Menu Close

विजयी मेरो पनि

चट्याङ मास्टर


विजयेच्छाले विजयार्थी बनेर विजेतव्यमाथि विजयसिद्धि गर्न विजयोत्सुक श्री विजय आचार्यसँग विजयात्रा गर्ने मौकाको विजेताहरू मध्ये म पनि एक विजयी हुँ । त्यसैले श्री विजय आचार्यको बारेमा केही लेख्ने लक्ष्यमाथि विजय हासिल गर्न यो लेख्दै छु । वि.सं. २०५९ ढल्ने र २०६० उठ्ने ताका थियो । सम्वत् जतिसुकै होस् न हरेक वर्ष नयाँ भएर उठ्ने, चल्दाचल्दै ढल्ने र त्यसको ठाउँमा फेरि अर्को वर्ष नयाँ भएर उठ्ने क्रम चल्दो रहेछ र थियो । म भने मेरो समाजका विकृति माथि कृति रचेर भाग ३ को किताब छपाउने तरखरमा लरखर गर्दै थिएँ । विवेक सिर्जनशील प्रकाशन प्रा.लि.का मालिक ले आफ्नो कम्पनी अन्तर्गत “सृजनशील स्रष्टा साहित्य श्रृङ्खला” योजना लागु गर्न लागेको कुरा थाहा लाग्यो । यो योजना अन्तर्गत एकसय नयाँ कृति सरल परलमा छपाइदिने कार्यक्रम रहेछ । त्यो सयजना मध्येको एक हुने लक्ष्यमाथि विजय प्राप्त गर्न श्री विजय आचार्यलाई भेटेँ । कुरा सुनाएर सुनेपछि विजयसँगै आफ्नो विजय पनि सुनिश्चित देखेँ । विजयले मेरो मन प्रफुल्ल भएको थियो त्यो बेला । विजय भेटेपछि प्रफुल्ल हुने क्रम अहिलेसम्म जारी छ । त्यसका कारण पनि छन् ।


आफ्ना धेरै कपाल फुलेको र थोरै दाँत मकाएको भए पनि मलाई बालख जस्तै हुन र बालखसँगै हुन मन लाग्छ । आफुले आफ्नो माइती भेटे जस्तो लाग्छ । शरीरले छोडेपनि मनले समाइराखेको बालसंसारमा घुमाउन लैजाने बालसाहित्य पनि धेरै प्यारो र रमाइलो लाग्छ । आफैले बालसाहित्य रच्ने जमर्को गरेको पनि हो । गाह्रो भएर ठस्ठसी कनेको पनि हो । तैपनि नसकेर हार मान्दै छोडेको पनि हो । आफूले गर्न खोज्दा नसकेको काम गर्न सक्ने अर्को प्रति श्रद्धा जाग्नु पनि स्वभाविकै हो । यसरी श्री विजय आचार्य प्रति मेरो श्रद्धा जागेको थियो । म र उनले बालसाहित्यमा कलम नरोके सम्म जागिनै रहने छ ।


एक अनौपचारिक भेटमा विजयले मलाई आफू जन्मिएको गाम ठाम सप्रसंग बताएका थिए । तर त्यो वात मेरो स्मृतिबाट बतिएर गएछ । मलाई उनको गाम ठामको जानकारीको उत्तिको काम पनि थिएन । मेरो जीवन समयभित्र मेरो देशको माटोमाथि जन्मिएर हुर्किएका हुन् विजय । ठामबारे काम लाग्ने यत्ति नैँ जानकारी मेरा लागि जति छ । त्यसो हुनुको कारण छ ।


एक्काइसौँ शताब्दीको आकाशमुनि सत्रऔँ शताब्दीको धरातलमाथि उभिएको एउटा नेपाली गाउँमा जन्मिएका हुन् विजय । उनले मलाई यही बुझाएका थिए । १७ मा बसेर २१ नभेटिने देखेपछि १९–२० को काठमाडौँ आएका थिए विजय । उन्नाइस बीस हुनु भनेको प्रष्ट नहुनु हो । अस्पष्टतामा मान्छे भौँतारिन्छ । १७ मा नअटाएर २१ भेट्न हिँडेका विजय काठमाडौँको १९–२० मा धेरै भौतारिए । कहिले १९ मा विष देखे भने कहिले बीसभित्र उन्नाइस मात्र भेटे । काठमाडौँको रुमलोमा जति रुमल्लिए पनि अक्षरमाथिको आस्था र मिहिनेत माथिको विश्वास जोगाउनु र त्यसैमा जोगिनु उनको आवश्यकता र विवशता दुवै थियो । त्यसैले, मुठ्ठी भित्रको अक्षर र निधारमाथिको पसिनामा ठाँटिएरै खोजे काठमाण्डूको १९–२० मा २१ लाई । फुटपाथमा “पत्रिका बेच्ने केटो” को भूमिका निर्वाह गर्दा होस् या राति डेरामा मधुरो बत्तीमुति सस्तो डटपेनले सस्तो कागजमा २१ औँ शताब्दीको लागि नेपाली समाजको गोरेटे कन्दा होस्, विजय र विजयको सज्जा सधैँ उही रह्यो— मुठ्ठीमा अक्षर र निधारमा पसिना, थोरैलारुई रमाउने र धेरैलाई घुमाउने काठमाण्डूले पनि विजयार्थी विजयको त्यो सज्जाको कदर गर्दै केही वर्षमै उनका लागि हिँड्दा गाह्रो भए पनि देख्दा सजिलो मार्ग प्रस्ततु ग¥यो । श्री विजयराज आचार्यलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि. को मालिक बनायो काठमाण्डूले । अर्काको कम्पनीको मजदूर रहँदा होस् या आफ्नो कम्पनीको मालिक बन्दा होस् । विजयले आफ्नो विजय यात्रामा न आफ्नो सज्जा फेरे र न गति । १७ बाट सुरु गरेको एक्काइसोन्मुख यात्रा निरन्तर चलिरहेको छ । उन्नाइस बीसको बीचमा । चलिरहोस् ।


जयचाहा विजयले विवेक सिर्जनशील प्रकाशन प्रा.लि.को स्थापना गर्नु भनेको मेरो समय समाजका सर्जकहरूका लागि थप सेवा स्रोत उपलब्ध हुनु पनि हो । नेपाली साहित्य विकासको बाटो बढी फराकिलो पारिनु हो । यो बगेको विजय खहरे हो या समुन्द्र समयले परिभाषित गर्न बाँकी छ । तैपनि अहिलेसम्म त्यसमा धेरैले आफ्नो चुच्चो पखाली सकेका छन् । मैले पनि मेरा तीन कृति उतारीसकेँ । १७ को आसपासबाट एउटा स्कूले केटाले २१ भेट्न चालेको कदम १९–२० को काठमाडौँमा यहाँसम्म आइपुग्दा श्री विजय आचार्यको उमेर ३०–३२ को हाराहारीमा छ, एक विजयिनीसँगै दुई विजय न्तिानका विजेता श्री विजय आचार्य सदा विजयी रहून् । किनभने विजयको विजयमा अरू धेरैको विजय पनि सुनिश्चित छ र मेरो पनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *