Menu Close

मित्र विजयराज आचार्य बहिनी पुष्पाजी

नमस्कार !

खास खबरको लागि तपाईका दुईटा कृतिका समीक्षात्मक आलेख पठाइदिएको छु । त्यति राम्रो परिमार्जन गर्न समय भएन । आफै राम्रोसँग हेुर्नहोला । म भरसक दशैँ अगाडि एकचोटि आउने कोसिस गर्छु । मेरो कथासंग्रहको हकमा मैले पोहोर सालै ध्रुवजीसँग बसेर फाइनल गरेको हिडेको हुँ । हेर्न जरुरी छैन । छापिदिँदा हुन्छ । दशैँ अगाडि कसै गरी निस्कियोस् । बाँकी भेटमा


उही तपाईंको मित्र
पुन्य कार्की
२०६२÷५÷२४


बालउपन्यास परिवर्तन एक विवेचना


पुन्य कार्की


भाइबहिनीहरू आज म दाजु विजयराज आचार्यद्वारा रचित उपन्यास ‘परिवर्तन’ कोे सानो समीक्षा लेख्दै छु । उपन्यास भनेको के हो ? यसको बारेमा पक्कै तिमीहरूलाई केही न केही जिज्ञासा होला, होइन त ? साहित्यका विभिन्न हाँगाहरू छन् त्यो कुरा त तिमीहरूलाई थाहा छँदैछ । त्यही साहित्यरूपी रुखका विभिन्न हाँगाका नामहरू हुन्ः कथा, कविता, निबन्ध, नाटक र उपन्यास । उपन्यास साहित्यको ज्यादै महत्वपूर्ण हाँगो हो, यो तिमीहरूको निम्ति रोचक र चाखलाग्दो हुने कारण यसमा लामो कथा रहेको हुन्छ । कथा भन्ने बित्तिकै तिमीहरूलाई मन नपर्ने कुरै छैन । कथा जति सुनेपनि कहिले धित मर्दैन, अझ धेरै सुनूँ अझ धेरै पढूँ जस्तो लागिरहन्छ । मानव जीवनका विविध पक्ष, विविध घटना, विविध चरित्रहरूलाई सूत्रबद्ध गरेर लेखिएको लामो साहित्यिक कथालाई उपन्यास भनिन्छ । उपन्यासमा मूलकथा भित्र अन्य थुप्रै उपकथाहरू पनि रहेका हुन्छन् । यस्तो आनन्दित पार्ने साहित्यको हाँगो उपन्यास तिमीहरूले भरिसक्य खोजी खोजी पढ्नुपर्छ, असल विचार दिने खालका रोजी रोजी पढ्नुपर्छ ।


तिमीहरू जस्तै नानीहरूको रुचि, स्तर, उमेर र अवस्थालाई ध्यान दिएर दाजु विजयले निकै मार्मिक कथाहरू उनिएको उपन्यास लेख्नुभएको छ, त्यसको नाम सुरुमै थाहा भैसकेको छ । बाबुहरू, उपन्यास भनेर जस्तो पायो त्यस्तो कथा लामो पार्ने बित्तिकै त्यो उपन्यास बन्न सक्दैन । कुनै पनि रचना उपन्यास बन्नको लागि त्यसमा अर्थात् उपन्यासमा हुनुपर्ने गुण, तत्व या विशेषता हुनुपर्छ । उपन्यासमा खास गरी पाँच ६ वटा तत्वहरू मिल्नुपर्छ । ती तत्वमा कथावस्तु, पात्र, संवाद, भाषाशैली, वातावरण र उद्देश्य आदि पर्दछन् ।


दाजु विजयराजको उपन्यासमा यी चिजहरू छन् कि छैनन् त विचार गरेका छौँ । विचार गरेका छैनौ भने अबदेखि दाजु विजयका उपन्यासमा मात्र होइन अन्य सबै उपन्यासकारका उपन्यासहरूमा माथि उल्लेखित चिजहरू कतिको मिलेर आएका छन् खोजी गर्नुपर्छ । मिलेको छैन या कुनै तत्व छुटेको छ भने त्यो कमजोरीलाई तिमीहरूले औल्याउन सक्नुपर्छ । लेखकको त्रुटी समात्न सक्नु नै असल पाठकको विशेषता पनि हो, कर्तव्य पनि हो । हामीले सधैँभरी कुनै रचना पढ्दा त्यसका राम्रा पक्ष के हुन् नराम्रा पक्ष के हुन् । त्यसभित्रका असल कुराहरू के के हुन्, खराब के के हुन् ? पत्ता लगाउने कोसिस गर्नुपर्छ जसले हामीमा असल समीक्षक बन्ने कलाको वृद्धि गराउँदै जान्छ । उपन्यासमा हुनुपर्ने पहिलो चिज कथावस्तु हो । यस उपन्यासमा एक जना पात्रको मात्र कथा छैन । धेरै पात्रहरूका कथा उनिएका छन् । राजधानी बाहिरका विभिन्न ठाउँमा दुःख पाएर जीवन गुजारा गर्न काठमाडौँ भित्रिएका निम्न वर्गीय बालपात्रहरूका कथा छन् । यी बाल चरित्रहरू कराउँदै पत्रिका बेच्छन् । सडक र पुलमुनि रात काट्छन् । निकै मार्मिक र करुण वेदनामा मुछिएका कथाहरू छन् ।


जिल्लाका भुँडे हाकिमहरूको अवैध संसर्गबाट कमलावादीको कोखबाट जन्मिएकी रीताको मुटु छुने कथा एकातिर छ भने अर्कोतिर दर्जनौँ नारीको सतित्व लुट्ने व्यभिचारी मन्त्री पुत्र कसरी आफ्नै सन्तानलाई अनाथ तुल्याएर सडकमा हुत्याउँछ त्यसको वर्णन पनि यहीँ उपन्यासभित्र छ । कारगिलको लडाइँमा वीरगति प्राप्त गरेर आफ्ना शाखा सन्तानलाई अनाथ, टुहुरा र गरिबीमा बाँच्न विवश पर्ने भीमबहादुर तामाङको छोरा नरबहादुरको कथा हाम्रै घरआँगनको जीवन्त कथा हो । अछामको सदरमुकाम मंगलसेनमा सेना र माओवादी लडाइँमा दुवै बाउआमा मारिएपछि साहाराविहीन भएको श्यामको कथा एकातिर छ भने अर्कोतिर म्याङलुङ बजारमा आगलागीमा परी श्रीसम्पती विहीन भएको गोपालको कथा त्यत्तिकै हृदयविदारक लाग्छ । निशान्त काकाको ठगीको कथादेखि शितलकाका, कइलेकाका र प्रसाईकाकाका सन्दर्भहरूबीच कथा घुमेको छ । उपन्यासको मूलकथार सहायक कथाहरू हाम्रै परिवेशका ययार्थहरूसँग तालमेल खाने खालका छन् । त्यसैले कथाको बुनौटमा कल्पना कम यथार्थ बढी, स्वप्नील्ता कम जीवन्तता बढी भेट्न सकिन्छ ।


पात्रहरूमा मूलपात्रहरू भित्र निशान्त काका, नरबहादुर, रीता, गोपाल, श्याम, निरज पर्दछन् । निशान्तकाकाका नाति नातिना, कट्टेलकाका, शितलकाका, प्रसाईकाकालाई सहायक चरित्रका राख्न सकिन्छ । पात्र विन्यासमा अस्वभाविकता कहाँ देख्न सकिन्छ भने कट्टेल काका र प्रसाई काकालाई अन्तिममा एक्कासी कथाको मूल प्रवाहमा ल्याउँदा अलिकति असहज अनुभूति हुन्छ ।


भाइबहिनीहरू उपन्यासको भाषाशैली सरल त छ तर जति मिठास हुनुपर्ने त्यो छैन । त्यसैले भाषाशैलीलाई कलात्मक, लयात्मक, मृदुल मोहोनीदार बनाउनु जरुरी देख्छु उपन्यासकारले म त । यसमा तिमीहरूको के भनाई छ ? त्यो तिमीहरूले बोल्नुपर्छ । परिवेश चित्रणमा धेरै फितलापनहरू उपन्यासमा भेट्न सकिन्छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ हुनुपर्ने, ताप्लेजुङको सदरमुकाम म्याङलुङ बनाएर उपन्यासकारले आफ्नो भौगोलिक सामान्यज्ञानको कमीलाई पुष्टि गरेका छन् । अन्य यथार्थसँग मेल नराख्ने परिवेशका सन्दर्भहरू पनि छन् यसलाई उपन्यासकारले जानी जानी गल्ती गरे वा नजानेर गरे त्यसलाई सुधार्नुपर्ने खाँचो छ ।


उद्देश्यको सापेक्षतामा उपन्यासलाई तौलिँदा सबलता बढी दुर्बलता कम भेट्न सकिन्छ । यो लहडको लेखन भन्दा पनि उपन्यासकारको योजनाबद्ध लेखन जस्तो लाग्छ । स्वयं लेखक कुनै समयमा पत्रिका बिक्रेता त्यसपछि प्रकाशक र सर्जक हुँदै अहिलेको समयविन्दुमा यात्रा गरिरहेका छन् । बालसाहित्यको लेखन प्रकाशन जगत्भित्रका विसंगति, विषमता र विरोधाभासलाई नजिकबाट देखे भोगेको हुनाले त्यस क्षेत्रको विकृतिलाई प्रहार गर्ने उद्देश्यबाट यो उपन्यास लेखिएको हो । यसर्थ त्यस उद्देश्य प्राप्तिमा कृति सफल छ । तर बालसाहित्यका तमाम पाठकको लागि भने उपन्यास उत्तिकै रूपमा सुस्वादु बन्ने कुरामा शंकाका प्रशस्त आधारहरू छन् ।


नानीहरू, उपन्यासलाई तत्वगत कसीमा तौलिँदा मेरो यसप्रकारको अनुभूति रहेपनि तिमीहरूको के अनुभूति हुँदो हो, जान्ने जिज्ञासा छ । अर्को मलाई लागेको कुरा नेपाली समाजको राजनीतिक क्षेत्रको विकृति साहित्यिक सांस्कृतिक वृत्तमा पनि धेरथोर रूपमा घुसेको छ । बाहिर सामन्तवादको जतिनै विरोध बोलेपनि हामी आफैँ भित्र । जिउँदो सामन्तवाद खडा छ, त्यसलाई मार्न त के चिमोट्न पनि सकेका छैनौँ । निशान्त काका भित्रको असंगत र विरोधाभाषपूर्ण चरित्र देखाइरहँदा भोलि शितल काका पनि निशान्त काकामा रूपान्तरण हुने हो कि संभावनाका सूत्रहरू प्रशस्त देखापरेका छन् । यस अर्थमा मेरो द्रष्टा स्रष्टा विजयराजसँग डराएको छ ।


नानीहरू नेपाली बालसाहित्यको उपन्यास विधामा हामी साँच्चै गरिब अवस्थामा छौँ । हामी ऐश्वर्यशाली बन्नको लागि दाजु विजयराज जस्तो जाँगरिलो बन्नैपर्छ । थुप्रै कमीकमजोरीको बाबजुद उपन्यासले उज्याला किरणहरू पनि दिएको छ । अबका दिनमा अझ मार्मिक अभिव्यञ्जनाहरूले भरिएका वैचारिक तथा कलात्मक दृष्टिले निखर भन्दा निख्खर उपन्यासहरू बालसाहित्य भण्डारले पाइरहोस् यही शुभेच्छा साथ यो समीक्षण कार्य अहिलेलाई मैजारो गर्छु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *