Menu Close

विवेक, विश्वास र विजय

विनोद मन्जन


विवेकले ज्ञानको प्रतिनिधित्व गर्छ । विवेकसित विकसित सभ्यताको पनि साइनो छ । त्यसो त ‘विवेक’ विजयको छोरा पनि हो । यसर्थ विवेक भविष्य हो । विवेक उज्यालोको प्रतीक हो । विवेक सुगन्धदार पुष्प पनि हो । विवेकले पखेटा हालेपछि गतिशीलता निरन्तर हुनु भनेको भावानात्मक, ऊर्जावान् बन्नु हो । तर्कका आधारमा चेतनाले आफ्नो आकार ग्रहण विवेकको पारख हुने अवस्थाले मानसिक रूपमा उत्साहित पार्छ । मानसिक उत्साहलाई सैद्धान्तिक उपलब्धि मान्न सकिन्छ । अर्थात् सत्यका पक्षमा वकालत गर्ने योजना तर्जुमा हुन्छ विवेकी आडमा । जब विवेकले आकार लिँदै र प्रभाव जमाउँदै जान्छ तब विश्वास आर्जन हुन थाल्छ । विश्वासको जग भने व्यवहारसित सम्बन्धित हुन्छ । पारख गर्न सक्ने विश्वास आर्जन हुनु भनेको विवेकलाई अनुमोदन गराउनु हो । विवेकको अनुमोदनसित सकारात्मक पक्ष जोडिएको हुन्छ । सकारात्मक गतिविधिले सफलताको बाटो सहज बनाउँछ । विश्वासका जगमा विजय प्राप्त हुन्छ । विजयलाई जोगाइ राख्ने र अझै अघिल्ला विजयका सिँढीहरू निर्माण गर्नका लागि फेरी पनि विश्वासकै जरुरी हुन्छ । यसैका कसीमा विजयको भविष्य छ ।


वर्तमानको सङ्कल्पसहितको योजनाले मात्रै भविष्यको सुन्दर कल्पनालाई साकार तुल्याउन सकिन्छ । त्यसका लागि सिर्जना मात्रै एउटा विकल्प हो । सिर्जनाको क्षेत्र यही मात्रै हुनुपर्छ भन्ने छैन । रुचि, स्वभाव र आवश्यकताको मानकमा यसको छनौट हुन सक्दछ । क्रियाशील क्षेत्रमा विजय प्राप्त गर्नु सक्रिय हुनुको उदाहरण प्रस्तुत गर्नु हो । विजय बन्नका लागि समयलाई बोध गर्न सक्नुपर्छ । इच्छा त सबैसँग हुन्छ विजय बन्ने । तर इच्छा आफसे आफ पूरा हुँदैन । न यो कसैले प्रदान गर्ने कुरा नै हो । जुन क्षेत्रमा पनि विजय हुनु भनेको सभ्यतानिर्माणको लगनगाँठो समात्नु हो । जीवनवादी मानवतावादमा विश्वास गर्नेहरू यथार्थ चेतनाका प्रतिविम्बमा सिर्जनाको अस्तित्व हुन्छ भने मान्यता राख्दछन् । वास्तविक विवेकको प्रयोगले ज्ञानबलको वकालत गर्दछ । विवेक मस्तिष्कको उपज हो । मस्तिष्कको सही ठम्याइले जीवनलाई गति प्रदान गर्दछ । ज्ञान आर्जनका विभिन्न बाटाहरू हुन्छन् । हरेक पक्षबाट आर्जित ज्ञान र शिक्षाबाट भन्दा जीवनभन्दा धेरै सिक्न सकिन्छ । जीवनबाट सिकिएको र ग्रहण गरिएको शिक्षाले व्यक्तिलाई जीवनबोध गराउँछ ।


सत्य र इमानदारिताले व्यक्तिलाई सार्वजनिक बनाउनुका साथै स्थापित गराउँछ । सत्य स्थापना गर्नु भनेको मस्तिष्कको उच्च प्रयोग गर्नसक्नु हो । सत्यको साइनो सिद्धान्तसँग हुन्छ । सत्यप्रतिको सकारात्मक दृष्टिकोण राम्रो गर्नुपर्छ भन्ने मान्यता, जीवनको सही प्रयोग गर्नुपर्छ भन्ने धारणाले प्रस्तुत गर्दछ । यसरी सत्यलारुई हामी सैद्धान्तिक अवधारणाका रूपमा बुझ्न सक्छौँ । सिद्धान्त आफैले कुनै पनि कार्य सम्पादन गर्दैन । यसरी हेर्दा सिद्धान्त निर्देशक मात्रै बन्न सक्छ । त्यसो त सबै सिद्धान्त सत्य हुन्छन् भन्ने छैन । सत्यका रूपमा लिने कुरा पनि व्यक्ति चेतनाका धरातलमा आधारित हुन्छ । भौतिक चेतनाले बोध गर्न नसक्ने कुरा केही पनि हुँदैन । त्यसैले सिद्धान्त ग्रहण गर्दैमा वा सत्प्रयासको गोरेटोमा हिँड्दैमा लक्ष्य प्राप्त हसन सक्दैन । सत्प्रयास विजयको द्योतक हो । इमानदारिता व्यावहारिक विषय हो । कुनै पनि सिद्धान्तको आकर्षण व्यवहारमा हेरिन्छ । इमानदारिताका कसीमा सत्यको पहिचान हुन्छ । इमानदारिताले नै विश्वासको वातावरण तयार हुन्छ । इमानदारिताले नै विश्वासको वातावरण तयार हुन्छ । व्यवहारको व्याख्या जरुरी पर्दैन, यो त सम्पन्न हुनासाथ सञ्चारित हुन्छ र प्रभाव पार्छ । मनमा राम्रो गर्नुपर्छ भन्नेहरू त कति छन् छन् । व्यवहारमा उतार्न नसक्नु अर्को पाटो हो । जीवनबोध गर्न सक्नेले युगबोध गर्न सक्छ । युगबोध गर्न सक्नेले दायित्व ग्रहण गर्दछ । दायित्व ग्रहण गर्नेले दिशा पत्ता लगाउँछ । दिशा पत्ता लगाउनेले सिर्जनाको पहिचान गर्छ । सिर्जनाको मर्म बुझ्नेले लक्ष्य निर्धारण गर्नसक्छ । लक्ष्यमा निरन्तर हिँड्नेले विजय प्राप्त गर्दछ ।


युवा साहित्यकार विजयराज आचार्य जीवनबोध गर्दै युगबोधका धरातलमा सिर्जनाका माध्यमबाट उज्यालोको खोजीमा लागेका प्रतिभा हुन् । प्रकाशनका माध्यमबाट होस्, सिर्जनाका माध्यमबाटै किन नहोस्, वितरकका माध्यमबाटै किन नहोस् विजय सिर्जनशील कार्यमा संलग्न छन् । सत्प्रयास नै लक्ष्य प्राप्ति त होइन, यसका लागि सत्प्रयासको जरुरी भने पर्दछ । विजय यसै यात्राका पथिक हुन् । भविष्यलाई प्रतिनिधित्व गर्ने विवेक (छोराको नाम) नामकरण गरेर सिर्जनाका प्रकाशनमा लागेका विजयले विवेकको व्यावहारिक सन्तुलनमा त्यत्ति ध्यान नदिए पनि । सुगन्धित पुष्पवाटिका निर्माणमा सबै उत्कृष्ट फूल रोप्न नसके पनि विश्वास गर्न सकिन्छ । विजयको फूलबारी निर्माणले सुगन्ध छरिरहने छ ।


सम्भावनाहरूका प्राथमिकीकरणले व्यावहारिक रूप पाएपछि व्यक्ति व्यक्तित्व निर्माणमा सफल हुन्छ । हुन त व्यक्तित्व जीवनजजगत् भन्दा ठूलो चाहिँ होइन । तर व्यक्तित्वका अगुवाइमा जीवनजगत्ले सही दिशा दिन सक्छ । हरेक क्षेत्रका सही क्रियाकलापले नै सभ्यताको नयाँ मार्गचित्रलाई मूर्त रूप दिन सक्छ । गहिरो चिन्तन, ठोस प्रस्तुति र उचित गतिविधिले सिर्जनाको मूल्यबोध हुन्छ । सिर्जनाले सांस्कृतिक रूपान्तरणका लागि उपयुक्त भूमिका खेल्न सक्यो भने आवश्यकतापूर्ति पनि हुन्छ । असन्तुष्टि पनि हराउँछ । असन्तुष्टिको जन्म असन्तुलित व्यवहारका कारणले हुन्छ । मनोरञ्जनका लागि मात्रै लालायित हुनेले विवेक प्रयोग सही गर्न सक्दैन । विश्वास आर्जन र विजय त कहाँ हो कहाँ ? विजय आचार्यबाट प्रकाशक, वितरक मात्रै होइन सर्जकले पनि सकारात्मक प्रेरणा र प्रभाव ग्रहण गर्नुपर्छ । विजयले बालसाहित्यका कृतिहरूका माध्यमबाट बालमनोविज्ञानलाई उज्यालो बाटो देखाएका त छन् । त्यसका साथै बालबालिकाहरूलाई सही विचार र दर्शनका खुराकहरू पनि पस्कनु ढिलो भइसक्यो । जीवनवादी संस्कृति निर्माणमा योगदान पु¥याएका व्यक्तित्वलाई सिर्जनाका विषयवस्तुमा अझै समावेश गर्नु विजयका लागि हितकर सावित हुनेछन् ।


सचेत सर्जक, मिहिनेती वितरक, आँटिलो प्रकाशक विजयले विश्वासलाई अद्यावधि गर्नुपर्छ । चरम महत्वाकाङ्क्षाको रमरम पनि गन्ध नफैलियोस् भनेर सजग रहनुपर्छ । प्रायोजित प्रशंसा र उपेक्षित आलोचनाका भुरेटाकुरे लेनदेनका सञ्जालबाट मुक्त हुनुपर्छ । समकालीन पुस्तालाई प्रेरणा दिने र प्रभाव ग्रहण गर्ने यो सत्प्रयासलाई कठिनाइहरूसँग जुध्दै भए पनि निरन्तरता दिनको विकल्प छैन । आवश्यकता अनुरूप क्षेत्रलाई सीमित बनाउनु चाहिँ एउटा कुरा हो ।


संस्कारजन्य संस्कृतिलाई रूपान्तरण गर्ने कार्यको नेतृत्व विवेकले गर्छ । असल संस्कृति निर्माण इमानदारितामा सम्भव हुन्छ । इमानदारिता व्यावहारिक सत्य हो । यसले सभ्यता निर्माणमा सकारात्मक प्रभाव पार्छ । सकारात्मक चेतले नै परिष्कारको पहिचान गर्न सक्छ । विश्वासका वातावरणमा जीवनजगत्का प्राप्त उपलब्धि र अनुभवको उचित सदुपयोग हुन सक्छ । त्यसैका जगमा विजय प्राप्त गर्न सकिन्छ । विजय बन्न पनि सकिन्छ । विजयलाई संस्थागत गर्न पनि सकिन्छ । चेतनाका दृष्टिले प्रस्ट, सैद्धान्तिक हिसाबले सशक्त, विचारमा विश्वस्त मानवीय विवेकले कुनै पनि समस्याको समाधान गरिदिन्छ । निरन्तरको प्रयास र क्रियाशीलताले जीवन सार्थक बन्छ । विश्वासले जीवनवादी संस्कृति निर्माण हुन्छ । विजय सबैका लागि प्रिय हुन्छ । को चाहँदैन बन्न विजय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *