्योलमा छु अहिले । यहाँ उभिने पात्रहरू विभिन्न पृष्ठभूमिबाट प्रवेश गरेका छन् र सबैका आआफ्नै बाध्यता र विवशताहरू छन् । ती विवशताहरूलाई कसरी हेर्ने ।
त्यति राम्रो जागिर किन छाड्ने ? धेरैले मलाई भन्ते र यहाँ पनि भन्दैछन् ।
‘किताब छापेर नै काठमाडौँमा कति कमाएछ ।’’ धेरैले तपाईको बारेमा भन्छन् तर कसलाई के थाहा आफूभित्रका पीडाहरू मनको वह कसैलाई नकह हैन त ।
“खारामा त हामीले सखाप पारेको नि माओवादीलाई त ।’ यो अहिले मेरो रुमपार्टनरको गर्वानुभूतिपूर्ण अभिव्यक्ति हो । याद छ तपाईलाई खाराको घटना जहाँ सेनाले ताण्डव नृत्य नाचेको थियो । सायद सर्वसाधारणको ८० भन्दा बढी घरहरू खरानी पारिएको थियो । सबैतिरबाट निन्दित त्यो घटनामा मेरो एउटा पात्र अझै पनि गर्व अनुभूति गर्छ, अनि उसको पनि आफ्नै बाध्यताहरू छन् सैन्य पेशा छाडेर यहाँ आएको छ भन्नुहोस् यो यथार्थतालाई कसरी हेर्ने ? कसरी चित्रण गर्ने ?
कतै पट्यार त लागेत तपाईलाई । माफ गर्नुहोस् श्रृंखलाहीन आफ्नै गुनासो र गन्थन बढी भए यहाँ । अनि फोन गर्ने चाहना हुँदाहुँदै पनि तपाईलाई फोन गर्न सकिरहेको छैन । खबरहरू विना कहाँ छाड्नु भएमा त्यहाँबाट तपाईका खबरहरू पाउनेछु । अनि कस्तो चल्दै छ तपाईको व्यवसाय र सृजना, बालबच्चा र पुष्पालाई कस्तो छ, अरू साथीहरूको सृजन कार्य के कसो हुँदैछ ? विदेशमा प्राप्ति भन्दा गुमाउने कुरा धेरै हुँदोरहेछ, अहिले यस्तो लाग्दैछ मलाई ।
तपाई यहाँ घुम्न आउने कुरा गर्नुहुन्थ्यो । यसबारे अर्को पत्रमा आजलाई अस्तु ।
केशरी अंगाई
यू.ए.इ.