Menu Close

“बाटुली”


बाटुली बालपात्र प्रयोग गरेर नारीहरूका समस्यामा केन्द्रित कथा हो । यस कथामा बालिकाहरूले आफ्नो मनका पीडा पोखेका छन् । ती घर परिवार र समाजबाट भएका अपमान र अत्याचारी विचारको खण्डनमा आधारित छन् यसका साथै वर्गभेदमा आधारित छन् । हाम्रो समाजको समस्या वर्गीय हो परिवारमा वर्गीय प्रभाव पर्नु स्वभाविक हो यस कथामा पनि वर्गीय आधारलाई बालिकासँग गाँसेर कथाको केन्द्रिय विषयवस्तु बनाइएको छ । उल्टै घर परिवारभित्र देखापर्ने वर्गभेदका कारणले कोही सुखी र सम्पन्न हुने कोही त्यही परिवारभित्र पीडित हुनुपर्ने यो यहाँ स्पष्ट पारिएको छ । पहाड जाने आइमाईको बल मधेश खाने गोरुको बल जस्ता भनाइले पनि हाम्रो सामाजिक संरचनालाई मनोविज्ञानका आधारमा पुष्टि गर्दै मानिसप्रति गरिने शोषणको प्रकृति यस कथामा राम्ररी प्रष्ट पारिएको छ कथामा भनिएको छ –


“मैले यो घरमा नोकर्नीले जस्तै काम गरेकी छु र त उनीहरूले मस्ती गर्न पाएका छन् । यदि म पढ्न जान थालेँ भने त उनीहरूले पनि घरको काममा सघाउनुपर्छ नि भ”


कथामा अगाडि लेखिएको छ । मान्छेले जति धेरै सम्पत्ति भयो त्यति सानो चित्त हुन्छ भनेको साँचै रहेछ । यी उक्तिले पनि यो बताएको पाइन्छ कि एउटै घर परिवार भित्र देखापर्ने असमानताका कारणले छोरा र छोरीका बीच मालिक र दासको व्यवहार र सबैले समान रूपमा प्रयोग वा आभोग गर्न पाउने सम्पत्तिमा यति ठूलो भेदभाव छ कि छोरीहरूले काम गर्छन् तर सम्पत्तिको उपभोग गर्न पाउँदैनन् । यस्तै प्रकारका वर्गीय असमानताका पीडाबाट मानिस जस्तो भएर बाँच्न पाएको छैन । यस कथामा स्वभाविक आत्माका पीडा बालपात्रबाट लिएका माध्यमबाट पोखिएको छ । यस कथामा भनिएको छ –


“हिन्दूधर्ममा त नारीहरूलाई चुलो चौकाभन्दा बाहिर पढाउनै हुन्न ।” यी भनाइ अनुसार हिन्दु धर्ममा मात्र होइन सबैजसो धर्ममा र प्रतिक्रियावादीहरूको व्यवस्थामा भेदभाव निश्चित रूपमा रहन्छ । यसका लागि सङ्घर्षशील वैचारिक चिन्तनको आवश्यकता छ । कथा लेख्नक्रममा कतिपय वाक्यहरू एक अर्कासँग जोडिन नसकेकाले केही दुर्लबताहरू देखापर्छन् । कथाको रचना गर्दा यसको अन्तर वस्तुको क्रमबद्धतामा थोरै–थोरै घटना शृङ्खलामा विचलन आएता पनि सरल विचार, सरल प्रस्तुति सामाजिक विषयवस्तु, नारी पीडा, सामाजिक भेदभाव परिवारको बीच देखापर्ने भिन्नता छोरा र छोरीका बीच देखापर्ने वर्गीय असमानता मनको पीडा यस कथाले राम्ररी उजागर गरेको छ । सरल संवाद, मनको खुला अभिव्यक्ति जातिय असमानताको बीच हार्दिकता र संस्कृति र संस्कारलाई मानवीय बनाउनुपर्ने सन्देश दिँदै कथाको अन्त्य गरिएको छ ।

“घरबेटी”


आजभोलि घर बनाउँना साथ मानिस आफ्नो सम्पूर्ण अस्तित्व बनाइएको घरमा केन्द्रित गर्छ । हरेक दृष्टिकोणबाट घरलाई महŒव दिन्छन् । उसले समाजप्रति गर्नुपर्ने व्यवहारहरू के हो ? मानवीय भावना के हो ? सबै घरमा केन्द्रित गरेर हेर्छ शिक्षादीक्षा ज्ञान बुद्धिको मापन पनि ढुङ्गो माटोको थुप्रोमा गरिन्छ । यस कथामा बालकलाई दास बनाएर आफू मोजमस्ती गर्ने एउटा घर बनाएकोमा आफूलाई ठूलो देख्ने सामन्तवादको नक्कलीपन यहाँ राम्ररी देख्न सकिन्छ । अज्ञानताको फाइदा उठाएर बालबालिकालाई शिक्षाबाट वञ्चित गर्ने अध्यारो युगको वा जङ्गली बर्बरताको चित्रण यस कथामा गरिएको छ । यसका साथै आर्थिक अभावका कारणले आफ्ना छोराछोरी आफ्नो मुटुभित्रै दुधे बालकलाई धनी वा सम्पन्न परिवारको घरमा राख्नुपर्ने जटिल परिस्थितिको यथार्थ चित्रण गर्दै बालिकाहरू पढ्न लेख्नबाट बञ्चित छन् । ती सामन्तहरू जसले किताबको अनुहार समेत हेर्न दिन्नन् । यस कथामा यस्तै क्रूरताको चर्चा गरिएको छ । यसका साथै बालबालिकालाई सङ्घर्ष गर्ने प्रेरणा दिएको छ । मानिसले दबिएर बस्नुको परिणाम अज्ञानतामा जीवन फाल्नु परेको कारुणीक अवस्था यहाँ प्रस्तुत गरिएको छ । सहरमा घर बनाएका गाउँले बालबालिकाको शोषण गर्नेहरूको प्रवृतिलाई यस कथामा राम्ररी चित्रण गरिएको छ । यसमा कथाअनुसार पात्रको प्रयोग केही बढी भएको महसुस गर्न सकिन्छ । अप्ठेरो परिस्थितिमा सफल जीवन प्रस्तुत गर्नु सङ्घर्षको अभावमा असफलता भोगेर पश्चातापमा जल्नुपर्ने कारुणीक जीवनको वर्णन यस कथामा गरिएको छ । भाषाशैली सरल छ, संप्रेसणीय छ । तर पनि लामो भएका कारणले केही जटिलता देखा परेका छन् । तापनि जीवनका पक्षबाट प्रतिक्रियावादी व्यवस्थाप्रति कटु आलोचना गरिएको छ । यस कथामा घरसँग सामन्तवादको यथास्थिति यस कथामा यथार्थ रूपबाट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *