Menu Close

“हाम्रो आवाज”

हाम्रो आवाज शीर्षकको लघुउपन्यास पहिलो प्रकाशन २०६१ जसको प्रकाशन विवेक सिर्जनशीलले गरेको हो । यसका लेखक विजयराज आचार्य हुन् ।
यो उपन्यास कथा जस्तो देखिन्छ । बालबालिकाहरूको लागि लामो उपन्यास उपर्युक्त देखिन्न । तसर्थ यो उपन्यास पनि छोटो आकारको छ । ग्रामीण जीवनको कारुणीक चित्र यहाँ प्रस्तुत गरिएको छ । अनाथ बालबालिका कसरी पीडित भएका छन् । तिनीहरूले भोगिरहेका यातनाहरू कस्ता छन् । तीनलाई कारुणीक रूपबाट यहाँ चर्चा गरिएको छ । जस्तै ः
“ठानेर मलाई अप्ठ्यारा काम लगाउन थाले । जाडो बेलामा पनि न्यानो लुगा लगाउन नपाइने, पातलो कपडा लगाएर भाँडा माझ्ने चिया पकाउने, पसलमा आएकालाई चिया खुवाउने र आफूभन्दा ठूला जर्किनका भाँडामा धाराबाट पानी ओसार्नु पर्ने । यी दृश्यबाट सहज अनुमान गर्न सकिन्छ कि बालबालिकाहरूमाथि गरिने श्रम शोषण हृदय नभएका मानिसहरूले कसरी गरिरहेका छन् । उक्त उपन्यासमा लेखिएको छ –
“तेरी माँ बजिया उता होटलमा पानी सकिएर कस्तो सास्ती तँ कहाँ गएको ह ?”
आफूलाई मालिक मान्ने धनाढ्यहरूले कुन प्रकारको व्यवहार गर्छन् तिनीहरूको मन मस्तिष्कमा केवल पैसा मात्र देखिन्छ । बालबालिकाहरूले कुन काम गर्न सक्छन्, कस्ता काम लगाउँन उचित हुन्छ, त्यस विषयमा चासो दिन्नन् । यस यपन्यासमा लेखिएको छ – “हैन ए कमास्टर तेरो हाम्ले के खाएका छौ र ? तैले हाम्रोमा कान गर्ने केटालाई भड्काएर खुरुखुरु काम गर्न दिइरहेको छैनस् । तँलाई बाहिरबाट आएर हाम्रो जिल्लामा मास्टरको जागिर नपचेँको त छैन ?
कोही दयालु र उद्वार समाजसेवी मानिसलाई नसहने परम्परा सामान्तवादले विकास गरेको छ । कोही समाज सुधारक मानवतावादी देखापरेमा त्यो धनाढ्यहरूका लागि सुपाच्य हुन्न । धनको आडमा मानवतालाई खरानी पारेकाहरूको स्थिति यस उपन्यासमा राम्ररी गरिएको छ । उपन्यासमा लेखिएको छ ।
“तँ छुसी मास्टरले मलाई सिकाउने यहाँ सामन्ती संस्कारले मभन्दा जान्ने अरू कोही छैन, अर्ती बुद्धि सन्त विचार समाज सेवाको भावना मानवीय चिन्तन नभएका बोक्रे मानिसको घमन्डीपन यहाँ देख्न सकिन्छ । “पख्लास् छुसी मास्टर तेरो पुजा नगरि त कहाँ छोडौँला र ¤”
यहाँ विचारबाट पराजित भएका धनका घमन्डीहरू हत्या हिंसामा विश्वास गर्छन् । आफ्नो फाइदाका लागि सामन्तहरू मानवीय भावनाका जडा उखेलेर त्यहाँ विषविक्ष रोप्न चाहन्छन् र यहाँ त्यस्तै विचार व्यक्त गरिएको छ ।
“ए मास्टर ¤ असहायजति सबैलाई तँ उद्धार गर्न सक्छस् ? तँलाई बाँच्ने र जागिर खाने मन भए जे–जे देखे नदेखेजस्तै गरेर हिँड्, जे जे सुन्छस् नसुनेझै गर्दै हिँड्, हैन भने जालास् यमराजकहाँ पाहुना लाग्न । यो केटालाई छाडेर खुरुक्क आफ्नो बाटो लाग । अबदेखि उदार–सुदारका काम गरेर हिँडिस् भने निको चाल हुँदैन ।”
फाँसिष्टवादीहरू डर धम्की देखाएर तर्साउन खोज्छन्, यो उनीहरूको निरिहपन र कायरताको एक नमुना हो । जो विचारसँग सक्दैन त्यसले पराजित मानसिकता बोकेर हत्या आतङ्कको बाटो रोज्नु, धम्काउनु, तर्साउनु चिनीहरूको चरित्र बनेको हुन्छ । यहाँ पनि त्यस्तै प्रकारको दृष्टिकोण देख्न पाइन्छ ।
“खुरुखुरु मालिकले अह्राएको काम गरिनस् मालिकले भनेको ममानेर होटल बाहिर गइस् र आफ्नो कुरा कसैलाई भनिस् भने तेरो पूजा गर्न मैले जानेको छु ।”
यी भनाइ र मायीका भनाइमा मूल रूपमा अन्तर देखिन्न । प्रसासन, शासनद्वारा जे जस्तो सिकाइयो वा गर्न लगाइयो वा गरियो ती यहाँ राम्ररी प्रष्ट पारिएको छ । उपन्यासमा प्रशासनको नाङ्गो नाच धनको अहमता बालबालिकाहरूको श्रम शोषणको यहाँ चर्चा गरिएको छ ।
यी सबैले दिनभरि प्लाष्टिक र थोत्रा भाँडा जम्मा गरेर कवाडखानामा बेची जम्मा गरेको सबै पैसा दलबाहादुरले खोसेर आफू खुसी राख्दोरहेछ ।
उपन्यासमा सहरिया परिवेश गरिब वर्गकाबीच पनि देखापरेको सामन्ती व्यवस्थाको प्रभाव यसरी व्यक्त गरिएको छ ।
“यिनीहरूले यसरी सडक जीवन विताउन बाध्य हुनुपरेको त अभिभावकले हेलाँ गरेर कसैका आमा मरेपछि बाहुले सौतानी आमा ल्याएर, कसैको आमा मरेपछि अन्तै पोइल गएर, कसैको बाबु आमा दुवै मरेर, कसैको घरमा गरिबीले सताएर, खाने, बस्ने ठाउँ नभएर, कोही स्कुलमा साथीभाइले गिज्याएर, हेलाहोचो गर्ने गरेर, कोही कोहीचैँ आमा बाबालाई सरकार वा बिद्रोहीले बेपत्ता पारेर र कोही त सहर हेर्ने रहरले साथीभाइको लहलहैमा लागेर सडक जीवन बिताउन बाध्य रहेछन् ।
यस उपन्यासको वैचारिक पक्ष सामाजिक परिस्थिति परिवारको अवस्था सामाजिक संरचना संस्कृति आदिका प्रभावले देखापरेका बालबालिकाका समस्याहरू यहाँ चर्चा गरिएको छ । माथिको भनाइबाट के बुझिन्छ भने परिवार, समाज, संस्कृति, आर्थिक, राजनैतिक अवस्थामा सुधार नआएसम्म माथि प्रस्तुत गरिएका जटिल समस्याहरू हुन् । तिनीहरूको समाधान रूपान्तरणको दिशामा अगाडि नबढेसम्म यी जटिलताका गाँठा फुकाउन सम्भव छैन । यस उपन्यासको कथावस्तु वा केन्द्रिय कथ्यले यही बताइरहको छ । यस उपन्यासमा दुनैदेखि काठमाडौँसम्मको यात्रा प्रस्तुत गरिएको छ । तापनि शोषणको प्रवृत्तिमा कुनै अन्तर देखिन्न । घटना परिस्थिति बेग्लै होलान् तर शोषणको प्रकृति समान छ । यस उपन्यासमा बालबालिकालाई समाजको स्वरूप प्रस्तुत गर्दै यथार्थवादी ढङ्गबाट बालबालिकाहरूको समस्यामा केन्द्रित हुँदै राज्यप्रति कटाछे विचार नजानिँदो रूपबाट प्रस्तुत गरिएको छ । छोटो उपन्यासमा सरल प्रस्तुति सरल भाषा ग्रामीण वा सहरिया जीवनको चित्रण, बालबालिकाहरू प्रतिको त्यो परिवार र समाजको संरचना समाजमा देखापर्ने वर्गद्वन्द्व आदि यस उपन्यासमा सफल रूपबाट प्रयोग गरिएको छ । निम्नवर्गका बालकहरू जसलाई उच्च वर्गले मानव सोचेको छैन । तिनलाई मानवीय उचित शिक्षा दिएमा तिनहरूप्रति समाजमा घुलमिल भएर रहन सक्छन्, जसका लागि राज्यले उचित बातावरण सिर्जना गर्नुपर्छ भन्ने उपन्यासको आसय हो । त्यो आवाज यहाँ राम्ररी मुखरित भएको छ । उपन्यासले चाहेको सफलता र चेतना यहाँ राम्ररी प्रष्ट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *